RSS

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा – मातृका पोखरेल

ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौं । यसैक्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ ।

२०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  ।सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभएको यो आंकडाले अब हामी सूचना र ज्ञान विनिमयको नयाँ युगमा अन्त्यन्तै द्रुत गतिमा प्रवेश गरिसकेका छौं भन्ने कुरा स्पष्ट रूपमा बताएको छ ।

अहिले इन्टरनेटको नाम नसुन्ने सायदै कोही होला । नेपाली समाजको ग्रामीण समुदायसम्म यसको पहुँच पुगिसकेको छ ।  International Network लाई संक्षेपिकरण गरेर इन्टरनेट शब्द प्रचलनमा ल्याइएको हो । यो मानव विकासको पछिल्लो चरणमा विकास भएको अत्यन्तै प्रभावशाली प्रणाली हो । यसको विकास सूचना प्रणालीको विकासको रूपमा शीतयुद्धको दौरान भएको थियो । त्यतिबेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। तत्कालीन सोभियत संघ अर्थात रुसले सन १९५७ मा अन्तरिक्षमा स्पुतनिक नामक स्याटेलाइट स्थापित गरेपछि अमेरिकाले सामरिक ढङ्‌गले केही नयाँ योजना सार्‍यो । अमेरिकाले  रुसले कुनैपनि बेला अमेरिकाको तार तथा टेलिफोन प्रणाली (टेलिग्राफ तथा टेलिफोन प्रणाली) ध्वस्त पार्नसक्ने संभावित चुनौति देख्यो । यसपछि त्यहाँको रक्षा विभागले डीएआरपीए नामक एउटा परियोजना खडा गरेर यसैलाई अझ परिष्कृत तथा व्यवस्थित पार्दै अर्पानेट (एड्भान्स रिसर्च प्रोजेक्ट अजेन्डा) नामक एउटा नेटवर्क स्थापित गर्‍यो । यसको निर्देशन रोर्बट टेलर तथा व्यवस्थापन लारेन्स रोर्बटले गरेका थिए । यी दुबै जना वैज्ञानिहरु अमेरिका, बेलायत तथा फ्रान्समा भएका सूचना प्रयोजनका निम्ति राखिएका कम्प्युटरहरुलाई एउटै सञ्जाल (नेटवर्क) मा ल्याएर आफनो सुरक्षित  सूचना संयत्र बनाउन सफल भए । पछि  यही प्रविधि विस्तारै संचारमाध्यममा परिवर्तित भयो । नेपालमा भने यो प्रविधिको आरम्भ सन् १९९५ को सेरोफेरोमा  सुरुवात भएको पाइन्छ ।

इन्टरनेटको विकासक्रमबारे अध्ययन गर्ने हरूले पनि हालको विकास कुन अवस्थाको हो, धेरैले अनुमान मात्र लगाएका छन् । कसैले बालककाल भनेका छन , कसैले किशोरावस्था, कसैले युवावस्था यस्तै यस्तै । तर छापा माध्यमको युग चाहिँ वृद्धवस्थामा पुग्‍यो भनेर चाहिं धेरैको एउटै मत छ । तर इन्टरनेटको माध्यमबाट हुने नयाँनयाँ विकास अझै कति हुने हो त्यो भने अनुमान गर्न गाह्रो छ ।

इन्टरनेटमार्फत् ज्ञानविज्ञान र सूचनाका अतिरिक्त नेपाली साहित्यको पनि   व्यापक विस्तार भएको छ । इन्टरनेटमा साहित्यिक गतिविधि निम्न माध्यमबाट संचालित गरिएको पाइन्छ । 

१. वेबसाइट संचालन गरेर ।

डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्नमा भएको थियो । भौतिकशास्त्री टिम बर्नर्स-लीले वैज्ञानिकहरूका लागि पहिलो वेबपेज बनाएका थिए ।

इन्टरनेटमा वेवसाइटको माध्यमबाट नेपाली साहित्यका सामाग्रीहरु सवैभन्दा बढि प्रकाशित भइरहेका छन् ।

नेपाली साहित्यलाई इन्टरनेटमा प्रवेश गराउनेहरू

– नेपाली साहित्यलाई इन्टरनेट प्रविधिमा प्रवेश गराउने काम पहिलो पटक रसियाबाट डा. मधु माधुर्यले सन् १९९८ मा https://freenepal.com मार्फत गर्नुभयो । 

– कवि विक्रम सुब्बा सम्पादक रहनुभएको www.nepalikavita.com

ले नेपालमा पहिलोपटक  साहित्यिक वेभसाइट सुरू गर्‍यो ।

 – कवि मोमिला सम्पादक रहनुभएको www.nepalikalasahitya.com पनि साहित्यिक जगतमा प्रशिद्ध छ।

– बेल्जियमबाट कृष्ण बजगाई सम्पादक रहनुभएको  www.samakalinsahitya.com  र वेलायतबाट विश्वासदिप तिगेला सम्पादक रहनुभएको

https://nepaliliterature.com ले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

अमेरिकाबाट बासु श्रेष्ठले सम्पादन गर्नु भएको 

http://www.khasskhass.com र अहिले आविष्कार नामले संचालन गर्नुभएको www.sahityasangraha.com   धेरै सामाग्री देखिन्छन् । साहित्य सङ्ग्रहालयमा आजसम्म त्यहाँ २१ हजार भन्दा माथि साहित्यिक रचना समाविष्ट  छन् ।

– अश्विनी कोइरालाको सम्पादनमा रहेको sahityapost.com  अहिले साहित्यिक वृत्तमा निकै चर्चित छ। 

अमेरिकाबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले संचालन गर्नुभएको

www.vishwaparikrama.com पनि साहित्यिक जगतमा चर्चित वेवसाइट हो ।

www.nstelevision.com ( नवसाहित्य अनलाइन ) को सुरुवात हेटौंडाबाट भरखरैमात्र अर्थात २०८० साल असार १४ गतेबाट  भएको हो ।

www.majheri.com 

https://nepaliliterature.com

आदि वेवसाईटहरु नेपाली स्रष्टाहरूका माझमा निकै चर्चित छन् । 

यी त केही उदाहरणमात्र हुन् । नेपाली साहित्यमा  केन्द्रित रहेर संचालित वेवसाइटको संख्या पाँच दर्जनभन्दा बढी नै भएको अनुमान गर्न सकिन्छ ।

केही साहित्यिक संस्थाहरूले पनि संस्थागत वेभसाइटहरू  संचालन गरेको  पाइन्छ ।

जस्तै :

अनलाइन नेपाली साहित्य मञ्चले सञ्चालन गरेको

https://nepaliliterature.com

– नेपालीकलासाहित्यडटकम प्रतिष्ठानले सञ्चालन गरेको

http://www.nepalikalasahitya.com

आदि ।

२. इच्छुक व्यक्तिले स्वतन्त्ररुपबाट सञ्चालन गरेको साहित्यिक वेबसाइट जस्तै,  http://sahityasangalo.com

३. विभिन्न साहित्यिक संघसंस्थाको आफ्नो संस्थागत वेबसाइटमा सिर्जनाहरू पनि राख्ने गर्दछन् । 

जस्तै, विश्व नेपाली साहित्य महासङ्घको https://gfnl.org

४.  ब्लग मार्फत साहित्यिक सिर्जनाहरू राख्ने कार्य पनि प्रसस्तै भएको पाइन्छ । जस्तै, 

http://srasta.blogspot.com

http://laghukatha.wordpress.com

http://nepaliwriters.blogspot.com

http://kavitayatra.blogspot.com

http://kathaghar.blogspot.com

५. समाचार तथा विविध विषय समेटिएको वेब साइटमा एकपेज छुट्याएर साहित्यलाई पनि स्थान दिएको पाइन्छ । 

जस्तै, 

– www.hknepal.com

एचकेनेपालडटकम, 

– www.nepaljapan.com

नेपाल जापान डट कम् 

– www.freenepal.com

फ्रि नेपाल डट कम् आदिआदि

६. साहित्यिक प्रिन्ट पत्रिकाको अनलाइन संस्करणको माध्यमबाट 

जस्तै, मधुपर्क, रचना , अभिव्यक्ति, शब्दाङ्कुर, अन्तर्वोध,  गोर्खापत्र आदि ।

२. ब्लग संचालन गरेर

ब्लगमा नेपाली साहित्यको उपस्थिति पनि निकै बाक्लो देखिएको छ । सन् १९९८ मा जर्न बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरेपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । त्यसपछि यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगर र पिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधाको प्रारम्भ गरे पछि ब्लग पनि साहित्यिक क्षेत्रको एउटा महत्वपूर्ण चौतारी बन्यो । सन २००५ देखि नेपालमा ब्लग भित्रिएको पाइन्छ ।

वि.सं. २०६१ मा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरूवात भए सँगै  हतियारधारी सुरक्षाकर्मीहरूले  पत्रिका कार्यालयमा प्रवेश गरी समाचारमा  सेन्सरसिप गर्न थालेपछि निष्पक्ष पत्रकारिताको आग्रह राख्ने युवाहरूले एउटा वैकल्पिक स्थानको खोजी गर्ने क्रममा उनीहरुको सामु बरदान बनेर  ब्लग आयो । निष्पक्ष र स्वतन्त्र स्वतन्त्र समाचारका  भोका र विद्रोही स्वभावका पत्रकारहरुले सही सुचना जनसमक्ष ल्याउन ब्लगको चौतारीमा प्रवेश गरे ।

बैशाख ११, २०६३ को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । मेरो सन्सार डट ब्लगस्पोट डट कम  त्यसबेला चर्चामा रहेको शायद पहिलो ब्लग हो । पछि त्यो ब्लग www.mysansar.com मा रूपान्तरित भयो । समाचार माध्यमका रुपमा त्यो प्रभावकारी ढङ्‌गले चलिरहेको छ । शनिवार साताको साहित्य कार्यक्रम पनि संचालन गर्छ उक्त ब्लगले ।

नेपाली ब्लग अहिले कती छन? अनुमान गरिन्छ, अहिले करिव एकलाखको हाराहारीमा छन् । यसको आधिकारीक तथ्यांक कतै छैन । ब्लग खोल्न कतै दर्ता  गर्नु नपर्ने हुनाले र संसारको जुनसुकै कुनाबाट पनि खोल्न सकिने हुनाले यस्को आधिकारीक तथ्याङ्क पत्ता लगाउन सजिलो छैन । कती ब्लग त एक दुइ पोष्टमै बिश्राम लिन पुगेका देखिन्छन् भने केही ब्लगहरुले निरन्तरता दिइरहेका छन् ।

साहित्यकारका  केही व्यक्तिगत ब्लगहरु :

http://vijayachalise.blogspot.com

https://padmadevkota.blogspot.com

http://matrikapokharel.blogspot.com

http://hataru.blogspot.com

http://kaalbodh.blogspot.com

http://vritta.blogspot.com

http://tikabhai.blogspot.com

http://laaliguraas.blogspot.com

http://jaditdeepak.blogspot.com

http://blog.nirmalaawasthi.com.np

http://jibanstha.blogspot.com

http://suprabhatsahitya.blogspot.com

http://luitelnirajan.blogspot.com

https://poetkhanal.blogspot.com

http://shakhadasahitya.blogspot.com

http://sarokarsahitya.blogspot.com

http://dacharya.blogspot.com

https://shukraasta.blogspot.com

http://merosirjana.blogspot.com

http://jeetu-khadka.blogspot.com

http://silichung.blogspot.com

http://roshan-bhatta.blogspot.com

http://chamlingtilak.blogspot.com

https://nepalvidhya.blogspot.com

https://dhaiba.blogspot.com

http://khullamanch.blogspot.com

आदिआदि ।

साहित्यसँग सम्बन्धित केही सामुहिक ब्लगहरू :

https://limbuwaan.blogspot.com

http://kavitakusum.blogspot.com

http://srasta.blogspot.com

http://laghukatha.wordpress.com

http://nepaliwriters.blogspot.com

http://kavitayatra.blogspot.com

http://kathaghar.blogspot.com

https://kesramanch.blogspot.com

http://hamroshahitya.blogspot.com

http://sahityasagar.blogspot.com

आदिआदि |

इन्टरनेटको माध्यमबाट साहित्य दुनियाँको सञ्जाल तयार गर्न ब्लग भरपर्दो माध्यम बन्न सक्छ । 

वि.सं. २०६४ सालतिर साहित्यकार कसुम ज्ञवालीले साहित्यकारको एउटा समूहलाई  ब्लग बनाउन सिकाउनुभएपछि नेपाली युवा साहित्यकार हरूका बीचमा ब्लगको प्रयोग राम्रैसँग बढ्‌यो  । 

‘ सलाम बिहानी’, ‘  अलग अभियान ‘ भन्ने समूह चलाएर केही प्रगतिशील युवाहरुले ब्लगमा राम्रा कविताहरु पस्किए । त्यसबेलाका ब्लगहरू अहिले पनि हामी हेर्न सक्छौं । पछि ‘उन्मुक्त पुस्ता ‘ संचालन गर्ने केही प्रतिभाशाली युवा साहित्यकारहरुले  आफ्ना सिर्जनाहरू प्रकाशन गर्न ब्लगलाई रामैसँग उपयोग गरेका थिए ।

सन २००८ देखि २०१२ – १५ सम्म प्रतिभाशाली साहित्यिक युवा पुस्ता ब्लगको दुनियाँमा राम्रैसंग प्रवेश गरेको थियो । यी ब्लगहरू अहिले पनि हामी पढ्न सक्छौं ।

https://blogbishad.blogspot.com

http://www.creations.nadeesh.com

http://knownakima.blogspot.com

http://getdrishya.blogspot.com

http://meetmuna.blogspot.com

http://anjankapil.blogspot.com

http://memarmika.blogspot.com

https://asmitamanandhar.wordpress.com

http://dhrubasatya.blogspot.com

http://sargamanjari.blogspot.com

http://linkaparajita.blogspot.com

http://klickkishor.blogspot.com

http://khanalshrawan.blogspot.com

http://manushianita.blogspot.com

http://doorjeya.blogspot.com

http://kailashkokuti.blogspot.com

http://swapnilranga.blogspot.com

https://www.dilipacharya.com.np

http://bhangbari.blogspot.com

आदिआदि ।

३. सामाजिक सञ्जाल संचालन गरेर 

वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधननै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलजस्ता उपकरणमा इन्टरनेट जडान गरी  आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका सिर्जना, विचार,  सन्देश, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गर्न सकिन्छ । यो हरेक व्यक्तिले हरेक क्षेत्रमा सजिलैसँग प्रयोग गर्न सक्ने प्रविधि भएकाले यतिबेला यो  मानिसको जीवनसाथी जस्तै बनेको छ । सामाजिक सन्जालबिनाको जीवननै सोच्न नसक्ने पुस्ता अहिले बढिरहेको देख्न सकिन्छ ।

सामाजिक संजालमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाट्सप, यूट्यूब, मेसेन्जरहरू बढि चर्चामा छन् । ४ फरवरी, २००४ मा मार्क जुकर्बर्कले फेसबुकको निर्माण गरे । १४ फरवरी, २००५ मा चाड हुर्ली र स्टिभ चेनले भिडियो हेर्न मिल्ने जनप्रिय युट्यूबको सुरूआत गरे । ६ अक्टोबर, २००६ मा केभिन सिस्ट्रोम र माइक क्रिगरले इन्स्टाग्रामको आविस्कार गरे। यसरीनै २००९ मा ब्रियन एक्टोन अनि जन कउमले अहिलेको चर्चित वाट्सपको सुत्रपात गरे । यी त केही चर्चित  सामजिक संजालका उदाहरणमात्र हुन् । यी बाहेक कैयौं यस्ता एपहरू पनि कृयाशील छन् जहाँ मानिस आफ्ना विचार, संदेश, रचना साझा गर्छन्  । भरखरैको तथ्याङ्कअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता मात्रै १ करोड ३० लाख ४० हजार बढी पुगेका छन् ।

फेसवुकका चर्चित साहित्यिक समूहहरू

– साहित्यकार किशोर पहाडी र मुरारी सिग्देलले चलाउनुभएको  शब्दपथ 

– साहित्यकार नारायण तिवारीले चलाउनुभएको  कथा समूह

– लघुकथा समूह

– यस्ता थुप्रै थुप्रै साहित्यिक पेज र समूहहरू फेसबुकमा देख्न पाइन्छ ।

युट्युब प्रयोग गरेर 

सन २००५ को फेबुअरीमा युट्युबको निर्माण भयो । यो निर्माण भएको अहिले १८ वर्ष पुगिसक्यो । अठार वर्षमा यसले सञ्चारको क्षेत्रमा रोमाञ्चक र प्रभावकारी भूमिका हाम्रा बिचमा छाडेको छ । 

अहिले आएर साहित्यिक रचनाहरू युट्युवमा राख्ने क्रम निकै बढेको छ । 

गीत र कविता मात्र नभएर सुन्ने कथा नामबाट पनि युट्युव च्यानल चलिरहेका छन् । 

– झण्डै तीन दशक अघि देखिनै प्रकाशित हुने गरेको प्रगतिशील साहित्यिक पत्रिका ‘साथी’ का सम्पादक सुदर्शन श्रेष्ठले  युट्युव कविता च्यानल ‘शब्द’  चलाइरहनु भएको छ । 

– ( सार्थक अभियान ) ले प्रगतिशील गीतहरुको  युट्युब च्यानल संचालन गरेको छ। यस्ता धेरै युट्युब च्यानलहरू अहिले साहित्यिक गतिविधिका रुपमा संचालनमा रहेका छन् ।

इन्टरनेटमा   प्रगतिशील साहित्यको उपस्थिति : एक चर्चा

इन्टरनेटमा प्रगतिशील / प्रगतिवादी साहित्यको बेग्लै मञ्च बन्न सकेको देखिंदैन । केही मार्क्सवादी विचारसँग निकट रहेका वेवसाइटहरू भेटिन्छन् , त्यहाँ प्रगतिवादी साहित्यका लागि केही स्थान छुट्याईएको पाइन्छ । उदाहरणका लागि जस्तै : www.moolbato.com 

मार्क्सवादी चिन्तक जय कार्कीले संचालन गर्नुभएको   www.communistonline.com

आदि । यस्ता वेबसाइटहरू अरू पनि छन् । कम्युनिष्ट पार्टी हरूले सञ्चालन गरेका वेवसाइटहरू पनि छन् । वरिष्ठ ब्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले संचालन गर्नुभएको www.fitkauli.com ले प्रगतिशील ब्यङ्ग्य साहित्यको क्षेत्रमा केही महत्वपूर्ण काम गरेको छ ।

प्रगतिशील लेखक सङ्घले आफ्नो वेवसाइट www.pwanepal.org.np संचालन गरे पनि त्यसको नियमिततामा केही सुस्तता देखिन्छ ।

प्रगतिशील लेखक सङ्घको नाममा संचालित केही ब्लगहरू :

– प्रलेस ललितपुरका सामाग्रीहरू –

www.hamroprales.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको सातौं, आठौँ र नवौं राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूहरूको अभिलेख

www.pralesangh.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको दसौं राष्ट्रिय सम्मेलनदेखि एघारौँ राष्ट्रिय सम्मेलनसम्मका गतिविधिहरूको अभिलेख

www.pralesa.blogspot.com

– प्रगतिशील लेखक सङ्घ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन पछिका गतिविधिहरूको अभिलेख

www.pwa11th.blogspot.com

समग्र साहित्यिक परिवेशमा अनलाइन प्रयोग अत्यन्त विस्तारित भए पनि प्रगतिवादी / प्रगतिशील साहित्यमा केन्द्रित भएर साहित्यिक गतिविधि भएकै छैन भन्दा पनि हुन्छ ।

हिजो प्रगतिवादी / प्रगतिशील साहित्यका मञ्चहरू थिए ।  त्यही मञ्चमा टेकेर धेरै प्रतिभाहरूले प्रगतिशील साहित्यमा पाइला टेक्ने कोसिस गरे । पञ्चामृत, वेदना, संकल्प, सुस्केरा, उत्साह,  झिममिसे, नौलो साहित्य, इन्द्रेणी, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, विहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलोकोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, श्रृंखला, घोषणा, अनुभूति, धेरै जिल्ला समिति बाट प्रकाशित प्रलेसका  मुखपत्रहरू आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । अहिलेको प्रगतिशील साहित्यको माहौल त्यसै निर्माण भएको होइन । यसको पछाडि यी साहित्यिक पत्रिकाको ठूलो योगदान छ । 

अबको युगलाई हामीले विज्ञान प्रविधिको युग भन्छौं । पहिले छापा प्रेस पुरुवात हुँदा पनि साहित्यले एउटा फड्को मारेको इतिहास हामीले पढेकै छौं । अब समयले  छापा माध्यमबाट मुक्ति खोजिरहेको देखिन्छ । यसो भनेर छापा माध्यमको महत्व छैन भन्ने होइन । हाम्रा वाङ्मयका कैयौं अभिलेखहरू छापा माध्यमबाटै अभिलेखमा सुरक्षित छन् । तर इन्टरनेटको दुनिँया हाम्रा अघिल्तिर व्यापक सम्भावना बोकेर आएको छ । 

इन्टरनेट प्रविधिले हामीलाई मनोरञ्जन मात्र दिएको छैन । अवसरको  ठुलो मैदान हाम्रा अघिल्तिर ल्याइदिएको छ । उक्त मैदानमा दौड्न सक्नु नसक्नु हाम्रो कुरा हो । जति बेसरी त्यो  अवसरहरूलाई हामी पकड्ने कोसिस गर्‍यौं ; हाम्रो साहित्यिक अभियानको सफलता त्यसैमा निहित छ । इन्टरनेटको माध्ययमबाट भित्रिएका अनेकौं प्राविधिक विकासहरु पछाडि फर्कदैनन , अघि बढ्छन् । 

हामीले बुझ्नुपर्ने  एउटा महत्वपूर्ण कुरा के हो भने इन्टरनेट साध्य होइन । यो साधन हो । साधनलाई उपयोग गरेर साध्य प्राप्त गर्नुपर्छ । प्रगतिशील साहित्यका अभियन्ताहरुले इन्टरनेट जस्तो साधन प्रयोग गरेर साध्य प्राप्त गर्ने कोसिस गर्नुपर्ने हुन्छ । इन्टरनेटमा प्रगतिशील साहित्यको संस्थागत उपस्थिति अत्यन्तै फितलो छ । वेवसाइट संचालन गर्न प्राविधिक र आर्थिक कारणले असहज हुँदा पनि हामी ब्लग संचालन गरेर प्रगतिशील साहित्यकारको बीचमा सञ्जाल निर्माण गर्न सक्छौं । 

अनलाइन प्रकाशनका फाइदाहरू

— कागजको प्रयोग भन्दा अनलाइन प्रकाशन वातावरणमैत्री  हुन्छ । 

—  अनलाइन (वेबसाइट, ब्लग, सामाजिक सञ्जाल ) आदिको  प्रकाशन खर्च  छापा माध्यमबाट गरिने खर्चभन्दा निकै सस्तो र किफायती  हुन्छ । 

— विक्री , वितरण तथा ढुवानीको झन्झटबाट पूर्ण मुक्त भइन्छ । 

— भण्डारणको समस्याबाट पूर्ण मुक्ति प्राप्त हुन्छ । 

— अनलाइनमा प्रकाशित सामग्री छिनभरमै विश्वका कुनै पनि कुनामा बसेकाहरूले तुरून्त हेर्न सक्छन् ।

– नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन यो धेरै प्रभावकारी माध्यम हो।

– अहिले अनलाईन रेडियो, टेलिभिजन संचालन गर्ने प्रचलन पनि बढ्दै गएको छ । अनलाइनमै कृति विमोचन, साहित्यिक प्रतियोगिता, पुस्तक बिक्री आदि पनि यो प्रविधिको उल्लेख्य पक्ष हो | अहिले त  ई–लाइब्रेरीको अवधारणा पनि आइरहेको छ । आर्थिक समस्यामा परेका साहित्यकारलाई सहयोग जुटाऊन अनलाइन अभियान अत्यन्तै प्रभावकारी बनेको छ ।

अनलाइन प्रकाशनका वेफाइदाहरू

– प्रतिलिपि अधिकारको चुनौति छ ।

– रचनाको चोरी हुने सम्भावना  बढ्दो छ ।

– अभिलेखको ग्यारेन्टीप्रतिको   आशङ्‌का देखिन्छ ।

– प्रिन्ट दुनियाँमा अभ्यस्त भएको पुस्ता मध्येको एउटा सानो हिस्सा  अनलाइनमा अभ्यस्त हुन अझै पनि  सकिरहेको छैन ।

अनलाइन प्रकाशनका यस्ता केही वेफाइदाहरू नदेखिएका होइनन् तर यी फाइदाका तुलनामा अत्यन्तै नगण्य छन् ।

000

[ प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित “इन्टरनेट र प्रगतिशील साहित्य” विषयक छैसट्ठिऔँ परिसंवादमा प्रस्तुत छलफलपत्र ।  सोही छलफलपत्रलाई  अहिले   “प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा” शीर्षक राखिएको छ । ]

 

मातृका पोखरेल

जन्म मिति  : ९ असार २०२३ 

                 : 23  June 1966 

पिता : नन्दलाल पोखरेल

माता : सीतादेवी पोखरेल

जन्मस्थान : ताप्ली गाउँपालिका –४, थामखर्क, उदयपुर

शिक्षा :स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय 

संलग्नता 

सदस्य /आयुक्त :भाषा आयोग 

अध्यक्ष :  जनसांस्कृतिक महासङ्घ, नेपाल  

उपाध्यक्ष : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान

कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र 

कार्यसमिति सदस्य : भवानी घिमिरे साहित्यिक  प्रतिष्ठान

कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान

कार्यसमिति सदस्य : निर्मल लामा स्मृति प्रतिष्ठान

सल्लाहकार : प्रगतिशील लेखक सङ्घ, नेपाल 

सल्लाहकार : नेपाल साहित्यिक पत्रकार सङ्घ

सल्लाहकार : ज्योति साहित्यिक त्रैमासिक 

सम्पादक : वेदना साहित्यिक त्रैमासिक

अन्य संस्थागत अनुभव

अध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल  ( २०७२ चैत – २०७५  चैत )

वरिष्ठ उपाध्यक्ष : नेपाल साहित्यिक पत्रकार सङ्घ  ( २०७३ असोज – २०७८ असोज )

प्राज्ञ परिषद सदस्य : नेपाल प्रज्ञा-प्रतिष्ठान ( २०७१ भदौ २०  – २०७५  भदौ १९ )

संयोजक :एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ ( २०६९साउन २०७३ बैशाख )

अध्यक्ष : नेपाल बाल-साहित्य समाज (वि.सं-२०६९ चैत्र – २०७० जेठ)

का.वा. अध्यक्ष :एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६९असार-२०६९ साउन)

उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६६चैत-२०६९ असार)

सह-संयोजक : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६५ माघ-२०६६चैत)

उपाध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं – २०६९ चैत देखि २०७२ चैत सम्म)

उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ (२०६६चैत-२०६९ असार)

उपाध्यक्ष : युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान (२०७५ माघ -२०७९ असोज )

महासचिव :प्रगतिशील सांस्कृतिक संगठन (वि.सं – २०६३ मङ्सिर – २०६५ माघ )

महासचिव : पारिजात स्मृति केन्द्र ( २०७७ चैत – २०७९ भाद्र )

सचिव : प्रगतिशील लेखक सङ्घ, नेपाल (वि.सं – २०६३ देखि २०६६ सम्म)

सदस्य-सचिव : पारिजात स्मृति केन्द्र (वि.सं – २०६६ देखि २०७१ सालसम्म)

कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र (वि.सं – २०७१  देखि २०७७ सालसम्म)

कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल (वि.सं – २०६५ देखि २०७२ सालसम्म)

कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान (वि.सं – २०७२ देखि २०७३ सालसम्म)

कोषाध्यक्ष : प्रगतिशील लेखक संघ, नेपाल (वि.सं – २०५९ देखि २०६३ सम्म)

कोषाध्यक्ष : इन्द्रेणी सांस्कृतिक समाज (वि.सं – २०५४ देखि २०५९ जेठ सम्म)

संस्थापक सचिव : लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, नेपाल (वि.सं – २०६१)

संस्थापक सदस्य : नेपाल साहित्यिक पत्रकार सङ्घ (वि.सं – २०६३)

संस्थापक सदस्य : घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान (वि.सं – २०६९)

संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान (वि.सं – २०६९)

संस्थापक सदस्य :भवानी घिमिरे साहित्यिक प्रतिष्ठान ( वि. सं. २०७५ )

संस्थापक सदस्य : विध्युतकर्मी साहित्यिक समाज ( वि. सं. २०५८ )

सम्पादन

प्रधान सम्पादक : “समकालीन साहित्य”, त्रैमासिक ( नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)

प्रधान सम्पादक : “कथालय” कथाप्रधान साहित्यिक त्रैमासिक 
प्रधान सम्पादक : “प्रलेस” ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक : “विकल स्मारिका” (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक : “रुपाटार स्मारिका – २०६९”
प्रधान सम्पादक : “आलेखन” ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )

कार्यकारी सम्पादक : “ज्योति” साहित्यिक त्रैमासिक

सम्पादक : “वेदना” साहित्यिक त्रैमासिक

सम्पादक : “स्मृतिमा रूद्र खरेल” (स्मृति ग्रन्थ- २०७१ )

सम्पादक : “विजय शव्दविम्ब”
सम्पादक : पद्म खड्का स्मृति ग्रन्थ – २०७४ 

सम्पादक : अक्टोवर क्रान्ति स्मारिका – २०७७ 

सम्पादक :  घनश्याम ढकाल स्मृति ग्रन्थ – २०७५  ( घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान )

सम्पादक : “नेपाली डायस्पोराका कविता” (नेपाल प्रज्ञा-प्रतिष्ठान

र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं -२०७२ मा प्रकाशित )

सम्पादक : त्रिआयामका तारा : आनन्ददेव भट्ट ( अभिनन्दन ग्रन्थ ) – २०७८ 

अतिथि सम्पादक : “नागार्जुन” त्रैमासिक (गणतन्त्र विशेषांक)

अतिथि सम्पादक : “जनमत” साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांक

सम्पादन  सल्लाहकार  : स्मृति बिम्बमा श्यामप्रसाद ( स्मृति ग्रन्थ  – २०७८ )

सम्पादक : स्मृतिमा स्वनाम – २०७८ 

प्रकाशित कृति 

सेतो दरवारको छेउबाट : ( कवितासङ्ग्रह), २०५७

यात्राको एउटा दृश्य : ( कवितासङ्ग्रह), २०६०

सन्त्रस्त आँखाहरु : ( कथासङ्ग्रह), २०६१

अनुहारहरु : ( कवितासङ्ग्रह), २०६४

घाम झुल्किनुअघि : ( कथासङ्ग्रह), २०६७

मित्रताको आकाश :  ( कवितासङ्ग्रह), २०७६ 

सम्मान / पुरस्कार 

 धौलागिरी साहित्य प्रतिष्ठानद्वारा “अनुहारहरु” (कवितासङ्ग्रह) का लागि ‘काजी रोशन पाण्डुलिपि             पुरस्कार – २०६४’
– ‘सिम्पल आर्ट्स सम्मान – २०६९’
– ‘स्रष्टा चैत्र -३० सम्मान – २०७४’ 

 – साहित्य सङ्गम, चितवनबाट “मित्रताको आकाश” (कविता सङ्ग्रह) का       लागि ‘गणेशबहादुर                  हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार-२०७६’
–  
प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा‘प्रलेस प्रतिभा पुरस्कार – २०७८’

–  नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा ‘लोकतान्त्रिक स्रष्टा सम्मान – २०७८’

–  वनिता साहित्यिक त्रैमासिकद्वारा   ’वनिताश्री देवकुमारी थापा कथा विशिष्ट  पुरस्कार’ – २०७८

–  नेपाल विध्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजद्वारा – ‘अमरज्योति साहित्य सम्मान–२०७९’

–  नेपाल वाङमय परिषद्द्वारा ‘नेपाली वाङमय साधना सम्मान’ -२०७७ 

सम्पर्क नं. : ९८४१२८१७०५  (मोबाईल)

                :  ९८५१२२१७०५  (मोबाईल)

इमेल :  matrikapokharel@hotmail.com

ब्लग :   www.matrikapokharel.blogspot.com

 

केही समीक्षा, समालोचनाहरु

अन्तरङ्ग पर्यवेक्षणमा घाम झुल्किनुअघि

डा.गोपीन्द्र पौडेल

समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने बैगुनी स्वभाव हो । स्रष्टाका आफ्नै आग्रह हुन्छन् , पाठकका आफ्नै आग्रह अनि कनीकुथी समीक्षा गरी टोपल्ने समीक्षकका पनि आफ्नै आग्रह हुने नै भए, हुन्छन् । सबैजसो स्रष्टा चाहन्छन् – आफू र आफ्ना सिर्जनाका बारेमा गरिएको टिप्पणीमा कहीँ कतै घोचपेच नहोस्, उचनीच नहोस् र चसचसी घोच्ने टर्रा वचनवाण नहोऊन् । प्रत्येक शब्द र वाक्य अनि प्रत्येक पङ्क्ति सुकिला–मुकिला र बान्की परेका होऊन्, लरक्क परेका लोभलाग्दा होऊन् । आफू र आफ्नो कृतिबारेको समीक्षाका पाना पल्टाउँदै र पढ्दै जाँदा मनै बहलाउने पिरामिड बनोस् । स्रष्टाको मनोविज्ञान र समीक्षकको वस्तुतथ्यात्मक ज्ञानका बिचमा अनौठो वैपरित्य हुन्छ । यस्तो वैपरित्य र विषमताका बिचमा समदूरी निर्माण गर्ने काममा समीक्षक मात्रै खरो उत्रन सक्छ भन्ने मलाई लाग्दैन बरु स्रष्टा र द्रष्टा दुवैमा सत्यको अन्वेषण गर्ने विवेकको खाँचो छ भन्ने लाग्छ । यसो भए तापनि स्रष्टाको मनोविज्ञानलाई धुरी बनाएर समीक्षा गर्ने हाम्रो उहिलेदेखिको परम्परा यथावत् छ, चलन चल्ती नै यस्तै । एकातिर परम्पराबाट प्रताडित हुनु पर्ने पीडा अनि अर्कोतिर सावधानीपूर्वक टीकाटिप्पणी गर्दा पनि अनायास आइपर्ने सङ्कट र सास्ती अनन्त छन् । यी सब तथ्यबारे ज्ञातव्य हुँदाहुँदै पनि सङ्कटको भूमरीमा हेल्लिनु नै आफ्नो धर्म हो भन्ठानेर स्रष्टा मातृका पोखरेलको घाम झुल्किनुअघि कथा सङ्ग्रहमा छिपछिपे दृष्टि लगाएर यसका अन्तरकुन्तरमा विचरण गर्ने आँट गर्दै छु ।
सायद प्रस्तुत कथा सङ्ग्रह प्रकाशित हुनु भन्दा केही समयअघिको कुरा हो, साथीहरु बिचको गफगाफका क््रmममा मैले ‘मातृका पोखरेल कवि भन्दा बढी कथाकार बन्ने खतरा बढ्दो छ’ भन्ने टिप्पणी गरेको थिएँ । म यतिबेला त्यो ठट्टेउलो टिप्पणी मात्र नभएर सत्य नै थियो भन्ने निष्कर्षमा पुगेको छ । मैले यसो भनिरहँदा कवि मातृका पोखरेलप्रति अन्याय हुन सक्ला तर साँचो कुरा बोल्नु न्याय सङ्गत नै ठहर्छ । यसअघि प्रकाशित भएको संत्रस्त आँखाहरु (२०६१) र अहिले प्रकाशनमा आएको घाम झुल्किनुअघि (२०६७) नामक दुई कथा सङ्ग्रहलाई साक्षी राखेर यसो भनिरहँदा अर्घेल्याइँ हुन्छ जस्तो मलाई लाग्दैन । जीवन सङ्घर्षको यात्रामा हेलिंदै गर्दाका अनुभूतिलाई कथाकलामा सजाउने सीप र सामथ्र्य मातृका पोखरेलमा देख्न सकिन्छ र त्यस्तो सीप उत्तरोत्तर परिष्कृत हुँदो छ । कथाकार मातृका पोखरेलले वर्गीय विषमता र अन्तरविरोध अनि युगीन सामाजिक जीवनका परिवेशका कुनाकाप्चामा निरीक्षण गर्दै जाँदा प्राप्त भएका अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएका छन् । तर वर्ग सङ्घर्षका घात–प्रतिघातलाई कथाकलामा सजाउने काम भने न्यून रुपमा मात्रै भएको छ। यसो भन्नुको तात्पर्य हो – कथाकार मातृका पोखरेलले जनयुद्धको तुफानी यात्रा अनि त्यस क््रmममा घटित त्याग र उत्सर्गका कीर्तिमानी घटनालाई आफ्ना कथामा सजाउन सकेका छैनन् । यद्यपि जनहत्या र राज्यआतङ्कको चित्रण भने उनका कथामा भएको छ ।
मानव जातिको इतिहास भन्नु नै वर्ग सङ्घर्षको इतिहास हुनाले वर्ग सङ्घर्ष र सामाजिक जीवनका घात–प्रतिघातसँग कथाको नजिकको साइनो हुन्छ । यस अर्थमा सामाजिक सम्पृक्तताका दृष्टिले कथा सर्वाधिक लोकप्रिय विधा हो, पाठकीय रुचिको विधा हो । कथा मार्फत मानव इतिहास, मानवीय क््िरmयाकलाप, मानवीय संस्कृति, वर्ग सङ्घर्ष तथा जीवनका वैविध्यको कलात्मक पुनःसिर्जन हुन्छ । अझ यसो भनौँ कथा मार्फत मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रुपले निहार्न र छाम्न सकिन्छ । त्यसै गरी वर्गीय विषमतायुक्त समाजका अन्तरविरोध र वैपरित्य एवम् तिनै वैपरित्यको प्रतिनिधित्व गर्ने पात्रको चयन, प्रारुपीकरण र चारित्रीकरण गरेर तिनका अन्तरकुन्तरमा चियाउन र मनग्गे खेल्न सकिन्छ । वस्तुतः सामाजिक जीवनलाई सूक्ष्म रुपले छाम्ने र त्यसअन्तर्गतका विषम परिस्थितिसँग खेल्ने चेष्टा कथाकार मातृका पोखरेलले गरेका छन् ।
कथाकार भनाउन सजिलो छ तर कथा लेख्न गाह«ो छ । झट्ट हेर्दा यो कथन उट्पट्याङ्गे लाग्न सक्छ तापनि कथनी र करणीका बिचको वैपरित्य वा विरोधाभास यस्तै हुने गर्छ । यसो भन्नुको तात्पर्य हो राम्रा र स्तरीय कथा लेख्ने कार्य त्यति सजिलो छैन जति सजिलो कथाकार भनाउन छ । कथा लेख्दै र छापिँदै गर्दा कथाकारमा दरिन त्यति गाह«ो हुँदैन । मैले यस्तै र अन्य प्रसङ्गमा कथा लेखनका धेरै समस्या छन् भन् भन्ने उल्लेख गर्दै आएको छु । यहाँनेर मेरो चासो भन्नु कथा कलाप्रति हो । वास्तवमा कथा सामग्रीको जोरजाम, कथाको बनोट र बुनोट, पात्र घटना तथा परिवेशको प्रारुपीकरण र सामान्यीकरण , कथाका अङ्ग उपाङ्गको व्यवस्थित, शृङ्खलित एवम् तर्कसङ्गत विन्यास गर्ने कुरो त्यति सजिलो छैन । मैले बारम्बार यसो भनेर ठोसठास र झोसझाँस पार्नुको तात्पर्य कथाकारलाई दपेट्नु वा ताछतुछ पार्नु नभएर निखरो बनाउनु र सचेत प्रयासका निम्ति उत्प्रेरित गर्नु हो । कथा लेखन सचेतनायुक्त क््िरmयाकलाप हो र सामाजिक उत्तरदायित्व समेत हो जसमा संयम, सीप र साधनाको त्रिकोणात्मक अन्विति अपरिहार्य हुन्छ । वस्तुतः घाम झुल्किनुअघि कथा सङ्ग्रहलाई साक्षी राखेर भन्नु पर्दा कथाकार मातृका पोखरेलले यस प्रकारको त्रिकोणात्मक सम्बन्ध तथा सिर्जनात्मक मूल्यलाई आत्मसात् गरेका छन् । विधागत विशिष्टताका कारण निबन्ध–संस्मरणमा जस्तो कथामा मनग्गे फुक्न र खुम्चिन गाह«ो पर्छ । संरचनागत सुगठन, विचार विन्यास र रुपविन्यास कथामा अनिवार्य हुने भएकै कारण यसले अधिक संयम, सीप र साधनाको माग गर्छ, सायद त्यसैले होला कथा लेखनमा स्रष्टाको रुचि र चासो पनि कमै देखिन्छ । कविता, गीत, संस्मरण र निबन्धमा एक प्रकारको बाढी नै आउनु र आख्यानात्मक विधा अपेक्षाकृत उर्वर हुन नसक्नुको कारण पनि यही नै हो भन्ने लाग्छ । विधागत विशिष्टताका कारण कथा लेख्दा फुकी फुकी कलम चलाउनु पर्ने स्थिति स्रष्टाका सामु विद्यमान छ । सायद यसै कारणले होला सडक पेटीमा यात्रा गर्दा कविसँग छिन छिनमा जम्काभेट हुन्छ तर दिनभरको यात्रामा पनि एउटै कथाकार नभेटिन सक्छ । कथा लेखनमा नयाँ स्रष्टाको आगमन आशातीत रुपमा नहुनु अनि स्थापित स्रष्टामा निरन्तरता र लगाव नहुनुको कारण कथा विधा त्यति उर्वर बन्न सकेको छैन । यस परिप्रेक्ष्यमा घाम झुल्किनुअघि नामक सङ्ग्रह मार्फत कथाकार मातृका पोखरेलको उपस्थिति सह«ानीय रहेको छ ।
कथाकार मातृका पोखरेलको यस सङ्ग्रहमा जम्मा पन्ध्र वटा कथा सङ्गृहीत छन् । यस सङ्ग्रहका कथाले समकालीन नेपाली जीवन परिवेशका विभिन्न आयाम र परिघटनालाई आत्मसात् गरेका छन् । यसमा सङ्गृहीत कथा मध्ये ‘घाम झुल्किनुअघि’, ‘अँध्यारो गाउँ’, ‘बाध्यता’, ‘सपनाहरुको खोजी’, ‘देवीदत्तको चिन्ता’, ‘घोडाको गन्ध’ र ‘धुवाँ’ शीर्षकका कथामा माओवादी जनयुद्धका बेला तात्कालीन शासकहरुद्वारा चलाइएको जनहत्या र राज्यआतङ्कको सम्यक् चित्रण एवम् कठोर आलोचना गरिएको छ । ‘कामरेड पाताल’ र ‘भत्किएको घरनेर’ शीर्षकका कथाले क््रmान्तिकारी पार्टीभित्र मौलाएको सुबिधाभोगी एवम् आडम्बरी प्रवृत्ति तथा धन सम्पत्तिको खायस गर्ने विकृत मनोवृत्ति र विचलनमुखी संस्कृतिप्रति वितृष्णा एवम् विरोधका स्वर प्रस्तुत गर्छन् । यी भन्दा फरक विषय प्रसङ्गमा आधारित ‘खालि ठाउ“’ र ‘कालो चस्मा’ शीर्षकका कथामा कर्मचारी तन्त्रमा विद्यमान विकृति र वितण्डा प्रवृत्तिको चित्रण भएको छ । त्यसै गरी ‘मौन सङ्केत’, ‘निर्धो’, ‘मुक्ति’ तथा ‘खाडल’ शीर्षकका कथा पनि सामाजिक, आर्थिक उत्पीडन तथा विसङ्गतिका विरुद्ध सामाजिक न्यायको वकालत गर्ने कथा हुन् । अर्थात् कथाकार मातृका पोखरेलका यी कथा भनेका समकालीन नेपाली जीवनको झझल्को प्रस्तुत गर्ने कलात्मक निधि हुन् ।
यस सङ्ग्रहको पहिलो कथा ‘कामरेड पाताल’ मा पार्टीको नेतृत्व तहमा रहेको आडम्बरी पात्र पातालको भ्रष्ट चरित्रलाई उदाङ्गो पारिएको छ । ‘म’ पात्र कामरेड पातालको घरमा पुग्दा अनुभव गरेको तडकभडक र पातालको अमर्यादित मजास कथाको पृष्ठभूमिमा देख्न सकिन्छ । पार्टीले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न भनेर इन्द्रचोकको नेतृत्व सम्हालेको पातालले बन्दका दिनमा झनै घीनलाग्दो व्यवहार देखाएको छ । भोकले छटपटिएका साथीहरुले केही त खानु पर्छ भन्ने प्रस्ताव राख्दा क््रmान्तिका लागि भोक सामान्य कुरा हो भनेर कोरा आदर्शका कुरा गर्ने कामरेड पातालले भने सुटुक्क रोस्टुराँमा पसरे पिजा हसुर्छ । एकातिर विरामी साथीहरु गेजीका पैसा टकटक्याएर पाउरोटीको खोजीमा छन् भने अर्कोतिर आन्दोलनको नेतृत्व गर्न आएको पातालको आडम्बरी, लाछी र लपस्तरो स्वभाव यसमा देख्न सकिन्छ । पार्टीभित्र मौलाएको त्यही ढोँगी प्रवृत्ति र सांस्कृतिक विचलनको कटु आलोचना यस कथामा भएको छ । नेतृत्व पङ्क्तिमा मौलाएको यस प्रकारको वितण्डा प्रवृत्तिले इमानदार कार्यकर्ताको पङ्क्ति समेत निरास बनेको स्थिति यसमा अनुभव गर्न सकिन्छ । दोस्रो ‘धुवा“’ शीर्षकको कथामा बौलाहाको उपाधि पाएर पनि सत्य, न्याय र निष्ठाको वकालत गर्ने फ्रस्टेड बौलाहाको त्याग र निष्ठाको प्रस्तुति भएको छ । फ्रस्टेड बौलाहा अर्थात् शशीराज थापाले आफ्नो सम्पत्ति स्कुललाई दिएर निशुल्क पढाउन थालेको र न्यायको आवाज उठाउँदै गर्दा बौलाहाको उपाधि पाएको कुरा कथाको पृष्ठ भागमा उल्लेख गरिएको छ । रङ्गध्वज जस्ता जनताका बैरीबाट शशीराज थापा जस्ता समाजसेवीको षडयन्त्रमूलक ढङ्गले वीभत्स हत्या भएको घटना कथामा देख्न सकिन्छ । फ्रस्टेड बौलाहाको हत्याको विरुद्ध सिङ्गो चोकबजार आन्दोलित भएको छ , आन्दोलित जनताले रङ्गध्वजको घरमा आगो लगाएको परिदृश्य समेत कथामा देख्न सकिन्छ ।
यस सङ्ग्रहको तेस्रो कथा ‘घाम झुल्किनुअघि’ मा जनहत्या र राज्यआतङ्कको निकृष्ट दृष्टान्त प्रस्तुत भएको छ । एका बिहानै एउटा किशोरलाई लिएर माइली मगर्नीको चियापसलमा आइपुगेको शाही सेनाको जत्थाले त्यस किशोरलाई माइली मगर्नीकै सामुमा भकुरेको छ । त्यसपछि उसलाई भाग्न भनेर त्यहीँ गोलीले सिध्याइएको छ । यो क््रmूर एवम् कहालीलाग्दो दृश्य हेरिरहेका माइली मगर्नी र उसको सात वर्से छोरामा मानसिक आघात पर्न जान्छ । वस्तुतः यस कथामा एकातिर तत्कालीन सत्ताले जनयुद्धको महान् प्रक््िरmयका विरुद्ध चलाएको जनहत्या र राज्याआतङ्कको नग्न रुप देख्न सकिन्छ भने अर्कोतिर सात वर्से बच्चाका सामु त्यस्तो वीभत्स घटना घटाउने शाही सेनाको परपीडक मनोवृत्ति समेत देख्न सकिन्छ । जन सामान्यमा त्रास र आतङ्क सिर्जना गर्ने उद्देश्य अनुरुप चलाइएको जनहत्या र राज्यआतङ्कको शृङ्खला कति निर्मम, वीभत्स र परपीडक प्रकृतिको थियो भन्ने यथार्थ बोध प्रस्तुत कथा मार्फत हुने गर्छ । त्यस्तै ‘मौन सङ्केत’ शीर्षकको कथा भन्नु विपन्न किसान, उत्पीडित सुकुम्बासी तथा उपेक्षित मजदुर पात्र भीमबहादुरको कथा हो । काठमाडौंको जोरपाटीस्थित गलैंचा कारखानामा काम गर्ने इमानदार मजदुर भीमबहादुरले गलैंचा कारखानालाई समृद्ध तुल्याउनमा अहं भूमिका खेले पनि मानवीय सम्वेदनाहीन मालिकको उपेक्षाभावका कारण उपचार नपाएर मृत्यु वरण गरेको छ । उसको परिवारले पहाडमा बस्दा साहूको उत्पीडन अनि मधेस झरेर बुट्यान फाँडी सुन्दर बस्ती बसाउँदा पञ्चहरुको हैरानी खप्यो, उसको बाबुलाई चरम यातना दिएर बेपत्ता नै पारियो । अर्थात् भीमबहादुरको अतीत पनि पीडादायक नै रहेको छ । पञ्चायती शासन व्यवस्थामा होस् वा बहुदलीय व्यवस्थामा अनि पहाड, मधेस वा राजधानीमा जहाँ पनि कङ्गाल जनहरु उत्पीडनको शिकार बनेका छन् भन्ने सार सन्देश यस कथा मार्फत प्राप्त गर्न सकिन्छ । यसमा उत्पीडित जनले जीवनभर भोग्ने गरेको यातना, यन्त्रणा र अवसानको अत्यन्त कारुणिक एवम् सम्वेदनशील विषय प्रसङ्ग र घटनाको प्रस्तुति भएको छ । ‘अँध्यारो गाउ“’ पनि फरक प्रकृतिको विषयवस्तुमा आधारित अत्यन्त सम्वेद्य कथा हो । पुलिसको जागिरे आफ्नो बाबुले माओवादीको आरोपमा छिमेकी मास्टर काकाको हत्या गरेपछि एक रात घरमा आएको त्यही हत्यारो बाबुलाई सम्बोधन गरेर छोराले एकालापी कथन पद्धतिका माध्यमबाट भनेको कथा हो यो । प्रस्तुत ‘अँध्यारो गाउ“’ कथाको आख्यान विस्तार अपेक्षाकृत रुपमा नभएर क्षीण आख्यानमा संरचित कथा हो । एकालापी प्रवाहशील शैलीमा प्रस्तुत भएको यो कथा अत्यन्त मार्मिक र पाठकीय सम्वेदनालाई छुने कथा हो । जनयुद्धका समयमा पुलिसका प्रति आफ्नै परिवार जनको धारणा कस्तो रहन गयो भन्ने यथार्थबोध यस कथा मार्फत हुने गर्छ ।
तराईको उत्पीडित एवम् उपेक्षित दनुवार जातिको शिक्षाप्रतिको चासोका साथै परम्परागत ढोँगी विवाहलाई चुनौती दिँदै प्रेम विवाहलाई व्यवहारतः स्वीकार गर्ने कथा हो ‘निधो’ । छोराछोरीको पढाइप्रति सम्वेदनशील बनेको रबुवाले एसएलसी पास गराउनु भनेको दनुवार परिवारमा अनुपम दृष्टान्त हो । परम्परागत मागी विवाह गर्ने पाखण्डहरुले सम्पत्ति माग गर्न थालेपछि रबुवाकी छोरी रामवतीले त्यस्तो विवाहलाई ठाडै अस्वीकार गरेर आफ्नो हित्तचित्त मिल्ने सखा जामुनसँग आधुनिक विवाह गरेकी छ । यस कथाले तराईको समाजमा बोझ बनेर बसेको दहेज प्रथाको धज्जी उडाउने काम गरेको छ । ‘मुक्ति’ शीर्षकको कथामा सम्पन्न वर्गीय परिवारको युवक कश्यप कुलतमा फस्दै गर्दा विपन्न वर्गीय अपाङ्ग आनन्दराम उसबाट प्रताडित हुनु परेको स्थितिको बोध यस कथामा गर्न सकिन्छ । अन्त्यमा त्यही कुलतकै कारण कश्यपको कोही कसैद्वारा हत्या भएपछि आनन्दरामले मुक्तिको अनुभव गरेको छ । विचार विन्यास र विषयवस्तुको चयनका दृष्टिले भने यो कमजोर कथा हो । त्यसैगरी ‘खालि ठाउ“’ शीर्षकको कथामा जागिरका निम्ति भकुण्डोसरि हुत्तिनु पर्ने बेरोजगारी समस्याको चित्रण भएको छ । सामान्य चिनजानको भरमा स्थानीय विकास मन्त्रालयका सचिवसँग हारगुहार गर्न गएको ‘म’ पात्रलाई सचिवले खालि ठाउ“ खोजेर आउन भनेपछि ‘म’ पात्रले हैरानी खपेको छ । सर्वसाधारण बेरोजगार युवालाई भकुण्डो खेलाउने कर्मचारीतन्त्रको कटु आलोचना यस कथामा भएको छ । त्यस्तै ‘घोडाको गन्ध’ शीर्षकको कथामा ग्रामीण जीवन परिवेशमा पुरातन सामन्ती रजौटाको अन्त्य र गणतन्त्रको उदय भएको स्थितिबोध गर्न सकिन्छ । सामन्तका मतियारहरु रवीन्द्र समशेर र सरोज प्रताप गाउँबाट खेदिएका हुनाले उनीहरुले घोडा बाँध्ने गरेको चौतारो जनताको भाषण गर्ने मञ्च बनेको यथार्थबोध यस कथा मार्फत हुने गर्छ । ‘बाध्यता’ शीर्षकको अर्को कथा जनहत्या र राज्यआतङ्कको विषय प्रसङ्गमा आधारित छ । माइलीको घर छेउमा शाही सेनाले भवनाथको छोराको हत्या गरेपछि छोराको खोजी गर्दै त्यहाँ आइपुगेका भवनाथ र माओवादी छापामारका सामु माइलीले अपराध लुकाउनु अनुचित हो भन्ने ठानेर सबै वृतान्त बताइदिन्छे जुन उसको बाध्यता पनि हो भन्ने आभास यस कथामा पाउन सकिन्छ । यो कथा मूलतः जनयुद्धका समयमा सरकारद्वारा चलाइएको जनहत्या र राज्यआतङ्कसँग सम्बन्धित छ । ‘सपनाहरुको खोजी’ शीर्षकको कथा पनि माओवादी जनयुद्धसँग सम्बन्धित देखिन्छ । यसमा क््रmान्तिको सपना देखेर दुई वर्षअघि एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेको कामरेड सुदीपमा विद्यमान आशा र निराशाका बिचको द्वन्द्व देखाइएको छ । पार्टीको सह इन्चार्ज बनेर इनचार्ज कामरेड विकलका साथ पाल्सिङ गाउँ जाँदै गरेको कामरेड सुदीप युद्धका समयमा घटित कतिपय अप्रिय घटना सन्दर्भबाट विरोलिन्छ । उसका सामु सकारात्मक भन्दा बढी नकारात्मक पक्ष मात्र उभ्याइएको छ जसको परिणाम फेरि पनि कुनै गलत ठाउँमा त आइएन भन्ने आशङ्का उसमा जागृत हुन्छ । यस कथामा इन्चार्ज कामरेड विकलको चरित्रलाई समेत कमजोर देखाएर सकारात्मक पाटालाई ओझेलमा पार्ने र नकारात्मक पाटालाई मात्र अगाडि सार्ने काम भएको छ ।
‘देवीदत्तको चिन्ता’ कथामा बहुदल आएपछि पनि उनै पुराना पर्धानका छोराहरुको गुण्डागर्दी र आपराधिक क्रियाकलापले आतङ्कित बनेको गाउँले परिवेशको झझल्को पाइन्छ । माओवादी जनयुद्धका बेला लखेटिएका फटाहाहरु फेरि गाउँ छिरेर आतङ्क मच्चाउने हुन् कि भन्ने चिन्ता देवीदत्तमा देखिन्छ । हिजोका दिनमा प्रशासनसँग मिलेर रमाकान्तको हत्या गर्ने तथा आफ्नो छोरालाई बेपत्ता बनाउने फटाहाहरु गाउँ पसेको आशङ्काले देवीदत्त चिन्तित देखिन्छन् । तर ती फटाहाहरुले आफ्नो जायजेथा लिएर गएको थाहा पाएपछि देवीदत्तको चिन्ता केही दूर भए पनि छोरो बेपत्ता हुनुको पीडा भने यथावत् देखिन्छ । ‘कालो चस्मा’ शीर्षकको कथामा एकातिर कार्यालयको काम भन्दा पनि आफू मातहतका कर्मचारीलाई आफ्नै निजी काममा खटाउने हाकिमी शैली देखिन्छ भने अर्कोतिर हाकिमका निजी कामबाट मुक्ति पाउन सङ्गठनको सदस्यता लिएर अनि कालो चस्माको दुरुपयोग गरेर कार्यालयको जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिको उजागर भएको छ । अर्थात् एउटा गलत प्रवृत्तिका विरुद्ध अर्को गलत प्रवृत्तिको अवलम्बन गर्ने कर्मचारीतन्त्रभित्रको खराब आचरण यसमा पाउन सकिन्छ । ‘भत्किएको घरनेर’ शीर्षकको कथामा क््रmान्तिकारी पार्टीमा मौलाएको आर्थिक विचलनको स्थिति देखाइएको छ । क्षेत्रीय स्तरका कार्यकर्ताले व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्नु पर्छ भनेर आवाज उठाइरहँदा केन्द्रीय नेतृत्व भने सम्पत्तिका आधारमा मजदुर सङ्गठनको नेतृत्व चयन गर्न उद्यत देखिनुले पैसाका भरमा सङ्गठनको नेतृत्व चयन गर्ने जस्तो गम्भीर विषयमा देखिएको आर्थिक विचलनको विरोध यस कथामा भएको छ । ‘खाडल’ शीर्षकको कथामा समाजमा यदाकदा देखिने भ्रष्ट व्यक्ति चरित्रको आलोचना गरिएको छ । स्वार्थी प्रवृत्तिको रामप्रसादले घरमा सिकिस्त विरामी परेका बाबुलाई भेट्न आउँदा तुलसीको मैरोमा गाडिएको पैसा कुम्ल्याएर काठमाडौं फर्कन्छ । बिरामी बाबुलाई अलपत्रै छाडी पैसा लिएर काठमाडौं कुद्ने रामप्रसाद व्यक्ति चरित्रको निकृष्ट दृष्टान्त हो ।
कथाकार मातृका पोखरेलको घाम झुल्किनुअघि सङ्ग्रहका कथामा विषयगत विविधता छ, एक रसताबाट मुक्तिको चेष्टा छ र बहुरसताको प्रस्तुतिमा विशेष चासो छ । अझ यसो भन्नु उपयुक्त होला समाज र युग जीवनका पात्रका अन्तरकुन्तरमा पसेर समस्यको पहिचान गर्ने र तिनलाई कथात्मक वाणी दिने चेष्टा कथाकार मातृका पोखरेलले गरेका छन् । प्रस्तुत सङ्ग्रहका कथामा यस प्रकारको सबल एवम् सकारात्मक वैशिष्ट्यका बिचमा अर्को नकारात्मक पाटो पनि देख्न सकिन्छ । त्यो नकारात्मक पाटो भनेको जनयुद्ध सिर्जित नयाँ यथार्थका सापेक्षतामा विषयवस्तुको चयन र उदात्तीकरण नहुनु हो र अझ स्पष्ट रुपमा भन्दा तत्कालीन जीवन परिवेशका सन्दर्भमा प्रतिनिधिमूलक विषयवस्तु तथा पात्रको चयन र चारित्रीकरणतर्फको चासो कम हुनु हो । विषयगत बहुआयामलाई समेट्नका लागि नयाँ यथार्थको चयनले कुनै व्यवधान सिर्जना गर्दैन भन्ने कुरा समकालीन प्रगतिवादी कथा लेखनबाट पनि स्पष्ट हुन्छ । कथा सामाजिक सम्पृक्तताका दृष्टिले महङ्खवपूर्ण साहित्यिक विधा हुनाले समय सापेक्ष रुपमा यथार्थको चयन र विषयवस्तुको उदात्तीकरण हुनु आवश्यक छ । नयाँ यथार्थको प्रतिबिम्बनका सन्दर्भमा कथाकारको जीवनदृष्टिले महङ्खवपूर्ण भूमिका खेल्छ । यस तात्पर्यमा जीवन यथार्थको गतिशील चरित्र र पाटोलाई ठम्याउने प्रश्न मूलतः दृष्टिकोणसित सम्बन्धित छ र केही हदसम्म यथार्थको पहिचान गर्ने प्रक्रियासित पनि सम्बन्धित छ । विषयवस्तुको चयनका दृष्टिले रमेश विकलको लाहुरी भैंसी त्यस कालखण्डको सुन्दर कथा हो तर वर्तमान नेपाली जीवन परिवेशका सन्दर्भमा सुन्दर मानिन्न । अर्थात् त्यो विषयवस्तु धेरै पुरानो मानिन्छ । यसको तात्पर्य हो समकालीन जीवन यथार्थमा आनका तान परिवर्तन आएको छ । मैले यसो भन्नुको तात्पर्य नयाँ यथार्थको प्रतिबिम्बनप्रतिको आग्रह त हो नै तर कथाकार मातृका पोखरेल नयाँ यथार्थको प्रतिबिम्बनप्रति पूर्णतः उदासीन छन् भन्ने होइन । नयाँ यथार्थप्रति उनको गम्भीर चासो पनि छ तर कता कता द्विविधाको स्थिति भने अवश्य देखिन्छ । त्यही द्विविधाका कारण नयाँ यथार्थको प्रतिबिम्बनमा आशातीत रुचि देखिएन भन्ने मात्रै हो । यस सङ्ग्रहका कथाहरुमध्ये ‘घाम झुल्किनुअघि’, ‘कामरेड पाताल’, ‘बाध्यता’, ‘अँध्यारो गाउँ’, ‘देवीदत्तको चिन्ता’, ‘भत्किएको घरनेर’, ‘धुवाँ’, ‘घोडाको गन्ध’ आदि नयाँ यथार्थ र विषयवस्तुको चयन गरिएका कथा हुन् र विषयवस्तुको चयनका दृष्टिले यी कथा सबल नै छन् । त्यस्तै ‘मौन सङ्केत’ र ‘निधो’ शीर्षकका कथा पनि गम्भीर विषयवस्तुमा आधारित कथा हुन् । ‘सपनाहरुको खोजी’ कथाको प्रारुपीकरण त्रुटि रहन गएकै कारण घटनाको तारतम्य र विषयविन्यास सबल बन्न सकेको छैन । अर्थात् यस कथाले जनयुद्धका घटना प्रक्रियाप्रति नकारात्मक धारणाको सम्प्रेषण गर्छ । ‘खाडल’, ‘खालि ठाउँ’, ‘मुक्ति’ र ‘कालो चस्मा’ भने कमजोर एवम् सामान्य विषयवस्तुमा आधारित कथा हुन् । झिनो मसिनो विषयकै कारण यी कथा पाठकीय प्रभावका दृष्टिले पनि कमजोर मानिन्छन् ।
कथामा पात्रको अहम् भूमिका रहने गर्छ अर्थात् पात्रविना कथा भन्न सकिन्न । कथाका पात्र भनेका कथाकारले सम्प्रेषण गर्न खोजेको विचारलाई बोकेर पाठकसम्म पुग्ने माध्यम हुन् । त्यसैले त्यस्ता विचार बाहक पात्रको प्रारुपीकरणमा कथाकार चनाखो र संयम हुनु आवश्यक छ । पात्रको चयन विषय तथा विचार अनुकूल भएन भने कथा दुर्घटित हुन सक्छ । पात्रको चयन गरिसकेपछि तिनको चारित्रीकरण गर्ने कुरो पनि त्यत्तिकै महङ्खवपूर्ण मानिन्छ । पत्रबारे आफैंले नालीबेली लगाउन वा पात्रका बिचको क््िरmयाव्यापार र भूमिकाका आधारमा पाठकीय प्रभावमा छोड्न पनि सकिन्छ । पात्रको चयन, प्रारुपीकरण र चारित्रीकरणका दृष्टिले घाम झुल्किनुअघि कथाकी माइली मगर्नी र उसको सात वर्से छोरो ‘कामरेड पाताल’ कथाको पाताल, ‘मौन सङ्केत’ कथाको भीमबहादुर, ‘निधो’ कथाकी रामवती, ‘अँध्यारो गाउ“’ कथाको कथावाचक पात्र, ‘धुवा“’ कथाको फ्रस्टेड बौलाहा, ‘सपनाहरुको खोजी’ कथाको क. सुदीप सुहाउँदिला पात्र हुन्, आआफ्नो विचारप्रति निष्ठावान् र गतिशील पात्र हुन् । यी पात्र कथाकारको विचारलाई थाप्लोमा बोकेर पाठकसम्म पुग्न सफल भएका छन् र पाठकसँग मितेरी लाउन सक्षम छन् । यी पात्र भनेका प्रतिनिधि पात्र हुन् । तर यिनका तुलनामा ‘खाडल’ कथाको रामप्रसाद, ‘मुक्ति’ कथाका कश्यप र आनन्दराम, ‘कालो चस्मा’ कथाको कुवेर आदि व्यक्ति पात्र हुन्, कम प्रभावी पात्र हुन् । यिनले पाठकलाई डो¥याउन र पाठकीय सम्वेदनालाई सर्लक्कै पगाल्न सक्दैनन् । निश्चितै रुपमा कथाकार मातृका पोखरेलका कथामा वर्गीय पात्रको उपस्थिति देख्न सकिन्छ । उनका अधिकांश कथाका अधिकांश पात्र उत्पीडक र उत्पीडित वर्गका प्रतिनिधि बनेर आएका छन् जसले आफ्नोे वर्ग र वर्गीय चिन्तन अनुरुपको आचरण र क््िरmयाकलाप प्रस्तुत गर्छन् तापनि उत्पीडित पात्र वर्ग सङ्घर्षको भट्टीमा रापिन र खारिन भने बाँकी नै छ ।
कथाकार मातृका पोखरेल कथा रचनाका सन्दर्भमा निकै सचेत, गम्भीर र सम्वेदनशील देखिन्छन् । यसको तात्पर्य हो कथा लेखनका वैशिष्ट्य एवम् विधागत सीमा–सम्भावनालाई पोखरेलले राम्रोसँग बुझेका छन् । विधागत आधारभूत ज्ञान राम्रो छ जुन प्रत्येक कथा स्रष्टामा हुनु आवश्यक छ , त्यो सकारात्मक पाटो हो । यसै कारण उनका कथाको संरचना, कथा कथन सम्बन्धी सीप र घटनाको सुगठन तथा तारतम्य अनि कार्यकारण शृङ्खला र अङ्ग उपाङ्गको व्यवस्थापन राम्रो छ । यसो भए तापनि कहीँ कतै पोखिनुको हतार छ जसको कारण कतिपय कथामा आख्यान विस्तारको अभाव छ । घटना तथा क््िरmयाकलाप राम्रोसँग पाक्न नपाउँदा पाठकीय प्रभाव कमजोर बन्न जान्छ । मध्यम प्रकृतिको आयाम विस्तारका कारण केही कथा क्षीण कथानक ढाँचामा संरचित छन् । सायद यति बेला एउटा कथाकारलाई बढीभन्दा बढी संयम र धैर्यको खाँचो पर्छ जसको अभावमा आख्यानात्मक संरचनाले पूर्णता प्राप्त गर्न सक्दैन । संरचनागत सुगठन, कथानक विस्तार र परिपुष्ट कथानक ढाँचामा संरचित कथाहरुमा ‘घाम झुल्किनुअघि’, ‘मौन सङ्केत’, ‘कामरेड पाताल’, ‘निधो’, ‘सपनाहरुको खोजी’, ‘धुवाँ’, ‘खाडल’ आदि रहेका छन् । तर अन्य कतिपय कथा भने कथानक विस्तार र आयाम विस्तारको अभावमा क्षीण आख्यानात्मक संरचनामा छन् ।
कथाकार पोखरेलको प्रस्तुत सङ्ग्रहभित्रका कथामा बहिरङ्ग एवम् अन्तरङ्ग पक्ष र परिस्थितिको सम्यक् चित्रण भएको छ । सामाजिक जीवनका घात–प्रतिघात अनि पात्रका मानसिक उद्वेलनको निरीक्षण गर्ने क््रmममा पात्र तथा वैविध्यपूर्ण सामाजिक जीवनका अन्तरकुन्तरमा पसेर समस्याको पहिचान गर्ने कौशल कथाकार मातृका पोखरेलमा देखिन्छ । यस सङ्ग्रहका प्रायजसो कथामा बहिरङ्ग एवम् अन्तरङ्ग परिवेशसँग खेल्दै पात्र र परिस्थितिका बिचको तारतम्य स्थापित गरिएको छ । खास गरी ‘सपनाहरुको खोजी’ कथाको सुदीप, ‘घाम झुल्किनुअघि’ कथाकी माइली मगर्नीको छोरो (बाल पात्र), ‘निधो’ कथाकी रामवती, ‘कामरेड पाताल’ कथाको पाताल, ‘अँध्यारो गाउँ’ कथाको कथावाचक तथा ‘धुवाँ’ कथाको फ्रस्टेड बौलाहा आदि पात्रको अन्तरङ्ग निरीक्षणमा गहिरो रुचि र सीप कथाकार मातृका पोखरेलले देखाएका छन् ।
कथा लेखन कलात्मक कार्य हो , सामाजिक कार्य हो र सचेत एवम् जिम्मेवार कार्य हो । कथाकार मातृका पोखरेलले यिनै कार्यका सन्दर्भमा राम्रो सम्भावना र संयोजनकारी भूमिका प्रस्तुत गरेका छन् । मूलतः विषयवस्तुको छनौट गर्ने दृष्टिकोण तथा विधि र पद्धति अनि साधना र संयमको सन्दर्भमा केही कमी कमजोरी खट्कने गर्छन् , यस्ता कसर–मसर हटाउनेतर्फको चासो बढोस् भन्ने अपेक्षा भने गर्नै पर्छ । समकालीन प्रगतिवादी कथा लेखनमा समर्पणभाव र लगाव अनि निरन्तरताको खाँचो छ । यस अभावका सन्दर्भमा सुस्पष्ट पहिचानका साथ क््िरmयाशील रहेका मातृका पोखरेलको लगाव सह«ानीय छ । आउँदा दिनमा कथाकार मातृका पोखरेलबाट अझ सुन्दर र बान्की परेका कथा लेखिऊन् र तिनले कथानुरागी पाठकलाई परितोषित तुल्याऊन् भन्ने शुभकामना सहित अहिलेलाई यत्ति नै ।

 ===================================================================================

समालोचना
कला र विचारमा माझिएका र परिवर्तनको राग बोकेका कविता


 पूर्ण इन्फादा


पृष्ठभूमि
नेपाली कविता साहित्यको उद्भवसँगै कविहरूले कवितालाई आफ्नो जीवनभोगाइ र आस्थाअनुरूप परिभाषित गर्ने काम गरिरहेका छन् । समकालीन माक्र्सवादी–प्रगतिवादी विचारमा आस्था राखेर कविता सिर्जनामा लाग्ने कवि मातृका पोखरेल पनि आफ्नो ढङ्गबाट कवितालाई परिभाषित गर्छन् । मातृका पोखरेल समाजको अवस्थालाई उजागर गर्दै त्यसलाई अझ सुसभ्य र उन्नत बनाउने काम साहित्यले गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । साहित्यमा सबै एकापट्टि भन्ने मान्यताप्रति विमति राख्छन् र राजनीतिमा झैं को कतापट्टि भन्ने कुरालाई नकार्दा उट्पट्याङ जस्तो हुन्छ भन्ने ठहर छ उनको । कवितालाई सामाजिक र ऐतिहासिक सन्दर्भबाट अलग्याएर आकस्मिक संयोगका रूपमा हेर्न मिल्दैन भन्ने क्रिस्टोफर कडेलको भनाइसँग कवि मातृका पोखरेल ऐक्यबद्धता जनाउँछन् । जीवन र समय अभिव्यक्त नभएको कविता पढ्न नरुचाउने कवि मातृका पोखरेल प्रिय मानिसले भोगेका पीडा र शोषणलाई उजागर गरेर भविष्यप्रति उनीहरूलाई कविताका माध्यमबाट बाटो देखाउनुलाई कर्तव्यबोध ठान्दछन् ।
नेपाली कविता साहित्यमा एक थरि मान्छेहरू राजनीतिबाट कवितालाई अलग राख्नुपर्छ भन्ने ढोङ देखाउँछन् र स्वयं राजनीति गरिरहेका हुन्छन् । एक थरि कविहरू कविता राजनीतिबाट निरपेक्ष हुन सक्दैन भन्दछन् र आफ्नो आस्थाअनुरूप कविता सिर्जना गर्दछन् । कवि मातृका पोखरेल पनि पछिल्लो विचारका पक्षपाती हुन् । यही कारणले नेपाली कविता साहित्यमा उनको छुट्टै पहिचान छ । कथित कलाका नाममा कवितामा अस्वाभाविक रङ दलेर अमूर्त र रहस्यमय बनाउन उचित नठान्ने कवि मातृका पोखरेल समकालीन नेपाली साहित्यमा कविता, कथा, संस्मरण आदि विधामा कलम चलाउने र आस्थाको साहित्य लेख्ने स्रष्टा हुन् । उनले विशेष गरेर कविता विधामा बढी सक्रियता देखाएको पाइन्छ ।
उदयपुरको ठाना गाउँमा वि.सं. २०२३ साउन ९ गते जन्मेका कवि मातृका पोखरेलले प्रवेशिकासम्मको शिक्षादीक्षा गाउँमै अध्ययन गरे भने आईए महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट गरे । त्यसपछि रन्थनिँदै काठमाडौँ हाँकिएका कवि पोखरेलले स्नातक आरआर क्याम्पसबाट गरे र बीएड र एमए नेपाली विषयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट गरे ।
सानै उमेरदेखि माक्र्सवादी दर्शनको प्रभावमा परेका मातृका पोखरेलले उच्च शिक्षा हासिल गर्दा झन् वैचारिक रूपमा निक्खर र प्रतिबद्ध हुँदै गएको भेटिन्छ । माक्र्सवादी वैचारिक दर्शन नै सबैभन्दा उत्कृष्ट र वैज्ञानिक हो भन्ने उनको ठहर छ । यसबाट मात्रै उत्पीडित वर्गले उन्मुक्ति पाउन सक्छ भन्ने विश्वास छ उनमा ।
बाल्यकालदेखि साहित्य सिर्जना गर्न रुचाउने मातृका पोखरेलले कति कविता लेख्दै च्यात्दै गरे । थुप्रै प्रतियोगितामा भाग लिएर अरूलाई पछार्न पनि सफल भए । गाउँको विद्यालयदेखि उच्च शिक्षा अध्ययनका क्रममा विराटनगरमा समेत कहिले प्रतियोगी बने त कहिले आयोजक बनेर नेपाली काव्य साहित्यको सेवामा लागिरहे । ०४४।४५ सालतिर समीक्षा (साप्ताहिक) पत्रिकामा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलोपटक प्रकाशित गरेपछि भने उनलाई साँच्चिकै कविताको नशा लागेको पाइन्छ । त्यसपछि काठमाडौंलाई केन्द्र बनाएर निरन्तर साहित्यलेखनमा लागिरहेका छन् । सेतो दरबारको छेउबाट (२०५६), यात्राको एउटा दृश्य (२०६०) र अनुहारहरू (२०६४) गरी उनका तीनवटा कविताकृति प्रकाशित भइसकेका छन् । विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना (त्रैमासिक) र ज्योति (त्रैमासिक) इन्द्रेणी जस्ता साहित्यिक पत्रिकाको कुशल सम्पादन पनि गरिरहेका छन् ।
कवि मातृका पोखरेलका कवितामा कला र विचारको संयोजन सरल भाषा शैलीका माध्यमबाट गरिएको हुन्छ । उनका कवितामा निम्नवर्गीय समाजका मान्छेको उत्पीडन मुखरित भएको हुन्छ भने सम्भ्रान्त र उत्पीडक वर्गको तेजोवध गरिएको हुन्छ । कवि मातृका पोखरेल समाज वर्गीय हुने हुनाले साहित्य पनि त्यसबाट अलग रहन सक्दैन भन्ने मान्यता राख्दछन् । मानवीय स्वतन्त्रता र उज्यालोको पक्षमा कवि जहिले पनि कविताका माध्यमबाट आवाज उठाउन चाहन्छन् । भविष्यप्रति आशावादी भएर कलम चलाउने स्रष्टा मातृका पोखरेल यथास्थितिमा रमाउन चाहनेहरूसँग तीव्र आक्रोश व्यक्त गर्दछन् । राजनीतिक बेइमानी र संशोधनवादका विपक्षमा सधैँ उभिने कवि मातृका पोखरेल वर्गीय, जातीय र लिङ्गीय समानताको पक्षमा आफ्ना कवितामार्फत् ऐक्यबद्धता जनाउँदछन् । जनतालाई फोस्रा आश्वासन र सपना देखाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेप्रति व्यङ्ग्य र आक्रोश व्यक्त गर्छन् भने निरन्तर क्रान्ति र परिवर्तनलाई आत्मसात् गर्दछन् ।
कवि मातृका पोखरेलका कवितामा कला, विचार र भावसम्प्रेषणीयता उच्च रूपमा देख्न सकिन्छ । यति मात्रै होइन, उनका कवितामा वैचारिक आक्रोशपूर्ण व्यङ्ग्य आक्रामक ढङ्गबाट प्रस्तुत भएको पनि भेट्न सकिन्छ । सरल भाषिक सम्प्रेषणीयतामा संरचित उनका कविता सामान्य पाठकले समेत बुझ्न सक्छन् । रमरम बौद्धिकताको खेल कवितामा खेल्न रुचाउने मातृका पोखरेलका कवितामा गद्यात्मक लय भेट्टाइन्छ । आन्तरिक र बाह्य दुवै रूपमा कविताको बनोट संरचना कसिलो छ । उनका तीनवटा कवितासङ्ग्रहमा पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो सङ्ग्रह बढी प्रौढ देखिन्छ । यस आलेखमा उनका तीनवटै कविता सङ्ग्रहका चौसट्ठी कविताको तल उल्लेख गरिएका दृष्टिकोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।
१. वैचारिक चेतना
२. व्यङ्ग्य प्रयोग
३. बिम्ब संयोजन
४. कलाको प्रयोग
कवि र कवितालाई हेर्ने र अध्ययन गर्ने सबैका आ–आफ्नै किसिमका शैलीगत विशेषता र दृष्टिकोणहरू हुन सक्छन् । मैले पनि यो छोटो अध्ययनमा आफ्नै किसिमको दृष्टिकोण अघि सारेको छु । माथि उल्लेख गरेभन्दा भिन्न शीर्षक र दृष्टिकोणबाट पनि कवि मातृका पोखरेलका कवितालाई अध्ययन–विश्लेषण गर्न नसकिने होइन तर अहिले यिनै पक्षमा केन्द्रित रहेर अध्ययन गर्ने प्रयास गरेको छु ।
वैचारिक चेतना
कवि मातृका पोखरेलका कवितामा वैचारिक चेतनाको उद्बोधन बेजोड ढङ्गले मडारिएको हुन्छ । उनका कवितालाई अन्य विभिन्न कोणबाट समेत अध्ययन गर्ने धृष्टता गरेर कविमाथि कतै घोर अन्याय पो गरेँ कि भनेर मलाई एक किसिमले छटपटी भइरहेको छ यतिखेर । ‘मलाई मेरा प्रियजनहरूले भोगेका शोषणका पीडाहरू उनेर उनीहरूलाई भविष्यको बाटो देखाउने कविता लेख्ता म त्यसमा आफ्नो कर्तव्यबोध भेट्टाउँछु’ भन्ने उद्घोष गर्ने कवि मातृका पोखरेल कवितामा विचारको सघनता रुचाउँछन् भनेर अड्कल गर्न कुनै किसिमको कठिनाइ हुन्न । कवि कवितामा मानवजुनी भोगाइको समय छचल्किएको हेर्न रुचाउँछन् । वैचारिक सघनता नभएको कवितालाई उनी मृतप्रायः ठान्छन् । त्यसमा पनि माक्र्सवादी भौतिकवादी दर्शनको रुझान राख्छन् कवि मातृका पोखरेल । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य हुँदै अनुहारहरूसम्म आइपुग्दा उनले कतै पनि वैचारिक पक्षलाई कमजोर हुन दिएका छैनन् कवितामा । निम्नवर्गीय मानव समाजका जटिलतम भोगाइलाई कवितामा जीवन्त रूपमा र चित्रात्मक रूपमा देखाउने प्रयास गरेका हुन्छन् कवि मातृका पोखरेलले ।
कवि मातृका पोखरेलका कवितामा अन्तर्वस्तु र शैलीको सुन्दर र कलात्मक संयोजन पाइन्छ । उनका कविताको अन्तर्वस्तु भनेको माथि उल्लेख गरेअनुसार उत्पीडित मानवसमाजको मूल्य र मान्यता खोज्नु हो । समाजमा सबैले आ–आफ्नो अस्तित्व खोजिरहेका हुन्छन् । उनका कविताले विपन्न समाजका मान्छेको अस्तित्वको खोजी व्यग्र रूपमा गरेका हुन्छन् । वर्गीय चेतनाको उद्बोधनलाई उनका कविताले मूल रूपमा लिएको पाइन्छ । जसको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ–
म सगौरव घोषणा गर्छु
कुनै छाप्राको भड्खारोमा भए पनि
गलतीका कुनाकाप्चाहरूमा
हुनेखाने भुँडीवालहरूले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।
(अजम्बरी कविताः सेतो दरबारको छेउबाट, पृ. २)
यहाँ कविले उत्पीडित वर्गप्रति श्रद्धा व्यक्त गरेका छन् । साहित्यले उत्पीडित वर्गको चेतनालार्य बोक्नुपर्छ भन्ने दृष्टिकोण सगौरव अघि सारेका छन् । कवितालाई उत्पीडित वर्गको पक्षमा लड्ने अजम्बरी अस्त्रको रूपमा र उत्पीडकको लागि घातक हतियारका रूपमा प्रयोग गरेका छन् । कविता वैचारिक अस्त्र हो भन्ने दृष्टिकोणलाई पुष्टि गरेका छन् कवि मातृका पोखरेलले । उनले यहाँ दुर्गम क्षेत्रका निम्न वर्गप्रति सम्मान व्यक्त गरेका छन् ।
कवि मातृका पोखरेलका कवितामा सामन्तवादी प्रवृत्तिप्रति एकदमै घृणा व्यक्त गरिएको हुन्छ । उनका कवितामा समाजको गतिशीलता रोक्न सामन्तवादी र यथास्थितिवादी जड पहाड भएर उभिएका छन् भन्ने ठहर गरिएको छ । पुराना राज्यसंयन्त्रले बहुसङ्ख्यक जनताको हितका पक्षमा केही गर्न नसक्ने दृष्टिकोण कविले कवितामा अभिव्यक्त गर्दछन् ।
अदालतका प्रत्येक मिसिलहरूमा
हामीहरू सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरू सर्जमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बीचमा ।
(सेतो दरबारः सेतो दरबारको छेउबाट, पृ. २७)
कविले यहाँ राज्यको महत्वपूर्ण अदालत पुराना कानुनको चाङ लगाएर बसेको र न्याय र मुक्तिको पक्षमा लड्नेहरूका विरुद्ध शासकको इसारामा चेतनाहरूमाथि निर्मम ढङ्गले खनिएको दृष्टिकोण अघि सारेका छन् । चेतनाको संवाहक जनताले नयाँ तरिकाले विद्रोहको तयारी गरिरहेको अवस्थामा शासकले कसरी दमन गर्न सकिन्छ भनेर योजना बनाएको नग्न चित्रलाई यहाँ प्रस्तुत गरिएको छ । राज्यका सम्पूर्ण अङ्गहरू परिवर्तन नगरीकन देश र जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् भन्ने दृष्टिकोण राखेका छन् कविले ।
कवि पोखरेल साम्राज्यवाद र विस्तारवादले नेपाली रगतको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गर्दछन् । साथै विदेशी अस्तित्वका लागि होइन, नेपाली अस्तित्वका लागि लड्नुपर्ने र रगत बगाउनुपर्ने धारणा राख्छन् । नेपाली युवाहरूले सयौँ वर्षदेखि राष्ट्रिय मुक्तिका लागि होइन, विदेशीको स्वार्थका लागि रगत बगाउन विवश हुँदै आएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अब छोङपाङले बुझ्नुपर्छ
र छोङपाङहरूको देश नेपालले बुझ्नुपर्छ
के हामी फेक्ल्यान्डको लागि जन्मिएका हौं ?
कि कारगिलको लागि हुर्किएका हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ !
(छोङपाङ ! तिमीले कस्तो सपना
देख्यौ ?,’ सेतो दरबारको छेउबाट, पृ. ३२)
यहाँ कवि मातृका पोखरेलले छोङपाङलाई बिम्बका रुपमा उभ्याएर सिङ्गो नेपाली जातिले भोग्नुपरेको नियतिलाई देखाएका छन् । नेपाली समाजको युवा प्रतिनिधि पात्र छोङपाङ हो । थुप्रै छोङपाङहरूले आफ्नो राष्ट्रको अस्तित्व खतरामा परेको बेलामा पनि फोकल्यान्ड, कारगिल, मलेसिया, हङकङ, बर्मा, सिङ्गापुरजस्ता ठाउँमा गएर साम्राज्यवादको स्वार्थका लागि रगत बगाएको कुरालाई इङ्गित गरेका छन् । यहाँ कविले नेपाली सामन्त शासकले आफ्नो सत्ता नडगमगाओस् भनेर युवा बुद्धि र बललाई बिदेसिन विवश पारेको अवधारणा अघि सारेका छन् । साथै आफ्नै देशमा मुक्ति युद्धमा सामेल भई राष्ट्रको अस्तित्व जोगाउनुपर्ने र विदेशीको गुलाम बन्न नहुने दृष्टिकोण जोडतोडले राखेका छन् ।
कवि मातृका पोखरेलका कवितामा समसामयिक अवस्थाको विशृङ्खल विषयवस्तु माक्र्सवादी यथार्थवादी दृष्टिकोणका आधारमा उठाइएको हुन्छ । सामाजिक उत्पीडनको विपक्षमा उभिएका हुन्छन् उनका कविता । अन्याय र अत्याचारको धज्जी उडाउँदै उत्पीडितको आवाजलाई कविताका माध्यमबाट अघि सारेका हुन्छन् कविले ।
उनीहरूलाई आफ्नो मान्छे भन्नुपर्दा
इज्जत गुम्ला भन्ने डर मान्नेहरू
चिनेर पनि नचिनेझैं गर्नेहरू
तिम्रो मानसको म साक्षी बन्न चाहन्नँ
इतिहासले तिमीलाई गर्ने घृणामा
मेरो पनि सहमति छ ।
(आफ्नै जस्तो लाग्योः सेतो दरबारको छेउबाट, पृ. ४१)
कविले यस कवितांशमा समाज वर्गविभाजित हुन्छ । उपल्लो वर्गले तल्लो वर्गलाई जहिले पनि घृणा र उपहास गर्छ भन्ने विचार अघि सारेका छन् । वर्गकै कारण आफन्तलाई पनि आफ्नो नभन्ने र नचिनेजस्तो प्रवृत्ति हाम्रो समाजमा बढ्दै गएकोमा खेद व्यक्त गरिएको छ । कवि वर्गविभाजित समाजको अन्त्य चाहन्छन्
र यस्तो अन्यायी र अत्याचारी समाजको अन्त्य निम्नवर्गीय समाजले कुनै दिन गर्नेछ भन्ने कुरामा विश्वस्त छन् । वर्गविभाजित समाजमा हुने उत्पीडन साक्षी बनेर नबस्ने उद्घोष गर्छन् ।
कवि मातृका पोखरेल अन्याय र अत्याचारका विरुद्धमा भएको सङ्घर्ष वा आन्दोलनलाई समर्थन गर्छन् र ती लड्ने योद्धाहरूलाई होसियार हुन सचेत गराउँछन् ।
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेका छन् ।
(दुस्मनहरू सुरक्षित रहेको बेला ः यात्राको एउटा दृश्य, पृ.११)
यस कवितांशमा कविले नेकपा
(माओवादी) ले गरेको दसवर्षे जनयुद्धको झल्को दिएका छन् । वर्गसङ्घर्षको यात्रामा हिँडेका न्यायप्रेमी साइँलाहरूलाई गाउँका वर्गदुस्मन मुखियाहरूबाट बचेर हिँड्नुपर्ने सुझाव दिन्छन् कवि । जुन किसिमले वर्गदुस्मनको सफाया हुनुपर्ने त्यो अझै नभइसकेको र तिनीहरू विभिन्न रूपमा लुकेर बसेका अनि तिनीहरूको अत्याचार समाप्त भइनसकेको विचार व्यक्त गरेका छन् यहाँ ।
कवि मातृका पोखरेल आफ्ना प्रायः कवितामा विसङ्गत इतिहासको अन्त्यको खोजी गर्छन् । समतामूलक समाजको स्थापनाको अपेक्षा पाइन्छ उनका कवितामा ।
हामी यति बेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान् आँधीझैँ खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः अनुहारहरू, पृष्ठ ७)
यो माथिको कवितांशमा कविले निर्मम इतिहास जलाउनुपर्ने उद्घोष गरेका छन् । निर्मम र विसङ्गत इतिहासका निर्मातालाई बेगवान् आँधीको चक्रमा पारेर संवेदनाहीन अन्त्य गर्नुपर्ने अभिव्यक्तिलाई मुखरित गर्छन् । अथवा यहाँ कविले निरङ्कुश इतिहासको अन्त्यका लागि निर्मम सडक विद्रोहको आह्वान गरेका छन् ।
कवि मातृका पोखरेल उज्यालो इतिहासको निर्माणका लागि कविता लेख्छन् । मुठीभर व्यक्तिले सामाजिक संरचनामा हस्तक्षेप गरेकोमा निर्मम ढङ्गले रुष्ट हुन्छन् ।
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा
यिनीहरूले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो ।
(अनुहारहरू ः अनुहारहरू, पृ. १०)
यस कवितामा कवि पोखरेलले परिवर्तनको चाहनालाई व्यक्त गरेका छन् । वर्ग शोषकप्रति घृणा र वर्ग शोषितप्रति सद्भाव व्यक्त गरिएको यस कवितामा भयानक विद्रोहपछि मात्र नयाँ समयको जन्म हुने र त्यस समयमा सबैले स्वतन्त्रता समानताको अनुभूति विचारलाई नग्न रूपमा प्रस्तुत गरेका छन् कविले ।
उनका कवितामा राष्ट्रिय स्वाभिमान र स्वाधीनताको चेतना मुखरित भएको पाइन्छ । इतिहासमा धेरैपटक नेपाली स्वाभिमान र स्वाधीनता अपमानित भएकोमा दुःखित देखिन्छन् कवि ।
शताब्दीयौंदेखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा ।
(कसको जमीनः अनुहारहरू, पृ.१७)
नेपालीहरूले इतिहासका अनेकन मोडमा आफ्नो सार्वभौमसत्तामाथि विदेशीले नगन हस्तक्षेप गर्दा पनि शासकले मौन बसेको र राष्ट्रियतालाई महत्व नदिएकोमा चिन्ता व्यक्त गरेका छन् कविले उद्धृतांश कवितामा ।
कवि मातृका पोखरेलका कवितामा वैचारिक सघनता व्यग्र रूपमा मडारिएको हुन्छ । सामाजिक, राजनीतिक, आर्थिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गीय विचारलाई कला र सौन्दर्यका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ । समतामूलक मानव समाजको मूल्य र मान्यतालाई उनका कवितामा उत्खनन गर्ने जमर्को गरेको भेटिन्छ ।


व्यङ्ग्य प्रयोग कवि मातृका पोखरेल कवितामा विचारको अलावा व्यङ्ग्य पक्षको पनि सघन उपस्थिति रुचाउँछन् । विविध किसिमका विकृतिका विरुद्ध कवितामा कलात्मक व्यङ्ग्यको आवश्यकता हुन्छ भन्ने मान्यता राख्छन् उनी । व्यङ्ग्यले कवितालाई जीवन्तता पनि दिन्छ, त्यसकारण कवितामा व्यङ्ग्यको सम्प्रेषणीयता आवश्यक पनि ठानिन्छ । व्यङ्ग्य पनि कविताको एक किसिमको सौन्दर्य हो । यसले कवितामा अलङ्कारको काम गर्दछ । मेरी आमा बिपनामा मात्र होइन सपनामा पनि झस्किनुहुन्छ अबुई कालो सर्प ? (कालो सर्प ः सेतो दरबारको छेउबाट, पृ.७) यहाँ कविले सामाजिक असङ्गति र धमिराहरुलाई कालो सर्पका रुपमा चित्रण गरेर त्यस्तो प्रवृत्तिमाथि नग्न व्यङ्ग्य गरेका छन् । यो प्रवृत्ति मानव समाजका लागि खतरापूर्ण हुन्छ भन्ने दृष्टिकोण राखेका छन् । रामैं खालको भ्रम पार्छ जे जति कुराहरु गर्छ रातो किताब बोकेरै गर्छ रातो झन्डा ओढेरै गर्छ । (उसले पनि हाम्रै जस्तो कुरा गर्छः यात्राको एउटा दृश्य, पृ.१७) यस कवितांशमा कविले नेपाली सामाजिक क्रान्तिमा जहिले पनि खुट्टो कमाएको र मानव जातिका सपनामा भ्रमको बज्र प्रहार गरेको कुरालाई इङ्गित गर्दै संशोधनवादी धारप्रति तीखो व्यङ्ग्य प्रहार गरेका छन् । जुन संशोधनवादको चरमचुलीमा पुगेको छ, त्यसैले रातो झन्डा र रातो किताब बोकेर क्रान्तिको फोस्रो कुरा गर्नु भ्रम मात्र हो भन्दै व्यङ्ग्य–बाण हानेका छन् कविले । मेची महाकाली लुटिएको बेला कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ? तिमी जति गाली गर्छौ गर म कविताको इज्जतका लागि लेख्छु । (म तिम्रा कविताको विरुद्धमा लेख्छु ः यात्राको एउटा दृश्य, पृ.२४) नेपाली कविता साहित्यमा शक्तिको पूजा गर्ने र सत्ताको भजन गाउने प्रवृत्तिप्रतिको व्यङ्ग्य हो यो कविको । आफ्नो देशको साँध–सिमाना मिचिइरहेको कुरामा चिन्ता नगर्ने तर आफ्नो सीमित स्वार्थ पूर्ति गर्न हिलारी क्लिन्टनलाई देवत्व बनाएर कविता प्रतियोगिता गरी भजन गाउने जुन प्रवृत्ति हाबी हुँदै गएको छ नेपाली कवितालेखन परम्परामा, त्यसप्रतिको नग्न र आक्रोशपूर्ण व्यङ्ग्य गरेका छन् कविले यो कवितांशमा । ऊ हाम्रै सहरमा बस्छ यतै वरिपरि बस्छ घर देश जलाउँछ आगो ताप्छ म कसरी भन्न सक्छु ? ऊ मेरै देशको नागरिक हो । (नागरिक ः यात्राको एउटा दृश्य, पृ.३६) यहाँ कवि मातृका पोखरेलले स्वदेशीको आवरणमा विदेशी शक्तिले देशको अवस्था जर्जर बनाएकोमा व्यङ्ग्य गरेका छन् । देशको बिग्रँदो अवस्थाप्रति चिन्ता नजनाउने बाह्य इसारामा हिँड्नेप्रति कटाक्ष छ कविको यहाँ । विश्व इतिहासमा रोम दनदनी जलिरहेको बेला त्यहाँका शासक निरोले बाँसुरी बजाइरहेको अवस्थाको झल्को शासकवर्गले दिएको र देश र जनताप्रति अनुत्तरदायी भएकोमा कविले व्यङ्ग्यको झटारो हानेका छन् यस कवितामा । उसले बिस्तारै–बिस्तारै पसिनाको स्विमिङ पुल बनाउने कुरा सोच्यो अनाथ मानिसको रातो रगतलाई होलीमा खेल्ने लोलाको रातो पानीकै मूल्यमा हे¥यो । (बाटाहरू १ः यात्राको एउटा दृश्य, पृ.४८) यस कवितांशमा कविले जनताको रगतलाई स्विमिङ पुलको पानी र रगतलाई होलीमा खेल्ने पानीका रूपमा लिई अवमूल्यन गर्ने शासकवर्गको प्रवृत्तिमाथि कटाक्ष गरेका छन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता र व्यङ्ग्य एकै पटक गरेका छन् यहाँ कविले । दरबारतिर खेताला भिÏयाइरहेका छन् जनताको आँसुमा सर्वत घोल्दै मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर । (यात्राको एउटा दृश्यः यात्राको एउटा दृश्य, पृ. ५४) यहाँ कविले समतामूलक समाजको कोरा नारा दिएर सत्तामा पुगेकाहरूले जनताको बलिदानलाई सर्वतका रूपमा लिएको र स्वतन्त्रताको प्रतीक ‘जिब्रो’ र चेतनाको प्रतीक ‘गिदी’लाई मीठो परिकार बनाएकोमा आपत्तिपूर्ण कटाक्ष गरेका छन् । जनताको बलिदानीपूर्ण आन्दोलनलाई अपमान गर्दै उनीहरूका स्वतन्त्रतामा अङ्कुश लगाउने सामन्तवादको प्रतीक दरबारको खुसीका लागि काम गर्ने प्रवृत्तिमा विमति जनाउँदै व्यङ्ग्यको झटारो हानेका छन् । निधारभरि चन्दन लिपेर मानव वधशालातिर हतियार बोकेर कुदिरहन्छ । (अनुहारहरूः अनुहारहरू, पृ. ८) कविले यस कवितांशमा ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखानलाई स्मरण गराएका छन् । बाहिर हेर्दा एउटा रूप र भित्री काम अर्कै गर्ने प्रवृत्तिलाई नाङ्गेझार बनाएका छन् उनले । बाहिर धर्मभीरुको रूपमा देखिने तर लुकाएर हतियार बोकेर निर्दोष जनताको हत्या गरेर मानव वधशाला बनाउने क्रूर तानाशाहहरूप्रतिको नग्न व्यङ्ग्य हो यो कविको । अचेल टुकुचा किसानहरूको सिनाज्याम्मे सुन्दै बागमतीतिर बग्दैन मान्छेहरूलाई नाक छोप्न लगाउँदै सैनिक व्यारेकतिर लुक्छ । (टुकुचा ः अनुहारहरू, पृ. २४) यहाँ कविले काठमाडौंँ सबैभन्दा फोहोर पानी बग्ने खोलो टुकुचाका कारण आममानिसले नाक थुन्नुपरेको तर त्यही खोलो नेपालको सुरक्षार्थ भनेर स्थापना भएको सैनिक ब्यारेकतिर लुक्न गएको परिदृश्यलाई देखाएर नेपालको द्वन्द्वकालीन समयमा सेनाबाट भएको आम नरसंहारकारी कुकृत्यलाई इङ्गित गरेका छन् । टुकुचाको फोहोर पानीले जसरी आम मानिसलाई नाक थुन्न बाध्य गराएको छ, त्यसरी नै सेनाको कुकृत्यले आम जनमानसमा सन्त्रास फैलाएको छ भन्ने कुरालाई देखाएर कविले तानाशाही प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् । मलाई सिंहदरबार र जादुघर उस्तैउस्तै लाग्छ । (सिंहदरबारः अनुहारहरू, पृ. ३९) सिंहदरबार नेपालको शासनसत्ता चलाउने सर्वोच्च निकाय भएको ठाउँ हो । यहाँबाट जनताले शान्ति, सुरक्षा र सुशासनको अनुभूति गर्नुपर्ने हो । जनताका दैनन्दिनका समस्या समाधान हुनुपर्ने हो । सरकार सबै कुरा जनताका लागि भनेर खोक्रो आदर्श यहाँबाट बाँड्छ तर जनताले पाउने उपलब्धि शून्य मात्र छ । जादुगरले छिनको छिनमै विभिन्न किसिमका खेल देखाउँछ तर ती सबै अर्थहीन लाग्छ वास्तविकता थाहा पाएपछि । सिंहदरबार पनि यस्तै जनतामा भ्रम छर्ने ठाउँका रूपमा विकास भएकोमा आक्रोशको व्यङ्ग्य ओकल्छन् कवि मातृका पोखरेल । यसरी कवि मातृका पोखरेलका कवितामा विचारजस्तै व्यङ्ग्य पनि सघन छ तर कलात्मक छ । व्यङ्ग्यले उनका कवितालाई सिङ्गारपटार पारेको छ । पाठकलाई सहजै आकर्षण गराएको छ ।


बिम्ब संयोजन
कवि मातृका पोखरेलका कवितामा प्रयोग गरिएका बिम्बहरू भिन्न शैलीका छन् । भिन्न शैलीका हुँदाहुँदै पनि समसामयिक बिम्ब बन्न पुगेका छन् उनका कविताका बिम्बलाई मिहिन ढङ्गले हेर्दा । नेपाली कविता साहित्यमा उत्पीडनमा परेका कुरालाई उनले हार्दिकताका साथ बिम्बका रूपमा प्रयोग गरेका छन् । उनका कवितामा क्रान्तिबिम्ब, ऐतिहासिक बिम्ब, दृश्यबिम्ब, प्राकृतिक बिम्ब, संवेदनात्मक बिम्ब, प्राकृतिक बिम्ब र निजी बिम्बको प्रयोग भएको पाइन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय चिन्तनमा विश्वास गर्ने कवि मातृका पोखरेल समाजका उपेक्षित कुरालाई आफ्ना कवितामा बिम्ब र प्रतीकका रूपमा उभ्याउन रुचाउँछन् ।
उनका कविताका बिम्ब–प्रतीकलाई हेर्दा बुर्जुवा समाजले नदेखेका कुरालाई सुटुक्क टिपेर प्रयोग गरेजस्तो लाग्छ । उनले आफ्ना कवितामा उत्पीडनमा परेका बिम्ब–प्रतीकको प्रयोग गरेर सामाजिक न्याय दिने काम गरेका छन् ।
कति आलोकित धु्रवताराहरू भिमानका जङ्गलमा निभे
क्षितिजवारिका
काला गाउँहरूमा निभे
तर, उनीहरू झन्–झन् चम्किरहे ।
(आकाश तिमीलाई निम्ता छ ः सेतो दरबारको छेउबाट, पृ. ६)
यहाँ कवि मातृका पोखरेलले वर्गसङ्घर्षको लडाइँमा राज्यपक्षबाट निर्मम हत्या गरेका ऐतिहासिक पात्र आजादलाई आलोकित धु्रवताराको प्रतीक दिएर बिम्बको प्रयोग गरेका छन् । भिमान आज पनि सामाजिक न्यायको लडाइँमा ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसै गरी निरङ्कुशताविरोधी आन्दोलनमा थुप्रै स्वतन्त्रताप्रेमीले जीवनको बलिदान दिए तर तिनीहरू इतिहासमा चम्किरहेको र इतिहास आलोकित भइरहेको ऐतिहासिक तथ्यको उजागर गर्ने ऐतिहासिक बिम्बको संयोजन गरेका छन् कविले ।)
मैले वरिपरि बत्तीहरू खोजेँ
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्रोोका विरुद्धमा ।
(अँध्यारोका विरुद्धमा ः यात्राको एउटा दृश्य, पृ. १३)
यस कवितांशमा कविले बत्ती र अँध्यारोबीचको द्वन्द्व देखाएका छन् । बत्ती मानवीय जीवनको अपरिहार्य पथप्रदर्शक र अँध्यारोलाई पथ अवरोधकका रूपमा देखाएका छन् । यहाँ कविले दृश्यबिम्बको रूपमा बत्ती र अँध्यारोलाई यहाँ देखाएका छन् ।
र भन्यो
‘शान्ति’ जिन्दाबाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैँ डस्दै भन्यो
‘धैर्य’ जिन्दाबाद ।
(सर्प पूजा ः यात्राको एउटा दृश्य, पृ. २५)
यहाँ कविले गोमन सर्पजस्तो भयानक प्राकृतिक बिम्बको प्रयोग गरेका छन् । शान्ति र धैर्यजस्ता स्थिर बिम्ब निम्नवर्गीय समाजलाई चुप लगाएर बस्न बाध्य पारेको कुरा देखाएका छन् कविले ।
युगौँदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्बा र दिलमायाहरू उठे ।
(उज्यालो हुनुअघि ः यात्राको एउटा दृश्य, पृ. ४४)
यहाँ कविले सांस्कृतिक जातीय बिम्बको प्रयोग गरेका छन् । अनेकन उत्पीडनका कारण आफ्नो आवाजलाई दबाएर बसेका मगर कान्छा, च्याङ्बा र दिलमायाहरूले आफ्नो अधिकारका निम्ति उठेको कुरा देखाएका छन् । जातीय उत्पीडनको ज्वलन्त प्रमाण देखाइएको छ यहाँ ।
हाम्रो अघिल्तिर
शिकार ढुक्तै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाब किताब मिलाइरहेछ ।
(बाटाहरू–२, यात्राको एउटा दृश्य, पृ. ५०)
यहाँ कविले जसले सामाजिक अपराध गर्छ, अराजकता मच्चाउँछ र अरूमाथि थिचोमिचो गर्छ, त्यसैको सुरक्षाका लागि सत्तासीनहरू कालो नाग भएर प्रकट भएको र त्यस्तो प्रकृतिलाई सुरक्षा दिएको कुरा वीभत्स प्राकृतिक दृश्यबिम्बका माध्यमबाट देखाएका छन् ।
एउटा बूढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।
(राजमार्ग र चिन्तित मनहरू ः अनुहारहरू, पृ. ४)
यहाँ कविले बूढो साइकल र थोत्रो सडक बिम्बबाट पुरानो राज्यसत्तालाई इङ्गित गरेका छन् । यसको आयु अब धेरै लामो छैन र यसैमार्फत यात्रा गर्ने हो भने भविष्य सुरक्षित हुन्न । त्यसकारण नयाँ इतिहास सुरुआत हुनुपर्छ भन्ने धारणा बूढो साइकल र थोत्रो सडकलाई ऐतिहासिक बिम्ब बनाएर राखेका छन् ।
ऊ बगर
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ ।
(ऊ बगर ः खडेरी पर्खन्छ ः अनुहारहरू, पृ. २२)
कविले यहाँ सांस्कृतिक बिम्बका रूपमा सनईलाई प्रयोग गरेका छन् । सनईलाई नयाँ जीवनको गीत गाउने समयसापेक्ष युगबोध गराउने परिवर्तनकारी साधनका रूपमा देखाएका छन् । जसमा समयअनुसार नयाँ युगको नयाँ आवाज यसबाट प्रसारण गर्न सकिन्छ तर पुरानो चिन्तन भएका र ढुङ्गाको जस्तो मन भएका तानाशाहलाई यसको धुन मन पर्दैन भन्ने धारणा अघि सारेका छन् ।
दुई वर्ष वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँ–नयाँ दौडबाजहरू
हामी नौला चन्द्रमाहरू छोइरहन्थ्यौँ ।
(उनीहरूले सोचेका भए…ः अनुहारहरू, पृ.३२)
यहाँ कविले ऐतिहासिक बिम्ब लिगलिगकोटका माध्यमबाट नेपालको ऐतिहासिक परिवर्तन चाँ–चाँडो भएको भए नेपाली नयाँ–नयाँ शासन व्यवस्थाको अनुभूति गर्न पाउने थिए र जुनचाहिँ उत्तम ठहरिन्छ, त्यसैलाई आत्मसात् गर्ने थिए भन्ने धारणा राखेका छन् ।
कवि मातृका पोखरेलले कवितामा प्रयोग गरेका बिम्बहरूले वर्तमान समयको क्रूर यथार्थतालाई उद्घाटन गरेका छन् । उनका कवितामा बिम्ब कविताजस्तै सरल छन् तर समयसापेक्ष छन् । उनले प्रयोग गर्ने बिम्बहरू कविले प्रयोग गरेभन्दा भिन्न शैलीका छन् । समाजमा रहेका उपेक्षित र उत्पीडित पात्र र वस्तुलाई बढी महत्व दिएका छन् । यिनै विन्यासयुक्त बिम्बले कविताको अन्तर्वस्तुलाई सौन्दर्यात्मक र प्रगतिशील बनाएका छन् ।


कलाको प्रयोग मातृका पोखरेल वैचारिक पक्षलाई कवितामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने कवि हुन् । कलाबिनाको विचार मात्रै थोपर्दा कविता निरस हुन्छ र कविता जस्तो बन्दैन भन्ने कुरामा विश्वास राख्छन् कवि मातृका पोखरेल । कलाको सम्प्रेषणीयताले नै कविताको अन्तर्वस्तु उज्यालिने भएकाले कवितामा कलाको अनिवार्यता हुन्छ । अलङ्कार वा कलाबिनाको कविताले काव्यको उपहास गर्छ भन्ने कुरामा विश्वास गर्ने कवि मातृका पोखरेलका कवितामा वैचारिक र कलात्मकताको सुन्दर सम्मिश्रण पाइन्छ । वैचारिक रागलाई कलाको लेपनले सुनमा सुगन्ध मिसिएजस्तै सौन्दर्यात्मक बनाउन चाहन्छन् कवि मातृका पोखरेल कवितालाई । कला र विचारको संयोजनले मात्रै कविता हुन सक्छ भन्ने कुरामा सचेत कवि मातृका पोखरेलको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ । मैले उनीहरूको अनुहारमा हेरेँ चिउँडोबाट दुखिरहेको देश तप्प–तप्प बगिरहेको थियो । (यसपटक दसैँमा ः यात्राको एउटा दृश्य, पृ. १५) यहाँ कविले प्रयोग गरेको कवितालाई हेर्दा पाठकको मनलाई ह्वात्तै लोभ्याएको छ । मजुरको पसिना, चिउँडोबाट चुहिएर यही देशमा खसेको छ । उनीहरूले देशलाई ढाकरमा बोकेर भए पनि जोगाइरहेका छन् । तर उनीहरूको पीडा र मर्मलाई देश चलाउने शासकले बुझ्न नसकेको कुरालाई देखाएका छन् । श्रमजीवी जनताप्रति सम्मान व्यक्त गरिएको यस कवितांशमा कविले उच्च काव्यात्मक कलाको प्रयोग गरेका छन् । ‘चिउँडोबाट दुखिरहेको देश’ जस्तो पदावलीको प्रयोग गरेर मजदुरको पीडालाई कलात्मक तरिकाले देखाएका छन् कवितामा । कवि मातृका पोखरेलका कवितामा काव्यिक कलाको सुन्दर संयोजन पाइन्छ । उनका कविता पढ्दा पाठकले आफ्नो पीडालाई कलात्मक ढङ्गले शब्दमा उनेको अनुभूति गर्दछन् । उसले आज बिहानै समाचार सुनी जङ्गबहादुरहरू, माथवरसिंहहरूको हत्यारा खोज्ने आयोग बनाइरहेका छन् । (अब आफ्नै बाटो रोज्नुपर्छ ः यात्राको एउटा दृश्य, पृ. २६) जुन मान्छेहरू आफैं हत्या गर्दै हिँड्छन् र हत्याराको खोजी गर्नुपर्छ भन्दै आयोग बनाउँदै हिँड्छन् । जङ्गबहादुरले आफ्नै मामा माथवरसिंहको हत्या गरेर आफ्ना प्रतिपक्षीहरूलाई सखाप पार्नका लागि कोत सबै मानिसलाई जम्मा गरेजस्तै वर्तमानमा पनि क्रूर तानाशाहहरूले त्यस्तै कार्य गरिरहेको नग्न सत्यलाई कविले ऐतिहासिक बिम्बको प्रयोगबाट देखाएका छन् । हत्यारा जङ्गबहादुरले आयोग बनाएको दृश्यलाई देखाएर अनुकरणीय कलाको प्रयोग गरेका छन् । जलजला काख फराकिलो पार्नुपर्छ यात्रा अझै लामो छ जूनसँग अँगालो हालेर नाच्ने दनि अझै–अझै टाढा छ । (जलजला ः यात्राको एउटा दृश्य, पृ. ३०) कविले यहाँ काख फराकिलो पार्नुपर्छ भन्ने सुन्दर पदावलीको प्रयोगबाट सङ्कीर्ण र तुच्छ विचारलाई परित्याग गर्नुपर्ने धारणा राखेका छन् । सङ्घर्षको सयरलाई लक्ष्यमा पु¥याउनका लागि धेरैभन्दा धेरै मान्छे र तिनका मस्तिष्कलाई एकाकार गरेर अघि बढे मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् कविले । सदीऔंदेखि अचानो बनेर आफन्तहरू पीडा हाँसिरहेछन् पुसमाघको ठिहीमा चिसो हिउँले काटिएको मन भविष्यको पर्खालमा टाँगेका छौं । (भविष्यका लागिः यात्राको एउटा दृश्य, पृ. ३७) नेपाली समाजले सदियौंदेखि अरूको पीडालाई आफ्नो बनाएर हिँडिरहेको तर कुनै पनि किसिमको उपलब्धि हासिल नभएको र दुखित मन लिएर भविष्यमा त केही होला कि भन्ने आशा लिएर बाँच्नुपरेको यथार्थतालाई कविले यहाँ देखाएका छन् । एक थुँगा फक्रेको फूल आफ्ना लागि राखिन कलिला जूनहरूको श्रद्धाञ्जलीमा मेरो बगैंचा मरुभूमिझैं रित्तियो । (कलिला जूनहरूको श्रद्धाञ्जलीमाः यात्राको एउटा दृश्य, पृ.४२) यहाँ कवि मातृका पोखरेलले कलात्मक ढङ्गले नेपालमा भएका थुप्रै आन्दोलनमा थुप्रै मान्छेले बलिदान दिए तर उपलब्धि चाहिँ मात्र शून्य हात परेकोमा आक्रोश व्यक्त गरेका छन् । सहिदलाई वर्षमा एक दिन बगैंचा रित्तिने गरेर मात्र फूल चढाउने तर उनीहरूका आदर्शलाई बिर्सिने प्रवृत्तिको विरोध गरेका छन् । के हाम्रो देश सहिद मात्र जन्माउने देश हो ? हामीले परिवर्तन अनुभूति कहिल्यै पनि नपाइने हो ? भनेर शङ्का व्यक्त गरेका छन् कविले । अझै घोडा चढेर आक्रोशित मुद्रामा सहिदगेटका सालिकहरूलाई जङ्गबहादुरहरू नेपथ्यबाट घुरिरहेछन् । (एउटा पुजारीको आत्मकथा ः यात्राको एउटा दृश्य, पृ. ५८) परिवर्तनलाई नरुचाउने मानिसहरू परिवर्तनको प्रतीकका रूपमा ठड्याइएका सालिकहरूलाई हेरेर आक्रोशित भइरहेको दृश्यलाई देखाएका छन् कविले । यथास्थितिका पुजारीहरू जहिले पनि जङ्गबहादुरले जस्तै परिवर्तनप्रति औँलो ठड्याउँछन् भन्ने कुरालाई यहाँ कविले कलाको उच्च प्रयोगबाट देखाएका छन् । मजस्तै उनीहरू पनि खोजिरहेछन् झर्झराउँदा आँखा भएका मान्छेहरू निर्दोष अनुहारको सम्झनामा । (सपना ः यात्राको एउटा दृश्य, पृ. ६०) यहाँ कविले झर्झराउँदा आँखा कलात्मक पदावलीको प्रयोग गरेका छन् । निर्दोष मान्छेहरूले द्वन्द्वकालीन अवस्थामा आहत हुनुपरेको र सचेत मान्छेहरूप्रति भएको बर्बर दमन र यातनाका विरुद्ध सबै जनाले सचेत ढङ्गले प्रतिरोध गर्नुपर्ने र आफ्नो सपना साकार पार्नुपर्ने आग्रह गरेका छन् । म तयार छु– उनीहरूको पछि लाग्न तर उनीहरूसँग आँखा हुनुपर्छ । (सर्त ः अनुहारहरू, पृ. १) सँगसँगै यात्रा गर्नका लागि सँगै हिँड्ने साथीको पनि फराकिलो सोचाइ र सचेत मस्तिष्क हुनुपर्छ । अरूका सर्तलाई आफ्नो बनाउने क्षमता हुनुपर्छ भन्ने कुरालाई कविले आँखा हुनुपर्छ भन्ने कलात्मक पदावलीका माध्यमबाट अघि सारेका छन् । यहाँ आँखालाई चेतनाको प्रतीकका रूपमा लिइएको छ । घाम रोपेर हिँड्ने एउटा मान्छे तिमीले देख्यौ कि देखेनौ ? एउटा असल मान्छे म¥यो । (उसको मृत्युमा ः अनुहारहरू, पृ. ११) घाम रोप्नु भनेको नयाँ विचार प्रसारण गर्नु हो । उत्पीडनमा परेका मान्छेलाई त्यसको विरुद्धमा उठ्न सचेत गराउनु हो । यस्तै चेतनाको संवाहक र असल मानिसलाई बेपत्ता बनाउँदै हत्या गरेको कुरालाई कविले कलात्मक रूपमा यहाँ प्रस्ुत गरेका छन् । लाटोकोसेराहरू, घामको सुन्दरताको बखान गर्न व्यासासनमा बस्नेछन् र, इतिहासको क्रूर नियति बोकेर वर्तमान बगिरहने छ । (सबै कुरा साँचो हुनेछ ः अनुहारहरू, पृ. १९) यहाँ कविले स्वतन्त्रता र स्वाधीनताको कुरा लाटोकोसेरारूपी तानाशाहहरूले बखान गरेकोमा खिन्नता प्रकट गरेका छन् । लाटोकोसेरो जो दिनभरि निदाएको अभिनय गर्छ र रात परेपछि सिकार गर्न अनुकूलता ठान्छ, त्यसैले घामको सुन्दरताको बयान गर्नुले के कुरा देखाउँछ भने जुन तानाशाह लोकतन्त्र भन्नेबित्तिकै तर्सन्छ, त्यसैले लोकतन्त्रको कुरा गर्नु इतिहासलाई बङ्ग्याउनु मात्र हो भन्ने धारणा कविले कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । मिथक कथाजस्तै बच्चाहरूले सुनाउँदै जानेछन् यो कथा पछिसम्म पुस्तापुस्ताको अन्तरालपछिसम्म । (अचेल मान्छेहरू ः अनुहारहरू, पृ. ३०) यहाँ कविले कलात्मक शब्द संयोजन गरेका छन् । यही कलात्मक शब्द शिल्पका माध्यमबाट इतिहासको कुनै कालखण्डमा घटेका विभत्स घटनाहरू पुस्तौनी अन्तरालपछि मिथक जस्तै भएर रहन्छन् र एकपछि अर्को पुस्तामा सर्दै जान्छन् भन्ने कुरालाई देखाएका छन् । म क्रोधले आहत भएँ म अतीतसँग क्रुद्ध भएँ म सेतु सुनार मैले खाडलमाथि उठ्न बलिदानको एउटा भ¥याङ लाएँ । (वनफूल र सपनाहरू ः अनुहारहरू, पृ. ४५) कवि मातृका पोखरेलले यहाँ विगतका अमानवीय इतिहाससँग विमति राख्दै नयाँ मानवीय मूल्य र मान्यता भएको इतिहास निर्माणका लागि सेतु सुनारले बलिदान दिएको कुरा देखाएका छन् । विगतका इतिहासहरू विभेदकारी भएको र मानवीय मूल्यलाई समेत खाडलमा हालिएको, त्यसैका आडमा मान्छे–मान्छेबीचको विभेद खडा भएको र समतामूलक समाजका लागि नयाँ इतिहास रच्नुपर्ने आग्रह कविले सेतु सुनारका माध्यमबाट कलात्मक ढङ्गले प्रस्ुतत गरेका छन् । कवि मातृका पोखरेल कलात्मक मूल्य र मान्यताको सम्मानबाट मात्रै कवितामा वैचारिक पक्षलाई बलियोसँग प्रस्तुत गर्न सकिन्छ भन्ने धारणा राख्छन् । उत्पीडनमा परेका कुरालाई सरल ढङ्गले कलात्मक रूपमा प्रस्तुत गर्नु उनको विशेषता हो । यही विशेषताले नै उनलाई कवितामा जीवन्त बनाएको छ; उनका लागि कविता कालजयी बनेका छन् ।


उपसंहार
चालीसको दशकदेखि नेपाली कविता साहित्यमा समर्पित कवि मातृका पोखरेलका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य र अनुहारहरू गरी तीनवटा कृतिहरू अहिलेसम्म प्रकाशित भएका कृति हुन् । उनका कवितासङ्ग्रहले वर्तमान नेपाली समाजका विकृति र विसङ्गतिमाथि हस्तक्षेप गर्नुपर्छ भन्ने मान्यता बोकेका छन् । पहिलो कृतिभन्दा पछिल्लो कृति बढी कलात्मक देखिन्छ । कला र विचारको संयोजनबाटै सुन्दर कविताको निर्माण हुन्छ भन्ने कुरामा उनी विश्वास राख्छन् । यो नै कवि मातृका पोखरेलको निजत्व पनि हो । विचार, कला, व्यङ्ग्य र बिम्बको संयोजन नवीन ढङ्गबाट गरेका हुन्छन् उनले कवितामा । यसले गर्दा उनका कविता जीवन्त बनेका छन् । परम्परागत र शास्त्रीय चिन्तनभन्दा भिन्न कोणबाट नेपाली कविताको पहिचान हुनुपर्छ भन्ने मान्यता उनका कविताले राखेका छन् । यो नै कवि मातृका पोखरेलको निजत्वपूर्ण उपलब्धि र पहिचान हो ।


सन्दर्भसूची पोखरेल, मातृका, सेतो दरबारको छेउबाट, (सृजनशील प्रकाशन, मैतीदेवी, काठमाडौं, प्र.सं., वि.सं २०५६) पोखरेल, मातृका, यात्राको एउटा दृश्य, (विवेक सिर्जनशील प्रकाशन प्रा.लि. प्र.सं., वि.सं. २०६०) पोखरेल, मातृका, अनुहारहरू, (धवलागिरि साहित्य प्रकाशन, २०४१, बाग्लुङ, प्र.सं.,वि.सं. २०६४) डा. पाण्डेय, ताराकान्त, प्रगतिवाद र कविता, (शीला योगी, काठमाडौं, प्र.सं., वि.सं. २०५६) डा. गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताका प्रवृत्ति (पैरवी प्रकाशन, रामशाहपथ, काठमाडौं, प्र.सं., वि.सं. २०६०) कड्वेल, क्रिस्टोफर, विभ्रम और यथार्थ (राजकमल प्रकाशन प्रा.लि., दिल्ली, सन् १९९८)

समष्टि द्वैमासिक, २०६७/६८ चैत-बैसाख 

 

=========================================================

 

प्रगतिवाद र कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृश्य’

 


—नन्दलाल आचार्य

अ. विषय प्रवेश :

‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र
स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले माक्र्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरूपमा सामाजिक यथार्थवादी दृष्टिकोण, देशभित्र र बाहिरका चेतनामूलक विचारहरू, शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति, विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन, नारी हक, हितप्रति सचेत, ईश्वर, धर्म, आत्मा, स्वर्ग, नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
सत्रौँ शताब्दीपछि जन्मिएको र विकसित भएको प्रगतिवादी साहित्यको विकासका क्रममा विश्व कम्युनिष्ट घोषणापत्र (सन् १८४८ मा माक्र्स–एङगेल्सद्वारा जारी)को जगमा उभिएर संगठित रूपमा अघि बढेको साहित्यतर्फको पहिलो संस्था चाहिँ सन् १९३५ मा फ्रान्सको प्यारिसमा पहिलो अधिवेशन भएको ‘प्रोग्रेसिभ राइटर्स यशोसिएसन’ हो जसका पहिलो सभापति इ. एम. फोस्टर भए । भारतमा भने सन् १९३६ मा ‘भारतीय प्रगतिशील लेखक संघ’ जन्मियो । राणा शासकहरूद्वारा गराइएको मकैपर्व, लाइब्रेरी पर्व, सहिदहरू ः दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीहरूको शहादत (१९९७)ले महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरूमा विद्रोही भाव सञ्चार भयो । नेपालमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी (२००६)को गठन भएपछि २००७ साल पछिको स्वतन्त्र परिवेशमा जग बस्दै ‘प्रगतिशील लेखक संघ’ (२००९) जन्मिएको इतिहास छ । झर्रोवादी आन्दोलन (२०१३), जनसांस्कृतिक सभा (२०१३), २०२८ को झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०३८ मा पारिजातको नेतृत्वमा ‘अखिल नेपाल जनसांस्कृतिक संघ’को स्थापना, अखिल नेपाल लेखक संघ आदिले मलजल गर्दै प्रगतिवादी साहित्यिक धार अघि बढेको देखिन्छ । माक्र्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक आदि तवरले शोषित, पीडितवर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् । प्रगति (२००७ पछि), सेवा (२००८), जनयुग (२००९), जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६) सेवाजस्ता पहिलेका र झिसमिसे, जनादेश, महिमा, कलम, जनआह्वान, योजना, वेदना, नयाँ कोशी, जलजला, दिशानिर्देश, प्रतिभा प्रवाह, मूल्यांकन, जनदिशा, जनविद्रोह, संकल्प, उत्साह, मधुमास, नयाँ संस्कृति, उद्बोधन, प्रतिबिम्बन, प्रबोधन, नौलो जनउभार, पृष्ठभूमि, जनाधार, पूर्वी क्षितिज, जनक्रान्तिजस्ता अहिलेका पत्रपत्रिकाहरूले प्रगतिवादी आवाजलाई वुलन्द पार्दै आएका छन् । यस्ता आन्दोलन, पत्रपत्रिका र संघसंस्थाहरूका अतिरिक्त अन्य पक्षहरूले समेत प्रगतिवादलाई मूर्तरूप दिन प्रत्यक्ष, परोक्ष बल प्रदान गरिरहेका छन् ।
मूलभूतरूपमा प्रगतिवादी साहित्य माक्र्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास, विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुञ्जायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
यसरी प्रगतिवादी आवाजलाई बुलन्द गर्नेहरू महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल भूपि शेरचन, धनुषचन्द्र गौतम, श्यामप्रसाद शर्मा, धर्मराज थापा, गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, मदनमणि दीक्षित, आनन्ददेव भट्ट, गोविन्द भट्ट, हृदयचन्द्रसिंह प्रधान, मुक्तिनाथ तिमिल्सिना, खड्गबहादुर सिंह, मोदनाथ प्रश्रित, पारिजात, डा. ऋषिराज बराल, दौलतविक्रम विष्ट, राजेन्द्र सुवेदी, देवी गौतम, खगेन्द्र संग्रौला, रघु पन्त, रुद्र खरेल, रविलाल अधिकारी, गंगा उप्रेती, रमेश विकल, कृष्ण बम मल्ल, तारानाथ शर्मा, गीता केशरी, इस्माली, गोविन्द गिरी प्रेरणा, गणेश रसिक, गम्भीरबहादुर थापा, भवानीप्रसाद शर्मा, रामकुमार श्रेष्ठ, युद्धप्रसाद मिश्र, शान्तनु पन्त नेपाली, यज्ञप्रसाद आचार्य, बालकृष्ण पोखरेल, देवमणि ढकाल, श्यामप्रसाद अधिकारी, कृष्णप्रसाद सर्वाहारा, कृष्ण सेन ‘इच्छुक’, चूडामणि रेग्मी, बिन्दुप्रसाद नेपाली, पूर्णविराम, जसराज किराँती, चैतन्य, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, जगदीश घिमिरे, युवराज संग्रौला, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, शक्ति लम्साल, निनु चापागाइँ, डा.ताराकान्त पाण्डेय, रमेशप्रसाद भट्टराई, लीलध्वज थापा, वीरेन्द्र खुँजेली, कोषराज रेग्मी, रामप्रसाद ज्ञवाली, डा.जगदीशचन्द्र भण्डारी, डा. नन्दीश अधिकारी, नारायण ढकाल, कविताराम श्रेष्ठ, के.पी. ढकाल, हरिगोविन्द लुइँटेल, खुशीराम पाख्रिन, नेत्रलाल अभागी, अशोक सुवेदी, पुन्य कार्की, डा. गोपिन्द्र पौडेल, देवी नेपाल, पद्मावती सिंह, खेम थपलिया, अनिल पौडेल, रमेश भट्टराई, हीरामणि दुःखी, सुधा त्रिपाठी, अमर गिरी, डा. भवानीप्रसाद पाण्डे, लेखबहादुर कार्की, राममणि पोखरेल, धीरेन्द्र प्रेमर्षि, रामविक्रम थापा, डा. कृष्णराज अधिकारी, प्रभात चलाउने, राजु क्षेत्री, खुमलाल पौडेल, खेमराज खनाल, डा.गोविन्द आचार्य, डा. पशुपतिनाथ तिमल्सेना, डा. विश्नाथ भण्डारी, टीकाराम उदासी, डीजन भट्टराई, भाष्कर, गोबिन्द वर्तमान, पुण्य खनाल, देवेन्द्र थुम्केली, धनप्रसाद सुवेदी श्रमिक, माधव भण्डारी, भरत रोदन साउद, भीम राना भाट, इन्द्र राउत, भोगीराज चाम्लिङ्ग, मधुसूदन गिरी, डा.शिवप्रसाद पौडेल, श्रमशील, डा.देवीप्रसाद गौतम, डा.अच्युतशरण अर्याल, डा.आर.पी. तिमल्सिना, रोहित दाहाल, श्यामकुमार बूढामगर, खेमराज खनाल, प्रभात के. सी., कमल नियोल, दण्डपाणि न्यौपाने, सुरेश वाग्ले, रीतबहादुर खडका, च्याङ्वा लामा, डी.वी. थापा, रोहित कोइराला, पुष्पराज चौधरी, कमल पुन, हर्षबहादुर मल्ल, शारदा श्रेष्ठ, मस्त विष्ट, झक्कुप्रसाद पुन, अशोक थापा, कर्ण बानियाँ, बल्लभमणि दाहाल, देवमणि ढकाल, हरिहर खनाल, विनयकुमार कसजु, प्रदीप नेपालजस्ता साहित्यकारहरूको कलमको मसी खर्चिएको भेटिन्छ । त्यसै गरी अन्यको नाम लिनुपर्दा, छायादत्त न्यौपाने बगर, उमेश आचार्य, मोदनाथ मरहठ्ठा, जनार्दन वियोगी, पोषराज पौडेल, दिनेश दुवाल, धनबहादुर मगर, सीता शर्मा, धनेश्वर पोखरेल, सुकुम शर्मा, प्रदीप बालाचन, भीम रानाभाट, गंगा श्रेष्ठ, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, टीकाराम उदासी, राजेश विद्रोहीे, धनप्रसाद सुवेदी, डीपी ढकाल, डी.आर. पोखरेल, तेजविलास अधिकारी, नमुना, एम बटुवा, सीपि गजुरेल, भगवानचन्द्र ज्ञवाली, मोहनलाल चन्द, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सि.बी. आचार्य, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, नारायण मरासिनी, परशुराम कोइराला, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमनाथ पौडेल, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृष्णराज अधिकारी, केदार शर्मा ढकाल, पूर्णवहादुर अधिकारी, माधव ढुङ्गेल, माधवप्रसाद सुवेदी, निभा शाह, संगीतस्रोता, पुण्यप्रसाद आचार्य, वेणु आचार्य, रामप्रसाद जैसी, यमबहादुर पौडेल क्षेत्री, यज्ञवहादुर डाँगी, यज्ञश्वर निरौला, यादवराज उपाध्याय, योगराज सापकोटा, देवेन्द्र पौडेल, अनिल श्रेष्ठ, बन्दना ढकाल, भानु भण्डारी, यज्ञराज प्रसाई, दिनेश दुलाल, शोभा थापा, कमला रोका, उषा मगर, सुशिल क्षेत्री, चुनु गुरुङ, गणेश भण्डारी, भरतरोदन साउद, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त, जनक महतारा, धनेश्वर पोखरेल, दीपक चिन्तक, अनिल शर्मा, सीता शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, राजभाइ जकमी, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पञ्चकुमारी परियार, लोकेन्द्र विष्ट, आशा नेपाली, दीपक वि.क., विष्णु भण्डारी, विष्णु वि.क., विन्दा मैनाली, केदार श्रेष्ठ ‘गगन’, रामहरि पौडेल, रामचन्द्र फुँयाल, रश्मिला नेपाल, कृष्ण किराँती, होम जवेगु, शारदारमण नेपाल, शैलश पौडेल, हरिहर चापागार्इँ, टंकबहादुर आलेमगरजस्ता सयौँ स्रष्टाहरूले प्रगतिवादी साहित्यमा कलम चलाएका छन् । कसैले दरिलो स्थान बनाएका छन् भने कोहीकोही भने उदियमान् स्रष्टाका रूपमा आफूलाई चिनाउँदै आएका छन् । कोही यस वादमा मात्र रहेर लेख्छन् भने कोही प्रगतिवादका अतिरिक्त अन्यवादमा पनि दखल राख्छन् । यस सानो लेखमा यसै प्रगतिवादी धारामा आधारित भई कलम चलाउने कवि मातृका पोखरेल र उनको कविता संग्रह ‘यात्राको एउटा दृष्य’ बारेमा संक्षिप्त चर्चा गर्ने अभीष्ट राखिएको छ ।

आ. कवि परिचय : साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । ‘समीक्षा’ साप्ताहिकमा २०४४ सालमा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलो पटक प्रकाशित रचना हो । एम.ए (नेपाली) सम्मको औपचारिक शैक्षिक ज्ञान हासिल गरेका पोखरेलको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरूले पुष्टि गर्दछन् ।
(१) सेतो दरबारको छेउबाट (कविता संग्रह, २०५७), (२) यात्राको एउटा दृष्य (कविता संग्रह, २०६०), (३) सन्त्रस्त आँखाहरू (कथा संग्रह, २०६१) र (४) अनुहार (कविता संग्रह, २०६४) जस्ता चार ओटा कविता र कथा विधाका संग्रह निकालेका स्रष्टा पोखरेल बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने स्रष्टा पोखरेलको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रि«य परिवेश, इतिहास, कला, साहित्यतर्फ समेत मुखरित भएको पाइन्छ । वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्ब जस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै आएका स्रष्टा पोखरेल प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न भएर र सांस्कृतिक आन्दोलनमा अग्रणी भएर एवं नेपाल विद्युत प्राधीकरणमा कार्यरत् रहेर जीवनरथ अघि बढाइरहेका छन् । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका पोखरेल थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ ।

इ. ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहको विश्लेषण : कवि मातृका पोखरेलको दोस्रो कृति ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहमा २०५७ सालदेखि २०६० सम्म रचिएका मध्ये जम्मा २२ वटा कविताहरू समाविष्ट छन् । सबै कविताहरूमा गम्भीर मुद्दा उठाइएको छ ।
(१) फरक आँखाका यात्रीहरू ः— यस शीर्षकको कवितामा कवि पोखरेलका मित्र शोभाकान्त पोखरेलको प्रहरीद्वारा गरिएको निर्मम हत्याको घोर विरोध गरिएको छ । यसका साथै मस्र्याङ्दीको निर्मल पानी, वरपरका सेता झरनाहरू, छेउछाउका हरिया खेतहरूजस्ता सौन्दर्यताले अरू मित्रहरूलाई तान्यो तर कवि त्यस सौन्दर्यतामा केवल मित्र शोभाकान्तकै छायाँ देख्ने गरेको कुरा वताउँछन्–
साथीहरू अन्यथा नठान्दा हुन्छ
म यो मौसममा यो ठाउँमा
हरियालीका कविता लेख्न सक्तिनँ
सेता झर्नाका कविता लेख्न सक्तिनँ
हामी मस्र्याङ्दी किनाराका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू । (पृष्ठ ः ८)
(२) दुश्मनहरू सुरक्षित रहेको बेला ः— यस कविताले सामन्तहरू रजाइँ गरिरहेका तर गरिब बाबुआमाका छोराछोरीहरू चाहिँ माओवादी र पुलिस बनेर लडिरहेको तीतो सत्यलाई ओकल्ने काम गरेको छ । आफूआफू मिले मात्र सामन्तहरूलाई परारस्त गर्न सकिन्छ भन्ने मान्यता राख्दै कविता भन्छ –
बहिनीहरूले उसै गरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउँनुपर्छ,
साइँला, तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला, सुरक्षित बाँचिरहेछन् । (पृष्ठ ः ११)
(३) अँध्यारोका विरुद्ध ः— उज्यालोको खोज अँध्यारोको पीडा बोक्नेहरूलाई हुन्छ । हामी उज्यालोका भोका छौँ । उज्यालो पाउन अँध्यारोको स्वाद चाख्नुपर्ने हुन्छ । विना उज्यालो जीवनका मूल्य र मान्यता छिचोल्न पाइन्न । उज्यालोले अँध्यारोलाई धपाउन खोज्छ तर अँध्यारोले उज्यालोलाई दवाउन खोज्छ । संसारमा उज्यालोको राज छैन । अँध्यारोको पनि एकक्षत्र राज भने छैन । तर अँध्यारोले राज खोसिरहेको छ । अतः मानवीय स्वाभिमान लिलाममा चढेको छ । जो अँध्यारोको कर्तुतबाट अनविज्ञ छैन, उसैले बत्तीको जोहो गर्न कम्मर कस्छ । जो अँध्यारोमा सर्वस्व पाएको भान गर्छ ऊ नै अरूको आर्तनाद स्वरलाई संगीतको मधुर धुन सम्झन्छ । यसप्रकार उज्यालो र अँध्यारोको यस युद्धमा उज्यालोको पक्षमा लागेर संसारलाई उज्यालोमय बनाउनुपर्ने मत कविताबाट सार्वजनिक भएको छ–
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालेँ
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तक्र्यो । (पृष्ठ ः १२)
(४) यस पटक दशैँमा ः— देशलाई पत्रु भाँडो बनाइयो । देशको दश गजा मेटियो । देशलाई ऋणमा डुवाइयो । देशलाई ढाकरे दाइहरूको टेकोले अडिने बनाइयो । देश यत्तिखेर टिठलाग्दो छ । देश दुःखलाग्दो बनेको छ । देश भित्रभित्रै पिरोलिएको छ । देशलाई श्वास फेर्न कठिनाइ भएको छ । दशैँको बेलामा आफ्नो गाउँघरतिर जाँदा कविलाई महसुस भएको यस तीतोसत्यलाई ओकल्ने काम गर्दै कविता भन्छ–
यसपटक घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखेँ
उनीहरूको जीवनमै देश भेटेँ,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमै देश देखेँ । (पृष्ठ ः १४)
(५) उसले पनि हाम्रैजस्तो कुरा गर्छ ः— क्रान्तिकारीको आवरणमा ब्रह्मलुट गर्ने अवसरवादीहरूको कुकृत्यको भण्डाफोर नगरी मुलुक उँभो लाग्दैन । कागजी र मुखौले कानुनी योजना राम्रो भए पनि कार्यान्वयन पक्ष निर्वलियो बनाएर सात पुस्तालाई पुग्ने धन बटुल्न माहिर नेतानेतृहरूलाई चुलाचौका बार्नुपर्छ । मान्छे किनेर स्वार्थको घैला भर्नेहरूबाट बेलैमा सतर्क रहनुपर्छ । नत्र रातो किताब लिएकाहरूबाटै जनता र मुलुक खतरामा पर्नुपर्छ भन्ने भाव सञ्चार गर्दै कविता भन्छ–
बस्तीहरूलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र, त्यहाँ बुझिने, बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने, नबुझिने कुरा गर्छ । (पृष्ठ ः १७)
(६) दुख्ने मनहरूसँग ः— मन दुखाउनेहरूसँग नाता तोड्दामा नै उन्नति सम्भव हुन्छ । बेरोजगारीले, दाइजोले, सामन्तले अनि देश मिचाहाहरूले हामीलाई कंगालपति बनाइरहेका छन् । त्यस्ता फटाहाहरूले देश खोज्दै हिँडेका क्रान्तिका अभियन्ताहरूलाई ढाल्ने काम गरिरहेका छन् । देवी खड्का, च्याङ्वा लामाको परिवार, शिव खड्काकी आमाहरूको कहालीलाग्दो अवसान पार्नेहरूसँग विद्रोह गर्नुपर्ने आवश्यकता कविताले गराएको छ –
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ,
कहिलेकाँही यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ । (पृष्ठ ः २१)
(७) म तिम्रा कविताको विरुद्धमा लेख्छु ः— जनपक्ष र जनप्रतिपक्षको लडाइँ लामो समयदेखि निरन्तर चलिरहेको छ । कसले जित्छ भन्दा पनि कसले जित्नुपर्छ भन्ने कुरा ठूलो हो । सामन्तहरूको मुखपत्र भएर अखबारहरू उभिएको पनि भेटिन्छ । जनताको दविएको आवाजलाई बुलन्द गर्ने गरी अखवारका पानाहरू कुँदिएको पनि भेटिन्छ । अरूको त के कुरा कलमले ज्यान बचाइरहेकाहरू पनि कलमको दुरुपयोग गरी मालामाल भएका छन् भने कोहीकोही त्यही कलमको सदुपयोग गरेर जनताका आँखाका नानी पनि भएका छन् । जनपक्षिय मतलाई हृदयदेखि नै स्वागत गरेर र जनघाती मतलाई विरोध गरेर लेखिएको यो कविताले भन्छ–
म यत्तिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ? (पृष्ठ ः २४)
(८) सर्प पूजा ः— स्वार्थको भाँडो जतालाग्दा भरिन्छ, त्यतै लाग्ने अवसरवादीहरूको कर्तुतलाई उदांगो पार्ने काम यस कविताले गरेको छ । तिनै नेता हुन्, जो समयअनुसार छेपारे प्रवृत्ति अपनाउँछन् । तिनका मुखमा पञ्चायतलाई पनि जिन्दावाद, बहुदललाई पनि जिन्दावाद र अहिले गणतन्त्रलाई पनि जिन्दावाद थियो र छँदै छ । अवसरको खोजीमा रहेकाहरू विरुद्ध औँलो ठड्याउँदै कविता कुर्लन्छ–
प्रजातन्त्रको नारा
सर्पहरूले लगाए पनि
लाचार हामी सुनिरह्यौँ
कहिलेसम्म सुन्छौँ ?
तर उही खतरामा
अझसम्म सुनिरह्यौँ । (पृष्ठ ः २६)
(९) अब आफ्नै बाटो रोज्नुपर्छ ः—कलाकार प्रवीण गुरुङ्गको हत्या एउटाले गरेको र आरोप अर्कैमा थुपारी सजाय दिइएको तीतोयथार्थलाई सम्बोधन गरेर यस कवितामार्फत वर्तमानको आवाज बुलन्द गरिएको छ । साँचो हत्यारा पानी माथिको ओभानो भई सार्वजनिक जीवन भोगिरहेको परिप्रेक्ष्य कोट्याउँदै प्रवीणका सन्तानले बाबुकै हत्याराको जन्म दिन मनाउने र त्यसकै मृत्युमा कपाल खौरी शोक मनाउने स्थिति रहेको वोध गराउँछ –
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारिरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ । (पृष्ठ ः २९)
(१०) जलजला ः— जलजला महत्व बोकेको पहाड हो । जलजलालाई देखेर वीरताको गौरवगाथा भाका हालेर गाउने मन हुन्छ । शक्ति र सौन्दर्य बोकेर जलजला हामीलाई छहारी दिइरहेको छ । हामी भने गाँस, वास र कपासको खोजीमा त्यस छहारीबाट बाहिरिन्छौँ र पुनः समय, श्रम र शक्ति विदेशी भूमिमा सुम्पी विकलाङ्ग बनी मृत्यु पर्खन मात्र छहारीमा आउँछौँ । यस विडम्बनालाई चिर्दै कवि विदेशी लात र वातभन्दा स्वदेशी रुखो सुखोमा सन्तोष मानी यहीँ दशनङ्ग्रा खियाउन र विवेकको लगानी गर्न आग्रह गर्दै यस धर्तीलाई हराभर पार्न आह्वान गर्दछन् –
जलजला, काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अंगालो हालेर
नाच्ने दिन अझै, अझै टाढा छ । (पृष्ठ ः ३०)
(११) प्रिय मान्छेका गीतहरू ः— लेख्नेहरूले लेखे । कसैले देखेका कुरा लेखे, कसैले देखेका कुरा छाडेर नदेखेका कुरा लेखे । जसले नदेखी हावादारी तालले गद्दारका पक्षमा लेख्यो, त्यसको मूल्य नै रहेन । समाजमा अनिष्टता निम्त्याउने कार्य गरेर त्यस्ता मान्छेले मान्छे भ्रष्ट पार्ने गीत लेख्यो । त्यसले लेखेका गीतहरूले मान्छे खाए । मान्छे खाने गीतको विपक्षमा उभिएर कवि मातृका पोखरेल मान्छेको मन खाने गीत लेख्न र गाउन रुचाउँछन् –
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू । (पृष्ठ ः ३५)
(१२) नागरिक ः— जलेको देशको तापमा रमाउने मान्छे नागरिक हुन सक्दैन । देश जलाउँनु अर्थात् देशलाई घाटा हुने काम गर्नु गद्दारी कर्म हो । उसको नागरिक धर्म यही हो कि उसले मुलुकको कल्याणमा जीवन समर्पण गर्नुपर्छ भन्दै कविता भन्छ–
ऊ हाम्रै सहरमा बस्छ
यतै वरपर बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो । (पृष्ठ ः ३६)
(१३) भविष्यका लागि ः— गरिखाने वर्गको श्रम चुसेर र खोसेर खानेहरूले विदेशी दलालहरूसँग मिलेमतो गरी जनयुद्ध दवाउन गरेको प्रयत्नका बारेमा चर्चा गर्दै कविता भन्छ –
हाम्रो प्रिय जङ्गलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने योजना बनाइरहेछौँ । (पृष्ठ ः ३९)
(१४) कलिला जूनहरूको श्रद्धाञ्जलीमा ः— समयको माँगअनुरूप गर्नुपर्ने कुरा गर्दा विद्रोही हुनुपर्ने, आफ्नो हक माग्दा आतंककारीको विल्ला बोक्नुपर्ने अवस्थाहरूबाट पार पाउन जनयुद्धमा लामबद्ध भएकाहरूको स्वागतका निम्ति कवि तयार भएका छन् । युद्धताका कहालीलाग्दा दिनहरू आएका र देशका लालयोद्धाहरू गुमेका कुराले कवि मन रोएको छ –
पोहोर साल
बगैँचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा पातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुँगा फक्रेका फूलहरू
चुल्ठोमा लाउन,
मैले त्यस वर्ष पनि
एकथुँगा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैँचा मरुभूमिझैँ रित्तियो । (पृष्ठ ः ४२)
(१५) उज्यालो हुनु अघि ः— दबाएर बसिखानेहरूको एकाधिकार हटाई रुढिग्रस्त कुरूप समाजको रूपान्तरण गरेर समृद्धशाली समाज निर्माण गर्ने चाहनाबाट प्रेरित भई क्रान्तिमा होमिएका लालयोद्धाहरूलाई मृत्युको मुखमा पुर्याउन सरकारले चालेका जनघाती कदमलाई धिकार्दै कविता विष ओकल्दछ–
गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाउँ पसेका छन्
यस पटक शहरले
गाउँकै मान्छे किनेर
गाउँ मार्न पठायो । (पृष्ठ ः ४३ र ४४)
(१६) स्यम्भूका आँखासँग ः— सामन्तको एकछत्र राज भत्काउने ऊर्जाशील कवि एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई कलम चलाएकै आधारमा निर्र्मम हत्या गर्ने कायर सरकारप्रति आक्रोशित हुँदै र ‘इच्छुक’प्रति श्रद्धाभाव खन्याउँदै कवि स्वयम्भुका आँखाहरूसँग प्रश्न राख्छन् –
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू,
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ? (पृष्ठ ः ४७)
(१७) बाटाहरू–१ ः—हाम्रा बाटाहरू भिन्न भिन्न छन् तर गन्तव्य एउटै हुनुपर्छ । वास्तविकता त्यस्तो छैन । जसरी बाटाहरू फरक छन्, त्यसरी नै गन्तव्य फरक पार्नेहरू पनि मनग्यै छन् । जनमुखी बाटोमा हिँड्न वैयक्तिक स्वार्थबाट अलगिनुपर्छ । निजी स्वार्थबाट टाढिएकाहरू मात्र विकासका कुरा गर्छन्, समाजका दुखियाहरूलाई सुखको बाटो देखाई दिन्छन् तर स्वार्थले जेलिएकाहरू अनाथहरूको रगतले होली खेल्छन्, अर्काको पसिनाले नुहाउँछन् र आफ्नो अजीर्ण पेट मुसार्छन् । यसरी बाटाहरू अलग अलग भएको देखाउँदै कविता भन्छ –
हामी अनिंदो बसेर रातभर
दिनको कुरा गथ्र्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गथ्र्यो
हामी भोलिका निम्ति
जूनको कुरा गथ्र्यौं
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो । (पृष्ठ ः ४८)
(१८) बाटाहरू–२ ः— लुटाहाहरूको लुट्ने प्रवृति भिन्न किसिमको हुन्छ । जब सिकार हात पर्छ, लुटिहाल्छन् । नपरेको खण्डमा साधु बनेर बाटो ढुक्छन् । त्यस्ता अनैतिक र अमर्यादित बाटोमा हिँड्नेहरूदेखि सावधान गराउँदै कविताले भनेको छ –
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एक साथ हाम्रो बाटोमा झम्टन्छन्
र, क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई । (पृष्ठ ः ५१)
(१९) बाटाहरू–३ ः— उज्यालो माग्नेका छातीमा बुट हानेर अँध्यारो राज निम्त्याउने र ढलिमली गर्ने सोचलाई थप्पड हान्दै चुनौती दिने काम कविताले गरेको छ –
सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रुखको कापमा बसेर उल्लूहरू
पान चवाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन् । (पृष्ठ ः ५२)
(२०) यात्राको एउटा दृष्य ः— माघ १९ को कदमबाट जनअधिकार हनन गरी निरंकुश सत्ता लादेपछिका समयमा दरबार नजिक भएर देश र जनतालाई लुट्ने र भुट्ने नेतानेतृको बुझिनसक्नुको लीला देखेर कवि आक्रोश पोख्दछन्–
मीठो सपना बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबार मार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौँ । (पृष्ठ ः ५६)
(२१) एउटा पूजारीको आत्मव्यथा ः— देश र जनताका लागि जीवन बलिदानी गर्ने श्रद्धेय सहिदहरूको शालिक माथि राजा त्रिभुवनको शालिक रहेको देख्दा र १०४ वर्षे जहानियाँ निरंकुश सत्ता लाद्ने जंगबहादुर, सहिदहरू (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, १९९७)लाई फाँसी चढाउने नरशमसेरहरूको त्रास अझै ज्यूँदै रहेको परिप्रेक्ष्यलाई समेट्दै कवितामा सहिदहरूप्रति सही तवरले श्रद्धा राख्नुपर्ने विचार यस कविताले गरेको छ –
म प्रत्येक विहान
सहिदलाई पूजा गर्न सहिदगेट जान्छु
तर सहिदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
सहिदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म सहिदगेटको एउटा पीडित पुजारी । (पृष्ठ ः ५७)
(२२) सपना ः तौली तौलीकन शब्दहरू बोल्नुपर्ने, आफ्ना मनका करुण भावहरू पनि गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपर्ने, सपनाहरू धुजाधुजा बनाउन वाध्य हुनुपर्ने जस्ता अवस्थाबाट पार पाउने चाहना राख्नु र भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जाउनु सचेत वर्गको धर्म हो । तर मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएर पुरातनवादी कुसंस्कारी सोचलाई नै निरन्तरता दिई राजनीतिलाई मागिखाने भाँडो बनाएकोमा कवितामा रुष्टता व्यक्त गरिएको छ । देश र जनताका सपनाहरू कुल्चिएर भ्रष्टचारी सर्वदा वर्चस्वमै रहेको देख्दा कवि आक्रोस पोख्दछन्–
अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई सगर्व सुनाइरहेका छन्
भ्रष्टचारको आरोपमा जागिर खुस्केको भलाद्मी
गरिवी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरूसँगै छु । (पृष्ठ ः ५९)

ई. उपसंहार :
कवि पोखरेलका कवितामा वर्गीय माया, वर्गीय घृणा, सहिदश्रद्धाजस्ता भावना प्रशस्त पाइन्छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउन, बचाउन गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । शान्तिको घाँटी निमोठ्ने काम प्रशासनीक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुर्दशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम कवितामा भएको छ । उनका कविताहरू शक्तिशाली बम, बन्दुक र बारुदजस्ता क्षणभरमै प्रभाव जमाउने र क्षणभरमै प्रभाव गुमाउनेजस्ता घातक नभई विस्तारै विस्तारै प्रभाव पार्ने खालका रसिला छन् । पाठकको मन तान्ने क्षमता प्रायः सबै कविताहरूमा छ । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । समग्रमा कवि पोखरेलका काव्यगत प्रवृतिहरूलाई यस प्रकार केलाउन सकिन्छ ।
(१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक, (२) वर्गीय चेतनाले ओतप्रोत, (३) माक्र्सवादी दर्शन अंगिकार गर्ने कवि, (४) जनयुद्धप्रति अनुरागी भावना (५) मानतावादी दृष्टिकोण, (६) कलमले समाज रूपान्तरण गर्नु पर्ने भावना जाहेर, (७) समाजको सजीव चित्रण, (८) माक्र्सवादी दर्शनलाई आदर्शपुञ्ज ठान्नु, (९) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट, (१०) शहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था, (११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध, (१२) राज्यआतंकको भत्र्सना, (१३) अग्रगमनको दिशामा लम्केको राष्ट्रनिर्माणमा जोड, (१४) जीवनवादी एवं आशावादी विचार प्रेषण, (१५) निमुखाहरूको आवाज बुलन्द पार्ने कवि, (१६) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर, (१७) सकारात्मक परिवर्तनको पक्षमा वकालत, (१८) सरल, सहज, मीठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलंकार एवं प्रतीकहरूको प्रयोग ।
कवि मातृका पोखरेल र उनका कविताका वारेमा विद्वान् दाहाल यज्ञनिधि भूमिकामा लेख्छन्, ‘यो ‘यात्राको एउटा दृष्य’ कविता संग्रह ल्याउने कवि मातृका पोखरेललाई पनि घडीचरो (यसले उज्यालो हुने प्रहर बताउँछ ।)को भोग दिन पछि पर्ने छैनन्, जुठोपुरो खाएर डकार्न पल्किएका समालोचक नामका केही ढाडे, ढँट्वारेहरूले भन्ने चाहिँ मलाई अहिल्यै अन्सार छ । तर पनि हामी कति बाँच्छौँ होइन कसरी बाँच्छौँसँगको उत्तर भने मातृका पोखरेलले दिनुभएको सबुतले म गद्गद भएको छु ।’ अर्का विद्वान् डा. ताराकान्त पाण्डेय लेख्छन्, ‘शब्दलाई संवेदनामा मुछेर कवितालाई आकार दिने मातृका त्यही कविताको कोदालीले विचारको भूमिलाई कोट्याउदै अग्रगामी चेतनाको सयपत्री रोप्न सक्रिय छन् ।’ अतः अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झारेर नयाँ नेपाल निर्माणका लागि नयाँ जोस थप्न कवि मातृका पोखरेल सक्षम छन् र उनको ‘यात्राको एउटा दृश्य’ कविता संग्रह पनि सफल देखिन्छ ।

अभिव्यक्ती द्वैमासिक, २०६७ फाल्गुन-चैत

================================================================ 
'सन्त्रस्त आँखाहरु' माथि समालोचनात्मक दृष्टि
सी. बी. आचार्य

मातृका पोखरेलको कथा कृति सन्त्रस्त आँखाहरू (२०६१) यतिखेर मेरो हातमा परेको छ । प्रगतिवादी साहित्यतर्फको चिरपरिचित नाम हो, मातृका पोखरेल । मातृकाको जन्म २०२३ असार ९ गते ठानागाउँ -४ थामखर्क, उदयपुरमा भएको हो । मुक्तालयका कविता विधाबाट साहित्यिक यात्रा प्रारम्भ गरेका पोखरेलका सेतो दरबारको छेउबाट(२०५७) र यात्राको एउटा दृश्य (२०६०) गरी दुईवटा कविता सङ्ग्रहको प्रकाशनपछि तेस्रो कृतिको रूपमा प्रस्तुत कथासङ्ग्रह सन्त्रस्त आँखाहरू प्रकाशित भएको देखिन्छ । कविता विधामा आफ्नै छुट्टै परिचय बनाइसकेका पोखरेलको कथाकारिता पनि आशालाग्दो ढङ्गले अगाडि बढिरहेको देखिन्छ । मातृका पोखरेल साहित्य सिर्जनाका साथै प्रगतिशील ध्रु्रवका विभिन्न सङ्घसंस्थासँग आवद्ध रहेका युवा व्यक्तित्व हुन् ।

सन्त्रस्त आँखाहरूलाई ‘जनमत प्रकाशन’ ले २०६१ सालमा बजारमा ल्याएको हो । उक्त कथाकृतिमा चर्चित सर्जक इस्माली र विजय चालिसेले भूमिका लेखिदिएका छन् । यस कृतिमा एक दर्जन विभिन्न शीर्षकका कथाहरू रहेका छन् । तीमध्ये कतिपय कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका देखिन्छन् ।

सन्त्रस्त आँखाहरूमा एउटा नयाँ यात्रा, छोराको भाग्य, निर्णय, हरियो बत्ती, सन्त्रस्त आँखाहरू, अविश्वास प्रस्ताव, चुनावको मौसम, फुटपाथ, म यसरी फर्किएँ, हुलिया, परिचित अभिनय शीर्षकका १२ वटा कथाहरू समाविष्ट छन् ।

वस्तुविधान

समसामायिक कटु यथार्थहरूलाई कथाका माध्यमबाट चित्रण गर्दै कथाकार पोखरेलले आफ्ना कथाहरूमा युगीन चेतनाको जीवनवादी स्वर भरेका छन् । प्रस्तुत सङ्ग्रहका कथाहरूले जीवन भोगाइका अभाव, शोषण, भ्रष्टाचार र चरित्रहीनतालाई वर्गीय द्वन्द्वको रूपमा ठम्याउँदै निकासको बाटो पनि देखाइदिएका छन् ।

सङ्ग्रहमा समाविष्ट पहिलो कथा नयाँ एउटा यात्रामा लैङ्गिक विभेदको मुद्दालाई सशक्त रूपले उठाइएको छ । कथाकी केन्ऽीय पात्रा मालती गर्भवती छे । घरभित्रको सारा काम भ्याएर वस्तुभाउको भकारो सोर्नेदेखि घाँस-पत्करको सारा काम मालतीको काँधमा लादिएको छ । लोग्ने दिनभरि गाउँ डुलेर हिंड्छ । ऊ श्रीमतीलाई छोरो उत्पादन गर्ने मेसिन ठान्छ ।

छोरो नजन्मिएको, छोरीलाई सन्तान नमान्ने सामन्ती संस्कारले युक्त गरिब परिवारकी काँइली छोरी मालतीको विहे १५ बर्षकै उमेरमा भएको थियो । यता घरमा पनि स्थिति त्यही थियो । जसरी पनि मालतीले छोरो पाइदिनुपर्ने, नभए सौताको सामना गर्नुपर्ने । उसले त्यस्तो सामाजिक प्रचलनबाट छुटकाराको यात्रा तय गर्छे । ऊ ‘म’ पात्रसँग घोषणा गर्छे – म एउटा यात्रामा निस्केकी छु, विवेक विरुद्धको यात्रामा । उसलाई लोग्नेको घर छोडेकोमा प्रायश्चित छैन, बरू हौसिन्छे र भन्छे -म अहिले धेरै खुसी छु ।

मालती नेपाली समाजको ज्वलन्त प्रतिनिधि पात्र हो भने उसले जन्मेदेखि घर नछोडे सम्मका घटनाहरू नेपाली समाजका यथार्थपरक प्रतिनिधिमूलक घटनाहरू हुन् ।

छोराको भाग्य सङ्ग्रहको दोस्रो कथा हो । यो कथामा रिट्ठे प्रमुख पात्र हो । रिट्ठे र उसको मालिक मुखियाको छोरो संयोगले एकै दिन उही समयमा जन्मन्छन् । मुखियाको चरम शोषणबाट चुसिएको परिवारमा जन्मेको रिट्ठेको छोरो मरञ्च्यासे हुन्छ भने मालिकको छोरो हृष्टपुष्ट भएर जन्मन्छ । मुखियाकै छोराको जस्तै भाग्य बोकेर ल्याएको हुनुपर्छ रिट्ठेको छोराले पनि, यस्तो विचार रिट्ठे, उसकी स्वास्नीको मात्र होइन, छिमेकी र पँधेर्नीहरूको पनि छ । यस विचारको आधार उही साइतमा दुई बालकको जन्म हुनुबाहेक अरू केही छैन । छोरो पाएको खुसियालीमा मुखियाको घर रमझममा मग्न छ । यता रिट्ठेकी सुत्केरी स्वास्नीले एकछाक पनि पेटभरी खान पाएकी हुन्न । रिट्ठेको थातबास मुखियाको नाममा दर्ता भइसकेको हुन्छ । यसरी यस कथामा वर्गीय सामन्ती समाजको अमानवीय शोषणको कटु यथार्थलाई चित्रण गरिएको छ ।

अर्को कथा हो, निर्णय । कथाको पात्र रामलाल १५ बर्षपछि महेन्द्र राजमार्ग छाडेर उत्तरतिरको मोटरबाटोमा पर्ने स-साना बस्तीहरू हुँदै गाडीमा चढेर पार्टी कामले पूर्वतिर गइरहेको हुन्छ । त्यो बस्ती रामलाललाई राजनीतिको उच्च ओहदामा पुर्‍याउने थलो हो । पञ्चायत विरोधी आन्दोलनको पृष्ठभूमि बोकेको उक्त गाउँबाटै रामलाल राजनीतिक जीवनमा माथिल्लो तहमा उक्लेको हो । जनताको मुक्तिका लागि लडेको रामलालको त वर्ग रूपान्तरण भएको छ तर जनताको स्थितिमा किञ्चित परिवर्तन आएको छैन । यस कथाले २०४६ को परिवर्तनपछि एकथरी कम्युनिस्ट नेताहरूमा देखा परेको सैद्धान्तिक विचलन, भ्रष्ट र भोगी संस्कृतिलाई नङ्ग्याएको छ ।

सङ्ग्रहकै अत्यन्त शक्तिशाली कथा हो, पश्चिमतिर । यो कथाले जनयुद्धले गति प्राप्त गर्दै रहँदा गुमाने जैसी (संन्यासी ?) जस्ता स्थानीय जाली-फटाहाहरू आफूले गरेको शोषणको विरोध गर्ने, तिलकबहादुर रानामगर र अमरबहादुर खड्काजस्ता होनहार युवाहरूको प्रहरीद्वारा हत्या गराएर आतङ्क मच्चाउँछन् । रेडियो नेपालबाट सोसम्बन्धी दिग्भ्रमित समाचार देश र दुनियाँलाई सुनाएको प्रसङ्ग यथार्थ चित्र कथामा छ । गुमानेले सीधा-साधा श्रमजीवी जनतामाथि गरेको अन्यायपूर्ण शोषणको विरोध गरेवापत गुमानेका चाटुकार र प्रहरी प्रशासनका सुराकीद्वारा निमोखो युवालाई प्रहरीको गोलीको सिकार बनाइन्छ । साथमा क्याम्पसको विद्यार्थी अमरबहादुर पनि ज्यान गुमाउन पुग्छ । गाउँका होनहार युवाहरूको हत्याको शोकमा डुबेको गाउँ र परिवारको मुटुमा लागेको घाउ ओबाउन नपाउँदै हत्याराहरू थप ज्यान मार्ने धम्की दिँदै घरहरूमा पसेर हातपातसमेत गर्छन् ।

कथामा यो एउटा प्रतिनिधि घटनाको रूपमा आएको छ । जनयुद्ध कालमा कथामा वणिर्तभन्दा कयौं गुणा क्रुर घटनाहरू गाउँ र बस्तीहरूमा घटाइएका छन् । जनयुद्धको आधारभूमि मानिएको रोल्पाको परिवेशमा संरचित प्रस्तुत कथाको घटना जीवन्त प्रस्तुति बनेको छ ।

प्रस्तुत सङ्ग्रहको पाँचौ क्रमाङ्कमा रहेको कथाको शीर्षक हो, हरियो बत्ती । शीर्षकको व्यञ्जना अर्थ हुन्छ-अगाडि बढ्ने सङ्केत । यो कथाले एउटा सामान्य कार्यकर्ता अवसरवादमा फस्यो भने आस्थावान दृढ क्रान्तिकारी कार्यकर्ताहरू कसरी क्रमशः पाखा लाग्दै जान्छन् र तिनै अवसरवादी कार्यकर्ताको नव धनाढ्य वर्गमा रूपान्तरण भएपछि क्रान्ति गर्ने लक्ष्य र उद्देश्यहरू साथ गठित कम्युनिस्ट पार्टी क्रमशः दक्षिणपन्थी धारमा फस्न पुग्छ भन्ने यथार्थ प्रस्ट्याइएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा निकै हदसम्म मौलाएको दक्षिणपन्थी अवसरवादको सपाट चित्रण हो हरियो बत्ती कथा ।

सन्त्रस्त आँखाहरू सङ्ग्रहकै शीर्षक पाएको कथा हो । प्रस्तुत कथाका पात्रहरू रनेम्पा, मञ्जिते, रनशेर तिलुङ्ग राई हुन् । उनीहरूको पुख्र्यौंली पेसा भारी बोक्नु हो । रनेम्पा र मञ्जिते समवयी सहकर्मी मजदुर हुन् भने रनशेर ३ कक्षा पढेपछि पुख्र्यौंली पेसा सिकाउन ल्याइएको ११ वर्षे बालक हो । फिलिप्स रेडियो बोक्ने अर्को भरिया मजदुर शेरमानले उनीहरूले भारी बोकेर गुजारा चलाइरहेको कटारीदेखि १० दिन भारी बोकेर पुगिने गोरेटो मोटरबाटो बन्ने भो भन्ने समाचार सुनाउँछ । यो समाचारले उनीहरूको पुख्र्यौंली भरिया पेसा खतरामा पर्ने चिन्ताले मन खिन्न पारेको छ । भारी बोकेर जहान परिवारको पेट पाल्नु उनीहरूको पुस्तैनिक बाध्यता हो । उनीहरूसँगै आम्दानी वा व्यवसायको थप कुनै विकल्प छैन । च्यास्मीटार गाउँमा अन्न त उत्पादन हुन्छ तर नेपालका अन्य गाउँजस्तै परम्परागत मौसमी-निर्भर खेती-प्रणाली भएकाले त्यस गाउँमा मुस्किलले वर्षमा तीन महिना खान पुग्छ । बाँकी नौ महिना भरियाको काम गरेर गुजारा गर्नुपर्ने विवशता छ । यही जिन्दगी भोगिरहेको रनेम्पा र त्यस क्षेत्रका तिलुङ्गे राईहरूलाई मोटरबाटो बन्ने समाचारले मन गिजोलिदिएको छ । बाल भरिया रनशेर भने मोटरबाटो आउने खबरबाट प्रसन्न छ ।

यसरी विकासका नाममा बनाइने योजनाविहीन बाटाघाटाहरूले ग्रामीण जनताको जीवनस्तर उकास्नु पर्दछ, भत्काउने होइन श्रमजीवी जनताका सन्त्रस्त आँखाहरूलाई राज्यले विश्वासमा लिनुपर्दछ भन्ने आशय प्रस्तुत कथाको गर्भित विचार हो ।

सङ्ग्रहको अर्को कथा ‘अविश्वास प्रस्ताव’ २०४६ सालको जनआन्दोलनअघि राणाको सक्रिय नेतृत्वमा सत्ताको हालीमुहाली गरेर कुस्त कुम्ल्याएको, देशमा बहुदल बहालीपछि छटपटाहटको तातो तेलमा जिउँदो माछो उफ्रेझैं भएको पूर्वपञ्चहरूको मानसिकताको प्रनिनिधि दृश्यको शब्दचित्र हो । कथाको पूर्वपञ्चको प्रतिनिधि पात्र हो -हीराप्रसाद ।

वि.सं. २०४६ सालको जनआन्दोलनपछि पञ्चहरूबीच एउटा भय थियो, त्रास थियो अनि हैसियत र भ्रष्टाचारबाट कुम्ल्याएको सम्पत्तिको पोल खुल्ने मनोवैज्ञानिक पीडा व्याप्त थियो । भनिन्छ, गल्ती गर्नेको मन त्रसित रहिरहन्छ । यस कथाको पात्र हीराप्रसाद यी र यस्ता पीडाबाट उन्मुक्तिको खोजीमा छन् ।

चुनावको मौसम अर्को महìवपूर्ण कथा हो । शनकराम, दिपिया, सन्तोष, फूलो ‘म’ आदि यस कथाका पात्रहरू हुन् । शनकराम यादव २०४८ सालको निर्वाचन जितेपछि मन्त्री हुन्छ र आफ्नो निर्वाचन क्षेत्रकी विधवा एक बालककी आमा दिपियालाई बम्बैमा पुर्‍याएर बेच्दछ । छोरो सन्तोष विचल्लीमा परेर हुर्कन्छ । उसलाई संसदीय व्यवस्थाप्रति नै वितृष्णा जागृत हुन्छ र भन्छ -संसदीय ब्यवस्थाको जालमा नफसौँ ।’

सङ्ग्रहको अर्को कथा फुटपाथ हो ।

काठमाडौँको फुटपाथमा सानातिना व्यापार गरेर गुजारा चलाउन बाध्य मान्छेहरूले भोग्नु परेका विडम्बनापूर्ण यथार्थहरू फुटपाथमा उद्घाटन भएका छन् । म यसरी फर्किएँ शीर्षक कथामा युवाहरूको विदेश पलायनले देशको स्वाभीमान र स्वाधीनतामा धक्का लाग्न सक्छ भन्ने लेखकीय मान्यता प्रस्तुत कथामा स्थापित भएको छ ।

हुलिया कथा दसबर्षे जनयुद्धको प्रहरी सिविरतर्फको तस्बिर हो । कथामा एस.एस.पी. माधव, डी.एस.पी दयाराम, अन्य प्रहरी होटल पर्वतका सञ्चालक र कामदारहरू आदि पात्रका रूपमा आएका छन् भने प्रहरीको हिटलिस्टमा परेको युवकको फोटोको हुलिया विषयवस्तुको रूपमा आएको छ ।

उक्त युवक कालो वर्णको छ । प्रहरीहरू त्यस युवकलाई रुकुम रोल्पातिरको माओवादी कार्यकर्ता ठान्छन् र गिरफ्तारीका लागि प्रहरीका सम्पूर्ण संयन्त्र परिचालन गरिन्छ । प्रहरी खोरमा सारा काला वर्णका युवाहरूलाई ल्याएर थुनिन्छ । असम्बद्ध युवाहरूलाई अनावश्यक दुःख दिइन्छ । प्रस्तुत कथाले ‘दसजना दोषी फुत्कियोस तर एक जना पनि निरपराध व्यक्तिले सजाय नपाओस्’ भन्ने उक्तिको बेइज्जत गरेको छ । प्रस्तुत कथाले प्रहरीहरूको कार्यदक्षताहीन हर्कतबाट जनताका निर्दोष छोराछोरीहरूले खेप्नुपरेको सास्तीको वास्तविक चित्र उतारेको छ ।

कथा सङ्ग्रहको अन्तिम शीर्षकको कथा हो, परिचित अभिनय । यो कथाका दुई पात्रहरू रमिला र शान्ताबीच वादविवाद गराएर कथाकारले उनीहरूको चरित्रलाई कलात्मक द्वन्द्वद्वारा चित्रण गरेका छन् ।

रमिला र शान्तासँगै हुर्केका बालसखा हुन् । उच्च शिक्षा प्राप्तिका लागि यी दुबै जना काठमाडौं आएका थिए । दुबैको विवाह सरकारी अधिकृतसँग हुन्छ । रमिला सङ्घर्षशील नारी भएकीले उसको जीवनदृष्टि समाजमुखी छ, सचेत छ, कर्तव्यनिष्ठ र नैतिक चेतनायुक्त छ तर शान्ताको चिन्तन जसरी पनि कमाऊ, मोजमस्ती गर, देश, समाज, सङ्घर्षजस्ता पक्षहरू अनावश्यक हुन् भन्ने सङ्कीर्ण व्यक्तिमुखी रहेको छ । यही चिन्तनका दुई विपरीत ध्रुवमा उत्रिएका पात्रहरूबीचको घनिष्टता क्रमशः पातलिन्छ । शान्ताका श्रीमान् भ्रष्टाचार गरेर धन कमाउँछन् । शान्ताहरूले बत्तीसपुतलीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । उता रमिलाको जीवन सामान्य ढङ्गमा चलिरहेको हुन्छ । ऊ सन्तुष्ट छे । अनैतिक ढङ्गले भए पनि सम्पन्न जीवन विताउनु पर्छ भन्ने शान्ता रमिलाले वृद्धाश्रम खोल्ने प्रस्ताव राख्दा यस्तो प्रतिक्रिया जनाउँछे – आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु न जान्नुका बूढाबूढीलाई स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु ।

त्यसपछि शान्ताको लोग्नेलाई घुस प्रकरणमा प्रहरीले गिरफ्तार गर्छ । जागिर छुट्छ । घर विक्री हुन्छ । बीस वर्षपछि शान्ता रमिलाभन्दा कता हो कता उँधो झरिसकेकी हुन्छे र रमिलाले एकदिन शान्तालाई पशुपतिमा फूल बेच्दै गरेको देख्छे ।

परिवेश

एउटा जीवन्त जनपक्षीय साहित्य देश, काल र परिस्थितिबाट असम्पृक्त रहन सक्दैन । प्रस्तुत कथाहरूको सामाजिक परिवेश २०४८ देखि २०५८ पूर्व रहेको देखिन्छ । विषयवस्तुगत परिवेशको सन्दर्भ उधिन्दा वर्तमान नेपाली समाजमा मूल्यहरू विघटन भइरहेका छन्, यस्ता मूल्यहरू र मान्यताहरूको क्षय अभियन्ताहरूबाटै भएका छन् । त्यसकै परिणामस्वरूप यहाँ राजनीतिक विचार र समाज परिवर्तनका वैज्ञानिक हतियार पनि क्रमशः खिया पर्दै गइरहेका छन् । बसिखाने र गरिखाने वर्गबीचको द्वन्द्व सहरमा मात्र सीमित छैन, नेपाली ग्रामीण जनजीवनमा पनि प्रकट हुन थालेका छन् । जनतामाथि शोषणका नयाँनयाँ उपकरणहरू प्रयोग गर्दै हावापानी सुहाउँदो भनिएको पञ्चायती निरङ्कुश व्यवस्थामा पालितपोषित भएर पनि आतप्त रामलाल, रामनाथहरूको काँधमा चढेर सत्ता प्राप्त गरेपछि रामनाथजस्ता पात्रहरूलाई धोका दिने कथित कम्युनिस्ट क्रान्तिकारीहरूको नैतिकता स्खलन भएको चरित्र कथाकारले अनावरण गरिदिएका छन् ।

संसदीय व्यवस्थामा मौलाएको विकृति र विसङ्गति, विकासका नाममा जनताका आवश्यकताहरूप्रतिको उपेक्षा, नेपाली युवाहरूको प्रतिभा पलायनका समस्या, विदेशी भूमिमा नेपाली युवाहरूले भोग्नुपरेका निर्मम यथार्थहरू, नारी एवम् गरिब जनताले न्याय नपाउने परम्परागत सामन्ती साङ्लो, पतिलाई भ्रष्टाचारको खाल्डोमा जाक्ने कथित आधुनिक उपभोगवादी पत्नी, समाजका उपेक्षित वर्गको सेवामा समर्पित महिलाजस्ता विषयवस्तुहरू सङ्ग्रहका अन्तर्वस्तुगत आकर्षणहरू परिवेशका रूपमा रहेका छन् ।

भाषाशैली

सङ्ग्रहका कथाहरूले अत्यन्त जटिल मुद्दा, पात्र र प्रवृत्तिहरूलाई सरल र सहज शब्दचित्रमा अङ्कित गर्ने चेष्टा गरेका छन् । जटिलभन्दा जटिल विषयवस्तुहरूलाई पनि सरलतापूर्वक बुन्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ । पोखरेलका कथाहरूको भाषाशैली कथाहरूमा प्रयुक्त भाषा कतै विवरणात्मक देखापर्छ भने कतै वर्णनात्मकता पाइन्छ । उनी कवितामा स्थापित व्यक्तित्व हुन् । यस सङ्ग्रहका कथामा भाषिक दृष्टिले उनको काव्यात्मक व्यक्तित्वको छायाँ त्यति देखिँदैन । यो पोखरेलको कथाकार व्यक्तित्वको भिन्न मौलिक पाटो मान्न सकिन्छ ।

प्रतीक र बिम्बको प्रयोग साहित्यमा ‘मानिसको तस्बिर’ भन्ने अर्थमा प्रयुक्त गरिन्छ । प्रस्तुत कथा सङ्ग्रहका कथाहरूभित्र प्रकृतिको चित्रणद्वारा पात्रहरूको सामाजिक, आर्थिक परिस्थितिको ‘मानसिक तस्बिर’ खिचिएको पाइन्छ । जस्तो ‘डिलमा गोदावरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची फूलका बोटहरू भाँचिए पनि भाँचिऊन्, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची त्यतिका मिहिनेत गरेर हुर्काएका फूलहरू कसरी बिगार्ने ? (एउटा नयाँ यात्रा पृ. ११) “उपर्युक्त कथनलाई अविधार्थमा हेर्दा कथाकी पात्रा मालती भारी बिसाउने सजिलो ठाउँ खोजिरहेकी छे तर यहाँ लेखकले ‘कोपिला’ को प्रयोग मालतीको पेटभित्र हुर्किरहेको शिशुको सङ्केतको रूपमा गरेका छन् भने मालतीको पारिवारिक परिस्थितिको बीच गर्भवतीको प्रतीक कोपिला र फूलको बोटको प्रतीक मालती स्वयं हो । उसको अन्तर्चेतनाको पीडालाई फूलको बोट भाँचू कि नभाचूँ भन्ने द्वन्द्वको रूपमा चित्रण गरेका छन् ।

यस किसिमको वस्तुको सुन्दर चित्रण अन्य कथाहरूमा पनि पाइन्छ । जस्तो ः – ‘जेठको खडेरी अचेल गाउँमा आतङ्कको रूपमा भित्रिएको छ । (पश्चिमतिर पृ. २१.)’

लेखकले उपर्युक्त वाक्यमा प्रयोग गरेका ‘खडेरी’ शब्द आतङ्कको रूपमा प्रयुक्त भएको छ । विम्बले गाउँका सर्वसाधारण जनताबीच आतङ्क सिर्जना गर्न भित्रिरहेका सत्ताका स्थानीय चाटुकार र प्रहरी प्रशासनको जनविरोधी हर्कततर्फ सङ्केत गरेको छ । यसरी कथाकार पोखरेल प्रगतिवादी कथा साहित्यमा आफ्नो अलग पहिचानगत विशेषताहरूसहित स्थापित युवा स्रष्टा हुन् भन्न सकिन्छ ।

पात्र विधान

मातृका पोखरेलको सन्त्रस्त आँखाहरूमा पात्रविधानमा विशेष सतर्कता अपनाइएको पाइन्छ । पात्रविधानको शास्त्रीय सूत्रलाई पूर्णतः क्रमभङ्ग गरिएको छ ।

कथाका पात्रहरू लेखकीय कल्पनामा रुमलिएका छैनन् । ती यथार्थ लाग्छन् । नेपाली समाजमा विद्यमान वर्गीय विभेदको अन्तर्विरोधसँग शोषित/पीडित पात्रहरू जुधिरहेका देखिन्छन् । पुरानो पुस्ता र नयाँ पुस्ता बीचको अन्तर्विरोधमा पात्रहरूको सचेत सहभागिता देखापर्दछ । मालती (एउटा नयाँ यात्रा) को विद्रोह, रिट्ठे (छोराको भाग्य)को जीवनमाथि भएको तुषारापात एवम् रामलाल (पश्चिमतिर) को अवसरवादी चरित्रले कथाले सङ्घर्षशील पात्रहरूलाई वास्तविकताको धरातलमा उभ्याएर उनीहरूले भोगिरहेको जीवन र त्यसको कारक तìवहरूप्रति सचेत र सजग गराइएको पाइन्छ ।

कथाको विषयवस्तुलाई फरक प्रसङ्गमा उठाउँदा पनि पात्रका नामबाटै तिनका चारित्रिक मूल्यमा आएको ह्रासलाई ध्वनित गर्नु र राष्ट्रमाथि गरेको हानिलाई साङ्केतिकरूपमा अभिव्यक्ति दिन सक्नु कथाकार पोखरेलको मौलिक विशेषताका रूपमा लिन सकिन्छ ।

यसरी पात्रविधानका दृष्टिले अर्थपूर्ण विधि र प्रक्रिया अपनाएर कथाकारले प्रगतिशील कथाशिल्पमा एउटा नवीन आयाम थप्ने चेष्टा गरेका छन् भन्दा अत्युक्ति हुँदैन ।

प्राप्ति र सीमा

प्रस्तुत सङ्ग्रहका कथाहरू माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट खिचिएको नेपाली वर्गीय समाजका सफा चित्र हुन् । वास्तवमा माक्र्सवादी सौन्दर्यशास्त्र भनेको सत्यको अन्वेषण हो । अध्यात्मवादीले भने जस्तो जड होइन, पारलौकिक होइन । मानवजीवनका परिवेशमा उपस्थित वस्तु र वस्तुगतता नै वैज्ञानिक सत्य हो । त्यो गतिशील हुन्छ, द्वन्द्वात्मक हुन्छ अनि इन्द्रीय ग्राह्य हुन्छ ।

कथाकारको आत्मस्वीकृति पनि छ कल्पनाको आधार जीवनको वास्तविकताभन्दा टाढा नहोस् ….मेरो उद्देश्य सत्य हो र म त्यसलाई आदर गर्दछु । कथाकार पोखरेलले व्यक्ति र समाजको बीचमा रहने सम्बन्ध र उत्पन्न हुने अन्तर्विरोधको तस्बिरलाई यथार्थको धरातलबाट सफलतापूर्वक खिचेका छन् । कथामा नवीन चेतना र पुराना संस्कारका बीच चलिरहेको अन्तर्विरोधलाई केलाउने आफ्नै शैली बनाइएको छ । पोखरेल वर्तमानका प्रशवमय पीडाहरूको बीच भविष्यप्रति आशावादी छन् । वर्तमानमा बसिखाने वर्गले खडा गरेको प्रतिकुल परिस्थिति गरिखाने वर्गका मानिसहरूको संज्ञानात्मक सङ्गठित विद्रोहहरूद्वारा पूर्णतः पराजित हुनेछ र अन्ततः श्रमजीवीको अन्तिम विजय सुनिश्चित छ भन्ने विश्व दृष्टिकोणले कथा ओतप्रोत छन् । यही नै कथाकार मातृका पोखरेलको प्राप्ति हो । नेपाली प्रगतिवादी कथा साहित्यको महìवपूर्ण उपलब्धिको रूपमा सन्त्रस्त आँखाहरू अमर कृति बनेको छ ।

कथाहरूको आन्तरिक बुनोट र बाह्य बनोटमा शिल्पगत परिष्कार गर्न सकिने ठाउँहरू प्रशस्त छन् । प्रगतिवादी साहित्यमा कलापक्षलाई विचार पक्षले ढाक्छ भन्ने प्रतिकित्ताका समालोचकहरूले प्रस्तुत सङ्ग्रहमा नाक खुम्च्याउन सक्छन् तर “कला कलाका लागि” नभएर “कला जीवनका लागि” भन्ने दृष्टिकोणले सन्त्रस्त आँखाहरू एक उत्कृष्ट कृति हो भन्न हिचकिचाउन पर्दैन । वर्णविन्यास, वाक्य सङ्गठन तथा उखानमूलक सुक्तिहरूको गलत प्रयोगले भ्रम सिर्जना नगर्लान् भन्न सकिन्न । यहाँ एउटा सन्दर्भ उदाहरणको रूपमा अघि सार्न सकिन्छ । ‘झण्डै ज्यान नगएको (सन्त्रस्त आँखाहरूमा रनेम्पाको भनाइ पृ.३३, तेस्रो अनुच्छेद) । उक्त भनाइमा पात्र वा लेखकले भन्न चाहेको ‘झण्डै ज्यान गएको’ अर्थात् बाँचियो हो तर प्रयुक्त वाक्यले ‘ज्यान गएको’ अर्थात् मरियो भन्ने अर्थ दिएको छ । यस्ता अत्यन्त सामान्य पक्षमा पनि यथोचित ध्यान गएको देखिँदैन । त्यस्तै पश्चिमतिर कथामा एउटै पात्रको थर फरकफरक भएको छ, कहीँ ‘गुमाने जैसी’ र कहीँ चाहिँ ‘गुमाने संन्यासी’ भनिएको छ । यसबाट पाठकहरू अलमलमा पर्न सक्छन् । यी र यस्ता कसरमसरहरू कथामा प्रशस्त भेटिन्छन् ।

मातृका पोखरेलका कथाहरू यथास्थिति विरुद्ध उभिएका छन् । उनका पात्र, परिवेश र घटनाहरू समाजको आमूल परिवर्तनतर्फ परिलक्षित छन् । यहाँ विजय चालिसेको कथन सान्दर्भिक ठहर्छ ः कलाको अन्तर्वस्तुमा सामाजिक चिन्तन र जीवनका विविध उपकरणका साथै राजनीतिक पनि हुन्छ र मातृकाका कथामा यसको उदाहरण पाइन्छ ।

प्रस्तुत सङ्ग्रहका कथाहरूमा समाजमा विद्यमान अन्तर्विरोध, गलत चिन्तन एवम् रूढिग्रस्त मानसिकताका जटिलताहरूलाई सरल, सुवोध भाषामा उतारिएको छ । छोटो बसाइमै पढी सिध्याउन सकिने मातृकाका कथा समाजको अग्रगामी चेतनातर्फ स्पष्ट दिशाबोध गर्न सफल छन् । यसरी नेपाली प्रगतिवादी साहित्यको एक महìवपूर्ण प्राप्ति हो – सन्त्रस्त आँखाहरू ।

मधुपर्क मासिक, २०६७

=========================================================

 

कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरू : ‘अनुहारहरू’को सेरोफेरोमा 

 

 

 

– पुन्य खरेल 

 

 

समकालीन प्रगतिशील साहित्यिक फाँटका एक सशक्त क्रियाशील सदस्य हुन् – मातृका पोखरेल । उनको सृजनाको मुख्य क्षेत्र कविता विधा देखिन्छ । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य गरी दुई वटा कविता सङ्ग्रह सार्वजनिक गरिसकेका पोखरेलको तेस्रो कृति पनि कविता सङ्ग्रहकै रूपमा प्रकाशित हुनुले उनलाई कवि व्यक्तित्वका रूपमा नै प्रथमतः चिनारी गरेको पाइन्छ । काजी रोशन साहित्य पुरस्कार प्राप्त कवि पोखरेलको यो तेस्रो कविता सङ्ग्रह अनुहारहरू (२०६४) अघिल्ला प्रकाशित दुइ कविता सङ्ग्रहका तुलनामा अझ बढी सुन्दर र सशक्त देखिनुले पनि कवि पोखरेलको सृजनाको मूल मौलो काव्य नै रहेको ठम्याइ हुन्छ ।
स्रष्टा आफू बाँचेको समाज र भोगेको जीवनप्रति न निरपेक्ष बस्न सक्छ न त उदासिन नै रहन सक्छ । आफ्ना समाजजीवनका घात–प्रतिघात, चापप्रतिचाप, उतारचढाव, उथलपुथल जस्ता सामाजिक–राजनीतिक एवं संस्कृतिगत विगत र वर्तमानका घटनाक्रमहरूबाट ऊ कुनै न कुनै रूपमा प्रेरित प्रभावित बन्छ र स्वीकार्य–अस्वीकार्य जुनै हिसाबबाट पनि ती घटनाक्रमहरूसँग उसको कमवेसी संलग्नता, सहकार्य र सहभागिता रहन्छ भने त्यस उपर उसको क्रिया–प्रतिक्रियासमेत अभिव्यक्त भएको हुन्छ । त्यसमाथि पनि एउटा वर्गसचेत लेखकले त्यस्ता विषयवस्तु माथि अत्यन्त जिम्मेवारीपूर्ण धारणाहरू आफ्ना सृजनामार्फत प्रकट्याएको हुन्छ । यस मानेमा कवि पोखरेल पनि आफू बाँचेको पारिवेशप्रति पूर्ण सापेक्ष र सचेत छन् अनि त्यसभित्र घटित हरेक गतिविधिसँग सूक्ष्म रूपले परिचित छन् । यसै कारण कविले २०६१ देखि २०६३ को कालखण्डमा नेपाली समाजले भोगेको यथार्थलाई आफ्नो कविताको विषयवस्तु चयन गरेका छन् भने उक्त अवधिका सामाजिक, राजनीतिक, सांस्कृतिक आदि घटनाक्रमप्रति आफ्ना अनुभूति, विमति, प्रतिक्रिया, चाहना, प्रेम, घृणा आदिलाई कलात्मक रूपमा अभिव्यञ्जन गरेका छन् । अनुहारहरू यिनै विषयवस्तुको सफल प्रस्तुति हो ।
प्रस्तुत लेखमा कवि मातृका पोखरेलका काव्य प्रवृत्तिहरूलाई ठम्याउने जमर्को भएको छ र त्यसको आधार समेत कविको पछिल्लो कृति अनुहारहरूलाई मानिएको छ । अनुहारहरू भित्र प्रकटित कविको अनुहार नै यस लेखको शक्ति र सीमा दुबै बनेको छ । यसैकारण मातृका पोखरेलको लौकिक–सांसारिक अनुहार कस्तो छ, कुन रूपको छ– प्रस्तुत लेखको चासो होइन, उनका पूर्व प्रकाशित दुई कविता सङ्ग्रहभित्रका कवि मातृका पोखरेल पनि यस लेखभित्र अटाएका छैनन् मात्र अनुहारहरूले कवि पोखरेललाई कसरी चिनाउन सकेको छ, त्यसकै र त्यति मात्रकै खोजी र प्रस्तुतिभित्र प्रस्तुत लेख सिमितिएको छ जसलाई बुँदागत रूपमा संक्षेपमा चर्चा गरिन्छ ः
१. नित्य नवीन एवं अग्रगामी चिन्तन :
कवि पोखरेल अग्रगामी चेतनाका कवि हुन् । समाजजीवनलाई यथास्थितिबाट मुक्त गर्न नयाँ सोच र दरिलो आँट चाहिन्छ । भरपर्दो विश्वास र अटल आस्था चाहिन्छ अनि प्रतिबद्ध मनहरू चाहिन्छ । यस्ता सोच, आँट, विश्वास, आस्था र मनहरूसँग कवि निशर्त हातेमालो गर्न चाहन्छन्, काँधमा काँध मिलाएर हिँड्न चाहन्छन् र नयाँ चेतनाले समाजलाई व्यूँताउन चाहन्छन् । तलको कविताङ्श हेरौं–
म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहिरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिंड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र सबल खुट्टाहरू
(शर्त ः पृष्ठ–१)
कविले त्यस्तो नेतृत्वको खोजी गरिरहेका छन् जससँग झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू हुनुपर्छ । झर्झराउँदा आँखा अर्थात् नवीन दृष्टिकोण, जस्तोसुकै अन्धकारमा परिस्थितिमा पनि स्पष्ट देख्न सक्ने, पटक्कै बाटो नबिराउने र गन्तव्यसम्म दिशानिर्देश गरिरहन सक्ने अनि सबल खुट्टाहरू जसले शिखर कहालीलाग्दा असहजता र विषम परिस्थिति पार गर्न, चढ्न सक्षम बनोस्, बीचमै खुट्टा नकमाओस्, पलायन नहोस्, हार स्वीकार नगरोस् । अर्थात् समाजको आमूल रूपान्तरणको महाअभियानमा स्पष्ट दृष्टिकोण र साहसका साथ अघि बढ्ने सबैसँग कविको सहकार्य संभव छ, निशर्त कवि उनीहरूको साथ लाग्न चाहन्छन् । यो नै कविभित्रको नित्य नवीन एवं अग्रगामी चेतना हो । अर्को पङ्ति हेरौं –
हो मैले नमानेकै हो
अन्धाहरूको पछि लाग्न
र मैले नमानेकै हो
लङ्गडाहरूलाई दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र फेरि लेखेको छु यो कविता ।
(ऐ ः पृष्ठ–१)
र फेरि लेखेको छु यो कविताको तात्पर्य आफूले पटकपटक अन्धा, दृष्टिकोण नभएका, नयाँ चेतना र सोच नभएका र लङ्गडा, साहस, हिम्मत, दृढता नभएका ढुल्मुले चरित्र, सैद्धान्तिक विचलन भएकाहरूसँग कुनै हालतमा सम्झौता–सहकार्य र सहया त्री बन्न नमानेको–नचाहेको भाव व्यक्त गरेका छन् र तिनसँग आफ्नो सदैव असहमति र विरोध नै रहने जनाएका छन् । यसको अर्थ स्पष्ट छ– कवि नवीन सोच, चिन्तन र प्रक्रियामा विश्वास गर्छन् र नयाँ समाजको निर्माणमा स्पष्ट दृष्टिकोण बोकेर अघि बढ्न चाहन्छन् ।
२. वर्गीय समाजको कलात्मक प्रस्तुति :
समाजको वर्गीय स्वरूपप्रति कवि सचेत छन् र वर्गीय हित स्वार्थ–रक्षार्थ हुने अनेकौं षडयन्त्र, छलछाम, मिलेमतोसँग पनि कवि परिचित छन् । सम्पन्न र विपन्न शासक र शासित, श्रमजीवी र पूँजीपति आदि वर्गीय समाजकै उपज हुन् । जतिसुकै समानताको प्रजातन्त्रको नारा घन्काए पनि वर्ग रहेसम्म शोषणका नयाँ नयाँ रूपहरू जन्मिरहने छन् र शोषित–पीडित जनताको जीवनस्तरमा त्यसले कुनै प्रभाव पार्न सक्तैन । तलको कविताङ्श हेरौं –
पोहोर
हिल्याउँदै गरेको खेतमा
भगुवा थारुले सुन्यो गणतन्त्र
र अचम्म मानेर गम्छाले पुस्यो पसिना
पोहोर
जङ्गलमै घाँस दाउरा जाँदा
चिम्से खत्रीले सुन्यो लोकतन्त्र
र मनमनै पाल्यो नयाँ चाहना ।
(नयाँ वर्ष – २०६१, पृ–२)
भगुवा थारु र चिम्से खत्रीहरू हाम्रो समाजमा जहींतहीं छन् । उनीहरू वास्तवमै लोकतन्त्र वा गणतन्त्रलाई अचम्म मानेर सुन्छन् र गम्छाले पसिना पुस्छन् । तर आफ्ना जीवनमा त्यसले ल्याएको परिवर्तनको अनुभूति गर्न पाउँदैनन् किनभने ती थारु र खत्रीहरूको वर्गलाई न गणतन्त्र न लोकतन्त्र केही पनि आएकै छैन । अर्को कविताङ्श हेरौं –
मेरो अघिल्तिर
एउटा अनुहार छ
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ
कालो रङ्ग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत ।
(अनुहारहरू ः पृ–८)
हाम्रो समाजको एउटा यस्तो वर्गको प्रतिनिधि चरित्रको यहाँ चित्रण छ जसले चाहेमा जेसुकै र जस्तो प्रकृतिबाट पनि आफूलाई प्रस्तुत गर्न सक्छ, त्यो वर्ग जति शक्तिसम्पन्न छ त्यतिकै छद्मभेषी र छलकारी पनि छ । त्यो नै आम जनताको मुक्ति, न्याय र स्वतन्त्रताको जन्मवैरी बनेको छ । अर्को कविताङ्श हेरौं–
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।
(ऐ ः पृ–९)
कविले जसरी यस वर्गलाई सबैभन्दा बढी घृणा गर्छन् त्यसरी नै सबैभन्दा माया गर्ने अर्को अनुहार पनि छ हाम्रो समाजमा, तल हेरौं –
म नजिकै छ
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार
भारि बोकेर
साहूकी छोरी पुर्याउन गएको मधेस
थकाइ मार्न सकेको एक क्षण
दलनाको छेवैमा
दुर्गन्धित छ जुठेल्नो
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर ।
(ऐ ः पृ–९)
रिठ्ठे घर्ती अर्थात् आम गरिब श्रमजीवी जनताहरूको प्रतिनिधि चरित्र, कठोर भन्दा कठोर श्रम गर्नु, अपहेलित र तिरस्कृत जीवन बाँच्नु यस वर्गको परिचय ।
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु ।
(ऐ ः पृ–९)
यसरी कविले अत्यन्तै सुन्दर ढङ्गले हाम्रो समाजको वर्गीय संरचनालाई छर्लङ्ग्याएका छन् भने शोषक–शासक वर्गप्रति चरम घृणा र शोषित–शासित आमजनताप्रति अपार माया र श्रद्धासमेत दर्शाएका छन् ।
३. प्रवल आसावादी स्वर :
कवि पोखरेल आफ्ना कविताहरूमा प्रवल आशावादी स्वरहरू लिएर प्रस्तुत भएका छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि कविमा नैराश्य जन्मिएको अनुभूति कविले गरेका छैनन् । मुक्ति युद्धलाई कविले नजिकबाट बुझेका छन् र यो सहज प्राप्य वा विजय पाइने लडाइँ नभएर युगौंसम्म निरन्तर बलिदान दिँदै जित्न सकिने युद्ध भएकाले कवि प्रारम्भबाटै यसप्रति प्रष्ट छन् र आसावादी छन् । न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता र मुक्ति संसारमा कहीं कतै पनि निरङ्कुश शासकहरूले दानमा सुम्पिएका छैनन् । ज्यादै ठुलठुला सङ्घर्ष, बलिदान र जनबलबाट जबरजस्त प्राप्त भएका छन् । त्यसैले पनि कवि थोरै क्षति हुँदैमा वा प्राप्ति हुँदैमा खुसी हुनुपर्ने वा निरास बनिनु पर्ने ठान्दैनन् र प्रवल आसावादी बनेर लडिरहँदा लागिरहँदा निश्चित एक दिन नयाँ समाज र जीवनको प्राप्ति हुन्छ भन्ने कविको निष्कर्ष छ आफ्ना कवितामार्फत् । तलको कविताङ्श हेरौं –
धेरैधेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।
(नयाँ वर्ष–२०६१ ः पृ–३)
धेरैधेरै वर्ष भयो कविले नयाँ वर्षलाई नयाँ भएर आइदिने कल्पना गरेको, तर कविमा यो आसावादीता मरेको छैन । उनले आस्थाका सगरमाथा उठाउँदै नयाँ वर्ष एउटा नवीन विश्वास बोकेर आउने सपना साँचेका छन् । कवि निरास छैनन् –
हामी यतिबेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी बेगवान आधीझैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)
कवि क्रुर इतिहास र त्यसको संरक्षक निरङ्कुश शासक दुबैको अन्त्य र अन्त्येष्टिका लागि सहकर्मीहरू खोजिरहेछन् ।
अचेलभरि
फुट्नै लागेका चेतनाका बाँधहरू बोकेर
दौडिरहेछन्
बग्रेल्ती अनुहारहरू सडकमा
यतिबेला
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा ।
(अनुहारहरू ः पृ–१०)
नयाँ भोलि कविको नवीन समाज निर्माण तर्फको आसावादिता हो ।
जबसम्म बग्ने छ
हाम्रो रगतमा पहेंलो रङ्ग
सबै कुरा सामान्य हुनेछ त्यसबेला
(सबै कुरा साँचो हुनेछ ः पृ–२०)
चेतना नआएसम्म जनतालाई ढाँट्न, छल्न सकिन्छ, तर जब सत्यतथ्यको वोध हुन्छ र जनता ब्यूँझन्छन् तब जनताले आफूमाथि भएका यावत् दलनपीडनको सावाँव्याज असुल्ने छन् भन्ने आसय छ कविको–
भोलि विहानको मिर्मिरे उज्यालोमा
हामी देख्न चाहन्छौं
हाम्रो यो जीर्ण गोठघरको
घमाइलो आँगनमा
फेरि आउनेछन् नयाँनयाँ हलीहरू
हामी स्वागत गर्नेछौं
र फेरि सँगै जोत्नेछौं
विष मात्र फल्ने
युगौंदेखिको उही चर्चित बाँझो जमिन ।
(बाँझो जमिन र हलीहरू ः पृ–२८)
पुराना हलीहरू अर्थात् नयाँ समाज निर्माणका कथित् अभियन्ताहरूमा विचलन आए पनि क्रान्ति रोकिँदैन, नयाँ शिराबाट फेरि यसको थालनी हुने नै छ भन्ने आसा कविमा छ –
नयाँ आवाजहरू लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने

हामी भोलि नयाँ नेपाल जन्माउने ।
(भोलि ः पृ–३६)
भाले बास्नु भन्दा अगाडि
म भोलि विहानै
नयाँ समयको स्वागतमा
गाउँ जाँदैछु ।
(समय ः पृ–४२)
उपर्युक्त दुबै कविताङ्शमा कविको भोलिप्रति चरम आसावादिता प्रकटिएको छ । भोलि निश्चयनै नयाँ समय आउने छ, नयाँ नेपाल जन्मिनेछ र वर्तमानमा मौलाएका ज्यानमारा–जनतामारा विषवृक्षहरूको समूल अन्त्य भई जीवन बाँच्न प्रेरित गर्ने लहलह लालुपाते, सुनगाभा र गुराँसहरू फुल्नेछन्, यो कविको भविष्यप्रतिको प्रवल आसावादिता हो ।
४. कलात्मक व्यङ्ग्य चेतना :
कवि पोखरेलको व्यङ्ग्य चेतना अत्यन्त कलात्मक रूपमा प्रकटिएको देखिन्छ सङ्ग्रहभित्रका कविताहरूमा । समाजजीवनमा टाँस्सिरहेका प्रतिगमनकारी, यथास्थितिवादी चिन्तन, विकृति विसङ्गति, वेथिति, राजनीतिक वेइमानी, वैचारिक पलायनता र गद्दारी, निरङ्कुशता, पराधीनता, अन्याय–अत्याचार दलनपीडन उत्पीडन, होचीअर्घेली, सांस्कृतिक विचलन र मूल्यह्रासता, दासत्व, युद्धप्रिय मानसिकता, वर्गीय विषमता जस्ता समाजजीवन विरोधी अग्रगामी चेतनाका वाधक र नयाँ समाज र संस्कृति निर्माणका तगाराहरूप्रति कविको भयानक आक्रोस र विद्रोह छ, विमति छ तर ती उपर कविले प्रहार गरेको जुन व्यङ्ग्य छ त्यो प्रखर मात्र नभएर अत्यन्त कलात्मक रूपमा समेत प्रकट भएको छ । तलको कविताङ्श हेरौं–
आर्यघाटको छेउमा उभिएर
लासहरूको आगो ताप्तै
जाडो मारिरहेछन् शासकहरू

आज मात्रै टेलिविजनको पर्दामा
श्रममन्त्रीको अनुहार
हाँसिरहेको थियो ।
(फरकफरक मुर्दाघाटहरू ः पृ–१५,१६)
इराकमा हत्या गरिएका बाह्र जना नेपालीको सम्झना–सन्दर्भमा प्रस्तुत यी कविताङ्शमा आफ्ना नागरिकप्रति गैरजिम्मेवार र संवेदनाहीन निर्लज्ज कुरूप शासकको अनुहार प्रति तीब्र घृणा र व्यङ्ग्य गरिएको छ । अर्को कविताङ्श हेरौं
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षै भरि कुकुरतिहार मनाउन सक्तैनौं ।
(उनीहरूले सोचेका भए ः पृ–२१)
जनताका आस्था–विश्वासका मठहरूमाथि खुलेआम पिसाव गर्दै हिड्ने निरङ्कुश शासक र उसको विधि संयन्त्रलाई कुकुर र कुकुरतिहारका रूपमा प्रस्तुत गदै तिनप्रति कविको विमति समेत यहाँ प्रकटित छ ।
भोलि के होला ?
हिजो मान्छेलाई
प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्वीरलाई प्रेम गर्छन् मान्छेहरू ।
(भोलिको तस्वीर ः पृ–३४)
शहरी–नागर सभ्यताले मान्छेभित्र संवेदना, श्रद्धा, प्रेम, मानवता, कर्तव्य सबैसबै निलिसकेर केवल कृत्रिम जीवनमा रूपान्तरण गरिसकेको र गरिछाड्ने यथार्थलाई प्रस्तुत गर्दै अब सहरियाहरू मान्छेलाई नभएर उसको तस्वीरलाई प्रेम गर्ने सन्दर्भबाट व्यङ्ग्य गरिएको छ उपर्युक्त कविताङ्शमा ।
हिजो खोजिएको अमलेखगञ्ज
स्वतन्त्रताका लागि
अशक्त मनहरूको थियो
अहिले मैले खोज्दै गरेको अमलेखगञ्ज
दास बन्न आसक्त मनहरूका लागि हो ।
(म खोज्दैछु अर्को अमलेखगञ्ज ः पृ–३७,३८)
प्रस्तुत कविताङ्शमा कविले अर्को अमलेखगञ्जको आवश्यकता वोध गरेका छन् तर त्यो अमलेखगञ्ज स्वतन्त्रताका लागि आसक्त मनहरूका लागि होइन । त्यो त त्यस्ता दास बन्न आसक्त मनहरूका लागि हो जसलाई जतिसक्तो चाँडो समाजबाट डाँडो कटाउनुपर्छ । अग्रगामी चेतनाका वाधक, प्रतिगमनकारी, यथास्थितिवादी आदि सबैलाई कविले दासहरूका बिम्बमा व्यङ्ग्य गरेका छन् ।
कवि सिङ्गो राष्ट्रको शासन–प्रशासन, विधि–नियम, संचालन गर्ने सिंहदरवारलाई जादुघरका रूपमा चित्रित गर्छन्, हेरौं –
मलाई
सिंहदरवार र जादुघर
उस्तै उस्तै लाग्छन् ।
(सिंहदरवार ः पृ–३९)
जादुघरबाट जादुवालाले प्रस्तुत गरेका अनेक रोमाञ्चक तिलस्मी, अद्भूत र अतिरञ्जनात्मक खेलहरू, चटकहरूसँग सिंहदरवारका नेता, कर्मचारी, मन्त्रीगण आदिका कार्यसँग सामिप्य देखाउँदै जादुवालले दर्शकको चेतनालाई लुप्त पारेझैं जनताका दैलाबाट सहिदका नाममा सपथ खाएर जनताको हितरक्षार्थ लागि पर्ने प्रतिवद्धता बोकेर सिंहदरवार छिरेका नेताहरूले पनि ठीक जादुवालाले झैं जनतालाई बुझिनसक्नु रहस्यका छलकारी आश्वासन दिँदै चित्रविचित्रका गतिविधिहरू गरेर जनताको चेतनालाई लुप्त पार्ने प्रयास गरे । छेपाराले रङ फेरे झैं उनीहरू फेरिए । आफूले टेकेको माटो र गरेको प्रतिवद्धता बिर्सिए र जनताका नजरमा उनीहरू पनि एउटा रहस्यमयी जादुवाल बन्न पुगे । कविले यसै मर्मलाई साह्रै भित्री तवरमा व्यङ्ग्य गरेका छन्, जादुघर र सिंहदरवारको सामिप्य देखाएर ।
सारमा भन्दा कविको व्यङ्ग्य चेतना कलाका आवरणमा प्रकटिएको छ । कहीं कतै पनि कोही र केहीप्रति ठाडो आक्षेप र विरोध पाइँदैन । बिम्ब र प्रतीकमा प्रकटिने कविको व्यङ्ग्यचेतना प्रखर, नवीन र कलात्मक छ ।
५. प्रतीकात्मकता :
कवि पोखरेल आफ्ना कविताहरूमा प्रतीक प्रयोगका दृष्टिले पनि पूर्ण सफल छन् । कथ्यलाई बिम्बमा–प्रतीकमय बनाएर प्रस्तुत उनका कविताहरूले अर्थ गाम्भीर्यमा बिन्दुमा सिन्धु अटाएका छन् । अर्थात् देख्ता सरल लाग्ने तर विशद्–वृहत् भावलाई समेट्न सक्षम छन्, उनका कविताहरू । कविभित्रका आक्रोश, विद्रोह, नैराश्य, हर्ष, विषाद्, असहमति, असन्तुष्टि, डाह, छटपटी, परिवर्तन आदि भावहरूलाई प्रतीकीकरण बिम्बीकरण गरी प्रस्तुत गर्छन् उनी । यस्तो प्रयोगबाट एकातिर गहन भाव संप्रेषण गर्न उनी सफल भएका छन् भने अर्कातिर रूपपक्ष पनि उत्तिकै सशक्त र सुन्दर बनेको पाइन्छ अनि कथ्य झन् उज्यालिएर प्रकटिएको देखिन्छ, तल हेरौं –
लेख्न मन थियो
उज्यालोको कविता …
अँध्यारोको महान्वाणी लेख्न
कलमलाई आदेश भएको बेला
अँध्यारोको बिरुद्धमा लेख्ने कुरै भएन,
(कविताको विषय ः पृ–१३)
उज्यालोको कविता, अँध्यारोको महान्वाणी, कलमलाई आदेश यी तीन वटै पदावली सामान्य हिसाबले जति सरल बुझिन्छन् अर्थ गाम्भीर्यका रूपमा त्यति नै फराकिला लाग्छन् । उज्यालोको कविता नवीन चेतनाको द्योतक हो । अँध्यारोको महान्वाणी, प्रतिगमनकारी चिन्तन र कलमलाई आदेश, लेखकहरूलाई बाध्य बनाइएको स्थितिका रूपमा अर्थ संप्रेषण गरिहेको देखिन्छ । अर्को कविताङ्श –
मेरो चेतनाको बारीमा
ऊ वनमारा रोप्छ ।
(कसो जमिन ? ः पृ–१७)
यहाँ कविले मेरो चेतनाको बारीलाई नयाँ समतामूलक समाजजीवन निर्माण गर्ने दृष्टिकोणका रूपमा, ‘ऊ’लाई निरङ्कुश एवं प्रतिगामी चिन्तनयुक्त शासक–व्यक्ति विशेष वा समूह विशेषलाई र वनमारा रोप्छ लाई संहारक वा विनाशक तत्व संयन्त्र, विधि वा सोचका रूपमा अभिव्यक्त गरेका छन् ।
कवि नयाँ जीवनका चाहना र प्राप्तिलाई सुन्नै नचाहने यथास्थितिवादी शासकको चरित्रलाई यसरी प्रस्तुत गर्छन् तलको कविताङ्शमा–
ऊ बगर
नयाँ जीवको सहनाई
उसलाई अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास
ऊ चिन्तामग्न हुन्छ ।
(ऊ बगर खडेरी पर्खन्छ ः पृ–२२)
अवसरवादी नेतृत्वको पलायनतालाई कविले प्रस्तुत गरेको बिम्ब हेरौं –
हाम्रो बाँझो बारीमा
लोकतन्त्रको खेत जोत्ने
एक हुल हलीहरू
हाम्रो बस्तीबाट आज राती सुटुक्क भागे
(बाँझो जमिन र हलीहरू ः पृ–२७)
उपर्युल्लिखित कविताङ्शहरू कविले प्रयोग गरेका बिम्ब र प्रतीकका नगन्य नमुनाहरू मात्र हुन् । सिङ्गो सङ्ग्रह नै यस दृष्टिले उल्लेख्य छ । यी बिम्बप्रतीकहरू कतै प्रकृति, इतिहास र पुराणबाट कतै लोकजीवनबाट, कतै समकालीन समाजजीवनबाट र कतैचाहिं कवि स्वयम्को कल्पनाबाट (वैयक्तिक) टिपिएर प्रस्तुत गरिएका छन् । वैयक्तिक प्रतीक प्रयोगका कतिपय स्थानमा भने कविको भाव सम्प्रेषण खज्मजिएको पनि पाइन्छ, यो चाहिं कविको सीमा हो । अन्यथा शीर्षकदेखि कथ्यसम्मै कविले बिम्बप्रतीकको निर्वाह सफलता पूर्वक गरेका छन् ।
६. रोचक प्रस्तुति–अमूर्त भाव :
कहिलेकाहीं लेखककविहरू यथार्थविरत काल्पनिकतामा विचरण गर्न पुग्दछन् । यसो हुनका अनेक कारणहरू हुन्छन् । कारण जे भए तापनि अतिकल्पनाले अमूर्ततालाई साथ लिइदिन्छ, विशेष कविता विधामा । किन भने कविताविधा स्वयम्मा थोरैमा धेरै अभिव्यक्त गरिने रचना विशेष हो । अमूर्तताले बहुअर्थीभाव अभिव्यञ्जनामा सहयोग पुर्याउँछ जसले लेखकसँग सम्प्रेषणीय सङ्कट उत्पन्न गराउँछ पाठकको । परिणामत ऊ आफ्ना खुसीले अर्थ उत्पादन गर्न पुग्छ यसले कवि र पाठकबीच ऐक्यभाव उत्पन्न गराउन सक्तैन । अझ सामान्य चेतनास्तरको पाठकका लागि यस्ता रचनाहरू दुरुह साबित हुन्छन् । एउटा वर्गसचेत लेखकले यस्ता कुरा विचार पुर्याउनु पर्ने हुन्छ । जहासम्म कवि पोखरेलको कुरा छ, उनका सङ्ग्रहका न्यून कविताका ज्यादै कम कविताङ्शहरूमा यस्तो प्रवृत्ति परिलक्षित भएको छ । परस्पर सम्बन्धविच्छेद भएझैं लाग्ने पङ्क्तिहरू पूर्वापर सम्बन्ध टुटी व्यष्टिमा नै वा समष्टि भावमा अर्थ वोध गर्नुपर्ने र अर्थतारतम्यताप्रति नै पुनर्विचार गरिनु पर्ने अवस्था देखिन्छ । केही कविताङ्शहरू हेरौं –
ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैका छातीबाट वस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर
बादलिएको आकास फटाउन
सबै हुट्टिट्याउँहरूसँग
एक पर्म सहयोग माग्छ ।
(ऊ बगर, खडेरी पर्खन्छ ः पृ–२१)
सबै कुरा साँचो हुनेछ त्यसबेला
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्
र भ्यागुत्ताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्
आजका मितिको
टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको
सुदूर यात्रा तय गर्नेछ
लाटकोसेराहरू
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्
र इतिहासको क्रूर नियति बोकेर
बर्तमान बगिरहने छ
अनाथ रगतको बागमती
(सबैकुरा साँचो हुनेछ ः पृ–१९)
माथिका दुबै कविताङ्श सरल–सहज भाववोधका दृष्टिले टाढा रही सामान्य पाठकको पहुँचभन्दा बाहिर भएको प्रतीतिन्छन् । र व्यष्टि–व्यष्टिभित्र बुझिनु–अर्थिनु पर्ने अथवा समग्र कविताको भावलाई आधार बनाएर अर्थ खोजिनु पर्ने स्थिति सिर्जना भएको देखिंदा सिङ्गो संरचनालाई न्यूनाधिक क्षति पनि गरेको देखिन्छ । तर श्रुतिमधुरता र प्रस्तुतिगत–शब्द संयोजनआदि) हिसाबले चाहिं रोचक र सुन्दर देखिन्छन् ।
कफ्र्यू नलागेको दिनसँग पनि
डर छ उसलाई
त्यतिकै डर छ
जून लागेको रातसँग
असाध्यै डराउँछ
स्वतन्त्रताका आँखाहरूसँग
ऊ अर्थात्
नयाँ शताब्दीको थोत्रो मान्छे
गरिब देशको धनी मान्छे ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)
प्रस्तुत कविताङ्श प्रतीकात्मक भएर पनि अवोधगम्य छैन, सहज–सरल उति नदेखिए पनि जटिल र असम्प्रेषणीय पनि छैन, अर्थात् बुझ्न सकिन्छ लेखकको भावना । अब यसपछिको अर्को अनुच्छेद हेरौं –
उसले बारम्बार देखिरहेको छ
एउटा कुकुर
आधा चपाइसकेको संविधान
मुखमा झुन्ड्याएर
ऊ सधैं हिंडने बाटोमा डुलिरहेको छ
उसको कुनै अङ्गमा छुँदैन
यो घटना
(ऐ ः पृ–६)
यहाँ उसले बारम्बार देखिरहेको र ऊ सधैं हिड्ने बाटोमा डुलिरहेको एउटा कुकुर छ जसको मुखमा आधा चपाइसकिएको संविधान झुन्डेको छ । स्पष्ट छ संविधान चपाउने व्यक्ति उही हो तर आधा चपाइएको संविधान मुखमा झुन्ड्याएर उसकै बाटामा डुलिरहने त्यो कुकुरचाहिं कसको बिम्बमा आएको छ त ? जनताको बिम्बमा कुकुर आएको हो भने शब्द प्रयोग उचित भयो र ? अनि उसको दृष्टिबिन्दुबाट जनतालाई कुकुरका रूपमा सङ्केत गर्न खोजिएको हो भने त्यो पनि अमूर्त र अस्पष्ट महसुस हुन्छ ।
समग्रमा भन्दा यस प्रवृत्तिका कविताङ्शहरू (माथि पनि भनियो) सङ्ग्रहभित्र थोरैछन् । यसको कारण बिम्बप्रतीकको प्रयोगवहुलता पनि हो, तर थोरैमा भावुकतावश भएको यथार्थविरतता र विचलन पनि हो । यस किसिमको प्रस्तुतिले ठुलै क्षति नगरोस् तर माथि पनि भनिएको छ – एउटा वर्गसचेत कविको लेखनीमा अन्ततः यसले नकारात्मकता नै सिर्जना गरिदिन्छन्, यो चाहिं पक्कै हो ।
७. भाव र कलाको सुन्दर संयोजन :
सुन्दर विचारको प्रस्तुति सुन्दर कलामार्फत हुन सके त्यस्ता सिर्जनाले पूर्णता प्राप्त गर्दछन् र दीर्घकालीन प्रभाव छाड्दछन् । प्रगतिशील लेखनमा कलापक्षको उपेक्षा गरिन्छ भन्ने आक्षेप समेत छ । यस दृष्टिबाट हेर्दा एकाध कविताङ्शभित्रका अस्पष्टता, दुरुहता वा अमूर्त एवं विसृङ्खलित भाव पक्षलाई सामान्य एवं नगण्य मानिदिने हो भने कवि पोखरेल आफ्नो कविता सङ्ग्रह अनुहारहरू लाई भाव र कलाको उचित सन्तुलन एवं संयोजन भएको सुन्दर कृतिका रूपमा प्रस्तुत गर्न सक्षम र सफल देखिन्छन् । आफ्ना जीवनका जीवन्त अनुभूतिहरू, समाजसापेक्ष आर्जित सत्यहरू, आफ्ना भविष्यका सुन्दर भावनाहरू, चाहनाहरू, सहमति र विमतिहरूलाई निकै परिश्रमसाथ कलाका आवरणभित्र अभिव्यक्त गरेको देखिन्छ कविले । र तिनले समाजजीवनका यथार्थ र कविको धारणालाई एकातिर अभिव्यञ्जन गरेका छन् भने अर्कातर्फ कलागत मूल्यलाई समेत उचालेका छन् । यसलाई प्रकट्याउने सन्दर्भमा कविले प्रशस्त नवीनता र निजत्वसमेत प्रस्तुत गरेका छन् । केही दृष्टान्तस्वरूप कविताङ्श हेरौं –
देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिंड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिंड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।
(उसको मृत्युमा ः पृ–११)
अग्रगामी चेतना छर्दै गाउँवस्तीलाई ब्यूँझाउँदै हिंड्ने र तिनकै निमित्त बलिदान भएका तमाम मुक्तियोद्धाहरूलाई कविले अति सरल विशेषणबाट मूत्र्याएका छन् एउटा असल मान्छेका रूपमा । ठीक यसै तलको कविताङ्श हेरौं –
उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्राले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उडाएर
बेहोसझैं भए
गाउँका गोरेंटाहरू ।
(ऐ ः पृ–११)
उसको मृत्युमा महल शोकले निन्याउरो भएन, नियास्राले बरन्डाहरू सुस्ताएनन् र सहरका फराकिला चिल्ला सडक र राजमार्गहरू बेहोस् भएनन् किनभने त्यो असल मान्छे मात्र झुप्राहरू, दलानहरू र गाउँका गोरेंटाहरूको मुक्तिका लागि मरेको थियो । जति गम्भीर भाव छ त्यतिकै सरल बिम्बप्रतीक – कलापक्ष ।
त्यस असल मान्छेभित्र कति ठुलो वैचारिक आस्था, दृढता र प्रतिवद्धता रहेछ अनि मुक्तिप्रति अटल विश्वास रहेछ, तल हेरौं –
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फाल नहालेको
चेतनाको माछापुच्छ«े
(ऐ ः पृ–११)
यसैको अर्को अनुच्छेद हेरौं –
सुनको थिएँ
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि वास आउँछ
घाम र जूनमा रूपान्तर भएर
(ऐ ः पृ–१२)
जनताको लागि मर्नेहरू जनताका मनमा सदा अमरता प्राप्त गर्दछन्, यही वाक्यलाई कविले लोभलाग्दो भाकामा व्यक्त गरेको छन् । र कविले एउटै शब्दमा सहिद नभनेर बढो कलात्मक तवरले एउटा असल मान्छे भन्ने पदावलीबाट सहिद शब्दको पर्याय दिएका छन्, सायद सहिद शब्दको अवमूल्यन प्रति कवि खिन्न छन् ।
भाव र कलाको अझ सुन्दर समन्वय देख्न पाइन्छ सहिद सन्दर्भबाट प्रकटित कविताहरू अचेल मान्छेहरू र वनफूल र सपनामा । प्रौढ कालिगढका पारखी हातहरूबाट कुँदिएका यी कविताहरू सिङ्गो सङ्ग्रहभित्रकै सर्वाधिक सशक्त र सुन्दर रचना प्रतीत हुन्छन् । तल कविताङ्श हेरौं –
गुराँस फूल
जब तिम्रो सपनालाई
सन्तानहरूले विपनामा छाम्छन्
तिमी त्यसबेला खुबै खुसी हुनू
हामीले नदेखे पनि
विजयोत्सव मनाउनू
तिमी त्यतिबेला
रातो माछापुच्छ«े भएर हाँस्नू
गुराँस फूल
तिम्रो वेगवान यात्रालाई
मेरो सलाम !
(अचेल मान्छेहरू ः पृ–२९,३०)
कविले सहिदप्रति श्रद्धाञ्जली स्वरूप व्यक्त गरेका यी कोमल भावहरू उतिकै कोमल सरल एवं सहज भाषाशैलीमार्फत् प्रकटिएका छन् । शब्दसज्जामा जुन सरलता देखिन्छ भाव गम्भीरतामा उतिकै व्यापकता परिलक्षित भएको छ । अर्को अंश हेरौं–
मिथक कथा जस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तराल पछिसम्म
त्यसबेला पनि मान्छेहरू
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।
(ऐ ः पृ–३०)
सहिदहरू अनन्तकालसम्म जनमनमा बाँचिरहने सन्दर्भलाई कविले अत्यन्त सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् साथै उपर्युक्त दुबै कविताङ्शबाट आफ्नो भविष्यप्रतिको आशावादी विचारलाई पनि प्रकट गरेका छन् कविले ।
सहिद सेतु सुनारको स्मृतिमा संरचित वनफूल र सपना कविताको निम्न अंश हेरौं–
प्रिय आफन्तहरू
भोलिको समयलाई
बेलाबेला सम्झाइरहनू
मैले रोपेको विरुवामा
फेरि झुन्डिनु हुँदैन कालीपोकेहरू
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझ्ने भएपछि सुनाइदिनू
तिम्रा नीला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिंडेकी छ
मसँग लोभको कुनै दरवार छैन
म वनफूल
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।
(पृ–४४)
प्रस्तुत कविताङ्शमा प्रकटित भाव शास्वत र सार्वजनीन भएर सहिदका भावनामा आवद्ध हुन पुग्छ । देश र जनताको मुक्तिका लागि गौरवशाली मृत्युवरण गर्ने जुनसुकै कालखण्ड र भूगोलका सहिदहरूको एक मात्र सपना के यही होइन र ? यति गहिरो विचारलाई उति नै सरलतामा प्रस्तुत गर्न सक्नु कविको कालीगढी शिल्पको उदाहरण हो ।
सारमा, भाव र कलाका बीच कुशल समन्वय र सुन्दर प्रस्तुति कवि पोखरेलको विशिष्ट काव्यप्रवृत्ति रहेको देखिन्छ । प्रगतिशील साहित्यभित्र पनि कलाको उच्चतम निर्वाह भएको हुन्छ भन्ने दृष्टान्त दिन यस सङ्ग्रहका अधिकांश कविताहरू सक्षम छन् । यस मानेमा कवि पोखरेल के भन्ने मात्र होइन कसरी भन्ने कुरा समेतमा पूर्ण सचेत छन् भन्ने प्रष्टिन्छ ।
८. संक्षिप्तता र पूर्णता :
फूटकर कविता आफैंमा पनि काव्यविधाको लघुरूप नै हो र यसमा जीवनका कुनै एक विशिष्ट अनुभूतिलाई संक्षिप्त आयाममा प्रस्तुत गरिन्छ तथापि निकै लामालामा कविताहरू पनि प्रयोगमा आइरहेकै देखिन्छ । प्रस्तुत सन्दर्भमा हेर्दा कविता सङ्ग्रह अनुहारहरू जम्मा ४६ पृष्ठमा २३ वटा कविताहरू समेटेर संरचित छ । यस मानेमा दुई पृष्ठभन्दा पनि कम आकारका एउटा सिङ्गो कविताको संरचना तयार भएको सहज अनुमान हुन्छ । प्रस्तुत सङ्ग्रहको सबभन्दा लामो कविता अनुहारहरू नै हो र यसैबाट सङ्ग्रहको नामकरण भएको छ । यो एक पदे पङ्क्तिदेखि ६ पदे पङ्क्ति रहेको जम्मा ५९ हरफमा संरचित भएको देखिन्छ । यसले के पुष्टि गर्दछ भने कवि लामालामा, पट्यारिला र शब्दजञ्जालमा फँसेका कविताको रचना गर्न आकर्षित छैनन् बरु संक्षिप्तता र पूर्णताभित्रै रमाउन चाहन्छन् र यसैलाई एउटा प्रवृत्तिकै रूपमा विकास गर्न रुचाउँछन् । त्यसैले सिङ्गो सङ्ग्रहका कविताहरू विषयगत र प्रस्तुतिगत दुबै हिसाबले संक्षिप्त र पूर्ण बनाएर कविले प्रस्तुत गरेका छन् ।
९ गद्य लयात्मकता :
भावाभिव्यक्तिको माध्यम साहित्यमा भाषा हो र यो पद्य वा गद्यमध्ये कुनै एक पथबाट अगि बढेको हुन्छ । कविताको भाषा पद्यमय हुन्छ र यो लयका विभिन्न आरोहअवरोहमा उठ्तै र बस्तै, तन्किँदै र खुम्चिंदै गन्तव्यमा पुग्दछ । गणितीय हिसाबमा आउनुपर्ने शास्त्रीय लय (वार्णिक, मात्रिक आदि) र स्वतन्त्र वा मुक्त लयलाई आत्मसात गर्ने गद्यलय नै कवितामा भाव प्रस्तुतिका माध्यम हुन् । कवि पोखरेलले आफ्नो सङ्ग्रहमा मुक्त वा स्वतन्त्र लयलाई मात्र आफ्ना विचार अभिव्यक्तिको माध्यमका रूपमा स्थान दिएका छन् । यसरी हेर्दा कवि पोखरेलको लयगत प्रवृत्ति गद्यात्मक वा अन्तर्लयात्मक रहेको छ ।
१०. परिष्कृत–परिमार्जित भाषाशैली ः
कवि पोखरेलको भाषाशैली परिष्कृत र परिमार्जित देखिन्छ । शब्द चयन, प्रतीक प्रयोग, बिम्बसंयोजन, आर्थीसम्बन्ध लगायत सिङ्गो प्रस्तुतिकरण समेतलाई कविले अत्यन्त संयमी बनेर नियालेका छन् र त्यसभित्रका कसरमसर अस्पष्टता, द्वैअर्थकता आदिलाई भेटेसम्म, देखेसम्म पन्छाएर प्रस्तुत गरेका छन् । अति सुन्दर र सुक्तिमय पदावलीको रचना गर्नेदेखि सांगितिकताको निर्वाह गर्नसम्म कविले निकै जाँगर देखाएर कलागत मूल्यलाई उचालेका छन् । भावानुसारी शब्द चयन र संयोजन अनि अर्थसंप्रेषण सम्मलाई कविले अति मिही र सूक्ष्मतापूर्वक दृष्टिपात गरी यथासंभव सुन्दर रचना सिर्जना गर्ने अभीष्ट पूरा गरेका छन् । यस दृष्टिबाट हेर्दा कवि पोखरेल परिष्कृत परिमार्जित भाषाशैलीलाई आत्मसात गर्दै कविता सृजना गर्ने स्रष्टा देखिन्छन् ।
निष्कर्ष 
उपर्युल्लिखित प्रवृत्तिगत अन्तसाक्ष्यका केन्द्रीयतामा कवि मातृका पोखरेललाई हेर्दा उनी सदैव समृद्ध, उन्नत र अग्रगामी चेतनायुक्त नयाँ समाजको निर्माणमा निरन्तर प्रतिवद्ध जीवनवादी–आसावादी कविका रूपमा उपस्थित हुन्छन् । यथास्थितिको समूल अन्त्य र नयाँ जीवनसंस्कृतिको प्रवल आग्रह बोकेका कवि पोखरेल वर्गीय विषमताप्रति तीब्र असहमती जनाउँदै निम्नवर्गीय जनताप्रति अपार माया र स्रद्धा प्रकट्याउँछन् । विचार र कला दुबैमा सुन्दरता भर्न निपुण कविले स्वार्थी र भ्रष्ट नेतृत्व, कुरूप संस्कृति, वैचारिक ढुल्मुलेपना, अनुत्तरदायी शासन प्रणाली, दास मनोवृत्ति, निरङ्कुशता, राजनीतिक बेइमानी र भ्रष्टाचार आदि पक्ष मािथ सशक्त व्यङ्ग्य समेत गरेका छन् । प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान, न्याय, समानता र मुक्तिका लागि प्रबल पक्षधर कवि पोखरेलले सुन्दर विचारलाई सुन्दर रूपमा सजाएर पछिल्ला दिनहरूमा पनि यस्तै सृजना प्रदान गरिरहन सक्षम बनिरहून्, अहिले यति नै ।

गरिमा–२०६७

 ========================================================

मातृका पोखरेलका कवितामा वैचारिक स्वर

– हेमनाथ पौडेल

१. कविपरिचय
समकालीन प्रगतिवादी नेपाली साहित्य र संस्कृतिका फाँटमा मातृका पोखरेल (२०२३) एउटा क्रियाशील एवं सुपरिचित नाम हो । विद्यार्थी जीवनदेखि नै माक्र्सवादप्रति प्रतिबद्ध रही साङ्गठनिक–वैचारिक यात्रा गर्दै सृजनात्मक कर्ममा लागेका पोखरेलले अनेरास्ववियु, जनवादी युवा लिग, इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील लेखक सङ्घ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चलगायतका संस्थाहरूमा आबद्ध भई नेतृत्व तहमा समेत रही कार्य गर्दै आएका छन् । सृजना र कर्मलाई आन्दोलनसँगै अगाडि बढाइरहेका पोखरेलको वैचारिक यात्रा निकै परिपक्व, अविचलित र निष्ठावान् रहेको छ । उनको सृजनात्मक संलग्नता कविता विधाका साथै कथा र केही मात्रामा समीक्षामा समेत देखिएकाले उनी कवि, कथाकार र समीक्षक पनि हुन् तापनि उनको लेखनको मूल विधाचाहिँ कविता नै हो र अरू विधाका तुलनामा कवितामै उनी बढी सफल पनि देखिन्छन् । यसका साथै ‘वेदना’ पत्रिकाको सम्पादन समूहमा रहेर लामो समयदेखि सम्पादन कार्यको अनुभव पनि उनले सँगालेका छन् ।
सगरमाथा अञ्चल, उदयपुर जिल्लाको ठानागाउँ, थामखर्कमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई नेपाल विद्युत् प्राधिकरणमा जागिरे जीवन बिताइरहेका पोखरेलको साहित्यिक लेखनको आरम्भ कविताबाटै तीसको दशकको अन्तिम वर्षदेखि भए पनि प्रकाशनको सुरुवात ०४५ सालदेखि भएको पाइन्छ । उनको पहिलो प्रकाशित कविता ‘सूर्य उदाऊ अब’ (समीक्षा, वर्ष २९, अङ्क ५०, २०४५) हो । हाल उनका सेतो दरबारको छेउबाट (२०५६) र यात्राको एउटा दृश्य (२०६०) कवितासङ्ग्रह एवं सन्ञस्त आँखाहरू (२०६१) कथासङ्ग्रह गरी तीनवटा कृति प्रकाशित छन् । यिनका अतिरिक्त सङ्ग्रहमा नपरेका र सङ्कलन हुन बाँकी उनका अरू रचनाहरू पनि पत्रपत्रिकामा फुटकर रूपमा प्रकाशित छन् । समाजवादी यथार्थवादलाई लेखनको मूल आदर्श बनाई आफूले देखेको, भोगेको र अनुभूत गरेको यथार्थलाई सहज एवं सरल शैलीमा अभिव्यक्त गर्ने मातृका पोखरेलको साहित्य सृजनाको दोस्रो विधा कथा हो । उनका कथाहरूमा राजनीतिक, सामाजिक यथार्थको अङ्कनका साथ मानवीय मूल्य, मान्यता र आस्थाको खोजी गर्दै आमूल परिवर्तनको चाहना व्यक्त गरिएको पाइन्छ भने कविताहरूले पनि यही वैचारिक आस्था र विश्वासको धरातलमा उभिएर समकालीन युगजीवनका वस्तुयथार्थलाई अभिव्यञ्जित गर्ने काम गरेका छन् । यसरी समयुगीन वस्तुयथार्थलाई आफ्ना कथा र कवितामा अभिव्यक्ति दिँदै आफूलाई स्थापित गर्ने काम पोखरेलले गर्दै आएका छन् । प्रस्तुत लेखमा भने उनका कवितामा मात्र केन्द्रित भई मूलतः तिनले वरण गरेको अन्तर्वस्तु वा वैचारिक भावगत सन्दर्भलाई मात्र विहङ्गम अवलोकन गर्ने अभीष्ट रहेको छ ।२. कवितायात्रा, प्रवृत्ति र मान्यता
मातृका पोखरेलले कवितालेखनको प्रारम्भिक अभ्यास ०३९ सालतिरैबाट गर्न थालेको पाइए तापनि उनको सबल उपस्थितिचाहिँ पञ्चायत उत्तरकाल अथवा बहुदलीय व्यवस्थाको आगमनपछि नै भएको हो । ०४६ सालको जनआन्दोलनपछिको समकालीन राष्ट्रिय सन्दर्भ र त्यसले उत्पन्न गरेको सामाजिक–राजनीतिक यथार्थलाई लिएर नै उनका सबैजसो कविताहरू आएका छन् । उनका उपर्युक्त दुईवटा कवितासङ्ग्रहमा सङ्कलित ४१ वटा कविताहरूको अन्तर्वस्तु र कविताका पुछारमा उल्लेख भएको रचना वर्षलाई आधार बनाउँदा ‘सूर्य उदाऊ अब’ (०४५), ‘आकाश तिमीलाई निम्ता छ’ (०४६) र ‘खै यात्रीहरू उठेकै छैनन्’ तीनवटा कविता मात्र पञ्चायतकालका त्यसमा पनि ऐतिहासिक जनआन्दोलनको निकट समयरेखाका रचना देखिन्छन् । बाँकी अथवा ‘४६ चैत्रको सडक’ र ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’ (२०४७) पछिका सबै कविताहरू प्रजातन्त्र भनिने कालमा लेखिएका छन् । सङ्कलनमा परेका २०४५ सालदेखि २०६० सालसम्मका १६ वर्षका अवधिका ४१ वटा कविताहरूलाई अध्ययन गर्दा पोखरेलका २०५७ देखि ०६० सालसम्मका ४ वर्षहरू सृजनात्मक दृष्टिले उर्वर देखिन्छन् भने बाँकी वर्षमा पनि उनको सृजनात्मक निरन्तरता रहेको छ । कविताका पुछारमा मिति उल्लेख नभएका १० वटा कवितालाई छाडेर बाँकी कवितालाई हेर्दा पोखरेलले ०५७ सालमा छ, ०५८ सालमा सात, ०५९ सालमा पाँच र ०६० सालमा चारवटा कविता रचना गरेको पाइन्छ । ०६० सालपछि अथवा यात्राको एउटा दृश्य (०६०) सङ्ग्रह प्रकाशित भएपछि पनि मातृकाका कविताहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् जसको सङकलन हुन बाँकी नै छ । २०४६ सालमा जस्तै २०६२÷२०६३ को दोस्रो जनआन्दोलनमा पनि सक्रिय रूपमा सहभागी भएका पोखरेलका ०६० सालपछिका गणतान्त्रिक अभियानसँग सम्बन्धित कविताहरू पनि छन् । हालसम्मको कवितायात्रालाई अध्ययन गर्दा मातृकामा समकालीन राष्ट्रिय जीवनको टड्कारो बोध रहनुका साथै उनी सधैँ अग्रगमन र परिवर्तनका पक्षमा उभिएका पाइन्छन् । सङ्कलनमा परेका प्रजातन्त्रपूर्वकालका रचनामा क्रान्तिको आमन्त्रण, आराधन र विद्रोहको स्वर मुखरित भएको छ भने त्यसपछिका पञ्चायत उत्तर अथवा बहुदलीय कालका रचनामा पनि राजनीतिक, वैचारिक एवं मानवीय मूल्य र नैतिक सङ्कटको समष्टिगत सन्दर्भ र त्यसप्रतिको विद्रोह रहेको छ । कलामूल्यका दृष्टिले सबै कविता उही स्तरका र अपेक्षित स्तर भएका अवश्य छैनन् तर मार्क्सवादप्रतिको पूर्ण निष्ठा र प्रतिबद्धता एवं त्यस अनुकूलको भावबोध भने उनका कवितामा यथेष्ट छ । प्रगतिवादी साहित्यकारहरूको मूल कसी पनि यही हो । सिद्धहस्त प्रगतिवादी साहित्यकारहरूका पनि सबै रचनामा उही स्तरको वैचारिक स्वर पाइँदैन । कुनैमा मात्र यथार्थवाद, कुनैमा आलोचनात्मक यथार्थवाद र कुनैमा समाजवादी यथार्थवादको वैचारिकता पाइन्छ । मातृकाका रचनामा पनि यही कुरा लागू हुन्छ । कविता रचना गर्दाको राष्ट्रिय–सामाजिक परिवेश र सांसारिक–व्यावहारिक भोगाइका सन्दर्भहरू पनि रचनाकारका पृष्ठभूमिमा हुन्छन् । त्यसकारण पनि कवितामा उही स्तरको उचाइ नरहनु स्वाभाविक हुन्छ । प्रवृत्तिगत रूपमा मातृका पोखरेलका हालसम्मका कविताहरूको अध्ययन गर्दा पहिलो र दोस्रो सङ्ग्रहका कवितामा खासै वैचारिक एवं कलागत अन्तर देखिँदैन । भाव, भाषा र शैलीमा जुन किसिमको अवस्था सेतो दरबारको छेउबाटका कवितामा रहेको छ, त्यसैको निरन्तरता नै यात्राको एउटा दृश्य सङ्ग्रह हो । भावविन्यासमा, पदयोजनामा र शिल्प–संरचनामा जुन किसिमको सामथ्र्य अघिल्लो सङ्ग्रहले प्राप्त गरेको छ, त्यसमा कुनै किसिमको आन्तरिक मोड आएको छैन । यस कारण उनको कवितायात्रालाई चरणगत विभाजन गरिरहनु आवश्यक देखिँदैन । विषयगत विविधता भए पनि भिन्न–भिन्न स्वाद र शैली नभएर एकरूपता रहनु उनका कविताको विशेषता हो । दोस्रो सङ्ग्रहमा आएर पनि “कथित कलाका नाममा कवितालाई अस्वाभाविक रङ्ग दलेर अमूर्त र रहस्यमय बनाउन त्यति उचित लागेन” (भूमिका, २०६०) भन्ने उनको आत्मकथन, आत्मस्वीकृति वा कवितासम्बन्धी मान्यता रहेकाले पनि यस कुराको पुष्टि गर्छ । यही कारणले हुन सक्छ उनले अन्तर्वस्तु र रूपको सुन्दर समीकरणमा भन्दा पनि वैचारिक सशक्ततामा बढ्ता जोड दिएका हुन् । कविता कलामा भन्दा पनि विचारमा बाँच्छ भन्ने धारणा पहिलो सङ्ग्रहमा सङ्कलित उनको ‘अजम्बरी कविता’ ले पनि व्यक्त गर्छ । कविता जनसामान्यले बुझ्ने हुनुपर्छ र जनताकै निम्ति लेखिनुपर्छ भन्ने उनको मान्यता छ । साहित्यले समाज रूपान्तरणकारी भूमिका खेल्न सक्नुपर्छ भन्ने धारणा भएकैले उनका कविताहरू सहज, सरल र विचारप्रधान बनेका छन् । यही प्रवृत्ति र मान्यता उनका उपर्युक्त दुईवटा सङ्ग्रहभित्रका कविताले आत्मसात गरेका छन् । यसको अर्थ उनका कविता कलाका दृष्टिले कमजोर छन् भन्ने होइन । विचारलाई कवित्वमा बदल्ने वा कलापक्षको निर्वाह गर्ने काम भने उनका कवितामा भएकै छ । अब तलका शीर्षकहरूमा उनका उपर्युक्त दुई कवितासङ्ग्रह र तिनमा सङ्कलित कविताहरूका बारेमा चर्चा गरौं ।३. ‘सेतो दरबारको छेउबाट’ – वर्तमान बोध र यथास्थितिप्रतिको तीव्र असन्तुष्टिसेतो दरबारको छेउबाट (२०५६) कवि मातृका पोखरेलको सृजनशील युवा प्रहरको पहिलो कवितासङ्ग्रह हो । यसमा उनका २०४५ सालदेखि २०५६ सालसम्मका बार वर्षका उन्नाइसवटा कविताहरू सङ्कलित छन् । यीमध्ये यसमा पञ्चायतकालका तीनवटा र बहुदलीय व्यवस्थाको पुनःस्थापना भइसकेपछि लेखिएका सोरवटा कविताहरू परेका छन् । कवितासङ्ग्रहको शीर्षक सङ्ग्रहभित्रको कविता ‘सेतो दरबार’ ले चित्रण गरेको विषयवस्तु र यसमा सङ्कलित अन्य कविताहरूको अन्तर्वस्तुलाई समेत ध्वनित गर्ने गरी राखिएको देखिन्छ । ऐतिहासिक जनआन्दोलन ०४६ पछि पनि सामन्तवादको प्रतिनिधिका रूपमा रहेको जनविरोधी, मानवद्वेषी, खुनी राजतन्त्र जस्ताको तस्तै रहेको र त्यसकै अधीनमा राज्यका सबै अङ्गहरू सञ्चालित भइरहेको यथार्थलाई प्रस्तुत गर्दै त्यसप्रतिको विरोध र विद्रोहलाई अन्तव्र्यङ्ग्यका साथ प्रस्तुत शीर्षकले अभिव्यञ्जित गरेको छ । प्रजातन्त्र कथित रूपमा मात्र रहेको र जनताको खुन र पसिनाले मोटाएको सेतो दरबारका आडमा अनेकौं जनविरोधी, प्रगतिविरोधी एवं समाजविरोधी कार्यहरू भइरहेका र जनताले भने आन्दोलनपछि पनि सेतो हात्तीसरह यसलाई पाल्नु–पोस्नु पर्ने र उल्टै उसले जनतामाथि रजाइँ गर्ने अवस्था रहनु अत्यन्त दुःखदायी भएको वास्तविकता बोध गर्दै यही विशेषता भएको समकालीन यथार्थको अभिव्यक्ति कवि मातृका आफ्ना कवितामा गरिरहेका छन् । सेतो दरबारको छेउबाट उनले अनुभूत गरेको यथार्थ समकालीन नेपालको विडम्बनापूर्ण स्थिति हुँदै हो । यही अन्तर्वस्तु वा भावगत सन्दर्भलाई ‘सेतो दरबारको छेउबाट’ ले प्रतिध्वनित गरेकाले कवितासङ्ग्रहको शीर्षकले तत्कालीन राष्ट्रिय स्थितिबोधको व्यञ्जक सारतत्वलाई समेट्न सकेको छ । यहाँ सेतो दरबारको छेउबाट पदावलीले टाढाबाट होइन, नजिकैबाट दरबारवरिपरि र दरबारभित्र बस्नेहरूका विरुद्ध धावा बोलिरहेको अर्थलाई पनि प्रतिध्वनित गरिरहेको छ । पछाडि बसेर होइन, सामुन्नेमै उभिएर निर्भीकताका साथ सामन्ती राज्यसत्ता र त्यसका नायकका विरुद्ध क्रान्ति र परिवर्तनका निम्ति जनतालाई आह्वान गरिरहेको सन्दर्भलाई कविताको शीर्षकले बुझाइरहेको छ ।
कवि मातृका पोखरेलको प्रस्तुत सेतो दरबारको छेउबाट कवितासङ्ग्रहमा सङ्कलित १९ वटा कवितामध्ये रचनाक्रमका हिसाबले ‘सूर्य उदाऊ अब’ (२०४५) पहिलो र ‘आफ्नै जस्तो लाग्यो’ (२०५६) अन्तिम कविता हो तर सङ्ग्रहमा कविताको प्रविष्टिक्रम रचनाक्रमका हिसाबले नभएर स्वच्छन्द किसिमले राखिएकाले र कतिपय कविताको रचना वर्षसमेत नखुलाइएकाले कालक्रमिक विवेचना गर्न असजिलो भएको छ । कुनै पनि रचनाको सृजनामा समय सन्दर्भ, युगीन परिवेश र रचनाकारको जीवनभोगाइले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यो सन्दर्भ खुल्न नसक्दा कविताको भावगत सन्दर्भको व्याख्या बरालिन सक्ने पनि सम्भावना रहन्छ । कविताका पुछारमा रचनावर्ष नहुँदा यहाँ पनि कतिपय कविताका सन्दर्भमा यो स्थिति उत्पन्न भएको छ ।
प्रविष्टिक्रमका आधारमा सेतो दरबारको छेउबाट सङ्ग्रहमा सङ्कलित पहिलो कविता हो– ‘अजम्बरी कविता’ । यो कवि पोखरेलको कवितासम्बन्धी धारणालाई व्यक्त गर्ने कविता हो । यसमा उनले जनताका निम्ति लेखिएको, जनजीवनको यथार्थको चित्रण गरिएको कविता मात्रै अजम्बरी हुने र विचार नभएको तर कलाले मात्र लिपापोती गरिएको कविता बाँच्न नसक्ने आफ्नो धारणा व्यक्त गरेका छन् । यसमा कविले कलाको विरोध गरेका भने होइनन्, कलाभन्दा विचारमा बढी जोड दिँदै सचेत कवितालेखनलाई वरण गरेका मात्र हुन् । उनी कवितामा रूप पक्षलाई भन्दा सार पक्षलाई महत्व दिन्छन् । प्रगतिवादले कलाको विरोध गर्दैन, विचारविहीन, सारहीन रूपवादको मात्र विरोध गर्छ । कविको विचार वा भावलाई उच्चतम बनाउने र पाठकमा सम्प्रेषित गर्ने काम कलाले नै गर्छ । विचार जति राम्रो भयो कला पनि त्यति नै राम्रो भयो भने मात्र रचना अब्बल दर्जाको ठहर्छ । अन्तर्वस्तु र रूप कलासाहित्यका मुख्य संरचक तत्व भएकाले दुईमध्ये एकको अभावमा त्यस रचनाले मूल्यवत्ता प्राप्त गर्न सक्दैन । दुवैको जैविक एकता र सोद्देश्यपूर्ण सन्तुलन आवश्यक छ । यस सम्बन्धमा कवि मातृका सचेत नै देखिन्छन् ।
प्रस्तुत सङ्ग्रहमा मातृका पोखरेलका जनआन्दोलनपूर्वका क्रान्ति र परिवर्तनलाई आमन्त्रण गर्दै लेखिएका कविता हुन्— ‘सूर्य उदाऊ अब’ (२०४५) र ‘आकाश तिमीलाई निम्ता छ’ (२०४६) । ‘सूर्य उदाऊ अब’ उनको पहिलो प्रकाशित कविता हो । मिति उल्लेख नभएको तर अन्तर्वस्तुका हिसाबले ‘खै यात्रीहरू उठेकै छैनन्’ कविता पनि ०४६ सालपूर्वकै देखिन्छ । यी सबै कविता मुक्त लयमा संरचित छन् । यीमध्ये ‘सूर्य उदाऊ अब’ सूर्यलाई परिवर्तन र क्रान्तिको प्रतीकका रूपमा प्रस्तुत गर्दै आमूल परिवर्तनको चाहना व्यक्त गरिएको कविता हो भने ‘आकाश तिमीलाई निम्ता छ’ ‘आकाश’ लाई स्वतन्त्रताको प्रतीकका रूपमा लिई ०४६ साललाई आमन्त्रण गरिएको कविता हो । यी दुवै कवितामा पञ्चायती निरङ्कुशताको विरोध र परिवर्तनप्रतिको आकाङ्क्षा व्यक्त भएको छ । ‘खै यात्रीहरू उठेकै छैनन्’ कवितामा चाहिँ आन्दोलनको वस्तुगत परिवेश तयार भइसकेर पनि आन्दोलनकारीहरूको आत्मगत परिस्थिति बलियो नभएको यथार्थलाई प्रस्तुत गरिएको छ । यसपछि ‘४६ को चैत्रको सडक’ कवितामा कवि मातृकाले राष्ट्रिय जनआन्दोलनको चित्र प्रस्तुत गर्दै यसमा जनताले देखाएको शौर्य त्याग र बलिदानको पक्षलाई प्रकटीकरण गरेका छन् । ०४६ साल ल्याउनमा सशरीर एवं कविकर्मका माध्यमले समेत सक्रिय रहेका मातृका त्यसबेला ०४६ सालले जीवनमा परिवर्तन ल्याउने कुरामा आशावादी बनेका पाइन्छन् । कवितामा उनी भन्छन्—
मेरो जीवनमा
गौरव र स्वतन्त्रताको एक खुट्किलो बनेको
४६ चैत्रको मेरो देशको सडक
(पृ.२३)
तर यस किसिमको आशावादितामा बिस्तारै तुषारापात हुँदै जान्छ र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछिका वर्षहरूमा राष्ट्रिय राजनीतिमा क्रमशः देखापरेका विकृति–विसङ्गति, मूल्यहीनता र विचलनले उनमा पीडाबोध हुन थाल्छ अनि उनी त्यसभित्रका कुरूप यथार्थहरूको चित्रणमा लाग्छन् । ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’, ‘कालो सर्प’, ‘म देश पढ्दैछु’, ‘क्रम भङ्ग’, ‘त्यो दिन पर्खिएका रातहरू’, ‘साक्षी’, ‘सेतो दरबार’, ‘आज पनि उनै आए’, ‘छोङपाङ’, ‘तिमीले कस्तो सपना देख्यौ’, ‘मरुभूमि शिखर र आस्था’ एवं ‘आफ्नै जस्तो लाग्यो’ कविताहरू यही परिवेशलाई प्रतिबिम्बित गर्ने कविता हुन् । ‘भिमान जंगलको यात्रा’ र ‘फरक फरक छातीहरू’ सहिदप्रति श्रद्धा व्यक्त गरिएका कविता हुन् भने ‘अभिशप्त पर्खाल’ वामपन्थी पार्टीमा देखिएको टुटफुटलाई प्रतिबिम्बित गर्ने कविता हो ।
‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’ २०४७ सालमा लेखिएको कविता हो । यसमा कविले ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिप्रति सन्तुष्ट नरहेको भावलाई व्यक्त गरिरहेका छन् । सहिदहरूले यही उपलब्धिका निम्ति मात्र रगत बगाएका थिएनन् तर केही मानिसहरू सबै कुरा प्राप्त भइसक्यो भनेर तथाकथित प्रजातन्त्रको भजन गाउँदै हत्यारालाई प्रमाणपत्र दिँदैछन् भन्दै फेरि अर्को आन्दोलन हुने कुरालाई कवि सङ्केत गरिरहेका छन्—
फेरि अर्को जमात बढ्दैछ
त्यहाँ खान नपाउनेहरू छन्
घर नभएकाहरू छन्
बेचिनेहरू छन् ।
उनीहरू बहुलठ्ठी प्रजातन्त्रको जुठेल्नोमा
मसाल सल्काउने योजना गर्दैछन्
उनीहरू भन्दैछन्
यहाँ खुर्पे जुन अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ ।
(पृ.१६)
यसरी २०४६ सालको जनआन्दोलन सम्झौतामा टुङ्गिई संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था प्राप्त भएको कुरालाई विडम्बनापूर्ण स्थिति मान्दै कवि मातृका यसलाई बहुलठ्ठीपूर्ण प्रजातन्त्र भन्छन् र अर्को आन्दोलनका निम्ति आह्वान पनि गर्छन् । कवि मातृका एकातिर ०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धिप्रति पटक्कै सन्तुष्ट छैनन् भने अर्कातिर प्राप्त भएका सीमित उपलब्धिलाई पनि समाप्त पार्न सक्रिय रहेको सामन्तवादले जरा फैलाउँदै गएकोमा चिन्तित पनि रहेका छन् । उनले नेपाली सामन्तवाद र त्यसको नाइके दरबारलाई ‘कालो सर्प’ को रूपमा चित्रित गर्दै मान्छेको रगत लागेको जिब्रोमा दुध ख्वाएर उसलाई नडस्ने बनाउँछौं भने पनि सर्पको स्वभाव डस्ने हो, त्यसैले त्यसले एक दिन नडसी छोड्दैन भन्ने घोषणा ‘कालो सर्प’ भन्ने कवितामा गरेका छन् । जुन कुरा नेपाली राजनीतिक इतिहासमा सत्य सावित पनि हुन पुग्यो । संवैधानिक बनाएर राखिएको राजतन्त्रले कसरी जनताका हक, अधिकार खोसेर आतङ्क मच्चायो, यो सबैले भोगेकै कुरा हो । कविहरू वर्तमानको मात्र चित्रण गर्दैनन् भविष्यद्रष्टा पनि हुन्छन् भन्ने कुरा मातृकाको उक्त कविताले पुष्टि गरेको छ । यसैले उनी प्रतिक्रियावादी वर्ग र त्यसको स्वार्थलाई सहयोग गर्ने सामन्ती राज्यसत्ता र त्यसको मूली दरबारलाई समाप्त नगरुन्जेल सधैँभरि जनताले त्रासमै बाँचिरहनुपर्ने हुन्छ भन्ने कुराको बोध गराउँदै उक्त कवितामा यसो भन्छन्—
दुध ख्वाएको सर्पको विष झन कडा हुन्छ
लौन ! अब यो चटपटाउने बेला भयो
एक छिनपछि हिडन थाल्छ
सबैले घरको हतियार झिक,
विषालु कालो सर्प मार्नैपर्छ ।
(पृ.८)
यही चिन्तनलाई प्रतिबिम्बित गर्ने कवि मातृकाको अर्को कविता ‘सेतो दरबार’ पनि हो । २०५५ सालमा लेखिएको र कवितासङ्ग्रहको शीर्षकसँग पनि सम्बन्धित रहेको यस कवितामा कवि पोखरेलले सामन्ती राज्यसत्ता र त्यसको वर्गीय स्वरूपलाई अत्यन्त राम्रोसँग चित्रण गरेका छन् । यस कवितामा आएका काले कामी र गोरे घर्ती नेपाली जनताका प्रतीक हुन् भने ‘सेतो दरबार’ सामन्तवादको प्रतीक हो । यी दुई प्रतीकका माध्यमबाट कविले तत्कालीन परिवेशको अभिव्यक्ति यसरी गरेका छन्—सेतो दरबार
प्रत्येक रात
हेलम्बुको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्नै चाहँदैन
……
त्यो दरबारमा
मान्छेका करङका सारङ्गीहरू
कुनै चाडपर्वमा, कुनै उत्सवमा
बेसुरसँग बजाइन्छन्
(पृ.२६)
यसरी उपर्युक्त कविताले सामन्तवर्गको सर्वसत्तावादी मानवद्वेषी चरित्रलाई उद्घाटित गरेको छ र त्यो वर्गले आफूलाई चरमचुलीमा राखेर जनतामाथि कस्तो खालको अत्याचार गरिरहेको छ भन्ने कुरालाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
२०५१ सालमा लेखिएको ‘त्यो दिन पर्खिएका रातहरू’ मा नेपाली जनताको उद्देश्यपूर्ण यात्रा निरन्तर रहेको कुरालाई उल्लेख गर्दै रातलाई पनि सुन्दर बनाउने गरी आकाशमा बत्तीहरू बाल्ने अठोट व्यक्त गरिएको छ । रातहरू जतिसुकै कठिन र वीभत्स भए पनि रातपछि दिन आउने विश्वासका साथ प्रस्तुत कवितामा आशावादी क्रान्तिकारी स्वरलाई मुखरित गरिएको छ । यसपछि २०५२ सालमा लेखिएको ‘आज पनि उनै आए’ कवितामा प्रजातन्त्र आए पनि नेताहरू चाहिँ उही रहेका र उसै गरी छलछाम र ढाँट्ने प्रवृत्ति रहेको र सत्ता, शासन र नेतृत्वमा शोषक वर्ग नै हावी भएको यथार्थलाई प्रस्तुत गरिएको छ । यसले बहुदलीय प्रजातन्त्रको पाखण्डी स्वरूपलाई प्रतिबिम्बित गर्दै नयाँ प्रजातन्त्र भनिए पनि यसमा उही वर्गको हालीमुहाली रहेको वास्तविकतालाई चित्रण गरेको छ । ‘साक्षी’ (२०५४) कवितामा जनआन्दोलनमा घाइते भएर वीर अस्पतालमा मृत्यु वरण गरिरहेको एकजना युवाको बेवारिसे अवस्थालाई चित्रण गरी जनआन्दोलनका सहिदहरूको अवमूल्यन भएको तथ्यलाई सार्वजनिक गरिएको छ भने ‘छोङपाङ तिमीले कस्तो सपना देख्यौ ?’ मा खोटाङको एउटा गाउँ छोङपाङलाई प्रतीक बनाएर नेपालका गाउँहरूबाट युवाहरू हरेक वर्ष लाहुर जाने र फोकल्यान्ड, कोसोभो र कारगिलका युद्धहरूमा रगत बगाउने प्रथाले नेपाल र नेपालीले नेपालभित्रैबाट मात्र होइन, बाहिरी समस्याबाट समेत पीडित हुनुपरेको कुरालाई देखाउन खोजिएको छ । यसमा कविले अरू मुलुकमा भएका अन्यायपूर्ण युद्धमा आफूलाई भागिदार गराएर नेपालीहरूलाई पीडित गराउनुभन्दा आफ्नै मुलुकका वर्गवैरीविरुद्ध लड्न युवाहरूलाई आह्वान गरेका छन् । प्रस्तुत कविताले भाडाका सिपाहीको रूपमा नेपाली युवाहरू बेचिने परम्पराका विरुद्ध आवाज उठाएको छ । सबैजसो कवितामा राजनीतिक समस्या र सन्दर्भलाई कविताको कथ्यवस्तु बनाउने पोखरेलले प्रस्तुत कवितामा भने त्यसभन्दा भिन्न मानवीय समस्यालाई पनि अन्तर्वस्तुका रूपमा लिएको पाइन्छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘म देश पढ्दैछु’ र ‘क्रमभङ्ग’ दुईवटा कविताहरू कविको वर्तमानबोधी चेतना र सामाजिक संरचनाको कुरूपतालाई चित्रण गर्ने राम्रा कविता हुन् । यीमध्ये पहिलोमा शान्तिका नाममा कोलाहल, न्यायका नाममा जेल, नेल, बन्दुक र पुलिसका यातना, देशभक्तिका नाममा देश बेच्ने काम वा राष्ट्रघाती सन्धिसम्झौता भइरहेको तथ्यलाई उजागर गरिएको छ । यो नेपाली इतिहासको विडम्बनालाई प्रस्तुत गर्ने कविता हो । दोस्रो ‘क्रमभङ्ग’ कवितामा चाहिँ तत्कालीन समाजमा जे हुनुपर्ने हो त्यो नभइरहेको र जे नहुनुपर्ने हो त्यो भइरहेको छ भन्दै निम्नवर्गीय जीवनका विविध समस्यालाई उठाएर उनीहरूले भोगिरहेका व्यथा, वेदना र पीडालाई रत्तिभर पनि समाधान गर्न नसक्ने यो प्रजातन्त्र आँफैमा खतरामा परेको छ भन्दै त्यसमाथि प्रश्नचिह्न उपस्थित गरिएको छ ।
‘भीमान जङ्गलको यात्रा’ र ‘फरक फरक छातीहरू’ सहिदको सम्मानमा लेखिएका संस्मरणात्मक कविता हुन् । पहिलोमा क.ऋषि देवकोटा ‘आजाद’ को त्याग र बलिदानी गाथालाई प्रस्तुत गरिएको छ भने दोस्रोमा सहिद भनेको व्यक्तिवादबाट माथि उठेको साझा चिन्तन, साझा स्वरूप र स्वतन्त्रतामा अनुवाद हुन सक्ने व्यक्ति हो भन्ने भावना प्रकट गरिएको छ । ‘अभिशप्त पर्खाल’ कवितामा चाहिँ वामपन्थी पार्टीहरूमा पटकपटक हुने टुटफुट र विभाजनलाई कथ्यविषय बनाइएको छ । मुलुकको अभिभारा र इतिहासको जिम्मेवारीलाई लिएर अगाडि बढ्नुपर्ने पार्टीहरू सानो कुरामा चित्त नबुझ्दा फुट्ने गरेका छन् र त्यो फुटको औचित्यलाई कुनैले पनि अहिलेसम्म सिद्ध गर्न पनि सकेका छैनन् । यही कुरालाई प्रतिबिम्बित गर्दै अझै फराकिलो र छहारीको रूप लिएर अगाडि बढ्दै जानुपर्नेमा जुठेल्नामै पर्खाल लगाउने सङ्कीर्ण सोच र फुटवादी प्रवृत्तिप्रति यहाँ कविले तीव्र रोष प्रकट गरेका छन् ।
यसपछि यस सङ्ग्रहमा रहेका अन्तिम दुई कविता ‘मरुभूमि शिखर र आस्था’ र ‘आफ्नै जस्तो लाग्यो’ हुन् । २०५६ सालमा प्रकाशित उक्त कवितामा कविको राजनीतिक चिन्तन, सङ्घर्षप्रतिको दृढता, यथास्थितिको विरोध, वैचारिक विचलनप्रतिको खबरदारी, सामाजिक–राजनीतिक वैषम्यको चित्रण र वर्गीय पक्षधरता जस्ता प्रवृत्तिहरू प्रकट भएका छन् । ‘मरुभूमि शिखर र आस्था’ मा शिखर चढ्ने कुरा कठिन ठानेर मरुभूमिमै बस्ती बसाउनेहरू अथवा क्रान्ति र परिवर्तनको बाटो हिँड्न नसकेर यथास्थितिमै रमाउनेहरूलाई खबरदारी गरिएको छ भने ‘आफ्नै जस्तो लाग्यो’ मा नेपाली निम्नवर्गीय समाजले भोग्नुपरेको शोषण, दमन, अपहेलना र उत्पीडनलाई देखाउँदै तिनप्रतिको वर्गीय प्रेम, आत्मीयता र पक्षधरतालाई प्रकट गरिएको छ । भावविन्यासका दृष्टिले पछिल्लो कविता सहज बोधगम्य छ भने अघिल्लोमा कविको भनाइ सहज रूपमा खुल्न सकेको छैन ।
सेतो दरबारको छेउबाट (२०५६) मा सङ्कलित उपर्युक्त कविताहरूको सरसर्ती अध्ययनबाट कवि मातृका पोखरेल वर्तमानप्रति एकदमै असन्तुष्ट छन् र भविष्यप्राप्तिको बाटो जतिसुकै दुरुह र दुर्गम भए पनि निरन्तर यात्रारत रहन चाहन्छन् भन्ने देखिन्छ । मातृकाले कविता लेखिरहेको यो अवधि ०४६ सालदेखि ०५६ सालसम्मको एक दशक हो । यो एक दशकमा कतिपय सकारात्मक कुराहरू पनि भएका छन् र नकारात्मक पनि । ०४६ सालको जनआन्दोलनले रूपगत परिवर्तन ल्याए पनि सारमा परिवर्तन नआएको र वर्तमान एकदमै पीडामय भएको अनुभूति कवि यी कवितामा गरिरहेका छन् । उनका उपर्युक्त कविताको मूल निष्कर्ष के हो भने ०४६ सालको जनआन्दोलनपछि पनि सामन्तवाद यथावत् रहेको छ र परिवर्तनको अनुभूति भएकै छैन । त्यसैले कवि मातृका पोखरेल समकालीन युगका कुरूप यथार्थलाई कविताको कथ्यविषय बनाई तिनमाथि प्रहार गर्दै क्रान्ति र परिवर्तनका निम्ति जागरुक हुन आह्वान गर्छन् ।
मातृकाको उक्त कवितासङ्ग्रहको चिरफार गर्दै कृतिको भूमिकामा समालोचक निनु चापागाईंले मातृकालाई वर्गीय प्रकृति र वर्गीय पक्षधरतामाथि विश्वास गर्ने कविका रूपमा लिएका छन् र उनको कवि प्रतिभा विकासवान् अवस्थामा रहेको छ भनेर टिप्पणी पनि गरेका छन् । भूमिका टिप्पणीमै कवि आहुतीले पनि मातृकालाई प्रशस्त सम्भावना भएका कवि मान्दै कलापक्षमा भने उनले सुधार ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । यी टिप्पणीहरू उक्त कवितासङ्ग्रहका सन्दर्भमा औचित्यपूर्ण नै देखिन्छन् । कवि मातृका पोखरेलका कवितामा समकालीन राजनीतिक–सामाजिक संरचनाका यथार्थबोधको तीव्रता हुँदाहुँदै पनि उनले युगजनीन यथार्थको स्थूल पक्षलाई मात्र समात्न सकेको देखिन्छ । यही एक दशकभित्र पनि राष्ट्रिय राजनीतिक एवं सामाजिक परिदृश्यमा जनतासँग सरोकार राख्ने अनेकौं खाले समस्याहरू पनि उत्पन्न भएका छन् । जाति, जनजाति, उत्पीडित जाति, युवा एवं महिलाका साथै तराई, मधेश र पहाड एवं महङ्गी, बेरोजगारीका समस्याहरूतर्फ पनि प्रगतिवादी कविहरूको ध्यान जानु जरुरी छ । मातृका पोखरेल प्रगतिवादी कवि भएकाले उनले युगजीवनका विसङ्गत पक्ष र वर्गविषमताका आधारभूत कारणहरू खोज्ने र तिनकै आलोकमा जीवनलाई हेर्ने दृष्टिकोणलाई अँगालेका छन् । उनका कवितामा वैचारिक एवं शैलीगत आरोह–अवरोह पनि नपाइने होइन तापनि उनले प्रस्तुत गरेको सेतो दरबारका छेउबाट कवितासङ्ग्रहमा प्रगतिवादी जीवनदृष्टिलाई लिएर नै वर्तमानप्रतिको तीव्र असन्तुष्टि व्यक्त गर्दै भविष्यप्रतिको आशावादितालाई प्रकट गरेका छन् ।४.‘यात्राको एउटा दृश्य’ ः द्वन्द्वग्रस्त वर्तमान, वैचारिक विचलनको विरोध एवं क्रान्ति र विद्रोहको अभिव्यक्तियात्राको एउटा दृश्य (२०६०) कवि मातृका पोखरेलको दोस्रो कवितासङ्ग्रह हो । यसमा २०५७ सालदेखि २०६० सालसम्मका चार वर्षका बाईसवटा कविताहरू सङ्गालिएका छन् । सङ्कलित सबै कविताकृतिका पुछारमा रचनावर्ष उल्लेख भएकाले यी कविताको विषयवस्तु र भावगत सन्दर्भलाई बुझ्न सजिलो भएको छ । अघिल्लो कवितासङ्ग्रहले चर्चेको विषयवस्तु र उठाएको सन्दर्भ यहाँ पनि यथावतै छ । थप यसले राष्ट्रिय राजनीतिमा चुलिँदै गएको द्वन्द्वले पारेको प्रभाव र त्यसबाट समस्याग्रस्त बन्दै गएको मानवीय जीवन एवं वामपन्थी राजनीतिक वृत्तमा देखिएको वैचारिक विचलन र पतनशील संस्कृतिलाई समेत प्रतिबिम्बित गरेको छ । सङ्ग्रहको शीर्षक यसै सङ्ग्रहमा सङ्कलित ‘यात्राको एउटा दृश्य’ कविताबाट राखिएको छ । २०६० सालमा लिखित यस कवितामा कवि मातृकाले वामपन्थी वृत्तमा आएको वैचारिक विचलन, सत्तालिप्सा, धोका र विश्वासघातका कारण आस्था धराशायी भएको हुनाले ठेस लागेका घाउहरू लिएर यात्रामा केही रोकिनुपरेको अभिव्यक्ति दिएर राजनीतिक इतिहास र संस्कृतिलाई एकसाथ प्रतिबिम्बित गरिरहेका छन् । यसै कवितालाई आधार बनाएर कवितासङ्ग्रहको आवरणमा अतीतदेखि वर्तमानसम्मलाई प्रतिबिम्बित गर्ने गरी यात्राको अर्थमा रातो, नीलो, पहेंलो र कालो पाइलालाई देखाइएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको चरणगत प्रवृत्तिलाई यी पाइलाले प्रतिबिम्बित गर्न खोजेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई केन्द्रमा राखेर आवरणपृष्ठ तयार पारे पनि कम्युनिस्ट आन्दोलनको समग्र प्रवृत्ति भने यस्तो मात्र छैन । सबै काल, सबै चरण र सबै समूहमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । कम्युनिस्ट आन्दोलनको जुन चरणलाई रातो पाइलाले सङ्केत गर्न खोजेको छ त्यो चरण पनि पूर्णतः क्रान्तिकारी र विचलनहीन थिएन अनि त्यसयताका सबै चरणमा देखाइएको दृश्य नै मूल प्रवृत्ति पनि होइन । नेपाली कम्युनिस्ट आन्दोलन सुरुदेखि नै टुटफुट, आन्तरिक द्वन्द्व, पलायन र विचलनलाई पार गर्दै अगाडि बढिरहेको छ र यसका सकारात्मक पक्षहरू पनि छन् । कालो पाइलाले सङ्केत गरेको वर्तमान वा चौथो चरण पनि त्यस्तै नै अन्धकारमय चाहिँ छैन । यसका उज्याला पक्षहरू अवश्य छन् । स्वयं कविताको शीर्षकले नै यात्राको एउटा दृश्य भनेकाले पनि आवरणलाई कम्युनिस्ट आन्दोलनको समग्र प्रवृत्तिका रूपमा लिनु उचित हँुदैन । अनि रामप्रसाद ज्ञवाली (२०६४ ः १०८) ले विचलन र पलायनलाई एउटै पार्टी वा समूहसँगको मात्र प्रवृत्तिका रूपमा व्याख्या गरेझँै कुनै एउटा समूहको मात्र प्रवृत्तिका रूपमा लिनु पनि वस्तुवादी दृष्टिकोण हुँदैन । यो वा त्यो जुनसुकै समूहमा पनि धेरथोर देब्रे वा दाहिने विचलनहरू छन् र विचलन वा पलायन समग्र कम्युनिस्ट आन्दोलनभित्रकै एउटा नकारात्मक प्रवृत्तिचाहिँ हुँदै हो । यही नकारात्मक प्रवृत्तिमाथि कवि मातृका आफ्ना कवितामा व्यङ्ग्य गरिरहेका छन् । स्वयं कवि मातृका कविताको भूमिकामा भनिरहेका छन्— “निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैंले बनाएको उचाइलाई आफैंले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन् टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिनँ, मात्र ठेस ठानेको छु ।” यस अभिव्यक्तिले पनि प्रस्तुत कवितासङ्ग्रहको मुख्य अन्तर्वस्तुलाई बुझ्न मद्दत गर्छ । कवितासङ्ग्रहको शीर्षक वा नामकरणका रूपमा प्रस्तुत यात्राको एउटा दृश्यले कम्युनिस्ट आन्दोलनको एउटा प्रवृत्तिलाई सङ्केत गर्नुका साथै कवितासङ्ग्रहमा समेटिएका समष्टि कवितागत सन्दर्भमा तत्कालीन नेपालको विचलित अवस्था वा मूलतः २०५७ देखि २०६० सालका बीचको राष्ट्रिय राजनीतिक–सामाजिक सन्दर्भका सेरोफेरोलाई पनि प्रतिध्वनित गरेकै छ । यसका साथै कवि मातृकाको कवितायात्राभित्रको एउटा दृश्य पनि हुँदै हो– प्रस्तुत कवितासङ्ग्रह ।
अघिल्लो कवितासङ्ग्रह सेतो दरबारको छेउबाट र यस सङ्ग्रहका कवितामा समेत यथास्थितिप्रति तीव्र असन्तुष्टि प्रकट गरिरहेका कवि मातृका यसरी यथास्थिति टिकाउनमा आफ्नै सहयात्रीहरूको भूमिका जिम्मेवार ठान्छन् र शीर्षक रहेको ‘यात्राको एउटा दृश्य’ कवितामा त्यस प्रवृत्तिको यसरी विरोध गर्छन्–हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन् ।
बितेको वर्ष,
गद्दारीको बाली राम्रै सित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्‍याङ चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।
(पृ.५५)
यसरी वामपन्थी राजनीतिक वृत्तको प्रवृत्ति प्रसङ्गलाई आधार बनाएर आफ्नै वैचारिक वृत्तका कुरूप यथार्थलाई नैतिक, सांस्कृतिक एवं राजनीतिक बेइमानीका रूपमा चित्रण गर्दै कवि मातृका उक्त कवितामा त्यसप्रतिको आफ्नो व्यङ्ग्यात्मक अन्तर्विद्रोही चेतलाई प्रस्तुत गरिरहेका छन् । यही विसङ्गत नियतितर्फको यात्रालाई प्रस्तुत गर्ने अर्को कविता हो— ‘उसले पनि हाम्रैजस्तो कुरा गर्छ’ (२०५७) । यसमा पनि रातो किताब बोकेर जनतालाई दिग्भ्रमित गर्दै हिड्ने अवसरवादी एवं विचलित नेताको चरित्रलाई देखाइएको छ । यस किसिमले वामपन्थी नेता र कार्यकर्तामा आएको वैचारिक विचलन र पतनशील संस्कृतिलाई कवितासङ्ग्रहका अरू कविताले पनि सङ्केत गरिरहेका छन् ।
यात्राको एउटा दृश्य (२०६०) कवितासङ्ग्रहमा सङ्कलित बाइसवटै कविता वैचारिक कविता हुन् । यीमध्ये ०५७ र ०५८ सालमा लेखिएका कवितामा समकालीन नेपालको द्वन्द्वरत वर्तमानभित्रको वस्तुसत्यलाई उद्घाटित गर्दै युगयथार्थप्रति तीव्र असन्तुष्टि, नकारात्मक यथार्थप्रतिको विरोध र परिवर्तनप्रतिको आशावादितालाई प्रकट गरिएको छ भने त्यसपछिका ०५९ र ०६० सालमा लेखिएका कवितामा मुख्यतः प्रतिगमनको विरोध गर्दै वर्तमानको कुरूपतामाथि निर्मम प्रहार गरी क्रान्ति र विद्रोहको स्वरलाई मुखरित गरिएको छ । उनले यस सङ्ग्रहभित्रका धेरैजसो कवितामा वैचारिक विचलनको तीव्र विरोध गर्दै आस्था र विश्वासको दृढतालाई प्रखर रूपमा अभिव्यक्ति दिएका छन् ।
यात्राको एउटा दृश्य कवितासङ्गहमा सङ्कलित पहिलो कविता हो— ‘फरक आँखाका यात्रीहरू’ (२०५७) । यो तनहुँ जिल्लाको मर्स्याङ्दी किनारमा मारिएका सहिद शोभाकान्त पोखरेललाई संस्मरण गर्दै लेखिएको कविता हो । यसमा कवि मातृका पोखरेलको कवितासम्बन्धी मान्यताले पनि अभिव्यक्ति पाएको छ । अरू यात्री कविहरूले जस्तो आफूले क्षणिक दृश्यको स्वप्निल संसारमा हराएर प्रकृतिमा रमाउँदै मस्र्याङ्दीको प्रकृति र छाललाई विषयवस्तु बनाएर कविता लेख्न नसक्ने स्पष्टोक्ति दिदै उनले मस्र्याङ्दीको छालमा शोभाकान्तको रगत र हरियालीमा आस्थाको बगैंचा भेटेको अभिव्यक्ति दिएर यस कवितामा सहिदप्रतिको आस्था र आफ्नो कवितासम्बन्धी मान्यतालाई एकैसाथ प्रस्तुत गरेका छन् । यस्तै किसिमका कविता साहित्यसम्बन्धी मान्यतालाई प्रस्तुत गर्ने उनका अरू कविता हुन्— ‘म तिम्रो कविताका विरुद्धमा लेख्छु’ (२०५८) र ‘प्रिय मान्छेका गीतहरू’ (२०५८) । यी कवितामा उनले आफ्ना कविताको विषयवस्तु सामान्य जनजीवन र शोषित पीडितहरूको व्यथा छन् र स्तुतिवादी कविताका विरुद्ध लेख्ने कुराको अभिव्यक्ति दिएर आफूलाई जीवनवादी, प्रगतिवादी कविका रूपमा उभ्याएका छन् । उक्त तीनै कवितामा कविता वर्गीय हुने कुराको अभिव्यक्ति पनि छ । यसबाट कवि मातृका पोखरेल समाजवादी यथार्थवादी लेखनका सम्बन्धमा सचेत रहेको स्पष्ट हुन्छ ।
यसमा सङ्कलित ‘दुश्मनहरू सुरक्षित रहेको बेला’ (२०५७), ‘दुख्ने मनहरूसँग’ (२०५७), ‘उज्यालो हुनुअघि’ (२०५८) र ‘भविष्यका लागि’ (२०५९) द्वन्द्वग्रस्त नेपाली समाजको यथार्थलाई बोध गराउने कविता हुन् । यीमध्ये ‘दुश्मनहरू सुरक्षित रहेको बेला’ ले एउटै समस्या वा गरिबी र रोजगारीका कारण माओवादी र पुलिसमा भर्ना भएका दुई दाजुभाइ माइलो र साइलाले एक अर्कालाई मार्नुपर्ने बाध्यता बनेको तत्कालीन अवस्थाको कटु यथार्थलाई प्रस्तुत गरेको छ । दुवैका वर्गीय शत्रु भने एउटै हुन् तर तीचाहिँ सुरक्षित रहनु र आ–आफूमा मारकाट गरेर बाबुआमा रुवाउने कुरा ठीक नभएको बोध गराउँदै यस कवितामा जताबाट भएको भए पनि हिंसा स्वीकार्य नभएको अभिव्यक्ति छ ।एउटै घरबाट उही समस्यामा
भाइ साहिँलो माओवादी भएर जङ्गल पस्छ
तिमी मकै र सातु बोकेर सहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिँलालाई गोली ताक्छौ
साहिँलो तिमीलाई निशाना दाग्छ ।
………….
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफनै आफ्नैलाई मारिरहेका छौ ।
(पृ.१०)
‘दुख्ने मनहरूसँग’ र ‘उज्यालो हुनुअघि’ यी दुई कवितामा चाहिँ एकातिर नेपालीहरूले गरिबी, बेरोजगारी र सामाजिक कुरीतिहरूका कारण पीडित हुनुपरेको अवस्थालाई देखाइएको छ भने अर्कातिर अन्धकारबाट मुक्ति खोज्न हिँड्नेहरूमाथि राज्यले गरेको दमन र आतङ्कबाट पनि उनीहरू पीडित बनेको अभिव्यक्ति छ । ‘दुख्ने मनहरूसँग’ मा मेची, महाकाली र टनकपुरमा भएको भारतीय अतिक्रमणको पनि विरोध छ । ‘उज्यालो हुनुअघि’ मा चाहिँ कविले अप्रत्यक्ष रूपमा जनयुद्धको समर्थन गर्दै चाँडै नै परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । यद्यपि कवि मातृकाले पहिलो कवितासङ्ग्रह सेतो दरबारको छेउबाटमा सङ्कलित ‘कालो सर्प’ मा सामन्तवादी राज्यसत्ता र त्यसको नाइके राजालाई कालो सर्पको प्रतीकका रूपमा लिँदै एक ठाउँ यसलाई समाप्त गर्न ‘सबैले घरका हतियार झिक, विषालु कालो सर्प मार्नैपर्छ’ भन्ने अभिव्यक्ति दिनुबाहेक कहीँ पनि हतियार उठाउने कुरा गरेका छैनन् । हतियारको कुरा नगरे पनि यस कवितामा चाहिँ परिवर्तन हिंसाबाट मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्—
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुन्डन्छन्
आमा ! कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सँधै सँधै यस्तै हुन्छ ।
(पृ.४४)
वर्तमान कुरूप छ, अन्धकारमय छ र त्रासदीपूर्ण छ, त्यसैले यसका विरुद्ध क्रान्ति र विद्रोहको आवश्यकता छ भनेर यथास्थितिको तीव्र विरोध गर्दै अग्रगमन र परिवर्तनको भाव सम्प्रेषित गर्ने कविता हुन्— ‘अँध्यारोका विरुद्धमा’ (२०५७), ‘यसपटक दशैंमा’ (२०५७), ‘सर्पपूजा’ (२०५८), ‘अब आफ्नै बाटो रोज्नुपर्छ’ (२०५८), ‘जलजला’ (२०५८), ‘भविष्यका लागि’ (२०५९), बाटाहरू १, बाटाहरू २ र बाटाहरू ३ । यीमध्ये मैनबत्तीलाई चेतना र अँध्यारोलाई यथास्थितिको प्रतीक बनाएर मुक्तिको खोजी गरिएको कविता हो— ‘अँध्यारोका विरुद्धमा’ भने ‘ढाक्रे’ लाई सिङ्गै्र देशको प्रतीक बनाएर देशको अव्यवस्थाको चित्रण गरिएको कविता हो— ‘यसपटक दशैंमा’ । ‘सर्पपूजा’ चाहिँ अघिल्लो समूहमा परेका ‘सेतो दरबार’ र ‘कालोसर्प’ कै उत्तराधिकारी कविता हो । यहाँ पनि सर्प सामन्तवाद र त्यसको संरक्षक राजाकै प्रतीकका रूपमा आएको छ र उसले आफूलाई नाग भनाएर संवैधानिक भएको नाटक रचेर जनतालाई झुक्याइरहेको अभिव्यक्ति छ । ‘अब आफ्नैं बाटो रोज्नुपर्छ’ प्रवीण गुरुङको सम्झनामा लेखिएको कविता हो । यसमा राजा र राजदरबारका मानिसहरूको अत्याचारले सीमा नाघेको र प्रवीण गुरुङका हत्याराहरूलाई जय जयकार गरेर हामीले पराजयको त्रासदी बोकेर विडम्बनापूर्ण वर्तमानलाई भोगिरहनु परेको मर्मलाई उद्घाटित गरिएको छ । सँगसँगै यस कवितामा घरभित्र विशाल रेक्टरको भुइँचालो पालेर अत्याशलाग्दो जीवन बाँच्नुभन्दा क्रान्तिको बाटो रोज्न आह्वान पनि गरिएको छ ।
‘जलजला’ आस्था, विश्वास र देशभक्तिको भावनाले भरिएको कविता हो । यसमा ‘जलजला’ पहाडलाई आलम्बन बनाएर वर्तमानप्रति धावा बोल्दै सुन्दर भविष्य निर्माण गर्ने अठोट गरिएको छ । यहाँ जलजला आस्थाको शिखर र परिवर्तनको संवाहक भएर आएको छ । यहाँ कवि सुन्दर सपना बोकी सात समुद्रपारि गएर विकलाङ्ग भई फर्कने युवाहरूको अवस्था देखेर चिन्तित बनेका छन् र उनीहरूलाई देशभित्रै बाँच्न सिकाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । उनले वर्तमानलाई अत्यन्त कुरूप भयावह र बस्तीलाई खण्डहर देखेका छन् । बस्तीमा आगो लागेको छ र त्यो खण्डहरमा परिणत भएको छ तापनि कवि त्यही खण्डहरू बस्तीबाट सुन्दर भविष्य निर्माण गर्ने सपना साँचिरहेका छन् । भविष्यका लागि कवितामा वर्तमानको द्वन्द्वले सृजना गरेको त्रासदी, मानवीय अस्तित्व सङ्कट, राष्ट्रिय–सामाजिक परिदृश्यमा देखापरेको विचलन, विपथन एवं बहुपक्षीय धर्मसङ्कट र विरोधाभासको चित्रण गरी भविष्य निर्माणका लागि लड्न आह्वान र अठोट गरिएको छ ।
…हिजो गाउँमा मात्र गनाउने बारुद
सहरमै बस्न थालेको छ
…जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ ।
…म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनु पर्दैन ।
…सिरक ओडेर छेपाराहरू
सपना बाँडिरहेका छन् ।
…चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन् ।
(पृ.३७।३८)
यी पङ्तिहरूले द्वन्द्वग्रस्त वर्तमानका बहुविध पक्षलाई चित्रण गरेका छन् । यस कविताको अन्त्यमा चाहिँ क्रान्तिको अपरिहार्यताको अभिव्यक्ति गरिएको छ । यात्राको एउटा दृश्यमा सङ्कलित ‘बाटाहरू १’, ‘बाटाहरू २’ र ‘बाटाहरू ३’ २०५९ र २०६० सालमा लेखिएका प्रखर वैचारिक कविता हुन् । यीमध्ये पहिलोमा ऊ र हामी सर्वनामका माध्यमबाट परिवर्तनविरोधी र परिवर्तन चाहने वर्गका बीचको भिन्नतालाई देखाइएको छ । ‘ऊ’ शोषक, सामन्तवर्गको प्रतिनिधि हो भने ‘हामी’ श्रमिक र गरिब–किसान वर्गको प्रतिनिधि हो । यी दुईका छुट्टाछुट्टै व्यवहार र सोच देखाएर कविले यस कवितामा आफ्नो वर्गीय पक्षधरता र चेतनालाई कविताको रूप दिएका छन् । ‘बाटाहरू २’ मा तत्कालीन राष्ट्रिय राजनीतिक दृश्यको प्रतिबिम्बन छ । सर्पले आफूलाई नाग भनाएर क्रान्ति र परिवर्तनको बाटोमा हिँड्नेहरूका सपना लुटी क्रूर र कुरूप बाटो हिँड्न बाध्य पारिरहेको अभिव्यक्ति दिँदै यस कवितामा आफू बरु क्रूर युद्ध लड्न तयार भएको तर उसको बाटोमा लाग्न तयार नभएको भाव सम्प्रेषित गरिएको छ । यो राजा ज्ञानेन्द्रले २०५९ सालमा चालेको प्रतिगमनकारी कदमलाई विरोध गर्ने कविता हो । ‘बाटाहरू ३’ पनि तत्कालीन निरङ्कुशता, राज्यआतङ्क, षड्यन्त्र, क्रूरता, लाचारी र पलायनलाई चित्रण गर्ने कविता हो । एकातिर गोली लागेर ढलेको वीर युवकको छातीमाथि टेकेर उभिएको एउटा नायक कन्चटमा बन्दुक ताकेर भोलिको सत्ता मागिरहेको छ भने अर्कोतिर मूल बाटोमा हिँडिरहेको सारथी बाटोको किनारमा उभिएर अर्को बाटो खोजिरहेको छ । सेता लुगा लगाएर स्यालहरूले पशुपालन गर्ने प्रस्ताव पेस गरिरहेका र उल्लुहरूले पान चपाउँदै देश बचाउने सपना बाँडेर जनतालाई दिगभ्रमित गरिरहेको बेला उक्त नायक र सारथीहरूले मूल बाटो समाप्त नसक्नुलाई कवि विडम्बना ठान्छन् र देब्रे र दाहिने दुवै विचलनमा रहेका सारथीहरूलाई जोडतोडले चिच्याएर सही मार्गमा आउन आह्वान गर्छन् । यस कवितामा तत्कालीन शाही कदम, माओवादीको उग्रवामपन्थ र अरू वामपन्थीहरूको ढुलमुले प्रवृत्तिलाई एकसाथ चित्रण गरी अन्त्यमा सही बाटो भनेको आस्था र विश्वास भरिएको अजम्बरी धातुले बनेको बाटो हो भन्दै त्यही बाटो ठीक भएको अभिव्यक्ति दिइएको छ ।
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू ।
(पृ.५२)
यो राजा ज्ञानेन्द्रले सत्ता हातमा लिई जनताका हक–अधिकारहरू खोस्दै लगेको र राजनीतिक पार्टीहरू सशक्त रूपमा सडकमा आउन नसकिरहेको बेलाको कविचेतना हो । यसमा कविले अजम्बरी धातुले बनेको बाटो सुन्दर बाटो हो र त्यही नै आफ्नो प्रिय बाटो हो भने पनि त्यो कस्तो बाटो हो त्यसलाई प्रस्ट पार्न सकिरहेका छैनन् । बाटोका बारेमा स्पष्टता नभए पनि लक्ष्य र उद्देश्यका बारेमा भने कविको अभिव्यक्ति स्पष्ट छ । उनका सबै कवितामा यथास्थितिप्रतिको तीव्र विरोध र आमूल परिवर्तनप्रतिको चाहना प्रखर रूपमा आएको छँदैछ ।
प्रस्तुत सङ्ग्रहमा सङ्कलित ‘नागरिक’ (२०५८) एक मात्र लघुत्तम कविता हो । यसमा देशका बारेमा चिन्तित नहुने विध्वंशक व्यक्तिलाई आफूले आफ्नो देशको नागरिक मान्न नसक्ने विचार व्यक्त गरिएको छ । यसमै सङ्कलित ‘कलिला जूनहरूको श्रद्धाञ्जलिमा’ (२०५९) ले चाहिँ कविको वैचारिक आस्थालाई प्रतीकात्मक रूपमा अभिव्यञ्जित गरेको छ । यसमा ‘बगैंचा’, ‘फूल’ र ‘जून’ लाई प्रतीक बनाएर आस्थालाई अझै दरिलो र फराकिलो बनाउनुपर्ने भाव व्यक्त गरिएको छ । उनी यहाँ उज्यालो खोज्न हिँडेका कलिला जूनहरूलाई श्रद्धासुमन चढाउन सयपत्रीको खेती गर्न चाहन्छन् । ‘स्वयम्भूका आँखासँग’ (२०५९) कवि मातृकाको सहिद कवि कृष्णसेन इच्छुकका बारेमा लेखिएको संस्मरणात्मक कविता हो । यसमा उनले कवि कृष्णसेनलाई घाम र जूनको प्रतीक दिएर उज्यालोका रूपमा चित्रण गर्दै उज्यालोदेखि डराउने तत्कालीन शासकहरूले उनलाई बेपत्ता पारेकोमा स्वयम्भूका आँखासँग उनलाई देख्यौ कि देखेनौ भनेर प्रश्न गरिरहेका छन् । यो सहिद कृष्णसेनका त्याग, समर्पण र बलिदानलाई सम्मान गर्ने र हत्याको विरोध गर्ने कविता हो ।
यसपछि कवि मातृका पोखरेलका यात्राको एउटा दृश्य सङ्ग्रहमा सङ्कलित लेखनक्रमका हिसाबलेपनि र प्रविष्टिक्रमका हिसाबले पनि अन्तिम दुई कविता हुन्— ‘एउटा पूजारीको आत्मव्यथा’ (२०६०) र ‘सपना’ (२०६०) । यीमध्ये पहिलोमा सहिदगेटमा राखिएका सहिद प्रतिमालाई टुँिडखेलका छेउमा राखिएका घोडा चढेका राणाका शालिकहरूले अझै पनि घुरिरहेकोमा र आफूलाई श्रद्धै नलागेका व्यक्तिको शालिक सहिदहरूभन्दा माथि राखिएकोमा विरोध गर्छन् र त्यस्तो अवस्थालाई कवि मातृका विडम्बनापूर्ण मान्दै यसले सहिदहरूको घोर अपमान र अवमूल्यन भएको विचार व्यक्त गर्छन् । उनले सहिदहरूलाई धरहराको उचाइभन्दा पनि माथि राख्नुपर्ने र सहिदगेट गई एउटा सामन्त शासकप्रति नतमस्तक हुनुभन्दा आफ्नै गाउँका नागीहरूमा सहिदका शालिक निर्माण गरी सम्मान गर्नुपर्ने भाव पनि व्यक्त गरेका छन् । यो सामन्ती संस्कृति र त्यसको अवशेषका रूपमा रहेको सहिदगेटको विडम्बनापूर्ण स्थितिलाई चित्रण गर्ने कविता हो । यसले कवि मातृका पोखरेलमा रहेको सांस्कृतिक चेतनालाई उजागर गरेको छ । यसपछिको कवि मातृकाको अन्तिम कविता हो— ‘सपना’ । यसमा पनि वर्तमानको विरूप अवस्थाप्रति नै कविले औंला ठड्याएका छन् र त्यस्ता व्यक्तिहरूसँग हिँड्न नपाए हुन्थ्यो भन्ने चाहनालाई व्यक्त गरेका छन् । अपराधीले माफी र भ्रष्टाचारीले गरिबी निवारणको जिम्मेवारी पाउनु अन्धाहरूले बाटो देखाउँदै दुःस्वप्न बाँड्नु कम्युनिस्टहरूले आस्थाको झोला बोकेर मन्दिर मन्दिर धाउँनु, आन्दोलनका नाममा क्रान्तिकारीहरूले पार्टीको छतमा बसेर घाम ताप्दै भविष्यको मात्र लेखाजोखा गर्नुजस्ता कुराले कविको मन दुखेको छ र उनी यस्ता व्यक्तिहरूको सङ्गत नगरी आफ्नो आस्थाको सगरमाथा चढ्ने सपनालाई पूरा गर्न चाहन्छन् । यो पनि कविको सांस्कृतिक चेतनालाई नै प्रकट गर्ने कविता हो तर यसले क्रान्तिकारी भावलाई भन्दा पनि अप्रत्यक्ष रूपमा कविको निराशालाई प्रस्तुत गरिरहेको छ । वर्तमानका कुरूपतालाई निर्भीकतापूर्वक कुरूप भन्ने आँट भएका कवि मातृकाले उनीहरूको व्यवहार देखेर दिक्क हुँदै ‘मसँग एउटा सपना छ, यी सबैसँग बाटोमा भोलिदेखि सँगै हिँड्न नपरे हुन्थ्यो’ भन्ने विचार व्यक्त गर्नुको साटो उनीहरूसँग जुझ्ने दृढता व्यक्त गरेका भए राम्रो हुन्थ्यो । वर्तमान पीडामय भएकाले र त्यसप्रति कविको आक्रोश र असन्तुष्टि पनि रहेकाले कहिलेकाहीँ निराशाले प्रश्रय पाउनु पनि स्वाभाविकै हो । समग्रमा भने कवि मातृका पोखरेल निराशावादी छैनन्, आशावादी नै छन् ।
मातृका पोखरेलको यात्राको एउटा दृश्य कवितासङ्ग्रहभित्रका उपर्युक्त बाइसवटा कविताहरूको अध्ययन गर्दा यी कविताले बहुदलीय प्रजातन्त्र भनिने खासगरी २०५७ देखि २०६० सालसम्मका अवधिका राष्ट्रिय राजनीति र सामाजिक सन्दर्भका विभिन्न पक्ष र पाटाहरूको चित्रण गरेका छन् । पहिलो कवितासङ्ग्रहमा जस्तै यसमा पनि कविको वर्तमानबोध एकदमै प्रखर रूपमा प्रकट भएको छ र उनी यस सङ्ग्रहमा राष्ट्रिय राजनीतिक जीवनमा देखापरेका विकृति–विसङ्गति र आदर्श विचलनको चित्रणमा विशेष उन्मुख भएका पाइन्छन् । समकालीन समाजको यथास्थिति र कुरूपतालाई समाप्त नगरेसम्म उज्यालोको प्राप्ति सम्भव छैन भन्ने कुरामा कवि एकदमै स्पष्ट रहेका देखिन्छन् । यसै कारण उनका उपर्युक्त कवितामा क्रान्ति र परिवर्तनप्रतिको छटपटाहट तीव्रतम रूपमा प्रकट भएको छ । समालोचक रामप्रसाद ज्ञवालीले यस कवितासङ्ग्रहका बारेमा चर्चा गर्दै ‘वर्तमान जतिसुकै कुरूप भए पनि भविष्य अवश्य नै सुन्दर हुनेछ भन्ने विचार पनि यी कवितामा पाइन्छ ।’ (२०६४ ः ११२) भनेर कविताहरू आशावादी भएको उल्लेख गरेका छन् । अनि उनले अर्को एक ठाउँमा “आफ्नो कथ्यलाई हाकाहाकी भन्नु र अँध्यारो र उज्यालोको द्वन्द्व देखाई समय, घटना, स्थान र विभिन्न दृश्यहरूको संयोजनद्वारा यथार्थको उद्घाटन गरी उज्यालोको पक्षमा व्यक्तिनु उनको निजत्व हो (२०६४ ः ११३) भनेर कविको मूल्याङ्कन पनि गरेका छन् । ‘यात्राको एउटा दृश्य’ सङ्ग्रहकै आवरण पृष्ठमा “कवितालाई यथास्थितिको भेदन कुरूपताको अनावरण र उज्यालो प्राप्तिको सङ्घर्षको कलात्मक परिणति बनाउन अब कवि मातृकालाई शब्दहरूको चयन–गुम्फन, संवेदनाको आलोपन र विचारको ऊर्जादान गर्नु गाह्रो छैन । समकालीन कविताको भीडमा आफ्नै छुट्टै निजत्व बनाउन गाह्रो भए पनि उनी त्यो सामथ्र्य राख्ने हैसियतमा पुगिसकेका छन् ।” भनेर डा. ताराकान्त पाण्डेयले टिप्पणी गरेका छन् । यसबाट यात्राको एउटा दृश्यभित्रका कविता वैचारिक दृष्टिले सशक्त छन् भन्ने कुराको निष्कर्ष निस्कन्छ । कविताकलाका दृष्टिले चाहिँ सबै कविता समान छैनन् । केही कवितामा सपाट वर्णन, केही कवितामा असङ्गतपूर्ण भाव र केही कवितामा विरोधाभासी अभिव्यक्ति पनि छ । गद्यलयका संरचनामा एउटा लघुत्तर र अरू न लामा न छोटा मझौला आकारमा विस्तारित यस सङ्ग्रहका कविताले श्रुतिरम्यता र लयगत माधुर्यको उच्चता प्राप्त गर्न नसके तापनि कतिपय कवितामा अन्तव्र्यङ्ग्यको रन्को राम्रोसँग प्रकट भएको छ । यस सन्दर्भमा “‘यात्राको एउटा दृश्य’ उत्कृष्ट वैचारिकता र यथार्थ अनुभूति बोकेको वर्तमान नेपाली युगयथार्थको त्यस्तो प्रतिबिम्वन हो जसले अन्तर्वस्तुको उच्चता बोकेको छ भने विधागत मौलिकताको निर्वाहमा सम्पूर्ण उत्कृष्टता प्राप्त गर्न भने बाँकी नै देखिन्छ (२०६४ ः ११४) ।” भन्ने रामप्रसाद ज्ञवालीको मूल्याङ्कन ठीकै ठहर्छ । यद्यपि कलात्मक श्रेष्ठताको मापन गर्नु वा शिल्पचेतनाको स्तरलाई निर्धारण गर्नु सजिलो विषय होइन । कुनै न कुनै बिम्ब र प्रतीकको प्रयोग सबै कविका कवितामा पाइन्छ नै । यो कुरा मातृकाका कवितामा पनि छ । मातृका पोखरेलको कवितात्मक शैली आफ्नै पाराको सहज र सरल किसिमको हुनाले अनुभवजन्य र प्रभावकारी नभएको मात्र हो । रूप पक्षमा भन्दा विचारपक्षमा जोड दिने कवि भएकाले यसो हुनु स्वाभाविक पनि छ । मातृका पोखरेल प्रखर माक्र्सवादी कवि हुन् । उनका कविताहरूमा प्रगतिवादी वैचारिकताको सशक्त अभिव्यक्ति छ । युगयथार्थको अभिव्यक्ति एवं वर्तमानका कुरूप पक्षको भेदन गर्दै वर्गीय द्वन्द्व, वर्गीय पक्षधरता र तदनुकूलको भाव सम्प्रेषण गर्ने कुरामा भने मातृकाको प्रस्तुत कवितासङ्ग्रह सफल देखिन्छ ।५. निष्कर्ष
उपर्युक्त दुईवटा कवितासङ्ग्रहका जम्मा एकचालीसवटा कविताहरूको सर्सर्ती अध्ययन गर्दा प्रगतिवादी नेपाली कविता–परम्परामा मातृका पोखरेल एउटा उल्लेख्य वैचारिक कविका रूपमा देखापर्छन् । उनका दुईवटै कवितासङ्ग्रहमा वर्तमानका कुरूप यथार्थप्रति तीव्र असन्तुष्टि रहनुका साथै क्रान्ति र विद्रोहको स्वर पनि पाइन्छ । प्रारम्भदेखि नै प्रगतिवादी मान्यताअनुरूप कविता सृजना गर्दै आएका पोखरेल प्रतिबद्ध प्रगतिवादी कवि हुन् । उनको वैचारिक प्रतिबद्धता समाजवादी–यथार्थवादमा आधारित छ । समाजवादी यथार्थवादले सामाजिक यथार्थलाई कोरा यथार्थका रूपमा मात्र नहेरी द्वन्द्वशील यथार्थका रूपमा हेर्दछ । मातृकाका कवितामा पनि राम्रा र नराम्राका बीचको, शोषक र शोषितका बीचको, यथास्थिति र अग्रगमनका बीचको द्वन्द्वशील यथार्थको अभिव्यक्ति पाइन्छ । उनी युगजनीन यथार्थहरूलाई चित्रण गर्दा फोटोग्राफी यथार्थका रूपमा मात्र होइन त्यसपछिको समाजको दिग्दर्शन पनि गराउँछन् । उनका यस अवधिका कवितामा खासगरी सामन्तवादी राज्यसत्ता, राजनीति र संस्कृतिका बहुविध पक्षको अङ्कन मात्र होइन, तिनप्रतिको घृणाभाव र समाप्तिका साथै अग्रगमन र परिवर्तनको समेत कामना गरिएको छ । उनले वामपन्थी राजनीतिक वृत्तकै विचलन र प्रवृत्तिलाई समेत यही यथार्थदर्शनका कोणबाट हेरेका छन् । समाजवादी–यथार्थवादी कलारचनाको मूल मान्यता पनि यही हो ।
कवितायात्राका दृष्टिले चालीसको दशकको मध्यभागबाट सक्रिय हुँदै आएका पोखरेल हालसम्म निरन्तर रूपमा साधनारत रहेका छन् । उनको पहिलो र दोस्रो दुवै कवितासङ्ग्रहमा भावगत र शिल्पगत दुवै दृष्टिले निरन्तरता छ । मातृका पोखरेल मुक्तलयका कवि हुन् । उनका सबै कविता गद्यलयमा लेखिएका छन् । अन्तर्वस्तु, भावबिम्ब एवं दृष्टि र विचार प्रक्षेपणका हिसाबले उनका कविता खरो उत्रन सक्छन् तर कलागत मूल्यका हिसाबले उनले उत्तरोत्तर विकास गर्दै जानुपर्छ भन्ने कुराको भने अपेक्षा गर्नु दुई दशकको यात्रा पार गरेका कविका सन्दर्भमा मनासिवै ठहर्ला । यस सन्दर्भमा प्रगतिवादी कविहरूको ठूलो भिडमा उनबाट निजत्वको अपेक्षा गर्नु पनि वाञ्छनीय नै हुन आउँछ । उनका कविताबाट अपेक्षाकृत सौन्दर्यानुभूति प्राप्त नहुने आरोपबाट अब उनले मुक्त हुनैपर्छ । उनी प्रगतिवादी कवि हुन् । त्यसैले उनका कवितामा वर्गीय दृष्टि, वर्गीय पक्षधरता र तदनुकूलको भावबोध र चित्रण पाइन्छ । अभिव्यक्तिकौशल र परिष्कारका दृष्टिले आरोह–अवरोध रहे पनि वैचारिक प्रखरता रहनु उनका कविताको सबल पक्ष हो । उनका सबै कविता जीवनबोधी, विद्रोहधर्मी र आशावादी रहेका छन् । उनका समकालीन कतिपय प्रगतिवादी कविहरूमा जस्तो भावुकता र रहस्यात्मकता पनि उनका कवितामा छैन । यति भएर पनि कतिपय कवितामा भावगत असङ्गति र विरोधाभासबाट भने उनी मुक्त हुन सकेका देखिँदैनन् । यी केही सीमाहरू रहे तापनि समष्टिगत कविताका सन्दर्भमा भन्दा उनी प्रखर वैचारिक कवि हुन् र उनका उपर्युक्त कविताहरू प्रगतिवादी कित्ताका उल्लेख्य रचना हुन् ।मुख्य सन्दर्भसूची
गौतम, देवीप्रसाद (२०४९), प्रगतिवाद : परम्परा र मान्यता, काठ ः श्रीमती मुना गौतम
ढकाल, घनश्याम (२०६२), यथार्थवादी नेपाली समालोचना, पोखरा ः गण्डकी साहित्य सङ्गम
पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं ः शीला योगी
पोखरेल, मातृका (२०५६), सेतो दरबारको छेउबाट, काठमाडौं ः सृजनशील प्रकाशन
…………….. (२०६०) यात्राको एउटा दृश्य, काठमाडौं ः विवेक सृजनशील प्रकाशन
…………….. (२०६१) सन्त्रस्त आँखाहरू, काठमाडौं ः जनमत प्रकाशन
पौडेल, हेमनाथ (२०६०) ‘प्रगतिवादी नेपाली कविता ः पृष्टभूमि, प्रारम्भ र विकास’ झिसमिसे
(पू ४१, वर्ष २९,२०६४) पृ.१४–३५
ज्ञवाली, रामप्रसाद (२०६४), फुटकर कविताका केही बान्कीहरू, बनेपा जनमत प्रकाशन
मिर्मिरे मासिक, वर्ष ३६, अङ्क १२, पूर्णाङ्क २७१, २०६४ चैत
==================================================

अनुहारहरुको अनुहार

सीता शर्मा

समय गतिशील छ, हिँडिरहन्छ । एउटा जनपक्षीय कवि त्यही समयको उकालीओराली भन्ज्याङमा दुःख, पीडा, आँसु, अँध्यारो, उज्यालोबाट संवेदित हुँदै विसङ्गति, निरङ्कुशता, उत्पीडन अमानवीयताको विरोध, स्वतन्त्रता र उज्यालोको पक्षमा शब्दको सशस्त्र युद्ध गर्दै सुन्दर भविष्यको सपना कोर्छ र त्यही स्वप्न संसार प्राप्तिको लागि चेतना फैलाउन अक्षरको खेती गर्छ कुशल शिल्पी बनेर । ऊ संसारको उच–नीचतालाई सम्याउन चाहन्छ, विकृति पुरानो जर्जरसमाज परिवर्तन गरेर नवीन स्वतन्त्र र उन्नत बनाउन कर्मशील रहन्छ । समयलाई आत्मसात् गर्दै त्यसको नेतृत्व गर्ने कविले समयलाई नवीनतामा उझिल्याउने सामथ्र्य पनि राख्दछ ।
त्यही आफूले यात्रा गरिरहेको समयलाई नजिकैबाट नियाल्दै, छाम्दै, आफै भङ्गालोमा खस्तै र उत्रिँदै, संवेदित हुँदै देखे भोगेका विद्रुष, विसङ्गत घटनाक्रम, निरङ्कुशता, भ्रष्ट शासकप्रति विरोध व्यङ्ग्यबाज र विद्रोह, रगत पोखेका सहिद, अन्यायमा परेर मर्ने–मारिने निर्दोष जनताप्रति आवेगपूर्ण सम्झना, सम्मान र सहानुभूति, गरिब उत्पीडित वर्गप्रतिको पक्षधरता र अधिकारको लागि विद्रोह गर्न आग्रह र सुन्दर भविष्य वा सुन्दर भोलिको उत्कट चाहना बोकेर शिखर यात्रामा कर्मशील एक सशक्त कवि हुन्– मातृका पोखरेल । यहाँ उनैको तेस्रो कवितासङ्ग्रह “अनुहारहरू”को सामान्य चर्चा गर्न खोजिएको छ । खास गरेर मातृकाका कविताका विषयवस्तुको केन्द्र पनि यिनै माथि उल्लिखित विषयवस्तु रहेका छन् । विगत लामो समयदेखि नेपाल द्वन्द्वयुक्त, उथलपुथलकारी पीडादायी, अव्यवस्थित र अन्योलपूर्ण भूमरीमा फसिरह्यो । त्यही अप्ठ्यारो समय र जनजीवनको एउटा अग्रगामी चेतनायुक्त कविभित्र परेका अनुभूतिको कलात्मक अभिव्यक्ति र त्यस समयको घटना परिस्थितिको साक्षी वा समयको दस्तावेज हो, मातृकाको यो कवितासङ्ग्रह ‘अनुहारहरू’ । यहाँ समेटिएका कविता लेखनको समय २०६१–६३ रहेको छ । जुन नेपालको इतिहासमा एउटा छुट्टै परिचय बोकेको पीडादायी रह्यो । त्यही समयको राजनीतिक सामाजिक परिदृष्य र जनजीवनको स्पष्ट अनुहार वा शब्दचित्र देख्न पाइन्छ यहाँ ।
कवि मातृका पोखरेल प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका एक क्रियाशील वर्गसचेत वैचारिक रूपमा परिपक्व, विचारलाई कलात्मक, बिम्बात्मक अभिव्यक्ति दिएर सुन्दर भोलिको निर्माणमा निरन्तर सङ्घर्षशील एक क्रान्तिकारी कवि योद्धा हुन् भन्ने कुरा उनको साहित्यिक उपस्थितिले पुष्टि गर्छ । शब्द र कर्मलाई जोडेमात्र सिर्जनात्मक आदर्श र श्रष्टाको नागरिक दायित्व पूरा हुन्छ भन्ने चेतना भएका कवि हुनाले दुवै किसिमले मैदानमै छन् । तीनवटा पुस्तकाकार कविताकृति प्रकाशित गरिसकेका हुनाले उनको मूलविधा कविता नै देखिन्छ । तर उनी राम्रो पहिचान बनाइसकेका कथाकार पनि हुन् । उनका कविताकृतिहरू – “सेतो दरबारको छेउबाट” (२०५६), “यात्राको एउटा दृश्य” (२०६१), अनुहारहरू (२०६४) हुन् भने सन्त्रस्त आँखाहरू (२०६१) कथाकृति हुन् । यसबाहेक समीक्षात्मक र अन्य लेखहरू पनि प्रकाशित छन् । जीवन र समयको अभिव्यक्ति नआएका कविताहरूमा मेरो कुनै रूचि छैन’ भन्ने र ‘देशले भोगिरहेको संवेदनाबाट शब्द सापटी लिएर कविता लेख्न रूचाउने समयचेत भएका निरन्तर क्रियाशील कवि हुन् उनी । उनको यो भनाइको सार्थकता असरल्लै पोखिएको छ कविताभरि ।
कवितासङ्ग्रहको सुरूमा नै कवि वर्तमानको आवश्यकता एउटा सबल नेतृत्वको कामना गर्दै इच्छित भावना सटिक रूपमा पोखिएको छोटो मीठो सरल कवितामार्फत यसो भन्छन् –
म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र सबल खुट्टाहरू । (सर्त)
गएका केही वर्ष देश अन्योलग्रस्त अवस्थामा भूमरी र भङ्गालामा फसिरह्यो । वर्तमान नेतृत्वले देशलाई उपयुक्त निकास दिएर हाँक्न असफल रह्यो । यस्तो अवस्थाबाट देश र जनतालाई मुक्ति दिन देशमा एउटा दूरदृष्टि सम्पन्न दह्रा खुट्टा र अदम्य आँट भएको महानायक वा सबल नेतृत्वको आवश्यकता महसुस गरी त्यस्तो नेतृत्वको खोजी गरिरहेछन् । यदि त्यस्तो अगुवा पाए त्यसैको पछि लागि काँधमा काँध थापेर सुदूर यात्रा गर्न तयार छन्, सङ्कल्परत छन् कवि । यो समयको आवश्यकताले जन्माएका कविको भित्री चाहना हो ।
समयको उपज पनि होला यस सङ्ग्रहका कविताहरू पढ्दा कविताका विषयवस्तुको फाँट धेरै फैलिएको जस्तो लाग्दैन । केही विषयबाट उनी बढी संवदित छन् । जुन विषयबाट बढी संवेदित भएर धेरै सङ्ख्यामा कविताहरू लेखिएका छन्, त्यही विषयका कवितामा बढी सफल पनि छन् । मुख्यतः निम्न विषयहरू समेटिएको पाइन्छ ।

– निरङ्कुश राजा र सत्ताप्रति लक्ष्य गरेर लेखिएका कविता ।

वर्तमान समय र त्यही समाजका विकृति–विसङ्गति, विद्रुपताहरूको अनावरण गर्दै, निरङ्कुश, भ्रष्ट अन्धा शासकहरूप्रति व्यङ्ग्य, विरोध र विद्रोहपूर्ण रोष प्रकट गर्दै लेखिएका यो कोटीका कविताहरू तुलनात्मक रूपमा बढी अप्रत्यक्ष, कलात्मक बिम्बात्मक उपयुक्त शब्द चयन गरी मेहनत साथ सुन्दर अभिव्यक्ति दिएका राम्रा कविता हुन् । यी कविता बुझ्नका लागि वर्तमान समय र घटनाक्रमलाई पनि ध्यानमा राखेर राम्रो सोच, विचार र बौद्धिकताको पनि उपयोग गर्नुपर्छ ।
नयाँ शताब्दीको थोत्रो मान्छे, उनीहरूले सोचेका भए, टोप आतङ्क, अनुहारहरू, सबै कुरा साँचो हुनेछ, सिंहदरबार, टुकुचा, म खोजिरहेछु अर्को अमलेखगञ्ज आदि कविताहरू यसै कित्तामा पर्छन् ।
अनुहारहरू कवितामा कविको स्पष्ट वर्गीय सौन्दर्य दृष्टिकोण झल्किएको छ । उनी पुरानो सामन्तवादी व्याख्याको सुन्दरतालाई कुरूप मान्छन् र घृणा गर्छन् भने रिठे सार्कीजस्ता श्रमिकको गन्हाएको शरीर र खस्रो अनुहारलाई सुन्दर देख्छन् र माया गर्छन् । हेरौँ उनको आफ्नै शब्द–
उसको घरमा
कहिल्यै लगाउँदैन माकुरोले जाल,
जुत्तामा टाँसिएर पुग्दैन कहिल्यै पनि
हिलोमाटो र गोबर
सयन कक्षको सँघारमा
थरी थरीका अत्तरहरू छरेर
सुगन्धित छ वातावरण
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।
… … …
दलानको छेवैमा दुर्गन्धित छ जुठेल्नो
भर्खर कामबाट फर्केको
गन्हाइरहेको छ शरीर
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु । (अनुहारहरू)

सुन्दर देख्ने विचारको आँखा हो । धन सम्पत्तिले सम्पन्न आफ्ना कुकुरहरूलाई समेत रेशमी कपडा लगाइदिन सक्ने, निधारभरि चन्दन लेपेर आरामदायी सुगन्धित शैयामा बस्ने, अनुहारलाई घृणा गर्ने र पसिना गन्हाइरहेको शरीर र अनुहारलाई सबैभन्दा माया गर्ने धारणा कविको उत्पीडित वर्गप्रतिको पक्षधरता र सौन्दर्य दृष्टिको नमुना हो । कलात्मक बिम्बात्मक अभिव्यक्तिमा निरङ्कुश शासकको चरित्र उजागर गर्न सक्षम छ यो कविता । ‘नयाँ शताब्दीको थोत्रो मान्छे’ कविताको त्यो थोत्रो मान्छेलाई पनि उनी त्यसरी नै घृणा गर्छन् । त्यो थोत्रो मान्छे वा निरङ्कुश राजा, जनताले सुन्दर नेपालको सपना कोरिरहेको बेला देशले परिवर्तन चाहिरहेको बेला थोत्रा निरङ्कुश बुटले कुल्चेर आफ्नो आदेश बमोजिम बगिरहेको समयलाई पनि रोक्न–छेक्न चाहन्छ । सत्तालिप्सामा डुबेर संवेदनाहीन भएको उसमा भोकको पीडा खप्न नसकी तीन वर्षीया छोरीसहित आत्महत्या गर्ने शिवो महतोको घटनाले छुँदैन, घोच्दैन । यस्ता क्रुर शासकको मलामी बन्न आतुर छन् कवि । अहिले त त्यसको मलामी पनि भइसकेका छन् तर त्यो प्रवृत्ति र त्यस प्रवृत्तिका मान्छेको मलामी बन्न बाँकी नै छ । यही प्रकृतिको उसैलाई लक्ष्य गरिएको कविता ‘उनीहरूले सोचेका भए’ मा सदियौँदेखि अतिरिक्त बोझ गलगाँड भिरेर अझै पनि उसैलाई माला पहि¥याइदिएर दिनदिनै कुकुरतिहार मनाउन परिरहेकोमा दुःख व्यक्त गर्दै हाम्रो पुस्ताले पनि यसैलाई निरन्तरता दिए भावी सन्तानहरूप्रति पनि ठूलो अपराध हुने कुरा महसुस गर्दै आफ्नै पसिनाले आवाद बस्दीमा शरणार्थी भई बाँचेर वर्षैभरि कुकुरतिहार मनाउने काम नगर्ने स्पष्ट उद्घोष गरेका छन् कविले ।
‘सबै कुरा साँचो हुनेछ’ पढ्दा फुकोको भनाई ‘एयधभच ष्ल तचगतज’ वा ‘शक्ति नै सत्य हो’ भन्ने सिद्धान्त सम्झाउँछ । सत्य होस् नहोस् शक्तिले सत्य हो भनी प्रमाणित गरेको कुरा अरू सबैले त्यही सत्य स्वीकार्न बाध्य हुनुपर्दछ । निरङ्कुश राजतन्त्र वा सामन्तवादको नायिके राजा रहँदासम्म पण्डितहरूले टुकुचाको पानी सुद्धजल सिद्ध गर्न बहस छेडिरहे, मृतमान्छेलाई अस्पतालमा राखेर जिउँदो भएको सन्देश बाहिर पठाइरहे डाक्टरहरू– दीपेन्द्र शाहलाई । जस्तै : कवि भन्छन् –
यस्तो त्यो बेलासम्म हुनेछ
जबसम्म देखिनेछ
हाम्रो आँखाको पर्दामा
कात्रोजस्तो पहेँलो रङ्ग,
हो त्यतिबेलासम्म
सबै कुरा साँचो हुनेछ । (सबै कुरा साँचो हुनेछ)

निरङ्कुश राजतन्त्र रहँदासम्म फोहोरलाई सफा, कालोलाई सेतो र मृतलाई जिउँदो भन्न बाध्य हुनुपर्ने विडम्बना सुन्दर शब्द शिल्प, भाव र विचारको कुशल संयोजन गरेर प्रभावकारी ढङ्गले पाठकसामु सम्प्रेषण गर्न सफल छन् कवि । राजा नरहे पनि सामन्ती प्रवृत्ति कायमै छ अझै । त्यसरी नै सत्ता र सत्ताकेन्द्र प्रति सशङ्कित हुँदै र व्यङ्ग्य गर्दै अनास्थाका अभिव्यक्तिहरू पाइन्छन् केही कविताहरूमा ।
सिंहदरबार जनताका प्रतिनिधि गएर नियम, कानुन बनाइ देशको भावी गोरेटो तय गर्ने, देश र जनताको आदेश अनुसार उनैको हितमा काम गर्ने एउटा आशाको केन्द्र हो । तर विडम्बना त्यो जनताको आशाको केन्द्र जनतालाई सपनाहरू कुल्चिँदै स्वार्थी बगरे खेलमा डुब्दै आफ्नै हितमा काम गर्ने थलो बनिरहेछ । कविको अनुसार यो चटके हो रङ्ग बदल्छ, अनुहार बदल्छ । साँच्चै एउटा अनुहार लिएर पसेको मान्छे अर्कै अनुहार लिएर फर्कन्छ । नुन बोक्ने ढाकर दिएर पठाएको नाइके ढाकरभरि सुन बोकेर निस्किन्छ र छेवैमा डेरा जमाउँछ । जिल्लाराम पर्छन् प्रतिनिधि पठाएका गाउँ–बस्तीहरू । यो इतिहासदेखि प्रमाणित हुँदै आएको कटुसत्य हो । त्यसैले अहिले सहिदका केसको बक्खु ओढेर सहिदका लाशमाथि टेक्दै सिंहदरबारभित्र पस्न सफल भएकाहरू पनि त्यसरी नै फर्किने हुन् कि भनी सन्त्रस्त आँखाले गेटैतिर हेरिरहेका छन् कवि । यहाँ कविले सम्पूर्ण देशवासीको मनको कुरा सुन्दर शिष्ट भाषामा बोलिदिएर एउटा अग्रगामी चेतनायुक्त नागरिक कविको कर्म पूरा गरेका छन् । हेरौँ शब्दचित्र –

मलाई, सिंहदरबार र जादुगर
उस्तै उस्तै लाग्छ
सहिदको केसबाट बनेको
एउटा बक्खु ओढेर
उनीहरू सिंहदरबार पसे
यतिबेला म, त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेछु
हिजोझैँ
उनीहरू फर्कंदा
ब्वाँसोको छाला ओड्छन् कि ओड्दैनन् ? (सिंहदरबार)

सिंहदरबारको यो परिचय इतिहासदेखि वर्तमानसम्म कत्ति पनि फेरिएको छैन । षड्यन्त्रका तानाबाना बुन्दै घातक बाण चलाएर जनताका सपनाको हत्या गर्ने, मान्छेको किनबेच, धोका, षड्यन्त्र सबै हुन्छ यहाँ, यो कविको ठहर हो ।
सामान्यतयाः हामीले अमलेख वा मुक्ति उत्पीडित वर्गको लागि आवश्यक ठान्छौँ तर कविले यहाँ अर्कै खालको अमलेखको आवश्यकता देखिरहेछन् । त्यो हो दास बन्न आसक्त मनहरूको अमलेख । कवि परिवर्तनका बाधक केही कृतदासहरूको अमलेख भएपछि मात्र देश अमलेख हुने बाटो खुल्ने देख्छन् । भन्छन् –
पुरानो एउटा भूतघरलाई
आफ्नो आस्था ठानेर
केही टाउकाहरू
प्रदूषण बाँडिरहेका छन्
र अघि बढिरहेको घडीको सुईलाई
सिक्रीले बाँधेर, पछिल्तिर तानिरहेका छन्
म यतिबेला खोज्दैछु
तिनै टाउकाहरूका लागि
एउटा नयाँ अमलेखगञ्ज । (म खोज्दैछु अर्को अमलेख गञ्ज)

त्यस्तै ‘टुकुचा’ कवितामा कवि निरङ्कुश सत्ता र एमालेलाई समेत सङ्केत गर्दै पहिले–पहिलेजस्तो स्वच्छ नभई समयसँगै टुकुचा फोहोर, दुर्गन्धित हुँदै गएको सिंहदरबार बसेर शासक बनेपछिका झनै कुहेर दुर्गन्धित हुँदै गएको यथार्थको बिम्बात्मक प्रस्तुति गरेका छन् ।
सहिद तथा अन्याय र उत्पीडनमा परेर मृत्यु हुनेप्रति सम्मान र सहानुभूति प्रकट गरेर लेखिएका कविता कविलाई सम्वेदित बनाउने अर्को विषय महान् आस्थामा समर्पित देश र जनताको निम्ति जीवन नै आहुति दिने सहिद तथा उत्पीडनमा परेर मर्नेहरू रहेका छन् । देश र जनताको लागि आहुति दिने महान् मान्छेहरू सधैँ नै आदरणीय हुन्छन्, अमर र स्मरणीय हुन्छन् । उनीहरूको त्याग र समर्पणबाट बाँच्नेहरूले सिक्ने कुरा धेरै हुन्छ । उसको मृत्युमा, अचेल मान्छेहरू, वनफूल र सपनाहरू फरक–फरक मुर्दाघाटहरू यसै कित्ताका कविताहरू हुन् ।
सहिदहरू मरेर पनि अमर हुन्छन्, सुगन्धित हुन्छन् अनि घाम र जून भएर प्रकाश छरिरहन्छन् भन्ने अभिव्यक्ति छ यी कवितामा । ती असल मान्छेलाई यसरी सम्झना गर्छन् –
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्यु पछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सिर्जनाको एउटा बत्ती अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे म¥यो । (उसको मृत्युमा)
‘अचेल मान्छेहरू’ कविता जनयुद्धको समयमा आर्मीद्वारा विभत्स ढङ्गले मारिएका क्रान्तिकारीयोद्धा विजय ढकालको सम्झनामा लेखिएको शब्द चित्र हो । एउटा झर्झराउँदो रातो लालीगुराँसको फूल हामीबाट हराए पनि ऊ अजर अमर भएको र सदियौँसम्म टाढाटाढासम्म बास्ना फैल्याइरहने विश्वास गर्छन् कवि ।
… ऊ धर्तीको फुलेको फूल
कसैले गोडमेल नगरेको
कसैले पानी नहालेको
कुनै मालीले हेरचाह नगरेको
ऊ गुराँस फूल !
हावा हुन्डरीको बीच फक्रेको
खडेरीसँगै जुधेको
अचेल, टाढा–टाढाका मान्छेहरू भन्छन्
सझीको जङ्गमा हराएको एउटा गुराँस
पर–परसम्म बास्ना छर्छ । (अचेल मान्छेहरू)

दोस्रो जनआन्दोलनका क्रममा नेपालगञ्जमा गोली लागी सहिद भएकी सेतु बि.क.को सम्झनामा लेखिएको कविता ‘वनफूल र सपना’मा पनि सहिद विजय ढकालजस्तै फूलको प्रतीक बनाएर सम्बोधन गरिएको छ । वनफूल वनैमा फुल्छ बनैमा मर्छ कसैले हेर्दैन, कुनै स्याहारसुसार पनि पाउँदैन । सदियौँदेखि खाडलमा परेकी वनफूलले खाडलबाट माथि आउन विद्रोह गरिन् । निरङ्कुशताको विरोध र जनताको पक्षमा लड्दालड्दै जीवन आहुति दिएकी उनको आफ्नो भन्ने केही छैन, सबै देश र जनता हुन् भन्ने भावना व्यक्त छ । ‘फरक–फरक मूर्दाघाटहरू’चाहिँ वैदेशिक रोजगारका लागि इराक पुगी आफ्नो रगत अर्कैको भूमिमा पोख्न बाध्य युवाहरूको सम्झनामा लेखिएको भावुक अभिव्यक्ति हो ।
तुलनात्मक रूपमा यो कित्ताका कविताहरू विचार, भावना, कला, बिम्ब आदि पक्षमा केही कमजोर देखिन्छन् ।
गरिब, उत्पीडित वर्गप्रतिको पक्षधरता प्रकट गरेर लेखिएका ‘कसको जमिन’, ‘ऊ बगर खडेरी पर्खन्छ’ जस्ता कवितामा मार्मिक अभिव्यक्ति छ । ‘कसको जमिन’ गरिखाने र बसिखाने वर्गको बीचको विषम खाडल सुन्दर बिम्ब र प्रतीकको प्रयोगद्वारा सम्प्रेषण गर्न सफल कविता हो । जसको पसिनाले माटो भिज्छ उसैले मेरो भन्न पाउँदैन अर्कै भिजिलान्तेले दावी गर्छ, त्यसैले त्यो जमिन सप्रमाण आफ्नो भन्न आग्रह गर्छन् कवि पसिना पोख्ने मङ्गलमानलाई –
खै त उसको पसिना ?
तर उही भनिरहेछ मेरो जमिन,
… … …
तिमी देखाऊ आफ्ना पुर्खाको आलो पसिना
र भन मङ्गलमान
सप्रमाण भन
अब यो धर्तीमा
हामीले आर्जेको हाम्रो जमिन भन! (कसको जमिन)
सुन्दर भोलिको कामना गरेर लेखिएका कविता– भोलि, भोलिको तस्बिर, समय, नव वर्ष २०६१, उदयपुर आदि कविता सुन्दर भोलिको चाहना र चिन्ता व्यक्त गरी लेखिएका कविताहरू हुन् । लामो समयदेखि देश द्वन्द्वयुक्त, अराजकता, सरकारको अकर्मण्डता, अव्यवस्थारूपी भूमरीमा फसिरहेकोले लामो समयदेखि भोगिरहेको ‘आज’ निकै कष्टपूर्ण रह्यो । धेरै उकाला भङ्गाला र काँडाहरूमा यात्रा गर्दा थाकिसक्यौँ ।
अबको भोलि त सुन्दर, सुरक्षित, व्यवस्थित, बस्न लायक हुनुपर्छ । त्यस्तो भोलि सुनिश्चित हुनुपर्छ भन्ने उत्कट चाहना व्यक्त छ कविको । भोलि कवितामा कवि आज भाइ–भाइको युद्धमा रगतले मुछिएको कविमजको झन्डा बनाउँदै जुलुस निकाल्ने त्यही विजयको धागोले सन्तान गुमाएका आमाहरूको च्यातिएको मनहरू सिउने भन्दै यस्तो योजना कोर्छन् –
हामी भोलि,
घरको बेथिति सबै मिलाउने
वरिपरिका फोहरहरू जलाउने
सताब्दियौँदेखि हामी सबैको घाँटीमा झुन्डिएको छ
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने
र, हामी नयाँ–नयाँ चन्द्रमा छुने
हामी भोलि नयाँ नेपाल जन्माउने । (भोलि)
‘भोलिको तस्बिर’ यस्तो पनि देखेर चिन्तित छन् कवि मार्क्स, लेनिन, बुद्ध, गान्धी साथै गाउँमा एक्लो जीवन बाँचिरहेका आमा–बाबुका तस्बिर भित्तामा टाँसेर त्यसमुनिको सोकेसमा ल्ब्याक लेबल र चाँदीका रिकापीहरू राखेर त्यसैको रङ्गमा रमाउने आजको पुस्ता भोलि कस्तो होला ? उसैको शब्दमा–
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्बिरलाई प्रेम गर्छन् मान्छेहरू
हाम्रा सन्तानको पालामा
भोलि के होला ?(भोलि)
‘उदयपुर’ ले पनि अहिलेसम्म नउदाएको आस्थाको सूर्योदय पर्खिरहेछ । ‘नव वर्ष २०६१’ कवितामा बितेका धेरै वर्षहरू देश द्वन्द्वयुद्धको चपेटामा परेकोले कैयौँ मरूभूमि सिउँदोहरू उजाडिए, स्वजनहरूका वियोगले विह्वल भए मनहरू, चहर्‍याइरहे आला घाउहरू पीडामा छटपटाए सबै–सबै अनि सचेत वर्गले जङ्गबहादुरको विरूद्धमा उठाइरहे मुठीहरू, अबको नयाँ वर्ष त उनी भन्छन् –
धेरै–धेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामी धेरै– धेरै उठाइसक्यौँ
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो । (नयाँ वर्ष २०६१)
यसरी सुन्दर भोलि विश्वास भएर आए हुन्थ्यो भन्ने चाहनाको रागात्मक अभिव्यक्ति छ यहाँ । यो कविको मात्र नभएर सम्पूर्ण देशवासीको चाहना हो ।
लामो समयदेखि निरन्तर साधनारत कवि मातृकाको निरन्तर परिस्कारको कविता यात्रा जारी छ । साहित्यले समाजको आमूल रूपान्तरणको लागि भूमिका खेल्नुपर्छ भन्नेमा विश्वास गर्ने वर्ग सचेत कवि मातृकाले विचारलाई कलाको आवरण दिएर सुन्दर अभिव्यक्ति पस्किन सफल छन् । उनका कवितामा उपयुक्त शब्द चयन, बिम्ब, प्रतीकको प्रयोग, कोमलता, लयात्मकता र मिठास, शब्द र वाक्यलाई तौली–तौली सचेततापूर्वक बडो मिहिनेत गरेर प्रयोग गर्ने कुशलता आदिले अभिव्यक्तिलाई सुन्दर बनाएका छन् । खासगरी प्रखर समयचेत र जनजीवन सुन्दर र कुरूपको भेदन, उत्पीडनप्रति घृणा र उत्पीडितप्रति सहानुभूति, परिवर्तन, नयाँ भोलिप्रति आस्था र विश्वास यो कवितासङ्ग्रहको सार हो ।
पूर्णता भन्ने कुरा त कतै पाइँदैन । यो त एउटा अथक प्रयत्नको निरन्तर यात्रा मात्र हो । कवि मातृका त्यही प्रयत्नका अथक यात्री हुन् भन्ने कुरा सहजै बुझिन्छ । सिक्दै र सुधार गर्दै अगाडि बढ्नु नै पूर्णताको बाटोमा हिँड्नु हो । सङ्ग्रहका कविताहरू पढ्दै जाँदा कही कतै यस्तो भइदिएको भए भन्ने पनि लाग्छ । यहाँका राम्रा कविताको तुलनामा केही कमजोर कविता पढ्दा यी कविता यस सङ्ग्रहमा नभइदिएको भए भन्ने पनि लाग्छ । मोटामोटी अध्ययन गरेर श्रेणीबद्ध गर्ने हो भने समयको कटु यथार्थ सबैको ध्यान आकर्षित भएको विषय निरङ्कुश शासक, सत्ता र गरिब उत्पीडित वर्गलाई लक्ष्य गरेर लेखिएका कविता भाव, भाषा, विचार, कला, बिम्ब आदि सबै हिसाबले सबल छन् । सुन्दर भोलिको कामना गरेर लेखिएका कविता दोस्रो र सहिद तथा उत्पीडनमा परेर मर्ने मारिनेप्रति संवेदित भएर लेखिएका कविता तेस्रोमा पर्ने कविता हुन् । राजमार्ग र चिन्तित मनहरू जस्ता कवितालाई समय सम्झी गम्भीर बौद्धिकतापूर्वक अथ्र्याउन पर्ने हुँदा सामान्य पाठकले सजिलै बुझ्न गाह्रो पर्छ । सिमान्तीकृत वर्ग, महिला, दलित, जनयुद्धजस्ता फरक–फरक विषयको विस्तृत फाँट फैलिएको भए साथै पाठकलाई तान्ने, चस्स घोच्ने, भावुक वा क्रुद्ध बनाउने, कल्पनाको उडानमा केही फैलिन पाउने तत्व अझै सबल भइदिएको भए राम्रो हुन्थ्यो । निरन्तर परिस्कारको कविता यात्राले यी पक्षहरूमा सुधारको सङ्केत स्पष्ट देखिन्छ ।

कौशिकी मासिक, वर्ष- ८, अङ्क- ७, पूर्णाङ्क -३३ २०६५ चैत

====================================================
प्रगतिशील दृष्टिचेतका लेखक : मातृका पोखरेल
० मोहन दुवाल

लेखन, प्रकाशन र सङ्गठनमा आफूलाई लगाउन पाउँदा खुसी व्यक्त गर्दै आएका मातृका पोखरेल साहित्यिक जगत्मा चीर परिचित नाम बनाउन सङ्घर्षरत छन् । थोरै गरेर, थोरै लेखेर प्रसिद्ध बन्न रुचाउनेहरूको हुलमा उनको पहिचान फरक र अलग देखिँदो छ । साहित्य मनको स्फुरण हो त्यसैले साहित्यमा सीमा, क्षेत्र, विचार लाद्नु हुन्न भन्ने मानसिकता बोकेर साहित्य सिर्जना गर्नेहरूको हुलमा उनी फरक दृष्टि राख्दै साहित्य मानवीय सभ्यताको क्रममा विकास भएको अभिव्यक्ति भन्न रुचाउँछन् । लगभग दुई दशक अगाडिदेखि लेख्दै आएका यिनले कथा र कवितामा आफ्नो खालको पहिचान देखाइसकेका छन् । प्रगतिशील लेखक संगठन, प्रगतिशील सांस्कृतिक संगठनसँग आबद्ध रहँदै आएका यिनी साहित्यिक जगतमा रम्न पाउँदा खुसी हुन्छन् ।
उन्नत विचार र कलाबाट संयोजन गरिएका रचनालाई उत्कृष्ट लेखन मान्दै आएका यिनका धेरैजसो रचनाहरू प्रगतिशील दृष्टि विचारबाट प्रभावित छन् । सभ्य समाजको निर्माणमा टेवा पुर्‍याउने कार्यहरू साहित्यकारहरूले गर्नुपर्छ अनि मात्र समाजमा साहित्यकारहरूको मूल्य र महत्व बढ्छ भन्ने खालको उनको चेतले उनी साहित्य लेखनलाई चुनैतीको विषय ठान्छन् । युवावय भर्खरै पार गर्दै साहित्यिक जगत्मा आफ्नो उपस्थिति देखाउँदै आएका मातृका पोखरेलका सबैजसो साहित्यिक सिर्जनाहरू मान्छेलाई गतिशील तुल्याउन साथ दिने खालका प्रगतिशील चेतका हरफहरू हुन् । २०४४ सालमा मात्र सूर्य उदाऊ अब कविता लिएर देखापरेका स्रष्टा मातृकाले आफूलाई सेतो दरबारको छेउबाट २०५७ तिर नै कवितायात्रामा हिँडाएका देखिन्छ । त्यसपछि यिनी यात्रामा निरन्तर रम्न चाहे । त्यस्कै परिणति बनेर देखाप¥यो यात्राको एउटा दृश्य २०६० मा प्रकाशित अर्को कवितासङ्ग्रह । कवितामा मान्छेको चेतना अभिव्यक्त गर्न सिपाल कवि मातृकाले जनताले चाहना गरेका कुरा, समाजमा हुनुपर्ने थितिरितिका साथै सबै खालका विकृतिका विरुद्ध आफ्नो कलम चलाएका छन् । उनी कलमको अर्थ बुझछन् । कलमलाई सार्थक भावना पोख्ने सशक्त माध्यमका रूपमा उनी देखाउन चाहन्छन् । कलमलाई सुन्दर माध्यम पोख्ने विशिष्ट साधनका रूपमा उनी प्रयोग गर्न रुचाउँछन् ।
कवितापछि उनको साहित्यिक लेखनमा कथा प्रिय विधा रहेको देखिन्छ । कथामा पनि राजनीतिक विकृति, सामाजिक विसंगतिका साथै मान्छेमा व्याप्त कुभावनाका विरुद्ध उनी कलम चलाउन सिपालु छन् । जब आफूमा विश्वास हुँदैन सन्त्रस्त आँखाहरू बोकेर नियाल्नुपर्छ । सन्त्रस्त आँखाहरू उनको २०६१ मा प्रकाशित कथासङ्ग्रह हो । उनका सन्त्रस्त आँखाहरूले मान्छेलाई मूल्यसहितको जीवन बाँच्ने आधारहरू देखाउन खोज्छन् । समाज परिवर्तनका अधिकतम भूमिका निर्वाह गर्ने लेखकीय दायित्व हो भन्न रुचाउने यिनले आफ्ना सबैजसो रचनाहरूलाई यही भावधाराबाट प्रभावित तुल्याउन प्रयत्नशील छन् । स्वस्थ, अग्रगामी सामाजिक सोचको मूल्य मान्यता र आदर्शहरूतर्फ पाठकहरूलाई डो¥याउने काम लेखकहरूले गर्नुपर्छ । यही मान्यताका साहित्यिक हरफहरू बनाउन यिनी कथामा पनि लागिपरेका छन् । मानवीय चेतनालाई कथाको विषयवस्तु बनाउन प्रयत्नशील कथाकारका पंक्तिमा यिनी उभिएका छन् । त्यसैले उनी कथा लेखनकै सन्दर्भमा लेख्छन् – समाजलाई परिवर्तन गर्न मेरो पनि केही भूमिका हुनुपर्छ भन्ने बोधसहित मैले कथा लेखनमा पाइला राखेँ । कथा सम्बन्धमा उनी अगाडि लेख्छन् – कथा साहित्यको अत्यन्त सबल र प्रभावकारी विधा हो । यसबाट व्यक्ति, समाज र वर्गको सम्बन्ध र अन्तरविरोधको तस्वीरलाई राम्ररी खिच्न सकिन्छ र पछिल्लो पुस्ताका लागि एउटा सक्षम बाटोको सहज किसिमले संकेत गर्न सकिन्छ ।
आफ्नो उद्देश्यलाई सत्यमा समाहित तुल्याउँदै यात्रापथमा कुड्न मन गर्ने यिनी आफ्नो भविष्यप्रति पूर्णतः आशावादी छन् । समय र मान्छेलाई विश्वास गर्न जानेकाहरूले नै सुन्दर साहित्यको निर्माण गर्न सक्ने कुरामा उनको दह्रो विश्वास रहेको देखिन्छ । लेखनमा समयको स्वर फुकाउन खोजिरहने यिनका लेख रचनामा यही समयका भावनाहरू मुखरित छन् । साहित्य समाजको प्रतिबिम्ब हो । त्यसैले साहित्यमा समाजको प्रतिबिम्बित छायाँहरू हुनु स्वभाविक हुन्छ । साहित्य स्वान्त सुखायकै लागि मात्र लेख्न सोच्नेहरूले मातृकाजस्ता प्रगतिचेत भावना समाहित तुल्याएर साहित्य सिर्जना गर्न रुचाउनेहरू अवश्य मन पराउँदैनन् । तर उनलाई पर्वाह छैन किनभने उनी साहित्यलाई समाजको प्रतिबिम्ब ठान्छन् ।
सिर्जनामा मात्र नभई साहित्यिक संगठकका रूपमा पनि आफूलाई परिचित तुल्याउँदै आएका यिनी सम्पादन क्षेत्रमा सक्रिय छन् । जनपक्षीय भावनाका हरफहरू सम्प्रेषण गर्न प्रसिद्धि कमाएको पत्रिका वेदनामार्फत् यिनी आफ्नो सम्पादन क्षमता राष्ट्रलाई देखाउँदै आएको पनि धेरै भयो । त्यसैले उनी कुशल सम्पादक पनि हुन्। नेपाल विद्युत प्राधिरकरणबाट प्रकाशित हुने ज्योतिमा पनि आफ्नो सम्पादन क्षमता देखाउँदै आएका यिनले प्रलेस पत्रिकाको पनि सम्पादन गरेका छन् । निरङ्कुश सेनाको गोलीले सहादत प्राप्त गरेका विजय ढकालको सम्झ्नामा निकालिएको विजय शब्दबिम्बमा पनि यिनले सम्पादन सहयोग पुर्‍याएर आफ्नो दक्षता, शील्प कला देखाएकै हुन् । लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजात, गोकुल जोशी, युद्धप्रसाद मिश्रका साहित्यिक पद्चापहरू पछ्याउँदै साहित्यिक यात्रा र सिर्जनामा लागिरहेका यिनका मनपर्ने विदेशी साहित्यकारहरूमा गोर्की, प्रेमचन्द, लुसुन हुन् ।
वि.सं. २०२३ असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ–४, थामखर्कमा पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलका छोरा भई जन्मेका यिनले आफ्नो जीवनक्रममा थुप्रै खालका सङ्घर्षहरू भोगेका छन् । त्यही भोगाइकै क्रममा यिनले जीवन बुझ्ेर आफूलाई यात्रामा सामेल गराइरहे । अञ्जु नेउपाने यिनका जीवनसँगिनी हुन् । ‘प्रसून’ यिनीहरूका व्यथाकथाका जीवन–मर्म हुन् । एम.ए. (नेपाली) उत्तीर्ण गरिसकेका यिनले पारिवारिक वातावरणबाट धेरै कुरा सिने । उदयपुरबाट काठमाडौं पुगेर यिनले आफ्नो यात्रालाई अझ् ऊर्जाशील तुल्याउन परिश्रम पोख्दैछन् । नेपाल र भारतका केही स्थानहरू घुम्न पाएका यिनी राजनीतिमा आँखा लगाउँछन् र आफूसक्दो जनताको राजनीतिमा सेवा गर्न खोज्छन् । साहित्यमा मन लगाउँछन् अनि आफूले देखे–भोगेका सन्दर्भहरूलाई विषय बनाएर सिर्जना रोप्छन् । प्रगतिशील लेखक सङ्घका एकजना कर्मशील कार्यकर्ता, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मोर्चा नेपालका एकजना सदस्य हुनाका साथै नेपाल साहित्यिक पत्रकार सङ्घका एकजना सक्रिय साहित्यिक पत्रकार पनि हुन् । कथा, कविताका अतिरिक्त यिनले गीत, संस्मरण पनि थुप्रै लेखेर आफूलाई सक्रिय स्रष्टाका रूपमा चिनाएका छन् ।
अनुहारहरू कवितासङ्ग्रहको पाण्डुलिपिमा धवलागिरी साहित्य प्रतिष्ठानद्वारा काजी रोशन साहित्य पुरस्कार २०६४ का लागि प्राप्त गरिसकेका यिनले आफ्ना कविताका माध्यमबाट आफूलाई राष्ट्रमा स्थापित तुल्याएका छन् । कविता यिनका लागि प्रिय विधा मात्र नभई कवितामार्फत् आफूलाई आफ्नो विचार, अनुभूतिबाट सफल कविका रूपमा चिनाएका छन् । कवितामा अग्रगामी जीवनयात्राका बाटाहरू रोज्दै र खोज्दै आएका यिनले कथा, समीक्षात्मक लेखहरूमा समेत आफूलाई चिन्तनशील स्रष्टाका रूपमा परिचित तुल्याएका छन् । विद्यार्थीकालमा अनेरास्ववियूको झ्ण्डा बोक्दै आएका यिनी युवावस्थाम जनवादी युवा लीगमा संलग्न भएर आफूलाई गतिशील तुल्याइसकेपछि पछिल्लोपल्ट साहित्यिक, सांस्कृतिक समाजको इन्द्रेणीमा रम्न आएका मातृका पोखरेल अहिल प्रगतिशील साहित्यिक आन्दोलन भएर साहित्यिक क्षेत्रमा सक्रिय भएर लाग्दै आएका एकजना साहित्यकार हुन् ।
कवि मातृका पोखरेल अजम्बरी कविता लेख्न चाहन्छन् । कवितामा नै उनले अजम्बरी कविताको रूप यसरी लेखेका छन् :
उसले कवितालाई
महलको एउटा गमलामा रोप्यो
र मलाई भन्यो
कवितालाई यसरी फुलाउनुपर्छ
मैले बाटाका किनारहरूतिर
छाप्राका आँगनहरूतिर
उसलाई रङ्गीविरङ्गी कविताहरू देखाएँ
र भनेँ
यी पनि राम्रा कविताहरू हुन्
यिनीहरूलाई हुर्काउनुपर्छ
ऊ मसँग रिसायो
मुन्टो बटार्‍यो
र पछिल्तिर फर्क्यो ।
२०५५ सालतिर नै यिनले सेतो दरबार कवितामा राजाको निरङ्कुशताको रूपरङ्ग कति भयावह र डरलाग्दा छन्, त्यसको स्वरूप यसरी कविताका पङ्क्तिहरूमा छर्लङ्ग उल्लेख गरेर आफूलाई जनता कविका रूपमा देखाएका छन् । कवितामा लेख्छन् उनी :
सेतो दरबार
प्रत्येक रात
हेलम्बूको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्नै चाहँदैन
आठ वर्ष अघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आफ्नो अलिकति रूप देखायो
हो त्यसदिन,
सेतो दरबारले कर्फ्युको घोषणा गर्‍यो ।

जनमत, वर्ष २४, अंक ११—१२, पूर्णाङ्क १२६, (मातृका पोखरेल विशेष अङ्क )२०६४ -पुष

========================================
समीक्षा
मातृका पोखरेल : समसामयिक कथ्यका कवि
प्रा. राजेन्द्र सुवेदी
क. विषयको उठान
नेपाली कविताको पछिल्लो कालखण्डको आयतनमा आफ्नो रचना क्षेत्रमा अस्तित्व कायम गरेका कवि मातृका पोखरेल (२०२३) का सृजना कृतिहरू सेतो दरबारको छेउबाट (२०५६), यात्राको एउटा दृश्य (२०६०) कवितासङ्ग्रह र सन्त्रस्त आँखाहरू (२०६१) कथासङ्ग्रह प्रकाशमा आएका छन् । यस सानो अध्ययनमा पोखरेलका कविताको संक्षिप्त अध्ययन गर्ने प्रयत्न गरिएको छ । दुईवटा सङ्ग्रहमा संकलित कवितामा पाइने विषय र तिनको सौन्दर्यमा अभिव्यक्त भएको वैशिष्ट्य नै यस लेखमा अध्ययनको विषयवस्तु बनेका छन् । पहिलो सङ्ग्रहमा छोटा र छरिता गद्य लयात्मक उन्नाइसवटा गद्य कविता संकलित छन् र दोस्रो सङ्ग्रहमा पनि सोही अनुसारका बाइसवटा कविताहरू संकलित छन् । समग्रमा यी कविताहरू नेपाली कविताको इतिहासमा २०४० देखि पछिका दुई दशक समय अवधिका विषयवस्तु, पर्यावरण र समग्र जीवन चिन्तनलाई केन्द्रीय कथा बनाएर तयार भएका छन् ।
सेतो दरबारको छेउबाट सङ्ग्रहमा कालक्रमिक दृष्टिले (२०४५ देखि २०५६) ११ वर्षको इतिहासका विविध विषयबाट चुनिएका र तत्कालीन कालखण्डका चर्का र टड्कारा समस्याहरू निम्नानुसार कवितामा स्थापित बन्न पुगेका छन् :
कविता उल्लेखित समय कथ्य-विषय
१. आकाश तिमीलाई चिन्ता छ २०४६ श्रमबारे दृष्टिभिन्नता
२. सुर्य उदाउँछ २०४५ बेवारिस मृत्यु :अभाव: समय
३. दरबार मार्गमा सहिदका रगत रुँदैछन २०४७ मुलुकको यथार्थ बझने प्रयत्न
४. त्यो दिन फर्किएका रातहरू २०५१ सर्पलाई निर्जीव बनाउन आवश्यक
५. आज पनि उस्तै आए २०५२ निरन्तर संघर्षबाट मात्र लक्ष्य प्राप्त हुने
६. साक्षी २०५४ युवाहरूले यथार्थता बुझनुपर्छ
७. सेतो दरबार २०५५ त्याग सार्थक हुने गरी लगानी गर्नुपर्छ
८. मरुभूमि, शिखर र आस्था २०५६ क्रम व्यतिक्रमित पनि हुनसक्छ
९. छोङपाङ ! तिमीले कस्तो सपना देख्यौ? २०५६ स्वतन्त्रतादेखि शासक सन्त्रस्त हुन्छ
१०. आफ्नै जस्तो लाग्यो २०५६ संघर्षको मार्ग निरूपण
११. अजम्बरी कविता अनुल्लिखित सुन्दर भविष्यका निम्ति संघर्ष
१२. कालो सर्प अनुल्लिखित दरबार स्मशानको बिम्बमा उपस्थित
१३. खै ! यात्रीहरू उठेकै छैनन् अनुल्लिखित मरु रुचाउँछ, घातक सत्ता
१४. म देश पढ्दै छु अनुल्लिखित देशको वर्तमान र वास्तविकता
१५. क्रमभङ्ग अनुल्लिखित जबस्थितिको नितान्त प्रभाव
१६. भीमान जङ्गल यात्रा अनुल्लिखित आस्थाहरू गोलीबाट मर्दैनन्
१७. ४६ को चैत्रको सडक अनुल्लिखित आन्दोलनमा सडक मुखर बन्छ
१८. फरक फरक छातीहरू अनुल्लिखित उत्साह र पलायन विचारमा हुन्छ
१९. अभिशप्त पर्खाल अनुल्लिखित सीमाहरू सधैं टिक्दैनन्२०५६ सालपछिका वर्षहरूमा लेखिएका स्फुट कविताहरू यात्राको एउटा दृश्य शीर्षकमा संकलित भएका छन् । ती कविताहरूको क्रम निम्नानुसार रहेको कुरा प्रस्तुत विवरणबाट प्रकट हुन्छ ।कविता उल्लेखित समय कथ्य-विषय
१. पूरक आँखाका यात्रीहरू २०५७ एउटै परिवेशमा अनेक भोग र दृष्टि ।
२. दुस्मनहरू सुरक्षित रहेको बेला २०५७ सत्ता र विद्रोहीबीचको दृष्टि भिन्नता ।
३. अँध्यारोका विरुद्धमा २०५७ ज्ञानदेखि त्रस्त अज्ञानता ।
४. यसपटक दशैंमा २०५७ देशको दयनीयता विरुद्ध आक्रोश ।
५. उसले पनि हाम्रैजस्तो कुरा गर्छ २०५७ क्रान्ति चेतनाको क्रमिक विस्तार ।
६. दुख्ने मनहरूसँग २०५७ देशको विदीर्ण मर्मको प्रदर्शन ।
७. म तिम्रा कविताको विरुद्धमा लेख्छु २०५८ यथास्थितिको विरुद्ध चेतना आवश्यक ।
८. सर्प पूजा २०५८ अवसरवादीता विरुद्धको सृजना ।
९. अब आफ्नै बाटो रोज्नुपर्छ २०५८ खतरामै द्वन्द्वका आमन्त्रण ।
१०. जलजला २०५८ भविष्य निर्माता योद्धाको स्वागत ।
११. प्रिय मान्छेका गीतहरू २०५८ मान्छेले सहजता आमन्त्रण गर्छ ।
१२. नागरिक २०५८ नागरिक सर्जक हो, ध्वंसक होइन ।
१३. उज्यालो हुनुअघि २०५८ निर्माण निम्ति जीवन समर्पण हुन्छ ।
१४. भविष्यका लागि २०५९ निर्माण निम्ति शरीर त्याग्ने श्रद्धेय हुन्छ।
१५. कलिला जूनहरूको श्रद्धाञ्जलिमा २०५९ चेतनाको उद्वेलन आवश्यक ।
१६. स्वयम्भूका आँखासँग २०५९ नेता र जनताको लक्ष्य एकै हुनुपर्छ ।
१७. बाटाहरू – १ २०५९ वर्गीय विभेदबाट मुलुक मुक्त रहनुपर्छ ।
१८. बाटाहरू – २ २०५९ छेपारे शैलीमा बदलाव नआओस् ।
१९‌ बाटाहरू – ३ २०६० सुगम मार्गको लक्षण देखिएको छ ।
२०. यात्राको एउटा दृश्य २०६० दरबारीया सत्ता नै समाजको घातक ।
२१. एउटा पूजारीको आत्मकथा २०६० आस्था र श्रद्धा व्यथित भएको अवस्था ।
२२. सपना २०६० दुःस्वप्नका वितरकदेखि सावधान ।उपर्युक्त दुई सङ्ग्रहमा संकलित एकचालीसवटा कविताहरू नेपाली समाजको २०४५ पछिको समयमा विकसित भएका र समाजलाई प्रभाव पार्न सक्ने किसिमका पक्षहरूलाई कविताका माध्यमबाट सुललित ढङ्गले प्रस्तुत गर्ने काम भएको देख्न पाइन्छ ।ख. पोखरेलका कविताको वस्तु”अजम्बरी” कविता शीर्षकको कवितामा कविता सिर्जनाको वर्गीय वस्तु बनेर उपस्थित भएको हुन्छ । दृष्टिमा रहेका भिन्नताले महलमा कविता देख्ने, मरेका निष्प्राण मूल्यहरूमा सृजना देख्ने फोसिल–सतुल विषय र चिन्तनहरूलाई सृजना ठान्ने विकारग्रस्त वर्गीय यथास्थिति एकातिर र गतिशील र सृजनशील कविता बीज अर्कातिर भएमा सृजनशील महत्वकै वस्तुहरू अजम्बरी र अमर रहन्छन् भन्ने कविको यथास्थितिलाई निषेध गर्ने सन्देश यस कविताले प्रस्तुत गरेको छ ।
“साक्षी” कविताले मृत्यु साक्ष कोही नपाएको देखाएको छ । यथार्थताको मूल्यलाई आज प्रतिक्रियावादी वर्गले देख्न समेत सकेको छैन । यस किसिमका पक्षलाई साक्षी गर्ने अभिजात र स्वार्थी पक्षलाई साक्ष गर्ने काम निकै धेरै हुन्छन् तर निरीह र इमान्दार व्यक्ति र वर्गको सत्यलाई इमान्दारीपूर्वक साक्ष गर्ने त प्रकृति बाहेक कुनै पनि व्यक्ति रहँदैन भन्ने कुरा यस कविताले प्रस्तुत गरेको छ ।
“आकाश तिमीलाई निम्ता छ” कतिताद्वारा समाजका यथार्थ सत्यका आद्यन्त वृहिरूका पक्षलाई प्रतिपादन गर्ने, साक्ष गर्ने क्रममा प्रकृतिका समग्र कण र गुणहरू सत्यको पक्ष प्रस्तुत गर्ने तथ्यलाई कलात्मक ढङ्गले उद्घोष गरेको छ । सम्पूर्ण सत् र असत् गुणहरूको समग्र ढङ्गले साक्ष्य गर्न सक्ने गुण खुला, पारदर्शी र निर्वाध आकाशलाई पूर्ण रूपमा अधिकार भएको कुरा यस कविताको कलात्मक कथन रहेको छ ।
“कालो सर्प” सङ्ग्रहको सबल र सार्थक कविता हो । यस कविताले मुलुकमा आएको परिवर्तनलाई सहन नसक्ने यथास्थितिवादी र विषाक्त सर्प समान यथास्थितिवादी शासकहरूलाई दूध खुवाएर विष निर्माण गर्ने कार्यक्रम मुलुकमा भइरहेको कुरा ध्वन्यात्मक अभिव्यक्तिद्वारा प्रस्तुत भएको देख्न पाइन्छ । सर्पलाई मार्नेले मर्‍यो भनेर छोड्दा आफ्नै पुच्छर सुँघेर पुनः बाँचेका घटना प्रशस्त छन् । त्यसकारण पूरै पुच्छर उठ्नै नसक्ने अवस्थामा पुर्‍याउनु आवश्यक हुन्छ भन्ने कुरा यस कविताको सन्देश रहेको छ ।
“खै यात्रीहरू उठेकै छैनन्” शीर्षकको कविताद्वारा राजनीतिक युद्धको यात्राका यात्रीहरू अझ्ै पनि प्रतिबद्धतापूर्वक जुट्नुपर्ने कुरा उद्घोष भएको छ । मुलुकका समग्र विकृतिको दूरीकरणका निम्ति प्रत्येक सचेत नागरिकले दीर्घ र साहसिक यात्राका निम्ति जुट्नुपर्ने कुरामा कविता सुदृढ बनेको छ । यस किसिमको अथक यात्रामा योद्धा रूपका यात्रीहरू प्रतिबद्धतापूर्वक स्वतन्त्रता र मुक्ति प्राप्तिको यात्रामा उठ्नुपर्ने बेला बित्नै आँटेको कुरा प्रस्तुत कविताको अभिमत रहेको छ ।
“म देश पढ्दैछु” शीर्षकमा तयार भएका यस कविताले वर्तमान समय २१ औं शताब्दी हो र यस शताब्दीका युवाभोक्ता अभिशप्त सत्ता, समाज र दुस्कृतिले वितरण गरेको गोली, बारुद, डण्डा लगायतका अन्यायपूर्ण क्रियाहरूका विरुद्ध बोल्ने युवाहरू, विद्यार्थी र जागरुक व्यक्तिहरू विसङ्गतिपूर्ण क्रिया र प्रतिक्रियाहरू प्रस्तुत भइरहेको तथ्य यस कविताको कथ्य बनेर देखापरेको छ । विद्रोह र सम्झैताका, बेचिएका रगतका टाटाहरू र अमिला आँसुका बेगहरू वर्तमानको युवकले सचेततापूर्वक पढ्नुपर्ने कुरा यस कविताको सन्देश बनेको छ ।
“सूर्य उदाऊ अब” सभ्यताको सुदीर्घ इतिहासमा संकीर्ण परिवृत्तमा कठ्याङ्ग्रीएका समग्र सत्यले नयाँ र प्रकाशिलो सूर्यको आह्वान र न्यानो सूर्यको आह्वान गर्ने यस कविताले नेपाली समाजको तुसारासिक्त चिसोलाई भगाउने, न्यानो सूर्यको अर्थात् चेतनाको प्रकाश र न्यानो स्वतन्त्रताको आमन्त्रणलाई प्रस्तुत कविताले आमन्त्रण गरेको छ । तीनवटा पङ्क्ति समूहमा लेखिएको प्रस्तुत कविता निकै सुन्दर विम्वयोजनामा तयार भएको छ ।
“दरबारमार्गमा सहिदका रगत रुँदैछन्” शीर्षकमा तयार प्रस्तुत कविता २०४७ को आन्दोलनले निर्माण गरेका सहिदहरूका आकांक्षालाई नेताहरूले कुकर्मण्यताले बिस्तारै निरर्थक सावित गर्दै लगेका कारण राष्ट्रको सेवाभावमा समर्पित हुनेहरूको विश्वास दुर्बल बन्दै गएको कुरा पनि यहाँ सिद्ध गर्न प्रयत्न भएको छ । प्रजातन्त्रको पवित्र संज्ञालाई प्रदूषित बनाउने दुराचारी गर्तमा सहिदहरू कोचिँदै गएको कुरा प्रस्तुत कविताले सिद्ध गरेको छ ।
“क्रमभङ्ग” शीर्षकको अर्को एक कविताले यस समाजका मैदानमा धेरै पूर्वदेखि वर्तमानसम्म यति मौलाएर बसेका प्रदूषणहरूलाई बढार्न चेतना र संघर्षको क्रम सुरु भएर परम्परित विकृतिले क्रमभङ्गको गति प्राप्त गर्दछन् भन्ने कुरा यस कविताको कथा बनेको छ । पाँचओटा पङ्क्तिसमूहमा तयार भएको प्रस्तुत कविता परम्परित क्रमलाई क्रमशः व्यतिक्रममा पु¥याउनुपर्ने अवस्थामा तयार भएको छ ।
“भीमान जङ्गलको यात्रा” नामक कविताले ऋषि आजादको हत्याबाट सुरक्षित हुन सकिन्छ भनेर हत्यामा सहभागी बनेका र हत्याको आदेशमा लागेका शासकहरूको मानसिक त्रास धेरै पछिसम्म पनि प्रस्तुत भइरहेको कुरा यस कवितामा प्रतिपादन भएको छ । भीमानको सारा प्रकृति आजादप्रति आस्थावान रहेको छ भने सबै खाले शासकीय कठोर संवेदना विभग्न र त्रस्त मानसिकतामा गुज्रिरहेको छ भन्ने कुरा पनि यस कविताले सिद्ध गरेको छ ।
“४६ को चैत्रको सडक” पनि उल्लेख्य कविता हो । तीनवटा पङ्क्ति समूहमा तयार भएको प्रस्तुत कविता आन्दोलनकारीहरूको रक्तद्वारा रञ्जित सडकको शब्दचित्र यस कविताले उतारेको छ । समाजको समग्र पर्यावरण आतङ्कबाट पर्याप्त प्रदूषित बनेको कुरा पनि प्रस्तुत भएको छ । यिनै तथ्यहरूको चिन्तन कार्यमा प्रस्तुत कविता तयार भएको छ ।
“त्यो दिन पर्खिएका रातहरू” प्रस्तुत कविता पनि २०४७ सालको आन्दोलनले आमन्त्रण गरेको प्रजातन्त्रको प्रकाशलाई दिनको संज्ञा प्रदान गरेको छ । तर प्रत्येक दिनको समाप्तपछि आतङ्कपूर्ण रात आइदिने हो कि भन्ने आशङ्का छ । आउँदो रात अन्धकारमय नहोस् र भोलिको दिन पनि आतङ्कपूर्ण दिन नबनोस् भन्ने कुरा पनि यस कविताले सिद्ध गरेको छ ।
“सेतो दरबार” सत्ताको संकेतक बिम्ब बाहिरबाट टलक्क सेतो र भित्र भने अत्यन्त कालो र अन्धकारमय आचरणको गर्त बनेको दुराचारको अवस्था यस कविताले प्रदर्शित भएको छ । तीनवटा पङ्क्ति समूहमा तयार भएको प्रस्तुत कविता सुरक्षाका नाममा कफ्र्यूको घोषणा गरेर मान्छेको करङ्का सारङ्गीहरू रेटिने, रगतको पूजा चल्ने, पूर्वजका खप्परहरू प्रदर्शनका पक्षहरू प्रदर्शित गरिने पक्ष यस कविताको कथ्य बनेको छ । कालो पेटका सेता दरबारहरू अझै विषाक्तता ओकलिरहेका कुरा कविताले प्रस्तुत गरेको छ ।
“मरुभूमि, शिखर र आस्था” शीर्षकको कवितामा घातक सत्ताले मरु र अनुर्वर धरातल रुचाउने वर्तमान समय स्वयं एउटा मरुभूमिका रूपमा प्रवर्तित बनेको छ । प्राप्ति र गन्तव्यको मार्ग तय गर्दै आफ्नो बाटो चयन गर्दै शिखर यात्री लक्ष्यतिर अभिमुख भएको कुरा पनि प्रस्तुत भएको छ । पाँचओटा पङ्क्तिसमूहबाट तयार भएको प्रस्तुत यो कविता उजाड र मरुभूमि बनिसकेका तथ्यहरूलाई उर्वर र आकर्षक उचाईयुक्त शिखरको कुरा यस कविताले आस्थाको उचाइमा प्राप्त हुने कुरा प्रस्तुत भएको छ ।
“छोङपाङ ! तिमीले कस्तो सपना देख्यौ ?” चारओटा पङ्क्ति समूहमा तयार भएको प्रस्तुत कविता संसारका राष्ट्रहरूको सीमा खुम्चिनुले प्रस्तुत हुने तथ्यहरूको मूल्यको समेत कारकतत्व बनेको कुरा पुष्टि हुने भएको छ । हातमुख जोड्नका निम्ति विदेशिन विवश बने पनि हाम्रा प्रत्येक छोङपाङ देश विदेशका युद्धमोर्चामा अत्यन्त विदीर्ण मानसिकता बोकेर हामी पीडा बेहोरिरहेका छौं भन्ने कुरा प्रस्तुत कविताले उल्लेख गरेको देख्न पाइन्छ ।
“आज पनि उनै आए,” यस कविताको काय तीनओटा पङ्क्ति समूहमा वितरण भएको छ । अघिल्लो निर्वाचनमा हसिलोमुख देखाएर विजयी बनेका नेताहरू पछिल्लो निर्वाचनमा मात्र फेरि स्थानीय तहमा देखिन आउने नेताका आचरणलाई प्रस्तुत भएको कुरा यस कविताले सिद्ध गरेको छ । संसदीय पद्धतिका नकारात्मक चरित्रले यहाँ सिद्ध भएको छ ।
“फरक फरक छातिहरू” समाज र जनतालाई, पर्यावरण र इतिहासलाई मुक्त गर्ने उद्देश्यबाट प्रेरित छातीको भावबाट प्रेरित मान्छे तरल संवेदना बोकेका छातीभित्रको मुटुमा रहन्छ । तीनवटा पङ्क्ति समूहमा विभाजित प्रस्तुत कविता जनताको भलाइको गोली थाप्ने छाती र आफ्नो स्वार्थमा विलीन अस्तित्व बोकेको सामन्त छातीका भिन्न विद्वेषक भावमा केन्द्रित रहेको छ ।
“अभिशप्त पर्खाल” पनि सङ्ग्रहको सबल कविता हो । यस कवितामा चारवटा पङ्क्तिसमूह छन् । लयात्मक संवेदनायुक्त भावमा सिर्जित यस कवितामा वैचारिक आसका पर्खालहरू सुदृढ र सबल बन्नुपर्ने कुरा कुशल ढङ्गले प्रस्तुत भएका छन् । स्वतन्त्र र स्वच्छ आकाशमुनि सबल जग भएको सार्वभौम सत्ता सम्पन्न एउटा घर निर्माण अनिवार्य रूपमा हुनुपर्छ भन्ने कविताले अघि सारेको छ ।
“आफ्नै जस्तो लाग्यो,” सङ्ग्रहको अन्तिम कविता हो । यो कविता चारवटा पङ्क्तिसमूहमा तयार भएको छ । अस्मिता संरक्षण पनि जोखिममा पर्नेहरू, आफन्त नै हुन् । वैचारिक संवेदना र कलात्मक प्रस्तुतिमा महिला अस्मिता, राष्ट्रिय अस्मिता, मानवीय अस्मिता लगायतका मौलिक पहिचानहरू क्रमशः विलुप्त बन्दै गएको कुरामा कवि अत्यन्त चिन्तित बनेका कुरा यस कविताले प्रस्तुत गरेको छ ।
प्रस्तुत कविताका सबै सन्दर्भहरू र प्रस्तुत सन्दर्भका सबै कविताहरू मुलुकमा २०४५ सालपछिको लगभग एक दशकका विकृत र विसङ्गत समस्याको केन्द्रमा निर्मित भएका छन् भन्ने कुरा स्पष्ट हुन आउँछ ।
२०५६ देखि २०६० सम्मको कालावधिलाई विषयको समय केन्द्र बनाएर लेखिएका कविताहरूले नेपाली समाजमा विकसित भएको राजनीतिक विसङ्गतिलाई सबल रूपमा कवितात्मक समवेदना प्रदान गरेका छन् । यस दृष्टिले नेपाली कवितामा प्रखर राजनीतिक चेतना कवितात्मक संवेदनामा प्रस्तुत भएको छ भन्ने कुराको पुष्टि मिल्छ ।
“फरक फरक आँखाका यात्रीहरू” शीर्षकको पहिलो कविता एउटै परिवेशमा तयार भएका भोक्ताहरूका सामु फरक फरक अनुभूति र संवेदना बोकेर तयार हुने विषयतिर लक्षित छ । वर्गीय समाजका विसङ्गत र विषम संरचना र संस्कारलाई प्रदर्शन गर्ने यो कविता तीनवटा पङ्क्ति समूहमा तयार भएको छ । मनोहर पर्यावरणको पारख गरिरहेका बेला त्यसै पर्यावरणमा घातक सत्ताका पुलिसद्वारा मारिएका देशका सपूतहरूका झ्ुल्का उपस्थित हुन आएका कुरा कविताले पुष्टि गरेको छ ।
“दुस्मनहरू सुरक्षित रहेको बेला” सङ्ग्रहको दोस्रो कविता हो । तीनवटा पङ्क्ति समूहमा तयार भएको प्रस्तुत कविता आफ्नो अस्मिता र अधिकार रक्षाका निम्ति संघर्ष गर्नेजनता र तिनका संगठन र चेतनालाई ध्वस्त गर्ने शासकहरूका बीचको द्वन्द्वलाई केन्द्रीय कथ्य बनाएर लेखिएको प्रस्तुत कविता निकै बेजोड बनेको छ ।
“अँध्यारोको विरुद्धमा” मात्रै दुई पङ्क्ति समूहमा तयार भएको प्रस्तुत कविता नेपाली समाजमा व्याप्त अन्धशासन र अन्ध साम्राज्यको विषयगत चिन्तनलाई उजागर गर्ने प्रयत्नमा लेखिएको कविता हो । अचेतनमा राज्य सञ्चालनमा, अज्ञानका निर्लतामा रमाउने कलामा खप्पिस बनेको सत्ता सञ्चालक चेतना र प्रकाशदेखि अत्यन्त त्रस्त बनेको लाटोकोसेरो जस्तो देखापरेको कुरा कविताले प्रस्तुत गरेको छ ।
“यसपटक दशैंमा,”लघु आयतनका पाँचओटा पङ्क्ति समूहमा रचित यस कवितामा देशको दयनीय र निरीह आर्थिक, सामाजिक र प्रशासनिक अवस्थालाई लक्षित गरिएको छ । सत्ताद्वारा सिर्जित यस किसिमका विसङ्गतिप्रति जनताको आक्रोश क्रमशः बढ्दै गएको कुरा कविताले प्रतिपादन गरेको छ ।
“उसले पनि हाम्रैजस्तो कुरा गर्छ” शीर्षकमा लेखिएको कविता लामो आकृतिका तीनओटा पङ्क्ति समूहमा तयार भएको छ । समाजमा यथार्थताले प्रशिक्षित गरेका मान्छेहरू एकै किसिमको सोच विकसित हुँदै गएको र विस्तारै मान्छे विद्रोन्मुख बन्दै गएको कुरा यस कविताले प्रस्तुत गरेको छ । नेपाली जनतामा जुर्मुराउँदै गरेको क्रान्तिचेत नै यस कविताको क्रान्तिचेत बनेको छ ।
“दुख्ने मनहरूसँग” पाँचओटा पङ्क्ति समूहमा तयार भएको कविता हो । यस कवितामा देश र समग्र मान्छेको मर्म विदीर्ण बन्दै गएको कुरा प्रस्तुत छ । मान्छेको अन्तःमर्म र देशको सार्वभौमिकता एकैचोटि पीडाको अनुभव भएर गएको कुरा अत्यन्त गहन र मार्मिक ढङ्गले प्रस्तुत गर्ने यो कविता देशको अखण्डतामा जुटेको देखापर्दछ ।
“म तिम्रा कवितामा विरुद्धमा लेख्छु” वर्गीयद्वन्द्वले सर्वहाराहरूको हित स्थापना गर्ने चिन्तनमा केन्द्रित प्रस्तुत कविता दुई पङ्क्ति समूहमा तयार भएको छ । यस कवितामा कविले यथास्थितिवादी र प्रतिक्रियावादी सत्ताको विरुद्धमा जनमत तयार गर्ने र तिनको विनाश गर्ने सर्तमा आफ्नो सृजना क्रियाशील हुने कुरा आफ्नो कवितामार्फत् शंखघोष गर्ने कवि पोखरेल यहाँ निकै क्रान्तिचेता देखिएका छन् ।
“सर्पपूजा” दुई पङ्क्ति समूहमा तयार भएको कविता हो । सत्ताको प्रतिक्रियावादी चर्या गोमन साँपझैं विषालु छ । यस किसिमको सर्प बिम्बलाई समूल नष्ट गर्नुको सट्टा पूजा गरेर संरक्षण र सम्बद्र्धन गर्दै जाने कुराको विरुद्धमा कविता सिर्जित भएको छ । जनता हरपल उसेर पनि पूजा पाइरहने सर्प ढाड भाँचिएपछि पनि पुच्छर सुँघेर आफ्नो उपचार गर्न सक्ने अवस्थामा छाडियो भने सर्पपूजकहले पुनः स्वस्थ बनाउने खतरा बाँकी रहन्छ । सर्पपूजा र सर्पपूजक संस्कृति नै निर्मूल गर्नुपर्ने कुरा यस कविताले बिम्बात्म्क रूपमा प्रस्तुत गरेको छ ।
“अब आफ्नै बाटो रोज्नुपर्छ” चारवटा पङ्क्तिसमूहमा तयार बनेको प्रस्तुत कविता सत्ताको उन्मादमा डुबेका उन्मत्त राधाहरूले बाटो, पेटी, समाज, मुलुक जतासुकै पनि मान्छेको हत्या गर्दै रङ्गालिन सक्छन् भन्ने कुरामा केन्द्रित छ । समाजमा अवशेष रहेका राजदरबारका लाउके र नाइकेहरूले मच्चाएको वितण्डालाई सबल र कलात्मक रूपमा प्रतिपादन गरेका छ – प्रस्तुत कविताले ।
“जलजला” कविता दुई पङ्क्ति समूहमा निर्मित छ । यस कवितामा मुक्तिका निम्ति जीवन उत्सर्ग गर्नेहरूलाई प्रकृतिले उत्प्रेरित गर्छ भन्ने कुरा जलजला शिखरले पुष्टि गरिरहेको देखेका छन् – कविले । सिङ्गै प्रकृति मुलुकको संरचना नयाँ आकृतिमा हेर्न इच्छुक बन्दै गएको छ भनेर समग्र प्रकृतिलाई मानवीकरण गर्ने प्रस्तुत कविता निकै सुन्दर र निकै आकर्षक बनेको छ ।
“प्रिय मान्छेका गीतहरू” सहज र सरल सहजजीवन बाँच्नुपर्ने सन्देश प्रक्षेपण गर्ने प्रस्तुत कविता चारवटा पङ्क्ति समूहमा निर्माण भएको छ । मानव कल्याणका सन्देशहरू, समाज निर्माणका आह्वानहरू मान्छेकै आमन्त्रण हुन् । मान्छेलाई विनाशतिर धकेल्नेहरूका विरुद्ध गुञ्जाइने गीतहरूको गायन कार्य निरन्तर राख्नुपर्छ । विकसित र विस्तारित हुनुपर्छ भन्ने कुरा यस कविताको कथ्य बनेको छ ।
“नागरिक” शीर्षकमा लेखिएको लघु कविता देश जलाएर आगो ताप्न मस्त छ । त्यही देशमा डढेलो लाउने आज सबल र इमान्दार नागरिक घोषित भइरहेछ भन्ने कुरा यस कवितामा प्रस्तुत भएको छ ।
“भविष्यका लागि” निकै लामा दुईवटा पङ्क्तिसमूहमा सृजित कविता हो । यसमा समग्र मुलुक र त्यस मुलुकका नागरिकको भविष्य निर्माणका निम्ति जीवन उत्सर्ग गर्ने त्याग यस कविताको कथ्य बनेको छ । मुलुकमाथि सन्ततिको निम्ति संरक्षित गरिनुपर्ने नासो हो र त्यसलाई जोगाउनुपर्छ भन्ने सन्दर्भ यस कविताको कथ्य बनेको छ ।
“कलिला जूनहरूको श्रद्धाञ्जलिमा” शीर्षकको यो कविता मुलुकको सुन्दर रूप निर्माण गर्ने क्रममा जीवनको उत्सर्ग गर्नेहरूको त्यागप्रति समर्पित छ । चारवटा पङ्क्तिसमूहमा सिर्जित प्रस्तुत कविता जीवन त्याग्नेहरू श्रद्धेय हुन्छन् भन्ने कुरा पनि यस कविताले पुष्टि गरेको छ । मुलुक एउटै जमिनदारको मौजा होइन भन्ने चेतना विस्तार गर्ने क्रममा सहादत प्राप्त गर्ने श्रद्धेयप्रति समर्पित छ भन्ने कथ्यमा यस कथाको भाव अडेको छ ।
“उज्यालो हुनुअघि” भविष्यको प्रकाशका निम्ति अगावै भालेका आवाजहरू गुञ्जिन्छन् । पूर्व सूचना छरेर मुलुक व्युँझ्नि लागेको कुरा प्रक्षेपण गर्ने यो कविता समग्र नागरिकलाई जगाउने भावको कथ्यमा आधारित छ । चेतना नै समस्त मुलुकको रूपान्तरणकारी तत्व हो भन्ने कुरामा प्रस्तुत कविता संरचित छ ।
“स्वयम्भूका आँखासँग” तीनवटा पङ्क्तिसमूहमा रचित प्रस्तुत कविता इच्छुकजस्ता स्रष्टाको हत्या गर्ने सरकारको साक्षी, कविको अस्तित्वको गवाह गर्ने अनिमिलित तर अद्र्धनिर्मित आँखाले स्वयम्भु सधैं निरीक्षण गरिरहेको कुरा कविले विश्वास गरेका छन् । जीवनको शाश्वत मूल्य विनिमय गर्न सकिने वस्तु होइन । यसलाई हरण गर्न सक्नेले फिर्ता दिन सक्दैन । आस्थाका स्वरहरूलाई मुलुकभरि बिस्तार गर्ने उद्देश्यले सबैतिर पुग्ने भावनाको आवश्यक संवेग छर्ने कविको प्राप्तिलाई विस्तार गर्ने तथ्यलाई अगि सारेको छ ।
“बाटाहरू–१”, प्रस्तुत कविता पनि मान्छेका मानवीय संवेदना र यथार्थ सत्यलाई संकेत गर्नमा क्रियाशील छ । दुई पङ्क्तिसमूहमा तयार गरिएको यस कविताले गन्तव्यसम्म पुग्ने बाटोको निर्माण गर्ने क्रममा संघर्ष र द्वन्द्वको बाटो नै उपयुक्त र आवश्यक छ भन्ने कुरा यस कविताले सिद्ध गरेको छ ।
“बाटाहरू–२” कविता पनि नेपाली कविताका सन्दर्भबाट वर्गीय हितका निम्ति जुट्ने जनपक्षीय बाटाहरू प्रस्तुत गर्ने क्रममा तयार भएको छ । समाजको रूपान्तरणको यात्रामा निस्केका योद्धाको बाटो ढुकेर हत्या गर्ने योजना बनाएर बस्ने प्रतिक्रियावादी सामन्त पक्षबाट जोगिनुपर्ने कुरा कविताले प्रस्तुत गरेको छ ।
“बाटाहरू–३” दुई पङ्क्तिसमूहमा तयार गरिएको प्रस्तुत कविता स्वयंमा नयाँ मार्गको सूचक बनेको छ । आस्थाको सुन्दर गोरेटाहरू पनि सहज र सरल राजमार्ग बन्छन् । बाटो भावना र विश्वासले रोजेपछि सहज बन्दछ । यस किसिमको बाटो मुक्तिको बाटो हो र यस बाटोले अधिकांश जनताको अन्तर्सम्वेदनालाई व्यवस्थित रूप प्रदान गर्दछ भन्ने कुरा कविताबाट प्रकट भएको छ ।
“यात्राको एउटा दृश्य” शीर्षकमा लेखिएको प्रस्तुत कविता तीनवटा पङ्क्तिसमूहमा तयार गरिएको छ । मुलुकलाई अवैध कृषि उत्पादनको धर्तीले दिने सेवा सामन्तसत्ताको पक्षमा मात्र आजसम्म उपयोगको स्थल ठान्ने गरेको पक्ष अत्यन्त दुर्बल रहेको र उत्पादन पक्ष पनि नकारात्मक रूपमा प्रतिपादन गरिएको छ । यस दृष्टिले मुलुकको विकासका निम्ति निर्धारित भएको यात्रा सकारात्मक र शाश्वत लक्ष्यको उपस्थापन गरेको कुरा कविले उद्घोष गरेका छन् ।
“एउटा पुजारीको आत्मव्यथा” नामक कविता तीनवटा पङ्क्ति समूहमा निर्माण गरिएको छ । सहज र स्पष्ट प्रस्तुतिमा यथार्थतालाई अबलम्बन गर्ने यो कविता उल्लेख्य रचना बनेको छ । आस्था र श्रद्धाका पूजकहरू सधैं उपेक्षित रहने र बाङ्गो बाटोबाट यात्रा गरिरहने दुर्वृत्तिका सम्वाहकहरूले समाज र जीवनका पक्षहरूलाई कविताका माध्यमबाट प्रतिपादन भएका छन् ।
“सपना” शीर्षकको यस कवितामा समाजका संवाहक व्यक्तिहरूले अपराधीहरूले आफू स्वतन्त्र रूपमा बेरोकटोक यात्रा गर्ने, स्वेच्छिक आवागमन, उपभोग लगायतका पक्षहरू यस कवितामा प्रस्तुत भएका छन् । चारओटा पङ्क्तिसमूहमा लेखिएको प्रस्तुत कवितामा जनताले सिङ्गो समाजको गतिलो भविष्यको सपना देखिरहेका बेला सामन्त सत्ताले भने आफ्नो भविष्य यथास्थितिमा आफू टिकिरहन प्रयत्न गर्छन् भन्ने कुरा पनि यस कविताले प्रतिपादन गरेको छ ।ग. पोखरेलका प्राप्तिहरूलगभग दुई दशकको साधनाबाट निर्मित कवि चेतना उनका कविताहरूले प्रतिनिधित्व गरेका छन् । नेपाली समाजको इतिहासमा शताब्दीयौंदेखि जरा गाडेर बसेका सामन्तीगत विकृति संस्कार, आध्यात्मिक आस्थाका नाममा विकृति, यथास्थितिका पक्षपोषक संकीर्णता जस्ता प्रदूषणलाई पन्छाउनुपर्ने कुरा पोखरेलका कविताको सन्देश बनेर उपस्थित भएका छन् । कृषि र पशुपालनको परम्परित पद्धतिमा जीवन निर्वाह गर्ने नेपालीहरूको श्रम र पसिनामाथि होली खेल्न र मोजमस्ती गर्ने संस्कृतिबाट पोषित सामन्त सत्ताको पैतलामुनि दबेका परिवर्तनशील चेतना विद्रोहतिर मोडिँदै गरेका कुरा पनि कविका कथनले पुष्टि गरेका छन् । कवि पोखरेल २०४० पछिको कालावधिमा विकसित भएका प्रगतिवादी चिन्तनमा थपिएका समसामयिक वैशिष्ट्यका समर्थक देखिएका छन् । पहिले केन्द्रमा रहेका विकारग्रस्त संस्कृतिलाई, यथास्थितिपरक राज्य सत्तालाई, अन्धविश्वासग्रस्त जीवनपद्धतिलाई विस्थापित गर्दै जानुपर्छ भन्ने चिन्तनलाई अँगाल्दै जानुपर्छ भन्ने कुरामा विश्वस्त बन्दै गएका कवि देखिन्छन् । समाज रूपान्तरणको अभियानमा जुटेका राजनीतिकर्मीहरूलाई हत्या गरेर आफ्नो केन्द्रीय अस्तित्व लम्ब्याइराख्ने सपना देख्ने शासकले एउटा आजाद मारेर लाखौं आजाद जन्माइरहेको हुन्छ भन्ने कुरा कविले प्रस्तुत गरेका छन् । सांस्कृतिक र सौन्दर्योपासना रूपान्तरण गर्ने अभियानमा लागेका साहित्य र संस्कृतिकर्मीहरूलाई हत्या गरेर आफ्नो केन्द्रीयता किनारातिर धकेलिसकेको हुन्छ भन्ने कुराको उदाहरण इच्छुक र प्रवीणलाई मारेर लाखौं इच्छुक र प्रवीण जन्माइरहेको कुरा पनि प्रस्तुत गरेका छन् । समग्र समाजमा मूल्यहरूको रूपान्तरणमा लागेका अभियन्ताहरूको जीवनमा पलपल खतरा छ तर उनीहरूकै प्रयत्न र बलिदानबाट नै केन्द्रमा जमेर बसेका नकारात्मक मूल्यहरू विस्थापित बन्दै गएको र युगौंदेखि किनारमा उपेक्षित बनेर रहेका मूल्यहरू केन्द्रमा स्थापित बन्दै गएको कुरा पनि पोखरेलका कविताले आफ्नो कथ्य बनाएका छन् ।
कलात्मक चेतनाका दृष्टिले बिम्बमा विश्वास गर्ने कवि पोखरेल लघु आयतनका कवितामा बृहत चेतना, विचार र संवेग समेट्ने प्रयत्न गर्छन् । कविताको संगठनात्मक ढाँचा र बिम्बलाई आमन्त्रण गर्ने शब्दहरूको चयनमा निकै क्षमतावान् देखिने कवि बनेका पोखरेल मोटामोटी रूपमा गद्यका लयात्मक कवि बनेका छन् । विश्व परिस्थितिले निम्त्याएका विसङ्गतिमा पिल्सिरहेको नेपाली अर्थ, संस्कृति र शासन सत्ताको चाप कविको कथ्य बनेको पाइन्छ । संवेदना र शङ्खघोषका कवि देखिने पोखरेल समसामयिक प्रवृत्ति र समकालीन पर्यावरणको संवाहक चेतनामा प्रगतिवादी चिन्तन घोलेर कथ्यलाई अद्यावधिकरण गर्ने कविका रूपमा स्थापित बनेका छन् । यिनै विशेषताहरूका आधारमा कवि पोखरेल वर्तमान पुस्ताका प्रगतिवादी कविताको फाँटका प्रतिनिधि कविका रूपमा स्थापित बनेका छन् । उनको सिर्जनात्मक चेतनाको विकासको चरण रहेको छ र यस यात्रालाई सचेत कला र सौन्दर्यको सन्दर्भ ज्ञान विस्तारबाट उत्कर्षमा पुर्‍याउने साधना अझै अपेक्षित देखिन्छ । पाठकले पोखरेललाई उत्कर्षको विन्दुमा पुगेको देख्ने प्रतीक्षा कायम राखेका छन् ।

जनमत, वर्ष २४, अंक ११—१२, पूर्णाङ्क १२६, (मातृका पोखरेल विशेष अङ्क )२०६४ -पुष

===============================================

समकालीन नेपालको अनुहार : ‘अनुहारहरू’ (कवितासङ्ग्रह)
धनप्रसाद सुवेदी ‘श्रमिक’
मातृका पोखरेल समकालीन नेपाली प्रगतिवादी साहित्यका सशक्त सर्जक हुन् । कविता, कथा, निबन्ध आदि विधामा कलम चलाउने मातृका पोखरेलको मुख्य सिर्जना क्षेत्र भने कविता हो । उनका तीनवटा कवितासङ्ग्रह र एउटा कथासङ्ग्रह प्रकाशित छन् । सिर्जनाका साथै नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलनमा सक्रिय रहेका पोखरेल यस आन्दोलनका नेता पनि हुन् । यहाँ उनै मातृका पोखरेलको पहिलो पुस्तकाकार कृति ‘अनुहारहरू’ (कवितासङ्ग्रह–२०६४) का बारेमा सङ्क्षेपमा चर्चा गरिएको छ ।
‘अनुहारहरू’ कवितासङ्ग्रह धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रकाशित गरेको हो । यो कृति काजी रोशन पुरस्कार, २०६४ बाट पुरस्कृत भएको छ । यस सङ्ग्रहमा तेइसवटा कविताहरू सङ्कलित छन् । यसमा लेखकको मन्तव्य, डा. ताराकान्त पाण्डेयको भूमिका र प्रकाशकीय पनि छापिएको छ । यस सङ्ग्रहमा ‘सर्त, नयाँ वर्ष २०६१, राजमार्ग र चिन्तित मनहरू, नयाँ शताब्दीको थोत्रो मान्छे, अनुहारहरू, उसको मृत्युमा, कविताको विषय, फरकफरक मुर्दाघाटहरू, कसको जमिन, सबै कुरा साँचो हुनेछ, ऊ बगर; खडेरी पर्खन्छ, टुकुचा, टोपआतङ्क, बाँझो जमिन र हलीहरू, अचेल मान्छेहरू, उनीहरूले सोचेका भए, भोलिको तस्बिर, भोलि, म खोज्दैछु अर्को अमलेखगन्ज, सिंहदरबार, समय, वनफूल र सपना’ तथा ‘उदयपुर’ शीर्षकका कविता सङ्कलित छन् ।
सङ्ग्रहमा समेटिएको ‘सर्त’ कविताले परिवर्तनको महान् यात्रामा सही विचार र सशक्त नेतृत्वको आवश्यकता बोध गरेको छ । भविष्यद्रष्टा कुशल नेतृत्वले मात्र प्रगतिको यात्रालाई सही गन्तव्यमा पु¥याउन सक्छ र त्यस्तै नेतृत्वको पछि मात्र लाग्न सकिन्छ भन्ने कविको चाहना ‘सर्त’ शीर्षकको कवितामा प्रस्टसँग आएको छ । यस कवितामा कविले आगामी दृष्टिकोणलाई ‘आँखा’, अग्रगामी यात्रालाई शिखर चढ्ने कुरा र सबल नेतृत्वलाई झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू भएको मान्छेको रूपमा प्रस्तुत गरेका छन् ।
यस सङ्ग्रहमा सङ्कलित दोस्रो कविता ‘नयाँ वर्ष–२०६१’ हो । यस कवितामा देशभित्र एक वर्ष (२०६०) मा भएको राज्यआतङ्क तथा जनप्रतिरोध, संसारभर साम्राज्यवादी अमेरिकाले फैलाएको आतङ्क र जनदमनको स्मरण गर्दै आउन लागेको वर्षचाहिँ योभन्दा भिन्न शोषितपीडित जनताले चाहेअनुसारको परिवर्तनशील भएर आए हुन्थ्यो भन्ने कामना गरिएको छ ।
‘राजमार्ग र चिन्तित मनहरू’ कवितामा आधाशताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलनको प्रतीतको रूपमा ‘थोत्रिँदै गएको सडक’ लाई उभ्याइएको छ । नेपाली कम्युनिस्ट आन्दोलनले अपेक्षित परिवर्तनको अगुवाइ गर्न नसकेकोमा कविको चिन्ता ‘चिन्तित मनहरू’ का रूपमा प्रकट भएको छ । तर पनि कवि निराश भने छैनन् । उनी लेख्छन्ः–
शताब्दीयौंपछिको सहर–बस्तीलाई सुहाउने
सुन्दर सडकको पूर्वाधार काममा छ । (पृ.५) ।
यस सङ्ग्रहमा सङ्कलित ‘नयाँ शताब्दीको थोत्रो मान्छे’ शीर्षकको कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग डराउँछ भन्दै ‘गरिब देशको धनी मान्छे’, ‘नयाँ शताब्दी थोत्रो मान्छे’, ‘द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा उसको (राजाको) चरित्रलाई प्रस्ट्याउने काम गरिएको छ । यस कविताले राजा ज्ञानेन्द्रद्वारा गरिएका जनदमन, कुकृत्य र उसको चरित्रको भण्डाफोर गरेको छ ।
यस सङ्ग्रहकै शीर्षकका रूपमा रहेको ‘अनुहारहरू’ शीर्षकको कविता यस सङ्ग्रहको एउटा सशक्त कविता हो । यस कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । शासक वर्ग क्रुर र निर्मम ढङ्गले जनदमनमा उत्रिएको छ, नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् । त्यहाँ शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा र सज्जापूर्ण देखिए पनि उसको भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ । कविले यस्तो अनुहारप्रति तीव्र घृणा प्रकट गरेका छन् । कविलाई अन्याय, अत्याचारको प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा र सुन्दर लाग्छन् । यसरी यस कविताले कविको वर्गीय दृष्टिकोण र वर्गीय पक्षधरतालाई प्रस्ट पारेको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘उसको मृत्युमा’ शीर्षकको कवितामा एक जना क्रान्तियोद्धाको सहादतको प्रसङ्ग उल्लेख गरिएको छ । यसले जनयुद्धमा सहादत हुने कृष्णसेन ‘इच्छुक’हरूको सम्झना गराउँछ ।
यस सङ्ग्रह सङ्कलित ‘कविताको विषय’ शीर्षक कवितामा नेपालमा सङ्कटकाल लागेको बेला अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षेप र प्रतिबन्धप्रति विरोध, आक्रोस र व्यङ्ग्य गरिएको छ ।
‘फरकफरक मुर्दाघाटहरू’ शीर्षक कवितामा २०६१ भदौ १५ गते इराकमा बाह्रजना नेपालीको हत्या भएको विषयलाई मार्मिक रूपमा चर्चा गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘कसको जमिन’ शीर्षक कवितामा नेपालको सिमाना र सार्वभौमसत्तामाथिको वैदेशिक हस्तक्षेपको विरोध गरिएको छ । ‘सबै कुरा साँचो हुनेछ’ शीर्षक कवितामा जनचेतना र जनप्रतिरोध नभएस्म्म अन्याय, अत्याचार, शोषण, दुष्प्रचारहरू कायम रहन्छन् भन्ने भाव व्यक्त गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘ऊ बगर; खडेरी पर्खन्छ’ शीर्षक कवितामा कहिल्यै सुख, खुसी र सन्तुष्टि भोग्न नपाउने, पीडितहरूको जीवन यथार्थलाई खडेरी पर्खने बगरसँग तुलना गरिएको छ । ‘टुकुचा’ शीर्षक कवितामा ‘टुकुचा’ नदीको दुर्गन्धित अवस्थाको चित्रण गर्दै यसको इतिहासको सफा र सुन्दर पक्षको स्मरण गरिएको छ । यस कविताले विगतमा जनताको लागि, परिवर्तनका लागि त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको तथ्यलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘टोप आतङ्क’ शीर्षक कवितामा जनदमनमा उत्रिएको शासकको कुकृत्यलाई देखाइएको छ । यस कविताले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले पुराना पञ्चहरूलाई अगाडि सारेर जनदमनमा उत्रिएको सन्दर्भलाई साधारणीकरण गरेको छ ।
यस सङ्ग्रहको अर्को कविता ‘बाँझो जमिन र हलीहरू’ हो । यस कवितामा जनआन्दोलनलाई साथ नदिने कुनै समूह वा पार्टीविशेषलाई सङ्केत गर्दै केही समूह वा पार्टी विशेषले छाड्दैमा जनआन्दोलन रोकिँदैन भन्ने कविको उद्घोष व्यक्त भएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल ‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको महिमागान गाइएको छ । ‘उनीहरूले सोचेका भए…’ शीर्षकको कवितामा अन्याय, अत्याचार, शोषण, सदाकाल टिक्दैन । जनताहरू परिवर्तनका लागि उठेपछि अन्याय–शोषणको अन्त्य भइछाड्छ भन्ने भाव व्यक्त गरिएको छ । यसमा नेपालमा सामन्ती शासनव्यवस्थालाई ‘इतिहासले बोकेको एउटा गलगाँड’ का रूपमा लिँदै त्यसबाट छुटकारा पाउने उद्घोष गरिएको छ । यसमा नेपालको राजतन्त्रलाई नेपाली जनताको दुस्मनका रूपमा चित्रित गर्दै अब त्यसलाई हटाउने उद्घोष गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘भोलिको तस्बिर’ कवितामा नयाँ पुस्तामा मौलाउँदै गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने प्रवृतिलाई भुल्ने खतरा रहेको कुरालाई यस कवितामा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘भोलि’ शीर्षकको कवितामा सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय, अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘म खोज्दैछु अर्को अमलेखगन्ज’ शीर्षक कवितामा राजनीतिक स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् । यसर्थ अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भन्ने यस कविताको भाव रहेको छ ।
नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्न पुग्छन् । यही यथार्थलाई यस सङ्ग्रहमा सङ्कलित सिंहदरबार कवितामा राम्ररी उजागर गरिएको छ । यसमा सङ्कलित ‘समय’ शीर्षकको कवितामा शान्ति र परिवर्तनका पक्षमा देखिएका नयाँ सम्भावनाहरू आशाप्रद छन् तर तिले पूर्णता पाउँछन् वा पाउँदैन भन्ने आशङ्का छ भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘वनफूल र सपना’ शीर्षकको कविताले जनआन्दोलन–२ मा सहादत हुने सहिद सेतु सुनारको सन्दर्भबाट शोषित–पीडित नेपाली जनताहरूले परिवर्तनको आन्दोलनमा निर्णायक भूमिका पूरा गरेको तथ्यलाई प्रस्ट्याएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘उदयपुर’ शीर्षकको कवितामा कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा अग्रगामी परिवर्तन हुनेछ र समग्र नेपालको प्रगति उन्नति हुनेछ भन्ने आशा व्यक्त गरिएको छ ।
यस सङ्ग्रहका सबै कविताहरूमा नेपाली समाजको यथार्थ चित्रण भएको छ । यस सङ्ग्रहका कवितामा शोषित–उत्पीडित वर्गको वर्गीय पक्षधरता व्यक्त भएको छ । यस सङ्ग्रहका सबै कविता यथास्थितिको विरुद्ध अग्रगामी परिवर्तनको पक्षपाती छन् । यसर्थ यस सङ्ग्रहका कविताको मूलप्रवृत्ति प्रगतिवादी रहेको छ ।
यस सङ्ग्रहमा सङ्कलित तेइसवटै कविता गद्यलय (मुक्त छन्द) मा रचिएका छन् । यसमा सङ्कलित सबै कवितामा नेपाली समाज, इतिहास, राजनीति, संस्कृति र प्रकृतिका सरल र स्वाभाविक बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ । कविता कलाका दृष्टिले नेपाली प्रगतिवादी कवितामा देखिने कमजोरीबाट यस सङ्ग्रहका कविताहरू धेरै मुक्त छन् । यो यस सङ्ग्रहका कविताहरूको सबल पक्ष हो । ‘प्रगतिवादी कविताहरूमा कला हँुदैन, नारा हुन्छ’ भन्नेहरूका लागि यस सङ्ग्रहमा सङ्कलित कविताहरूले राम्रो जबाफ दिएका छन् । यसका लागि कवि मातृका पोखरेल स्याबासीका पात्र बनेका छन् ।
कहीँ कतै निराशा देखिनु र नेपाली जनताको बलिदानी सङ्घर्षको विराट स्वरूपलाई प्रस्ट देखाउन नसक्नुजस्ता कमजोरीहरू रहँदारहँदै पनि यो कविताकृति नेपाली प्रगतिवादी कवितायात्राको एउटा सफल कृति बनेको छ ।

 

केही तश्विरहरु

केही तश्विरहरु

 

4

1

2

3

IMGP0701

IMG_1439

IMG_1445

IMG_1450

IMG_1487

IMG_1488

IMG_1499

IMG_1505

IMG_1514

IMG_1527

IMG_1540

IMG_1542

IMG_1560

IMGP0289

IMGP0290

IMGP0295

IMGP0299

IMGP0300

IMGP0301

IMGP0303

IMGP0304

IMGP0305

IMGP0308

IMGP0309

IMGP0311

IMGP0312

IMGP0313

IMGP0314

IMGP0315

IMGP0316

IMGP0367

IMGP0372

IMGP0373

IMGP0374

IMGP0375

IMGP0376

IMGP0377

IMGP0378

IMGP0379

IMGP0380

IMGP0385

IMGP0390

IMGP0391

IMGP0393

IMGP0394

IMGP0395

IMGP0396

IMGP0412

IMGP0413

IMGP0419

IMGP0420

IMGP0421

IMGP0422

IMGP0423

IMGP0424

IMGP0425

IMGP0426

IMGP0427

IMGP0428

IMGP0429

IMGP0430

IMGP0431

IMGP0432

IMGP0433

IMGP0434

IMGP0435

IMGP0436

IMGP0437

IMGP0438

IMGP0443

IMGP0444

IMGP0445

IMGP0446

IMGP0451

IMGP0452

IMGP0453

IMGP0454

IMGP0477

IMGP0478

IMGP0482

IMGP0483

IMGP0484

IMGP0485

IMGP0486

IMGP0488

IMGP0489

IMGP0492

IMGP0493

IMGP0498

IMGP0499

IMGP0501

IMGP0513

IMGP0514

IMGP0524

IMGP0525

IMGP0526

IMGP0528

IMGP0530

IMGP0531

IMGP0536

IMGP0537

IMGP0538

IMGP0541

IMGP0545

IMGP0546

IMGP0547

IMGP0548

IMGP0609

IMGP0610

IMGP0611

IMGP0612

IMGP0613

IMGP0614

IMGP0615

IMGP0620

IMGP0621

IMGP0622

IMGP0623

IMGP0624

IMGP0625

IMGP0626

IMGP0629

IMGP0630

IMGP0631

IMGP0632

IMGP0634

IMGP0636

IMGP0637

IMGP0638

IMGP0642

IMGP0643

IMGP0644

IMGP0645

IMGP0646

IMGP0653

IMGP0657

IMGP0659

IMGP0660

IMGP0661

IMGP0665

IMGP0666

IMGP0669

IMGP0670

IMGP0671

IMGP0679

IMGP0700

DSCN6214

DSCN6213 DSCN6212

DSCN6209

DSCN6207 20150309_134253

20150309_134108

20150309_134032

20150309_132055

20150309_132019

IMG_20150308_180733

11046638_358100967712531_3664844029125359225_n

11037316_358100907712537_9185774709158358219_n

IMG_20150306_171728

4

 

5

6

10

14

10920915_593557000787852_8868193733626459420_n

10968503_819322291449082_7302779127944584759_n (1)

10968503_819322291449082_7302779127944584759_n (3)

10991085_940008436034149_1085865089640100936_n

10991174_819321788115799_6984851825151408671_n (1)

10991225_10202609678477908_718710434006554366_n

11037316_358100907712537_9185774709158358219_n

11046638_358100967712531_3664844029125359225_n

10390438_632177520211000_2923291812179745197_n

1467187_632175210211231_6115933183124255897_n

10300709_632174513544634_5483513766350923616_n

61

49

44

50

51

10313812_632173900211362_3971483758733563822_n

61

1

2 3

5

 

8

9

12 15

16

20

22

24

26

27

28

29

30

31

33

34

35

37

39

40

41

42

44

49

IMG_0181 IMG_0180 IMG_0220 IMG_0200 IMG_0184

DSC02307

DSC02234

DSC02189

DSC02188

1170878_542244729157357_1989428489_n

Anekot 2069 Chaitra -5

71936_562587197099712_1283637095_n

164275_562587383766360_128424721_n

Copy of DSC04033

Copy of DSC04034

Copy of DSC04035

DSC03954

DSC03963

DSC03964

DSC04050

DSC04075

Photo Nyajya Khala Thimi- 2069 kartik

Photo Nyajyaa Khala Thimi- 2069 kartik

Yatrako Auta Drishya- Front Cover

Gham Jhulkanu Aghi- Cover

Anuharharoo- Frontpage

Santrata aakhaharu- Front Cover

Seto Durbarko Chheubata- Front Cover

563129_10200403446669940_1161035926_n

163372_10200403447429959_170270450_n

31480_468834926503125_116042479_n

532028_10200403435109651_195082914_n

430849_10200144097595302_222947582_n (1)

430849_10200144097595302_222947582_n